काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सरगर्मी बढ्दो छ। चुनावी मैदानमा पूर्व स्वास्थ्यमन्त्रीहरु समेत छन्। आइतबार हुने निर्वाचनका लागि आज बिहीबार प्रचारप्रसारको अन्तिम दिन हो। शुक्रबारदेखि मौन अवधि सुरु हुँदैछ।
निर्वाचन नजिकिँदै जाँदा पूर्व स्वास्थ्यमन्त्रीहरुको घरदैलौ अभियान तीव्र भइरहेको छ। यसपटकको निर्वाचनमा उठेका केही स्वास्थ्यमन्त्रीको क्षेत्रमा स्थानीय तहको निर्वाचन र पछिल्लो समयको राजनीतिक वातावरणका आधारमा को कति जितको नजिक छ, कसको सम्भावना कति छ भन्ने विषयमा स्वास्थ्यखबरले खोजी गरेको छ।
स्वास्थ्यखबरले पूर्व स्वास्थ्यमन्त्रीहरु गगनकुमार थापा, दिपक बोहरा, गिरिराजमणि पोखरेल, भानुभक्त ढकाल, रामजनम चौधरी, विरोध खतिवडा, हृदयेश त्रिपाठी, खगराज अधिकारी, उपेन्द्र यादव, शेरबहादुर तामाङ र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र पदमा अर्यालको क्षेत्रका विषयमा उनीहरुको अवस्थाक विषयमा बुझेको छ। स्वास्थ्यखबरले स्थानीयसँगको कुराकानी र स्थानीय तहमा आएको मतका आधारमा निर्वाचनमा कसको जित्ने सम्भावना बढी छ भन्ने विषयमा विश्लेषण गरेको छ।
१० जना स्वास्थ्यमन्त्री र २ जना स्वास्थ्य राज्यमन्त्रीहरुका विषयमा अध्ययन गर्दा तीन जनाको जित्ने सम्भावना बलियो देखिएको छ। तीन जना पूर्व मन्त्रीको क्षेत्रमा भने उच्च प्रतिस्पर्धा हुने देखिएको छ भने बाँकी ६ जनाको क्षेत्रमा उनीहरुभन्दा अन्य उम्मेदवारहरुको सम्भावना बलियो देखिन्छ।
जित्ने सम्भावना बढी भएकाहरुमा काठमाडौं ४ का गगन थापा, महोत्तरी १ का गिरिराजमणि पोखरेल र मकवानपुर क्षेत्र नम्बर २ का विरोध खतिवडा देखिन्छ। यस्तै कैलाली–१ का रामजनम चौधरी र रुपन्देही ३ बाट चुनावी मैदानमा होमिएका दिपक बोहोराको भने तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी प्रदेश सभामा उठेका छन्। उनको क्षेत्रमा पनि तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।
पूर्व स्वास्थ्यमन्त्रीहरु भानुभक्त ढकाल, हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, उपेन्द्र यादव र राज्मन्त्रीहरु उमेश श्रेष्ठ र पदमा अर्याल भने अन्य उम्मेदवारभन्दा कमजोर अवस्थामा देखिन्छन्।
गगन थापाको सम्भावना बलियो
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा २०७४ को आमनिर्वाचनमा काठमाडौं-४ बाट निर्वाचित भएका थिए। आगामी निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। थापा निर्वाचित भएको क्षेत्र काठमाडौं-४ मा महानगरपालिकाका १, ७, ८ र ३० वडाहरु पर्छन्। यस्तै, बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, र १३ वडाहरु पर्छन्।
थापाले सांसद जितेपछि प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएपछि उक्त क्षेत्रमा उनको महोल थप सशक्त बनेको छ। स्वास्थ्यखबरले गरेको स्थलगत अध्ययनका क्रममा पनि थापा उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराईभन्दा बलियो देखिएका छन्।
काठमाडौं ४ मा स्थानीय तहको मतको अंक गणित हेर्दा भने नेकपा एमाले अगाडि देखिन्छ। तर गगनको छविका कारण उक्त क्षेत्रमा उनलाई भोट हाल्छु भन्नेहरुको संख्या बढी देखिन्छ। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्ने १२ वटा वडामध्ये कांग्रेसले केवल ३ वटामा वडाको मात्रै अध्यक्ष जितेको छ। उसले काठमाडौं महानगरपालिकाका ७, ८, र ३० मा वडाध्यक्ष जितेको हो। जबकि, एमालेले बाँकी ९ वटा वडाको अध्यक्ष जितेको छ। एमालेले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र बुढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्ष जितेको हो।
वडाध्यक्षहरुले पाएको समग्र मत जोड्दा पनि एमालेले सर्वाधिक मत पाएको देखिन्छ। एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६७, एकीकृत समाजवादीले २ हजार ४१४, माओवादी केन्द्रले ८४४, राप्रपाले २ हजार २९३ र स्वतन्त्र उम्मेदवारले १ हजार २८ मत पाएको देखिन्छ। अन्य पार्टीको मत नगन्य देखिन्छ।
थापा निर्वाचित भएको क्षेत्रमा एमालेको वर्चस्व यसपटक मात्रै होइन, अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि देखिएको थियो। २०७४ वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं-४ अन्तर्गतका वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा कांग्रेसभन्दा एमाले ३ हजारभन्दा बढी मतले अगाडि थियो।
त्यतिबेला एमालेका वडाध्यक्षहरुले कुल १७ हजार २३९ मत पाएका थिए। त्यस्तै, नेपाली कांग्रेसले १४ हजार ७६ र नेकपा माओवादी केन्द्रले ३ हजार ९०९ मत पाएका थिए।
