काठमाडौं- म्यान्मारले सुर्तीजन्य उत्पादनमा ‘मानकीकृत सादा प्याकेजिङ’ नीति कार्यान्वयन गर्दै जनस्वास्थ्य सुरक्षातर्फ ऐतिहासिक कदम चालेको छ। अक्टोबर २०२५ देखि यो नीति पूर्णरूपमा लागू भएको हो।
सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष करिब ६४ हजार मानिसको मृत्यु हुने म्यान्मारमा यो कदमले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
यस नीतिअनुसार अब सबै चुरोट र सुर्तीजन्य वस्तुहरू एउटै गाढा खैरो रङमा प्याक गरिनेछ। ब्रान्डका लोगो, डिजाइन वा प्रचारात्मक चित्र प्रयोग गर्न पाइने छैन। प्याकेटमा केवल ब्रान्ड नाम र प्रकारको नाम निश्चित अक्षर र आकारमा लेखिनेछ। साथै, प्याकेटको ७५ प्रतिशत भागमा स्वास्थ्य चेतावनी (५० प्रतिशत तस्बिर चेतावनी र २५ प्रतिशत लेखिएको चेतावनी) अनिवार्य राख्नुपर्नेछ।
यो नीति सन् २०२१ मा घोषणा भए पनि तम्बाकू उद्योगको अवरोधका कारण कार्यान्वयनमा ढिलाइ भएको थियो। उद्योगहरूले ‘उपकरण र सामग्री अभाव’ को बाहानामा मिति सार्ने प्रयास गरे पनि म्यान्मार सरकार पछाडि हटेन। केही उत्पादक कम्पनीहरूले त ‘प्लेन प्याकेजिङ’ मा उत्पादन अगाडि नै सुरु गरिसकेका थिए।
‘म्यान्मारमा प्लेन प्याकेजिङको कार्यान्वयन सुर्तीजन्य पदार्थ नियन्त्रणको ऐतिहासिक उपलब्धि हो,’ भाइटल स्ट्राटेजिज एशिया प्यासिफिकका क्षेत्रीय निर्देशक डा. तारा सिंह बमले भने।
उनका अनुसार अरु देशहरूको अनुभवले देखाएको छ- यस्तो प्याकेजिङले सुर्तीजन्य पदार्थ उत्पादनको आकर्षण घटाउँछ, स्वास्थ्य चेतावनीलाई अझ प्रभावकारी बनाउँछ र युवाहरूलाई धूम्रपान सुरु गर्नबाट रोक्न मद्दत गर्दछ।'
म्यान्मारमा ५४.४ प्रतिशत वयस्क जनसंख्या कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। तीनमध्ये २६.१ प्रतिशत धूम्रपान गर्ने र ४३.२ प्रतिशतले धुवाँरहित सुर्तीजन्य पदार्थको प्रयोग गर्छन्। युवामाझ करिब ३० प्रतिशत पुरुषहरू सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन्।
सन् २०१६ मा गरिएको अध्ययनअनुसार, तम्बाकूका कारण म्यान्मारले एम.एम.के २.६२ ट्रिलियन (अर्थात् यु.एस.डी १.८७ अर्ब) बराबरको आर्थिक क्षति व्यहोरेको थियो, जुन देशको कुल गार्हस्थ उत्पादनको ३.३ प्रतिशत हो। यसमध्ये एम.एम.के ३०७ अर्ब स्वास्थ्य उपचारमा र एम.एम.के २.३ ट्रिलियन श्रम क्षतिमा खर्च भएको अनुमान छ। यो भार मुख्यतः गरिब वर्गमा बढी परेको छ- सुर्तीजन्य पदार्थका कारण २८ प्रतिशत मृत्यु न्यून आय वर्गका व्यक्तिहरूमा हुने तथ्यांकले देखाउँछ।
भाइटल स्ट्राटेजिजले सन् २०१२ देखि म्यान्मारको स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्दै सुर्तीजन्य पदार्थको नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको छ।
मुख्य उपलब्धिहरूमा समावेश छन्-
सन् २०१४ मा १०० प्रतिशत धूम्रपान निषेध नीति
सन् २०१६ मा चित्रसहितका चेतावनी प्याक लागू
सन् २०२० मा उद्योग हस्तक्षेप रोक्न आचारसंहिता जारी
र सन् २०२१ मा मानकीकृत प्याकेजिङ नीति स्वीकृत
डा. बम भन्छन्, ‘सुर्ती उद्योगका स्वार्थभन्दा माथि उठेर जनस्वास्थ्यलाई प्राथमिकता दिनु म्यान्मारको साहसिक कदम हो। यसले जीवन बचाउनेछ र सम्पूर्ण क्षेत्रका लागि प्रेरणादायी उदाहरण बन्नेछ।'