काठमाडौं - आज विश्व मस्तिष्कघात (स्ट्रोक) दिवस। मानिसलाई मस्तिष्कघात (स्ट्रोक) बारे सचेत गराउने र रोकथामका उपायबारे ध्यानाकर्षण गराउने लक्ष्यका साथ हरेक वर्ष अक्टोबर २९ तारिखका दिन जनचेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ।
यस वर्षको विश्व स्ट्रोक दिवसको नारा ‘एभ्री मिनेट काउन्टु अर्थात ‘हरेक मिनेट महत्वपूर्ण छ’ भन्ने रहेको छ।
विश्वमा मानिसको मृत्युको तेस्रो वा चौथो कारणका रुपमा मस्तिष्कघात रहेको छ। आगामी ५,७ वर्षमा मान्छेको मृत्युको प्रमुख कारण स्ट्रोक हुने प्रक्षेपण गरिएको छ। मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण स्ट्रोक मृत्युको प्रमुख कारण बन्न लागेको न्यूरोसर्जन प्राडा राजीव झाले बताए।
खानपान तथा उच्च तनावका कारण यो बढ्दै गएको उनले बताए। धुम्रपान, मद्यपान,मधुमेहका रोगीले औषधि सेवन नगर्ने,समयमा नै रोग पत्ता नलाग्ने,उच्च रक्तचापको औषधि सेवन नगर्नु,मुटु रोगीहरुले पनि औषधि नखाने जस्ता कारणले पछिल्लो समय स्ट्रोकको समस्या बढ्दै गएको उनी बताउँछन्।
स्ट्रोक हेमोरेज तथा रगत सप्लाई गर्ने नशा व्लक हुँदा हुने गर्छ। धेरै व्यक्तिमा रगत सप्लाई गर्ने नशा बन्द भएका कारण स्ट्रोक हुने उनले जानकारी दिए । रगत सप्लाई गर्ने नशा बन्द हुँदा विभिन्न प्रकारका प्यारालाइसिस् तथा हेमोरेज स्ट्रोकले भने मस्तिष्कमा ट्युमर गराउने उनले जानकारी दिए।
हरेक वर्ष स्ट्रोकको समस्या बढ्दै गएकोले यसबारे जनचेतना आवश्यक रहेको डा झाको दाबी छ। युवा अवस्थामा नै उच्च रक्तचापको समस्या देखिने गरेकोले पछिल्लो समय स्ट्रोकको समस्या बढेको डा झा बताउँछन्।
सजग हुन सकेमा ९० प्रतिशत स्ट्रोक हुने सम्भावनालाई कम गर्न सकिने उनको दाबी छ। शारीरिक व्यायाम,तनावको नियन्त्रण,उच्च रक्तचाप नियन्त्रण, सुगरलाई नियन्त्रण तथा खानपानमा विशेष ध्यान दिन सके स्ट्रोकको जोखिमलाई न्यूनीकरण गर्न सकिने छ।
मस्तिष्कघात भनेको के हो?
हामीमध्ये धेरै जनाले हर्टअट्याकको बारेमा धेरै नै सुनेका छौं। जसरी मुटुमा हार्टअट्याक हुन्छ त्यसैगरी मस्तिष्कमा पनि अट्याक हुन्छ।साधारण रुपमा भन्नुपर्दा मस्तिष्कमा हुने आघात अर्थात अट्याकलाई मस्तिष्कघात (स्ट्रोक) भनिन्छ। मस्तिष्कमा जाने नशा फुटेर वाँ साँघुरो भएर रगत प्रवाह बन्द हुने अवस्था नै मस्तिष्कघात हो।नशा बन्द हुने समस्यालाई स्केमिक स्ट्रोक र नशा फुटेर हुनेलाई हेमोरेजिक स्ट्रोक भनिन्छ।
अहिलेको अवस्थामा मस्तिष्कघात चिन्ताजनक विषय हो।नेपालमा यो समस्या अहिले विकराल भइरहेको छ।मानिसको मृत्युको कारकमध्ये यो रोग पाँच नम्बरमा पर्छ।आगामी १० वर्षमा मस्तिष्कघात मानिसको मृत्युको पहिलो कारण बन्नसक्ने देखिएको छ।विश्वभर नै मस्तिष्कघातको समस्या भयावह हुने अवस्था छ।हाम्रो देशमा विशेषगरी गाउँघरमा अझैपनि मृत्युको कारण थाहा नभएको भन्ने गरिन्छ।सायद ती व्यक्तिमा मस्तिष्कघात भएको हुनसक्छ।नेपालमा त कतिपयमा मस्तिष्कघात पहिचान नै नभइ मृत्यु भइरहेको अवस्था अझै छ।
मस्तिष्कघात भएको शंका कसरी गर्ने? लक्षणहरु कस्ता हुन्छन्?
मस्तिष्कघात हुन लागेको थाहा पाउन गाह्रो हुन्छ। तर केही संकेतहरु हुन्छन्। जस्तै आधा अनुहार झम्झमाउने वा बाङ्गो हुने, हात वा खुट्टा झम्झमाउने वा कमजोर हुने, आवाज लरवरिने, होस कम भएजस्तो हुने समस्या अचानक भएको छ भने यो मस्तिष्कघातको लक्षण हो। यस्तो लक्षण देखिएको ४ घण्टालाई स्वर्णिम समय भन्छौं। यो ४ घण्टामा अस्पताल पुगेर उपचार सुरु भएमा मान्छेको मृत्यु हुने देखि प्यारालाइसिस हुने, देख्न, बोल्न, सुन्न नसक्ने वा घाँटीभन्दा तलको भाग नचल्ने समस्याहरुबाट बच्न सकिन्छ।
मस्तिष्कघात हुनै नदिन के-के कुरामा ध्यान दिने?
याद गर्नुपर्ने कुराहरुमा उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ।मुटुको समस्या भएका बिरामी, उच्च रक्तचाप, सुगरका बिरामीले आफ्नो यी समस्यालाई कन्ट्रोलमा राख्नुपर्छ।नियमित औषधि खाने, नियमित व्यायम गर्ने, ८ घण्टा वा पुरा निद्रा सुत्ने र खानपानमा विशेष ध्यान दिनुपर्छ।चुरोट, रक्सिको सेवन गर्नु हुँदैन। शरीरलाई सक्रिय राख्नुपर्छ