वडाध्यक्षहरुले पाएको मत केही कम भए पनि २०७४ सालको आम निर्वाचनमा थापाले ३ हजारभन्दा बढीको मतान्तरले जित निकालेका थिए। उनले २१ हजार ५५८ मत पाउँदा एमालेका राजन भट्टराईले १८ हजार १४० मत मात्रै पाएका थिए।
२०७४ सालमा थापाले निकालेको जित यसकारण पनि उल्लेखनीय हो कि, उनले एमाले र माओवादी केन्द्र मिलेर बनेको वामगठबन्धनका साझा उम्मेदवारलाई पराजित गरेका थिए। स्थानीय तहको निर्वाचनमा पार्टीको मत कम देखिए पनि संसदीय निर्वाचनमा थापा बलियो देखिएका कारण त्यस क्षेत्रमा उनको व्यक्तिगत प्रभाव राम्रो देखिन्छ।
यसपटक थापालाई थप सजिलो हुने देखिन्छ। पहिलो त, यसपटक उनीतिर गठबन्धन छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजपाको गठबन्धन उनका लागि सहयोगी हुन्छ। त्यस्तो अवस्थामा उनको पक्षको मत नै १९ हजारभन्दा बढी हुन जान्छ।
अर्कोतिर, पार्टीको अघिल्लो वर्ष सम्पन्न महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका छन्। त्यसले पार्टी राजनीतिमा उनको प्रभाव बढाएको छ नै, पार्टी बाहिर पनि छवि विस्तार गरेको छ। उनी सधैंभर चर्चा भइरहने नेता हुन्। चर्चा हुनु चुनावका लागि थप फाइदाजनक हुने गर्छ। काठमाडौं- ४ थापाको राजनीतिक आधारभूमि पनि हो।
अर्को उल्लेखनीय पक्ष भनेको, सांसदको रुपमा उनले खेलेको भूमिकाको पनि यथेष्ट प्रशंसा हुने गरेको छ। कोरोना महामारीको कठिन समयमा उनले सांसद र नेताको रुपमा देखाएको सक्रियताको पनि प्रशंसा भएको थियो।
साथै, उनले गरिरहेका अध्ययन, प्रोजेक्ट गभर्मेन्टको अभियानदेखि अन्य सार्वजनिक चासोको विषयमा उनले राख्ने धारणा जस्ता विषयले पनि उनीप्रति मानिसहरुको आकर्षण छ। त्यसले पनि मतदाताको पार्टी जेसुकै भए पनि, उम्मेदवार थापालाई मत दिनेहरु उल्लेखनीय हुनेछन् भनेर आकलन गर्न सकिन्छ।
खतिवडालाई गठबन्धनको भर
पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। खतिवडा सत्ता गठबन्धनका उम्मेदवार हुन्। उक्त क्षेत्रमा एमालेका महेश बर्तौला प्रतिस्पर्धामा छन्। एमालेका बर्तौलालाई कमल थापा नेतृत्वको राप्रपा नेपाल र जसपाले समेत समर्थन गरेको छ।
खतिवडा २०४८ सालदेखि निरन्तर सांसद रहँदै आएका छन्। विगतमा एमालेबाट जितेका खतिवडालाई यसपटक भने नेकपा एसमा छन्। उनको क्षेत्रमा नेकपा एसको मत भने निकै कम छ। आफ्नो पार्टीको मात्र मतबाट खतिवडालाई मकवानपुरमा जित हासिल गर्न निकै कठिन छ।
तर सत्ता गठबन्धनबाट उठेका कारण उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको मतदाताको मत आउने छ। कांग्रेस र माओवादीको निकै धेरै मत खतिवडालाई 'ट्रान्सफर' भए मात्र उनले जित्न कठिनाइ हुने देखिँदैन।
गत स्थानीय तहको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ मा वडा अध्यक्षहरुले पाएको मतका आधारमा हेर्दा खतिवडालाई कांग्रेस र माओवादीको मत प्राप्त भएमा सहजै जित हासिल गर्ने देखिन्छ। उनको क्षेत्रमा गत निर्वाचनमा सत्ता गठबन्धनका वडा अध्यक्षहरुले ६० हजारभन्दा बढी मत पाएको देखिन्छ। एमाले र एमालेसँग गठबन्धन गरेका दलहरुका उम्मेदहारहरुको मत ३७ हजार मात्र छ। सत्ता गठबन्धनका वडाध्यक्षहरुले पाएको मत एमाले गठबन्धनको भन्दा २३ हजार बढी देखिन्छ।
स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको मत ३४ हजार २ सय ४० आएको थियो। माओवादी केन्द्रका उम्मेदवारहरूले २२ हजार ६ सय ६१ मत ल्याएका थिए। एकीकृत समाजवादीको मत भने २ हजार ७ सय १९ मात्र रहेको छ। राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष उम्मेदवारले ४ सय ६४ मत ल्याएका छन्। एमालेका वडाध्यक्ष उम्मेदवारहरूको मत ३६ हजार ८ सय ६६ रहेको छ भने जसपाको २ सय २० रहेको छ।
उपेन्द्र यादवलाई सप्तरीमा जित्न कठिन
पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष यादवले एमालेसँग गठबन्धन गर्दै उम्मेदवारी दर्ता गराएका हुन्।
सत्ता गठबन्धनबाट बाहिरिँदै यादवले एमालेसँग तालमेल गरेका हुन्। स्थानीय तहको मतलाई आधार मानेर हेर्दा यादव उठेको सप्तरी क्षेत्र नम्बर २ मा जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धनको मत बढी छ। एक्ला-एक्लै दलका रुपमा हेर्दा उक्त क्षेत्रमा जसपा ठूलो दलका रुपमा देखिन्छ। तर दुवैतर्फको गठबन्धनको मत हेर्दा भने यादवलाई निकै कम मत आउने सम्भावना देखिन्छ।
जसपा र एमालेको गठबन्धनभन्दा सत्ता गठबन्धन उक्त क्षेत्रमा धेरै मतले अगाडि देखिन्छ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रहेका छन्। सत्ता गठबन्धनबाट उक्त क्षेत्रमा लोसपाका जयप्रकाश ठाकुर उम्मेदवार छन्। उक्त निर्वाचन क्षेत्रमा जनमत पार्टीका सिके राउत पनि चुनावी मैदानमा उत्रेका छन्। तर स्थानीय तहमा भने उनको पार्टीबाट त्यति धेरै मत आएको देखिँदैन। स्थानीय तहमा मत नआए पनि राउतको आफ्नो छुट्टै छवि भएका कारण यसपटक मत बढ्न सक्ने अनुमान भने गरिएको छ।
