काठमाडौं- बाल स्वास्थ्य तथा खोप शाखाले स्थानीयस्तरमा फागुन र चैतमा हुने खोप सर्वेक्षणलाई प्रभावकारी रुपमा क्रियाशिल बनाउने जनाएको छ।
परिवार कल्याण महाशाखा अन्तर्गतको शाखाले खोप लगाउन छुटेका बालबालिकालाई खोज्न उक्त सर्वेक्षणलाई अझ क्रियाशिल बनाउने भएको हो।
७५३ वटै पालिकाबाट हुने उक्त सर्वेक्षणमा कुनै पनि बालबालिका खोप लगाउन छुटे/नछुटेको पत्ता लगाउने शाखा प्रमुख डा सागर दाहालले बताए। उक्त सर्वेक्षणमा स्वास्थ्यकर्मीहरु घर–घरमै पुगेर बालबालिकाले खोप लगाए÷लगाएको पत्ता लगाउने उनले बताए।
‘फागुनदेखि चैतसम्म १६ देखि २३ महिनाको बच्चा भएको घरमा उनीहरुले खोप प्राप्त गरेको छ÷छैन भनेर पत्ता लगाउने मात्र होइन।’ उनले भने, ‘पत्ता लगाईसकेपछि छुटेको रहेछन् भने ती बच्चालाई खोप लगाउने काम पनि गरिन्छ। यो कामलाई नै हामी घनिभूत रुपमा मनिटरिङ्ग गर्छौ र अझ क्रियाशिल बनाउँछौ।’
कोभिड महामारी र लकडाउनका कारण यो सर्वेक्षण प्रभावित भएको र आगामी दिनमा प्रभावकारी रुपमा सञ्चालन गरिने उनले बताए। पूर्ण खोप प्राप्तिका लागि उक्त सर्वेक्षण सुरु गरेपनि चार प्रतिशत बालबालिका खोप लगाउन छुट्नु चिन्ताको विषय भएको उनको भनाई छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएसएस) २०२२ को अध्ययनले नेपालमा चार प्रतिशत बालबालिका खोप लगाउन छुटेको देखाएको छ। सरकारले वर्षेनी एक वर्ष मुनिका करिब ५ लाख ३८ हजार बालबालिकालाई नियमित खोप लगाउने गरेको छ। जसमध्ये करिब २१ हजार ५२० बालबालिका छुटेको एनडीएचएसको रिपोर्टले देखाएको छ।