काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनको अन्तिम दिन काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा चिकित्सकहरुको लाम थियो। उम्मेदवार चिकित्सकहरु मदतान केन्द्रमा लामबद्ध मतदाताहरुसँग भोट माग्दै थिए।
बिहान १० बजेदेखि सुरुभएको मतदान कार्यक्रम बेलुका ४ बजेसम्म चल्यो।
शनिबार प्रज्ञा प्रतिष्ठानमा मात्र १ हजार ६६९ मत खसेको प्रमुख निर्वाचन अधिकृत डा गणेश राईले जानकारी दिए। यस्तै ललितपुरमा शनिबार नै खसेको ६२६ मत सहित देशभर ९ हजार ३१८ मत खसेको छ। यसअघि मंसिर ३, ४ र १० गते भएको मदानमा कुल ७ हजार ५ मत खसेको थियो।
डा राईका अनुसार शनिबार रातीदेखिनै मतगणना हुनेछ।
काउन्सिलको निर्वाचनमा भोट हाल्ने चिकित्सकको संख्या कम देखिएपनि भोट हाल्न पुग्ने चिकित्सकहरुमा भने उत्साह देखिन्थ्यो। काउन्सिलको केही अधिकार चिकित्सा शिक्षा आयोगमा गएको भएपनि काउन्सिलको काम, कर्तव्य र अधिकार बाँकी रहेको भन्दै उनीहरुले निर्वाचित चिकित्सकहरुले काउन्सिलको अधिकारलाई स्थापित गर्नुपर्ने बताए।
उनीहरुले निर्वाचित चिकित्सक सम्पूर्ण चिकित्सकहरुको आवाज भएकाले नीति तथा नियामक निकायमा चिकित्सकहरुको समस्याहरु पुर्याउन भूमिका खेल्नुपर्ने बताएका छन्।
प्रज्ञा प्रतिष्ठानमा मतदानका लागि पुगेका चिकित्सक के भन्छन्?
डा अरुण लामा
नेपाल मेडिकल काउन्सिल सम्पूर्ण डाक्टरहरुको संगठन भएको हुनाले यसले सम्पूर्ण डाक्टरहरुको आवाज बन्नुपर्छ। यसमा निर्वाचित हुने चिकित्सकले मेडिकल अफिसरदेखि विशेषज्ञ चिकित्सकहरु सबैको आवाजलाई उठाउन सक्नुपर्छ।
अब जाने पदाधिकारीले नेपालको मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई इन्टरनेसनल रुपमा रिकोग्नाइजेसन दिने खालको व्यवस्था ल्याउनुपर्यो। सीप मुलक तालिमहरुको व्यवस्था गर्नुपर्छ। डाक्टरहरुको अधिकारलाई सुनिश्चिन गर्न पहल गर्नुपर्छ।
डा आयुष्मा खड्का
मैले स्ट्रोङ्ग, पावरफुल उम्मेदवारलाई नै भोट हालेको छु जस्तो लागेको छ। उहाँहरुले हामी सबैको आवाजलाई एकिकृत गर्न सक्नु हुन्छ भन्ने लागेको छ। हाम्रो समस्याहरुलाई समाधान गर्न पहल गरिदिने चिकित्सक नै निर्वाचित होस् भन्ने चाहना छ।
डा सुमन दाहाल
अहिले काउन्सिलको धेरै अधिकार चिकित्सा शिक्षा अयोगमा गएको हुनाले काउन्सिलमा नियमनकारी भूमिका बढी देखिएको छ। काउन्सिलमा भोट हाल्नु हाम्रो अधिकारको कुरा पनि हो। हाम्रो आवजलाई नियमक निकायमा पुर्याउने व्यक्ति नै काउन्सिलमा निर्वाचित हुनुपर्छ।