जसपा अध्यक्ष यादव स्वास्थ्यमन्त्री हुँदा डुलुवा मन्त्रीको उपमा समेत पाएका थिए। मन्त्रालयको काममाभन्दा पार्टी र विदेश घुम्नमा मात्र उनको ध्यान थियो। उनले स्वास्थ्य मन्त्रालयमा असफल मन्त्रीको उपमा पनि पाएका थिए।
सप्तरी- २ अन्तर्गत महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका पर्छन्। स्थानीय तह निर्वाचनमा यी ४ पालिकामध्ये २ वटामा लोसपाले प्रमुख जितेको छ। त्यस्तै, नेपाली कांग्रेस र जसपाले एउटा/एउटा पालिका जितेका छन्।
गत स्थानीय तहको निर्वाचनमा सप्तरी-२ अन्तर्गत पर्ने वडाहरुमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतमा जसपा अगाडि छ। जसपाको १३ हजार १९७, कांग्रेसले ९ हजार ६६४, माओवादीले ८ हजार ९९० मत पाएका थिए। त्यस्तै, लोसपाले १० हजार १३२, एमालेले ४ हजार ८३७ र डा राउत नेतृत्वको जनमत पार्टीले ३ हजार ८७७ मत पाएको थियो।
यो आधारमा हेर्दा जसपा अध्यक्ष यादवलाई जसपा र एमालेको मत आउने देखिन्छ। जसपाको १३ हजार १९७ र एमालेको ४ हजार ८३७ मत गरेर यादवलाई १८ हजार ३४ मत आउने सम्भावना देखिन्छ।
यस्तै सत्ता गठबन्धनका तर्फबाट लोसपका उम्मेदवार जयप्रकाश ठाकुरलाई कांग्रेस, माओवादी र नेकपा एस र लोसपाको गरी ३० हजार ३४९ मत आउने देखिन्छ। सत्ता गठबन्धनको मत जसपा र एमालेकोभन्दा १२ हजार ३१५ बढी छ। स्थानीय तहको निर्वाचनपछि थपिएका मतदाता र सप्तरी दुईमा सप्तरीको सदरमुकाम राजविराज समेत पर्ने भएकाले मत तलमाथि हुने सम्भावना भने छ।
सिके राउतको पार्टीले सप्तरी जिल्लाकै दुई पालिका जितेको छ तर सप्तरी- २ अन्तर्गत पर्दैनन्। गृह पालिकामा एउटा वडाध्यक्ष जितेका डा राउत आफैं मैदानमा आउँदा फरक माहोल बन्ने अपेक्षा सो पार्टीको छ। राउत उपेन्द्र तथा उनी नेतृत्वको जसपाले हाँकिरहेको मधेस सरकारको तीव्र आलोचक पनि हुन्। त्यसैले उनले रणनीतिक रुपमै आफ्नो प्रतिस्पर्धी छनोट गरेको जस्तो देखिन्छ। त्यस्तै, डा राउतको छवि अध्ययनशील छ। उनले एउटा समूहमा आफूलाई लोकप्रिय पनि बनाएका छन्। सप्तरीको सदरमुकाम राजविराज पनि सप्तरी-२ अन्तर्गत नै पर्ने भएकाले सहरी क्षेत्रको मत तान्न सहज हुने आकलन उनको हुनसक्छ।
राउत नयाँ उम्मेदवार भएकाले पुराना उम्मेदवारलाई उनको लोकप्रियता आकलन गर्न कठिन हुन्छ। सम्भवतः यादवलाई पनि त्यही भइरहेको छ। २०७४ को निर्वाचनमा सप्तरी-२ मा यादवले जितेका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उमेशकुमार यादव थिए।
भानुभक्त ढकाललाई जित निकाल्न कठिन
मोरङ क्षेत्र नं ३ मा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई यसपटक जित निकाल्न कठिन हुने देखिएको छ। कोरोना महामारीको समयमा घरमा पाहुना आएका छन् भन्दै पन्छिने र महामारीको समयमा समेत अनियमिततामा मुछिएका कारण यसपटक उनीप्रति मोरङका मतदाता चिढिएका छन्।
यसपटक उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले जित्ने सम्भावना बढी देखिएको छ। शर्मा सत्ता गठबन्धनका उम्मेदवार हुन्। सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै उक्त क्षेत्रमा नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ।
विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा भएको थियो। ढकालले विजयी हुँदै ४२ हजार चार सय १३ तथा शर्माले ४० हजार पाँच सय छ मत प्राप्त गरेका थिए। ढकालसँग शर्मा एक हजार नौ सय सात मतान्तरले पराजित भएका थिए।
गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा उक्त क्षेत्रमा सत्ता गठबन्धनको मत बलियो देखिन्छ। सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका चौविस वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार आठ सय ३३ मतदाता छन्।
गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत सङ्ख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ। एकल मतमा भने एमाले थोरै अगाडि छ। सो निर्वाचनमा एमालेको ३७ हजार चार सय १० र जनता समाजावादी पार्टीको चार सय ६३ मत आएको थियो। जसपा–एमाले गठबन्धनमा ३७ हजार आठ ७३ मत देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दुई हजार एक सय २१ मत छ। कांग्रेसको ३६ हजार नौ सय १६, माओवादी केन्द्रको सात हजार तीन सय ७३ र एकीकृत समाजवादीको एक हजार आठ सय ५५ मत रहेको छ। सत्ता गठबन्धनको कुल मत ४६ हजार एक सय ४१ रहेको छ।
अर्यालको क्षेत्र स्याङ्जा २ ले दिन सक्छ ‘सरप्राइज’!
