काठमाडौं– सरकारी सरह सेवा सुविधा बढाउनुपर्ने माग राख्दै चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट सुरु भएको नर्स आन्दोलन अहिले देशव्यापी बनेको छ।
हाल पोखरास्थित गण्डकी, मणिपाल मेडिकल कलेज, विराटनगरस्थित विराट मेडिकल, काठमाडौंको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा समेत आन्दोलन फैलिएको छ।
काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, किस्ट मेडिकल कलेज लगायतमा पनि चाँडै आन्दोलनका कार्यक्रम घोषणा गरिने नर्सिङ संयोजक समितिले जनाएको छ।
युनिभर्सल मेडिकल कलेज
भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा आन्दोलन निरन्तर चलिरहेको छ। उक्त कलेजमा कार्यरत नर्स रस्मी गहतराजका अनुसार कार्तिक २ गतेदेखि सुरु भएको आन्दोलनको आज दशौं दिन हो।
‘आकस्मिक सेवा दिएका छौं, क्रिटिकल केयरका इन्प्याटेन्ट बिरामी हेरिरहेका छौं,’ उनले भनिन्, ‘तर नयाँ भर्ना भने लिइएको छैन।’
उनका अनुसार, ‘ओपिडी खुला भए पनि ती स्थानहरूमा नर्सिङ तथा प्यारामेडिक्सको सेवा दिइएको छैन। बिरामी आइरहेका छन् तर उपचारमा समस्या भइरहेको छ।’
हिजो वार्ताका लागि व्यवस्थापनले बोलाए पनि कुनै माग पूरा नभएको उनले बताइन्। १८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय भइसकेकाले त्यसैलाई निरन्तरता दिने तयारी गरिएको उनले जानकारी दिइन्।
उनका भनाइमा, प्रशासनले वार्ताका लागि बोलाए पनि नर्सहरूको राय नलिई एकलौटी रूपमा निर्णय लिएको भन्दै वार्ताबाट नर्सहरूको टोली बाहिरिएको छ।
आजसम्म नर्सहरूको कुनै माग पूरा गर्नका लागि अस्पताल प्रशासनले तदारुकता नदेखाएको उनको गुनासो छ। आन्दोलन जारी रहँदा पनि आकस्मिक, डायलासिस तथा क्रिटिकल केयरतर्फका इन्प्यासेन्ट सेवामा नर्सहरूले कालो पट्टी बाँधेर नै सेवा दिइरहेका छन्।
गण्डकी मेडिकल कलेज
पोखरास्थित गण्डकी मेडिकल कलेजमा कार्यरत नर्सहरूको आन्दोलन निरन्तर जारी छ।
अस्पताल सञ्चालकसँग वार्ता भए पनि माग अनुसार सहमति हुन नसकेको अस्पतालमा कार्यरत एक नर्सले बताइन्।
सहमतिका लागि बैठक बोलाइए पनि सरकारले पुनः निर्देशन दिए मात्र तोकिए बमोजिमको तलब तथा सेवा सुविधा दिने सञ्चालकहरूले बताउँदै आएको ती नर्सले जानकारी दिइन्।
काममा फर्कन आग्रह गरे पनि तोकिए बमोजिमको सेवा सुविधा दिन सञ्चालकहरू तयार हुन नसकेको ती नर्सले बताइन्।
आइसियु र आकस्मिक कक्षमा भने कालो पट्टी बाँधेर सिनियर नर्सहरूले सेवा दिइरहेको उनले जानकारी दिइन्।
गण्डकी मेडिकल कलेजमा नर्स आन्दोलनका कारण वार्डहरूमा बिरामी खाली नै भइसकेका छन्।
विराट मेडिकल कलेज
विराटनगरस्थित विराट मेडिकल कलेजमा आन्दोलनरत नर्सहरूले छठ पर्वसम्मका लागि आन्दोलन स्थगित गरेका थिए।
विराट मेडिकल कलेजमा कार्यरत एक नर्सका अनुसार, अब चाँडै बैठक बसेर पुनः आन्दोलन गरिनेछ।
‘सो जानकारी हामीले अस्पताल सञ्चालकहरूलाई पनि गराइसकेका छौं,’ ती नर्सले भनिन्, ‘हाललाई सेवा दिइरहेका छौं, तर सरकारले तोकेसरह पारिश्रमिक नपाए चाँडै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं।’
मणिपाल मेडिकल कलेज
सबैभन्दा पहिले आन्दोलनको सुरुवात गरेका पोखरास्थित मणिपाल मेडिकल कलेजका नर्सहरूले बिरामीको असुविधालाई ध्यानमा राखी हाल दैनिक दुई घण्टाको आन्दोलनपछि ड्युटी गर्दै आएका छन्।
मणिपालका नर्सहरूले सेवा सुविधाको माग राख्दै आन्दोलन गरेको करिब तीन साताभइसकेको मणिपाल मेडिकल कलेजमा कार्यरत नर्स रोशनी गुरुङले बताइन्।
‘पटक–पटक अस्पताल सञ्चालकहरूतर्फबाट वार्तामा आउन अनुरोध गरिएको छ,’ उनले भनिन्, ‘गत आइतबार पनि सहमतिका लागि वार्तामा बसेका थियौं, तर माग पूरा भएका छैनन्।’
‘हाल बिरामीको असुविधालाई ध्यानमा राखी दुई घण्टामात्र आन्दोलन गरिएको छ,’ उनले थपिन्। कालो पट्टी बाँधेर सेवा दिइरहेको उनले बताइन्।
नेपाल नर्सिङ संघले तय गरेको आन्दोलनका कार्यक्रमलाई आगामी १८ गतेसम्म निरन्तरता दिइने र त्यसपछि पनि माग पूरा नभए देशव्यापी आन्दोलन गर्ने तयारी रहेको उनले जानकारी दिइन्।
सरकारीमा कार्यरत नर्सहरुको समर्थन
निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको आन्दोलनमा सरकारी अस्पतालका नर्सहरुले पनि साथ दिएका छन्।
त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्रलगायत विभिन्न सरकारी अस्पतालमा कार्यरत नर्सहरूले समेत प्रदर्शन गरिरहेका छन्। उनीहरुले अस्पतालअगाडि जम्मा भएर नाराबाजी गरेका छन्। साथै कालोपट्टी बाँधेर काम गरिरहेका छन्।
निजी स्वास्थ्य संस्थाका नर्सहरुको वर्तमान आन्दोलनलाई आम नर्सले पेशागत स्वभिमानको लडाइँका रुपमा लिइरहेको देखिन्छ।