हृदयवाहिका रोग भनेको मुटु र मुटुसँग सम्बन्धित सम्पूर्ण रोगहरुको समूह होI विश्व स्वास्थ्य संगठनका अनुसार मुटुसँग सम्बन्धित रोग विश्वमा हुने मृत्युहरुको प्रमुख कारण हो। विभिन्न अनुसन्धानले देखाएको तथ्यांक अनुसार जाडो महिनामा अधिकतम मानिसको मृत्यु हृदयघातबाट हुने गरेको देखिन्छ I
एउटा मेटा एनलाइसिस अध्ययन अनुसार प्रत्येक १ डिग्री तापक्रम घटेमा १.६ प्रतिशत मृत्यु र १.२ प्रतिशत मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढ्छI कार्डियोभास्कुलर सर्जन म्युरिस ल्यओंस अनुसार हाम्रो शरीर वातावरण अनुसार तापक्रम मिलाउने क्रममा शरीरका रौँ तन्किने, छाला नजिकका रक्तनली खुम्चिने, रक्तप्रबाह घट्ने जस्तो प्रतिक्रिया गर्छI जसले शरीर न्यानो पारे पनि उच्च रक्तचाप बढाउँछ, साथै मुटुलाई रक्त प्रवाहमा कमी आउँछI
शरीरमा यसरी अक्सिजनको कमी हुन जान्छI शरीरमा रगत पुर्याउन र अक्सिजनको मात्रा पूरा गर्न मुटुको काम बढ्न जान्छ र कुनै अवस्थामा मुटुका मांसपेसी थाक्छI यसरी उच्च रक्तचाप बढ्नुको साथै मुटु सम्बन्धी अन्य रोग लाग्न सक्छ। जस्तै: अन्जइना (छाती दुख्ने), मुटुको ढुकढुकी बढ्ने तथा हृदयाघात हुनसक्छ या समयमा उपचार नपाए मृत्यु हुनसक्छI
कहिलेकाहीँ स्वास्थ्य मानिस पनि सुतेको बेला कहिले नउठ्ने गरी मृत्युको मुखमा पनि जान सक्छI जाडोको बेला प्रायः पहिलेदेखि नै मुटुका समस्या भएका, उच्च रक्तचापका बिरामी, ६५ वर्ष नाघेका व्यक्तिहरु, मोटो शरीर तथा मधुमेहका बिरामीहरु अति जोखिम समूहमा पर्छन्I तीनलाई विशेष ध्यान दिनुपर्ने हुन्छI
घट्दो तापक्रमले देखिने खतराका लक्षणहरू निम्न अनुसार छन्
छाती दुख्ने या थिचेको जस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने या छिटोछिटो छोटो श्वास फेर्ने, ओठ नङ निलो हुने, टाउको दुख्ने या रिंगटा लाग्ने, बान्ता हुने या गर्न मन लाग्ने, अचानक काम नगरे पनि थकाइ लाग्ने हुन्। अन्य अनुभवहरुमा छाती दुख्ने र घाँटी, पाखुरातिर दुखाइ सर्दै जाने, मुटुको गति बढ्ने जस्ता समस्याहरु पनि देखिन सक्छ।
प्रत्येक वर्ष असोजदेखि फागुनसम्म रोग लग्न नदिने विभिन्न उपाय अपनाउन सकिन्छ। जस्तो कि, आफ्नो स्वास्थ्यको जिम्मा आफैँ लिनु। डाक्टरले लेखेका औषधिहरु समयमा नछुटाई खानु र कमसे कम पन्ध्र दिन खाने जति औषधि बढी किन्नु या घरमा राख्ने ताकि औषधि सक्नुपूर्व बजारबाट किन्ने समय पाइयोस्। यसरी तपाईंले खाने औषधि नियमित रुपमा खाने बानी हुन्छ र बजारमा नपाए पनि १५ दिन औषधि तपाईंको स्टकमा सुरक्षित हुने गर्छ।
शारीरिक तौल स्वस्थ्यमय राख्ने, धेरै चिल्लोपिरो या घिउ नखाने। सकेसम्म मौसम अनुसार फलफूल चपाएर खान। पर्याप्त मात्रामा पानी खाने गर्नुपर्छ। ब्यायाम गर्नु जरुरी हुन्छ तर सकेसम्म अनावश्यक रुपमा घर बाहिर या चिसो ठाउँमा काम नगर्ने। मौसम अलि तातो भएको बेला या अलिअलि घाम निस्केको बेला दिउँसोतिर मात्र एक्सरसाइज गर्ने गर्नुपर्छ।
सकेसम्म मनतातो पानी या सुप खानु राम्रो हुन्छ। यसले शरीरको हाइड्रेसन मेन्टेन गर्ने गर्छ। काम गर्ने कोठा या सुत्ने कोठा न्यानो बनाएर राख्नुपर्छ। तर हिटर बलेको छ भने झ्याल खोलेर राख्नुपर्छ उकुसमुकुस हुनबाट बच्न। न्यानो लुगा लगाउने टोपी, गलबन्दी लगाउनुपर्छ।
धेरै चिन्ता नलिने, चिन्ता नै आइपरे डायरी लेख्ने या योग गर्ने गर्नुपर्छ। सकेसम्म अत्यन्त मात्रामा मद्यपान नगर्ने। धूमपान या कुनै लागुऔषधि नखाने, यसले शरीरलाई न्यानो पार्दैन बरु नोक्सान गर्छ।
(लेक्चरर, नर्सिङ विभाग, नेपाल मेडिकल कलेज।)