बाहिरबाट झट्टा हेर्दा स्याङ्जाको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका दुई हेभिवेट (नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्मा अर्याल) बीच प्रतिस्पर्धा हुने देखिन्छ। स्याङ्जा नपुग्दासम्म हाम्रो अनुमान पनि त्यही थियो। निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेकी पूर्व स्वास्थ्य राज्यमन्त्री अर्याल र नेता गुरुङ मुख्य प्रतिस्पर्धी हुन् भन्ने हाम्रो बुझाइ स्याङ्जाको वालिङ पुगेपछि भने खण्डित भयो।
उनीहरु दुबैका लागि चुनौतीका रुपमा देखिए, टिकराज गुरुङ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका टिकराजले सत्ता गठबन्धन र एमाले दुवैलाई कडा चुनौती दिइरहेका छन्। प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ।
पाल्पाको तानसेन हुँदै वालिङतर्फ अघि बढ्दा स्याङ्जा सुरु भएदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’को प्रचारप्रसार देखिन थाल्यो। विशेषगरी अटो र घरका भित्तामा स्वतन्त्र पार्टीको ब्यानर देखिन थालेपछि हामीले उम्मेदवारका बारेमा सोधखोज गर्यौं।
वालिङ पुगिसक्दा थाहा भयो, स्वतन्त्रका उम्मेदवार टिकराज गुरुङ लोकप्रिय रहेछन्। रविका कारण नभइ टिकराजका कारण स्याङ्जामा ‘घन्टी’को झंकार बढ्दो क्रममा छ।
एकरात वालिङको बसाइपछि हामीले गुरुङ र अर्यालका साथै टिकराजलाई खोज्यौं। वालिङ नगरपालिका–१० स्थित भेनस होटलमै थिए धनराज। त्यहीँ हामीले टिकराजलाई पनि बोलायौं। झट्ट हेर्दा खासै उमेर खाएको नदेखिने एक पुरुष होटेलको गेटबाट छिर्नेबित्तिकै आंगनमा रहो भीडले ‘गुरु’ भन्दै नमस्कार टक्र्यायो । कांग्रेस उम्मेदवार धनराजले त्यहीँ रात बिताएकाले कांग्रेस कार्यकर्ताको बाक्लो भीड थियो। चारतारे झण्डा बोकेका युवाहरुले पनि ती अधबैंसै पुरुषलाई नमस्कार गर्दै जितको शुभेच्छा दिन थाले। हामी लगभग पक्का भयौं, टिकराज उनै हुन्।
गुरुङ हामी नजिकै पुगेपछि उनलाई ठट्टा गर्यौंा, ‘यहीँ शुभकामना र शुभेच्छा रहेछ। जुन सवै उम्मेदवारलाई दिँदा पनि बदर नहुने। कांग्रेसका कार्यकर्ताले पनि शुभेच्छा प्रकट गरे तपाईंलाई।’
टिकराजले हाँस्दै भने, ‘यी अहिले झण्डा बोक्ने सबै मेरा विद्यार्थी हुन्। उनीहरु नेता भइसके। म भर्खर सिक्दैछु।’
२०४५ सालदेखि टिकराजले स्याङ्जामा पढाउन थालेका रहेछन्। ‘यहाँको ढुंगा माटोमा म धेरै रोएको छु। मेरो दु:ख पाइ–पाइ यहाँको माटोलाई थाहा छ। असल शिक्षक भएर समाज परिवर्तन गर्न सकिने आशामा ३४ वर्ष बिताएँ। प्रश्न गरेर थप योगदान गर्न सकिन्छ भनेर स्थानीय रेडियो र टिभीमा पनि १०/१२ वर्ष काम गरें। तर त्यतिले मात्रै पर्याप्त नहुँदो रहेछ। अहिले आफैं प्रतिनिधि हुने बाटोमा लागेको छु।’
वालिङ क्षेत्रका उनी लोकप्रिय शिक्षक मात्रै होइन, सञ्चारकर्मी र समाजसेवी समेत रहेको स्थानीयहरुले बताए। उनले राजनीति रोजेकोमा वालिङ क्षेत्रका अधिकांस खुसी छन्। स्थानीयबाट पाएको मायाबाट उनी उत्साहित पनि छन्।
आफ्नो क्षेत्रका हरेकजसो घरपरिवारसँग उनको दोहोरो चिनजान छ। कुनै न कुनै रुपमा हरेक घरपरिवारका सदस्यसँग आफू जोडिएको उनी बताउँछन्। ‘कुनै परिवारका छोराछोरीलाई मैले पढाए होला। कुनै परिवारका छोराछोरी नपढाए पनि सामाजिक कामको माध्यमबाट भए पनि म कुनै न कुनै रुपमा हरेक परिवारसँग जोडिएको छु। उहाँहरुले टिकराज कस्तो व्यक्ति भन्ने राम्रोसँग चिन्नुहुन्छ। यो माया मंसिर ४ मा पनि देखिनेमा म विश्वस्त छु,’ टिकराज बताउँछन्।