तर यसपालि हाम्रा काउन्सिललाई कमजोर बनाइएको हो कि जस्तो लाग्छ। तर यस्तो हुनुहुँदैन। अहिले काउन्सिलको काम नियमनकारी भएकाले यो कुरालाई ठोस किसिमले पहल गर्नुपर्छ। अहिले माल प्राक्टिसको कुरा छ। चिकित्सक नभएपनि चिकित्सक हुँ भन्दै काम गरिरहेका छन्। चिकित्साहरुले पनि सेवालाई सेवा भन्दा पनि प्रदर्शन गर्ने किसिमले पनि गरिरहेका छन्। यो कुरालाई रोक्न काउन्सिलले विशेष भूमिका खेल्नुपर्छ। अहिले एन्टिबायोटिकको सिफारिस अनियमित तरिकाले भइरहेको छ। जसले गर्दा एन्टिबायोटिक रेसिस्टेन भएर ठूला ठूला अस्पतालहरुमा समेत उपचार गर्न असहज भइरहेको छ। चिकित्सक र बिरामी दुवैका लागि माल प्राक्टिसलाई रोक्नुपर्छ।
अर्को कुरा नियमनकारी भुमिकामा आइसकेपछि चिकित्सकहरुको लाइसेन्सलाई अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त गराउन पहल गर्नुपर्छ। अहिले काउन्सिलले हाम्रो डाटाहरु संकलन गर्ने, चिकित्सकहरुको रेकर्ड राख्ने काम भइरहेको छ। यो कुरामा चिकित्सकहरुका लागि अलि असहज भइरहेको छ। त्यसमा टेक्नोलोजिको प्रयोग गरेर सहज बनाउने, सरल बनाउने गर्नुपर्छ।
डा रविन बस्नेत
नेपालमा चिकित्सा क्षेत्रमा जति योगदान गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन। अहिले चिकित्सा शिक्षा आयोग आएपछि काउन्सिल र आयोगको काम छुट्याइएको छ। काउन्सिलका अधिकारहरु आयोगमा गएपछि अहिले काउन्सिलको काम डाक्टरको लाइसेन्स परीक्षा लिने र प्राक्टिसका लागि इलिजेवल बनाउने संस्थाको रुपमा मात्र देखिएको छ। यहाँ धेरै कुराहरु छ।
चिकित्सकहरुका लागि रुल्स एन्ड रेगुलसनका कुराहरु, जनस्वास्थ्यका विषय, चिकित्सकका हकहितका कुराहरु छन्। यो संस्था लाइसेन्स परीक्षा लिने संस्थाको रुपमा मात्र सिमित नहोस् भन्ने हाम्रो अपेक्षा हो। काउन्सिल प्रतिको सोचाइ वा बुझाइ धेरै राम्रो छैन। त्यसले गर्दा जति चिकित्सक उपस्थित हुनुपर्ने हो त्यति छैन। हामीकहाँ ३० हजार चिकित्सक छन् तर यहाँ ८,९ हजार मात्र भोट खस्छ।
यसले पनि चिकित्सकहरु माझ हाम्रो संस्था हामीप्रति उत्तरदायि छैन भन्ने सोचाइ छ भनेर बुझ्न सकिन्छ। केही हदसम्म यो सान्दर्भिक पनि हो। अबका निर्वाचित चिकित्सकहरुले यो कुरालाई ध्यानमा राखेर काम गर्नपुर्छ।
डा सोनाम शेर्पा
नेपालको स्वास्थ्य क्षेत्रलाई सुचारु गराउने र स्वास्थ्य सेवा देशभर पुर्याउन काउन्सिलको महत्वपूर्ण भूमिका रहन्छ। अहिले चिकित्सा शिक्षा आयोग गठन भएपछि काउन्सिलको अतिपय अधिकारहरु त्यता गएको छ। काउन्सिलको निहित अधिकारीहरु जति पनि छन् त्यसलाई सहि सदुपयोग गरेर चिकित्सकहरुको हक अधिकार स्थापित गर्नु नै अबका नेतृत्वको भूमिका रहन्छ।
डा अमित झा
काउन्सिलको निर्वाचित व्यक्तिले हाम्रा हक अधिकार स्थापित गर्नुपर्छ। काउन्सिलका अधिकार स्थापित हुन सकेमा हामीले पनि राम्रोसँग काम गर्ने वातावरण पाउछौ। चिकित्सकको सुरक्षा, तलबमा विशेष ध्यान दिनुपर्छ। चिकित्सकलाई चिकित्सक भएर बाँच्ने वातावरण हुनुपर्छ।