काठमाडौं- डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ।
योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ। यस्तै, डेंगु संक्रमितको संख्या ५० हजार २५३ पुगेको छ। डेंगु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो। सन् २००५ मा भने डेंगुका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगुको संक्रमण देखिँदै आएको छ। सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेंगु बढेको पाइन्छ।
तिमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेँगुका बिरामी देखिएका थिए। त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेंगुको संक्रमण कम देखिएको छ। सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए।
पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गर्दछ। पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको थियो।