स्थानीयका अनुसार उनले पढाएका विद्यार्थी डाक्टर, पाइलट र इञ्जिनियरदेखि सबै पेसामा छन्। उनी थप्छन्, ‘मेरो विद्यार्थी नपुगेको देश पनि छैन होला।’ अहिले उनका लागि विदेशबाट समेत भोट माग्न थालिएको छ। घरपरिवारलाई भोट दिन स्थानीयका छोराछोरीले विदेशबाटै दबाब दिन थालेको स्थानीय देविका पराजुली बताउँछिन्। उनी भन्छिन्, ‘असल शिक्षक त हुनुहुन्छ नै, गाउँठाउँमा केही पर्दा अघि सरिहाल्ने उहाँको स्वभाव छ।’
उता टिकराज लोकप्रिय हुँदै गएका छन् भने यता अर्याल यसअघि यही क्षेत्रबाट जितेर मन्त्री समेत भइसकेकाले असन्तुष्टि झेलिरहेकी छिन्।
निर्वतमान सांसद अर्यालप्रति सवै मतदाता सन्तुष्ट छैनन्। मन्त्री समेत हुँदा आफूहरुको क्षेत्र उपेक्षामा परेको र अर्यालले खास खेदिने गरी विकासको काम नगरेको उनीहरुको आरोप छ। सन्देश न्यौपानेले भने, ‘कसैले सम्पत्ति कमायो भने घर जग्गा जोड्ला नि। अनि न सम्पत्ति कमाएछ भन्ने थाहा हुन्छ। नत्र सम्पत्ति कमाएको छु भन्दैमा कसैले पत्याउँदैन। अर्यालको पनि त्यस्तै देखियो। उनले गरेको छु भने भनेर भन्दा त्यसको महसुस स्याङ्जालीले गरेका छैनन्।’
अर्यालले त्यही चिर्नका लागि कामको फेहरिस्त उतारिएको पुस्तिका बाँडिरहेकी छिन् भने हरेक घरदैलोमा जाँदा आफूले ल्याएका योजना सुनाउन सक्नेगरी कन्ठस्थ पारेकी छिन्। यसले केही हदसम्म असन्तुष्टि मत्थर गर्दै गएको देखिन्छ । खासगरी जितेर गएपछि फर्केर घरदैलोमा नआएको गुनासो रहेछ। वालिङ ११ मियालेमा उनले घरदैलो गर्दै गर्दा यही गुनासो आयो। उनले भनिन्, ‘जिताएर माथि पठाउने अनि अहिले यहाँ खोजेर पाइन्छ ? कसैको तुलसीको मठ रोप्न आइन होला। काम त भएकै छ नि। वडाले गर्ने काममा पनि संघीय सांसदको भूमिका खोजेर हुन्छ र?’ यही क्रममा उनले गरेका काम सुनाइन् र स्थानीय केही सन्तुष्ट देखिए।
कांग्रेसका तर्फबाट सत्ता गठबन्धनकका उम्मेदवार गुरुङलाई भने ‘बाहिरिया’को आरोप चिर्न मुस्किल परिरहेको छ। स्थानीय पुष्प हमालले भने, ‘उहाँको ठाउँ दुई नम्बर क्षेत्रमा पर्दैन। उहाँले टिकट ल्याउँदा स्थानीय कांग्रेस पनि खुसी छैनन्।’
धनराजका लागि अन्य दुई चुनौती पनि छन्, पहिलो सामुदायिक (गुरुङ) भोट एकलौटी गर्न नपाउनु। एकपक्षीय हुन सक्ने भोट बाँडिदा त्यसको लाभ अर्याललाई पुग्ने स्थानीय बताउँछन्। अर्को कांग्रेसको गढ क्षेत्र मानिएको वालिङ र भीरकोट क्षेत्रको भोट पनि टिकराजले बढी लिने आंकलन गरिएको छ। स्थानीय कमल पंगेनी भन्छन्, ‘वालिङमा अहिले एमालेले जिते पनि कांग्रेसको गढ क्षेत्र हो। यहीँ टिकराज बलिया छन्। यसले पद्मा अर्याललाई नै फाइदा पुग्छ।’
२०७४ सालको निर्वाचनमा एमाले–माओवादी (वाम गठबन्धन) हुँदा पद्मा अर्यालले बाजी मारेकी थिइन्। उनले कांग्रेस पूर्वउपसभापति समेत रहेका गोपालमान श्रेष्ठलाई हराएकी थिइन्। माओवादीको समेत साथ पाएकी अर्यालले त्यतिबेला झण्डै ४ हजार मतको अन्तरले विजयी भएकी थिइन्।
यो पटक भने परिस्थिती केही फरक छ। माओवादीले कांग्रेसलाई सहयोग गरेको छ। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार धनराज बनेका छन्। गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजालाई हेर्ने हो भने सत्ता गठबन्धन त्यहाँ एमालेभन्दा अगाडि देखिएको छ। नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेकाहरुले ३६ हजार ८ सय ६ मत ल्याएका थिए भने नेकपा एमालेका वडाध्यक्षहरुले ३४ हजार ८ सय ९ मत ल्याएका थिए। नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार ४ सय ४७, राप्रपाले ५११, एकीकृत समाजवादीकाले २३३ मत ल्याएका थिए।
स्थानीय चुनावमा पाएका मतहरुमा भने अहिले केही उलटफेर हुने देखिन्छ। धनराज र पद्मालाई टक्कर दिन आइपुगेका टिकराजले स्थानीय तहको निर्वाचनको गणित बिगार्ने निश्चित छ। माहोल यही तरिकाले बन्दै र बिग्रिदै गए स्याङ्जा- २ ले सरप्राइज पनि दिन सक्छ!
