नर्सहरूको आन्दोलन परालको आगोझैं देशभरि सल्किँदै गएको छ। पोखराबाट सुरु भएको यो आवाज आज चितवन हुँदै पूर्वको विराट मेडिकल कलेजसम्म फैलिएको छ। यस्ता आन्दोलनहरू बारम्बार हुनु आफैँमा हाम्रो स्वास्थ्य प्रणालीको गहिरो समस्या देखाउने संकेत हो। समयमै समस्याको समाधान खोजिएन भने देशको स्वास्थ्य प्रणाली ढल्ने दिन टाढा छैन। स्वास्थ्य प्रणालीको मुटु भनेको नर्सिङ पेशा हो। मुटु नै काम गर्न छाड्यो भने शरीरले कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा हरेकले बुझ्न जरुरी छ।
सबैले यस आन्दोलनप्रति ऐक्यबद्धता जनाऔँ। स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना तत्काल कार्यान्वयन गरियोस्। नर्सहरूको लागि मात्र 'कोड अफ इथिक्स' अस्पतालभित्र बिरामीको सम्पूर्ण जिम्मेवारी नर्सहरूको मात्र हो? यदि बिरामीको समग्र व्यवस्थापन नर्सहरूको मात्र जिम्मेवारी हो भने, त्यसो भए बाँकी स्वास्थ्य संस्थाको प्रशासन र व्यवस्थापनको भूमिका के हो? यदि कसैले सोचिरहेको छ कि नर्सहरू बिना पनि अस्पताल सहजै चल्न सक्छ, भने कृपया त्यो देखाएर प्रमाणित गरियोस्।
अन्यथा, जिम्मेवारीको नाममा नर्सहरूलाई निरन्तर मानसिक, व्यावसायिक र सामाजिक रूपमा दवाब दिने कार्य तुरुन्त बन्द गरिनुपर्छ। हामीहरू हाम्रो पेशागत जिम्मेवारीबाट पछि हट्ने पक्षमा छैनौं। तर, हाम्रो श्रम, योगदान र इज्जतलाई सम्मान नगरी एकतर्फी नियम थोपार्ने र दमन गर्ने अभ्यास अब स्वीकार्य छैन, न्यायको पक्षमा,सेवाको सम्मानमा,नर्सहरूको आत्म-सम्मानका लागि।
बिरामीको सम्पूर्ण जिम्मेवारी नर्सहरूकै हो? अनि अस्पताल व्यवस्थापनको जिम्मेवारी के हो? जिम्मेवारीको नाममा नर्सहरूलाई धम्क्याउने, दबाब दिने, बलिको बोको बनाउने काम तुरुन्त बन्द गरियोस्।
सरकार र मन्त्रालयले तोकेको सेवा सुविधा, तुरुन्त लागू गरियोस्।जबसम्म स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन हुँदैन, त्यसबेलासम्म यो आन्दोलन जारी रहनेछ। यो आन्दोलन न त केवल नर्सहरुको मात्रै हो, न त कुनै एक अस्पतालको, यो त नेपालको निजी स्वास्थ्य प्रणालीभित्र लुकेको गहिरो अन्यायको प्रतिविम्ब हो।
के-के कुराहरू यो आन्दोलनले सतहमा ल्याएको छ?
श्रमशोषण र राजनीतिक संरक्षणको साँठगाँठ
निजी स्वास्थ्य संस्था, मेडिकल कलेज र अस्पतालहरूले वर्षौंसम्म राजनीतिक दलहरूसँग मिलेमतो गरेर, श्रमिकका आवाज दबाउने, ट्रेड युनियनहरूलाई नियन्त्रण गर्ने र श्रमिकहरूलाई 'कम मूल्यमा बढी काम' गराउने प्रणाली बनाएका छन्। यसको अर्थ के हो भने, श्रम अधिकारको रक्षा गर्न खडा भएका संस्थाहरू नै श्रमिकको शोषणमा मौन छन् या संलग्न छन्।
वर्गीय अन्तरविरोध
गरिबबाट तानेको पैसा, धनीको मुनाफा चिकित्सा शिक्षा र उपचार अहिले निम्नवर्गीय र मध्यम वर्गका लागि आर्थिक भार बनेको छ। एकातिर, ती वर्गका मानिसहरूले औषधि, अपरेशन, पढाइ, सिट खरिदका नाममा लाखौं खर्च गर्छन्। अर्कातिर, अस्पतालमा काम गर्ने नर्स, स्टाफ, आवासीय चिकित्सक, हेल्थ असिस्टेन्टहरू त्यसै रकमबाट उचित पारिश्रमिक पनि पाउँदैनन्। यो सारा धन केही सीमित निजी स्वास्थ्य माफियाको खल्तीमा जान्छ, जुन सम्पत्तिको रूपमा देखिन्छ, ठूला भवनहरू, गाडीहरू, विदेश यात्राहरू।
श्रमिकको प्रतिरोध: दबिएको आगो अब बल्दैछ
आवासी चिकित्सकहरूदेखि नर्ससम्म पछिल्ला केही वर्षमा भएका आन्दोलनहरूले देखाएको कुरा के हो भने,अब स्वास्थ्य क्षेत्रमा संघर्ष गर्ने चेतना जागिरहेको छ। नर्सहरूको आन्दोलनले यस संघर्षलाई एक जनस्वास्थ्य आन्दोलनको रूपमा रूपान्तरण गरिरहेको छ। यो सामाजिक न्यायको मुद्दा हो, जुन स्वास्थ्य व्यापार होइन, सेवा हो भन्ने आधारमा उठेको छ।
राज्यको भूमिका र निष्क्रियता
राज्यका नियामक निकायहरूले न श्रमिकको न्यूनतम अधिकार सुनिश्चित गरेका छन्, न त बिरामीहरूको नै हित सुनिश्चित गरेका छन्।