हृदयेशको सम्भावना कम
नवलपरासी (पश्चिम)- १ निर्वाचन क्षेत्रबाट हृदयेश त्रिपाठी लामो समयदेखि जित्दै आएका छन्। पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीले निरन्तर दल बदलिरहे, स्थानीयले जनप्रतिनिधि भने अहिलेसम्म बदलेका छैनन्। अघिल्लो पटक एमालेको सूर्य चिह्न लिएर नवलपरासी (पश्चिम)- १ बाट निर्वाचित भएर मन्त्री समेत भएका त्रिपाठी यस पल्ट आफ्नै जनता प्रगतिशील पार्टी खोलेर अध्यक्ष छन्।
एमालेको समर्थनमा कोदालो बोकेको मान्छे चुनाव चिह्न लिएर मैदानमा छन् उनी। किसानको बाहुल्य रहेको यो क्षेत्रमा कोदालोले यसपल्ट खेत खन्ने सम्भावना भने कमजोर छ। बरु अहिले ट्रयाक्टर चलाएको तस्बिर पोस्ट गरिरहेका रुख चिह्नधारी चर्चित उद्योगपति विनोद चौधरीको सम्भावना बलियो बनेको छ।
चौधरीको प्रचार आक्रामक छ र प्रभावकारी पनि बन्दै गइरहेको छ। चौधरीले देखाएका सपनाबाट स्थानीयहरु एक पल्ट भोट दिइहेर्ने मनसायमा पुगेका छन्।
स्थानीय एक स्कुलमा सेक्युरिटी गार्डको काम गर्ने गोपीगञ्जका रामलखन केवट गाउँघरमा चौधरीलाई एक पल्ट हेर्ने कुरा चलिरहेको बताउँछन्। उनी भनी भन्छन्, 'हृदेयशलाई २०४८ सालदेखि जिताएकै हो। ८ पल्ट मन्त्री भए तर यहाँका लागि खासै केही भएन। एक पल्ट चौधरीलाई हेर्ने कुरा गाउँघरमा चलिरहेको छ।'
कांग्रेस कार्यकर्ताले भनेझैं 'विश्वचर्चित चौधरीले कायापलट' गरिहाल्ने आशा उनले गरेका छैनन्। तर उनलाई लाग्छ, 'यत्रो वर्ष त्रिपाठीले केही नगर्दा त भयो। अब एक पल्ट चौधरीले गरेनन् भने के फरक पर्छ?'
उक्त निर्वाचन क्षेत्रमा डुल्ने क्रममा धानको बिस्कुन उठाइरहेको अवस्थामा भेटिए देवनारायण चौधरी। पूर्व 'हरहवा' को सन्तान उनले यसअघि त्रिपाठीलाई मतदान गरेका हुन्। तर यस पल्ट उनलाई 'नेताजी' प्रति त्यति रुचि छैन। त्यसैले उनको गाउँ नजिकै चलिरहेको अर्का उम्मेदवार चौधरीका कुरा सुन्न श्रीमतीलाई पठाएका रहेछन्। यस पल्ट उनको चौधरीप्रति चाख छ। उनी भन्छन्, 'सधैं एउटैलाई दियौं। अब अर्कोलाई पनि दिएर हेर्नुपर्छ। नयाँ नेताका कुरा सुन्न श्रीमती गएकी छिन्।'
कृषकहरुको बाहुल्य रहेको उक्त क्षेत्रमा हृदेयशले त्यही भावना महसुस गराउन कोदालो बोकिरहेको किसान चुनाव चिह्न लिए। केही दिनअघि ट्रयाक्टर चलाइरहेको फोटो सुट गर्दै चौधरीले ट्विटरमा लेखे, 'बाटोमा जन्मिएर, माटोमा हुर्किने किसान हाम्रो अन्नदाता हुनुहुन्छ। अत्याधुनिक प्रविधि सहितको कृषिमा आधुनिकीकरण अनि व्यावसायिकता हाम्रो पहिलो प्राथमिकतामा रहनेछ।'
चौधरी अहिले घरदैलो गरिरहेका छन्। घरदैलोका क्रममा धेरैले टिपाउने समस्या हुन्- सडक, शिक्षा, स्वास्थ्य र नागरिकता। चौधरी सबै समस्याको समाधान गर्न आफू अघि सरेको आश्वासन दिन्छन्। तर उनका प्रचारक त्यसभन्दा अघि बढेर जितेको तीस दिनमा भएजति समस्या समाधान हुने आश्वासन बाँडिरहेका छन्।
उनको निर्वाचन क्षेत्रको दक्षिणी भागमा पर्ने प्रतापपुर- ९ की किरणदेवी गुप्ताले यी सबै समस्या जितेको ३० दिनमै पूरा गरिने चौधरीको समूहले आफूहरुलाई बताएको उल्लेख गरिन्। उनले भनिन्, 'यहाँको सडक ३० दिनमै फराकिलो बनाउने भन्नुभएको छ। नागरिकता नपाएकालाई ३५ दिनभित्र दिने भन्नुभएको छ। स्कुल सुधार गर्ने भन्नुभएको छ।'
आफूलाई प्रमाणित गरिसकेका उनको भनाइलाई नपत्याउन स्थानीयको मनले दिएको छैन। उनले थपिन्, 'भनेपछि गर्लान्।' यसअघि किरणदेवीले हृदयेशलाई सघाएकाले यस पल्ट पनि उनले अपेक्षा गरेका छन्। केही दिनअघि आएर हृदयेशले भनेर गएका छन्, 'तपाईंले यो क्षेत्र सम्हालिदिनुपर्छ 'नेताइन्'।'
चौधरीले अहिले स्थानीय नेता-कार्यकर्तालाई टोलटोलमा खटाएका छन्। उनीहरुको काम प्रचार होइन, समस्या टिप्ने हो। उनीहरु जनताकहाँ पुग्छन् र समस्याहरु टिप्छन्।
बर्दघाटमा भेटिएका श्यामकुमार पौडेलले आफ्ना समस्या टिप्न आउनेलाई लेखिपठाएको बताए। घर अगाडिको बाटो पिच उप्किएको र छोरा बेरोजगार भएको कुरा उनले टिपाएका छन्। उनले भने, 'ठूला उद्योगपति हुन्। सरकारले बजेट नदिए यति जाबो त आफैं पनि गर्न सक्छन् भनेर गएका छन्, टिप्न आउने भाइहरुले।
उनले गर्ने सभा-सम्मेलनमा समेत समस्या टिप्न युवा परिचालन गर्छन्। केही दिनअघि हामी नवलपरासीको प्रतापपुर पुग्दा त्रिभुवन माध्यमिक विद्यालय अगाडि चौधरीको सभा चलिरहेको थियो।
सभा सुरु हुनेबित्तिकै उद्घोषकले तरुण दलका कार्यकर्तालाई निर्देशन दिए- तरुण साथीहरु, तपाईंहरु यहाँ आउनुभएका जनताका समस्या संकलन गरेर हामीकहाँ पुर्याउन परिचालित हुनुहोस्। तरुणहरु हुर्रर गए। कति साँच्चिकै काममा लागे। कति खिस्किए।
चौधरीले सुस्तामा उद्योग खोल्ने तयारी समेत गरेको स्थानीय कार्यकर्ता बताउँछन्। केही दिनअघि शिलान्यास गर्ने प्रयास गरेका थिए। तर हृदयेशका कार्यकर्ताले सफल हुन दिएनन्। उक्त अवरोधको लाभ पनि चौधरीलाई नै हुने देखिन्छ। उक्त क्षेत्रमा उद्योग खोलेर स्थानीय बेरोजगार युवालाई रोजगारी दिने उनको आश्वासनले युवामा तरङ्ग सिर्जना गरेको छ। प्रचारमा खटेर 'रोजगार ग्यारेन्टी' गर्नेको होडबाजी देख्न पाइन्छ।
विनोद चौधरी उद्योग व्यवसायमा सफल छन्। उत्पादन र कर्पोरेट मार्केटिङमा सफलता हासिल गरेर राजनीतिमा होमिएका चौधरी त्यही अनुभव चुनावी मैदानमा प्रयोग गरिरहेका छन्। उद्योग व्यवसायमा ब्रान्डलाई स्थापित गर्न अपनाइने सबै शैली चौधरीले चुनाव प्रचार-प्रसारका क्रममा अपनाएको उनको निर्वाचन क्षेत्रमा पुगेपछि देख्न पाइन्छ।
नवलपरासी-१ का कुनाकाप्चा पुगिरहेका उनले प्रचार सामग्री त्यही अनुसार बनाएका छन्। आफ्नो प्रतिबद्धतापत्र, भिजिटिङ कार्ड र दृष्टिकोणपत्र उनले हरेक ठाउँ पुर्याेएका छन्।
निर्वाचन आचारसंहिताले टिसर्ट र टोपी चुनावी प्रचारमा प्रयोग गर्न रोक लगाएको छ। चौधरीले टिसर्टको सट्टा ज्याकेट बनाइदिएका छन्। हरेक गाउँका युवामाझ ती ज्याकेट पुगेका छन्। ज्याकेटमा रुख चिह्न भने छैन। छातीमा कांग्रेसको चारतारे झन्डा छ भने पछाडि तरुण दल लेखिएको छ। उस्तै प्रकारका ती ज्याकेटहरुले चौधरीको प्रचार समूह भन्ने चाहिँ प्रष्टै छुट्याउँछ।
ब्याचदेखि चाबीका रिङसम्म कांग्रेस झल्किनेगरी बनाइएका छन्। ती जताततै बाँडिएका छन्। भिजिटिङ कार्ड हरेक मतदाताका हातमा पुग्नेगरी बाँडिदैछन्। आफू किन राजनीतिमा आइपुगेको भन्ने अर्थ्याउने गरी लेखिएको 'बुकलेट' पनि छ्यापछ्याप्ती छ।
चौधरीलाई स्थानीयमाझ परिचय गराउने र माइकिङबाट भोट माग्न प्रयोग गरिने शब्द हो, विश्वचर्चित व्यक्तित्व। हामी त्यहाँ पग्दा माइकिङ भइरहेको थियो, 'पेड चिह्नमा छाप लगाएर विश्वचर्चित व्यक्तित्वलाई निर्वाचित गर्ने अवसर नगुमाऔं।'
चौधरीलाई सघाउने स्थानीय कार्यकर्ताहरु पनि खुसी देखिन्छन्। किनभने, चुनावका लागि खट्दा उनीहरुलाई चाहिने पेट्रोलदेखि खाने प्रबन्धसम्म राम्रो रहेको उनीहरु बताउँछन्। हामी उक्त क्षेत्रमा पुग्दा एउटा पेट्रोल पम्पमा कांग्रेसको झन्डा र ज्याकेट लगाएर तेल हाल्नेहरुको लाइन थियो। तरुण दलका निश्चित व्यक्तिले कुपन दिएपछि मोटरसाइकलमा हरदिन पाँच लिटरसम्म तेल नि:शुल्क पाउने प्रबन्ध मिलाइएको त्यही लाइनमा रहेका एकले जानकारी दिए।
भारतीय नम्बर प्लेटका मोटरसाइकलमा स्थानीय कार्यकर्तालाई गाउँ-गाउँ हुइँकिन संकोच नलाग्ने गरी बन्दोबस्त गरिएको त्यसबाट बुझ्न सकिन्छ।
स्थानीयसँग कुरा गर्दागर्दै हामी चौधरीको सभामा पुग्यौं। जहाँ स्थानीय नेता बोल्ने क्रम चलिरहेको थियो।
भर्खरै कांग्रेस प्रवेश गरेका छविलाल हरिजनले चौधरीप्रति निकै आशा र विश्वास रहेको बताए। उनले त्यसभन्दा अगाडि बढ्दै भने, 'जसरी भारतलाई नरेन्द्र मोदीले गोद लिए, त्यसरी नै विनोद चौधरी यो क्षेत्रलाई गोदमा लिँदै हुनुहुन्छ।'
त्यसअघि बोलेका प्रतापपुरका कांग्रेस सभापति राजु अधिकारीले ३० वर्षदेखि पछि परेको क्षेत्रले विकासको हँसिलो घाम देख्न चौधरीको जित जरुरी भएको बताए। मुस्लिम समुदायका नेता करिम हुसेनले आकर्षक सायरीसहित उनकै कुरामा हो मिलाए।
त्यसपछि महिलाको प्रतिनिधित्व गर्दै बोलेकी मनकुमारी चौधरीले प्रश्न गरिन्, 'परिवर्तन गर्ने कि नगर्ने?'
उनले थप्दै गइन्, 'चौधरीले जितेपछि यहीँ बढिया कलेज खुल्छ। सुरक्षित सुत्केरीका लागि भैरहवा र बुटवल धाइरहन पर्दैन। यहीँ अप्रेसनबाट बच्चा जन्माउन पाइन्छ।'
वक्ताहरुको सूची जति बढ्दै गयो, आश्वासन त्यति नै बढ्दै गयो। कतिले चौधरी उद्योगपति भएका कारण 'घमण्डी' होलान् भन्ठानेको तर सरल पाएको बताए। कतिले विकासको हुटहुटीले चौधरीलाई यो क्षेत्रमा ल्याइपुर्यााएको दावी गरे।
कात्तिकको अन्तिम साता भए पनि त्यहाँ सामान्यतया गर्मी थियो। सभामै चौधरीका लागि फ्यानको व्यवस्था भयो। उनलाई उखरमाउलो त गर्मीका कारण मात्रै होइन, वक्ताहरुले आफूलाई लिएर गरेको 'बढाइचढाइ' का कारण पनि भइरहेको हुनुपर्छ!
शेरबहादुर तामाङलाई बस्नेतको चुनौती
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा यसपटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा साखको लडाइँ हुने देखिएको छ। सधैं राप्रपासँग प्रतिस्पर्धा भइरहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत चुनावी मैदानमा आएपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
२०७४ सालको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा र बस्नेतबीचमा ‘ह्याकुल्लाले पेल्ने’ शब्द निकै चर्चित भयो। यसपटक पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ आफ्नो निर्वाचन क्षेत्रमा बस्नेतको त्यही ह्याकुल्लासँग प्रतिस्पर्धा गरिरहेका छन्। एमाले विभाजनको समयमा माधव नेपालतिर जाँदै फेरि एमालेमा फर्किँदै कार्यालय सचिवसम्म भएर अध्यक्ष केपी शर्मा ओली निकट भएका तामाङ उक्त क्षेत्रमा तेस्रो पटक जितेर आफ्नो हाट्रिक पूरा गर्ने दाउमा छन्।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका तामाङको उक्त आकांक्षा पूरा हुन नदिने भन्दै बस्नेतले उक्त क्षेत्रबाट आक्रामक प्रसार सुरु गरिसकेका छन्। बस्नेतको आफ्नो क्षेत्र सिन्धुपाल्चोक १ भए पनि उक्त क्षेत्र उनले सत्ता गठबन्धनको भागबन्डाका कारण छोड्नु परेपछि २ मा सरेका थिए। २०७४ सालको निर्वाचनमा सभामुख सापकोटाले वाम गठबन्धनको उम्मेदवार बन्दै उक्त क्षेत्रमा बस्नेतलाई पराजित गरेका थिए।
१० हजार ७ सय १० मतान्तरसहित सापकोटा निर्वाचित भएका थिए। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याएका थिए भने बस्नेतले २९ हजार ७ सय ९८ मतमात्र पाए। यसपटक सापकोटा उक्त क्षेत्रमा नउठ्ने हुँदा आफू सजिलै जित हात पार्ने भन्दै उनले अन्तिमसमयसम्म पनि टिकटको दाबी गरेका थिए। तर, माओवादी केन्द्रको अडानसमक्ष उनको केही चलेन। अन्तत उक्त क्षेत्रमा माधव सापकोटाले टिकट पाए भने बस्नेत सिन्धुपाल्चोक क्षेत्र २ मा आउन बाध्य भए।
क्षेत्र नम्बर २ मा पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्वु गाउँपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १, ५, ६, ७, ८ ११, १२, १३ र १४ पर्छ। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले हेलम्वु र मेलम्ची नगरपालिका जित हात पारेको छ भने इन्द्रावती र पाँचपोखरी थाङपालमा नेकपा एमालेले जित हात पारेको थियो।
त्यस्तै चौतारा साँगाचोक गढी माओवादी केन्द्रले जितेको छ। उक्त क्षेत्रमा एमाले बलियो देखिन्छ। एमालेले ३१ हजार ७७६ मत स्थानीय निर्वाचनमा पाएको देखिन्छ। नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले २९ हजार ३०२ मत पाएका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले ५ हजार ९३२ र नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले १ हजार ६६३ मत पाएका थिए। सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस माओवादी केन्द्र र समाजवादीको मत जोड्दा ४७ हजार ४४ मत देखिन्छ।
राप्रपाले आफैं स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ। राप्रपा पनि तेस्रो शक्तिको रुपमा रहेको उक्त क्षेत्रमा राप्रपाबाट गोपाल श्रेष्ठ उम्मेदवार बनेका छन्। पशुपति शमशेर राणाको विरासतको रुपमा श्रेष्ठले राप्रपाको टिकट लिएका छन्। सत्ता गठबन्धनको मत एकीकृत बनाउन सकेमा बस्नेतलाई उक्त क्षेत्रमा जित निकाल्न सहज हुने छ। यस्तो अवस्थामा तामाङको तेस्रो पटक जित्ने सपना पूरा हुन मुस्किल देखिन्छ।