काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेको १० दिन बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रचण्ड प्रधानमन्त्री बने पनि गृह, अर्थलगाएका मन्त्रालयले मन्त्री पाए पनि स्वास्थ्य मन्त्रालय अहिलेसम्म कसको भागमा पर्ने निश्चित भइसकेको छैन।
यद्यपि स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले लगाएतका दलहरुले दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय पाएको खण्डमा मन्त्रीका आकांक्षी नै तीन जना चिकित्सक देखिएका छन्। स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको खण्डमा उक्त पार्टीबाट मन्त्रीका लागि सांसदहरु डा तोसिमा कार्की, प्राडा चन्दा कार्की र डा ढाकाकुमार श्रेष्ठले आकांक्षा प्रकट गरेका छन्।
डा तोसिमा ललितपुर-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने प्राडा चन्दा कार्की (खस आर्य महिला) र डा ढाकाकुमार श्रेष्ठ (आदिवासी जनजाति) क्लस्टरभित्रको पुरुष कोटाका समानुपातिक सांसद हुन्।
डा तोसिमा कार्कीले यसअघि नै स्वास्थ्य मन्त्रालय आफ्नो पार्टीको भागमा परे स्वभाविक रुपमा दाबी गर्ने बताउँदै आएकी छन्।
‘एउटा चिकित्कसले मात्र समग्र स्वास्थ्य सेवा सुधार गर्न नसक्ने अवस्था मैले देखेँ। समग्र स्वास्थ्यको विकृति, विसगङ्ति सुधार गर्नका लागि त जनप्रतिनिधि हुनुपर्दछ भन्ने मलाई लाग्यो। अनि राजनीतिमा हामफालेकी हुँ। मलाई लाग्छ म सफल पनि भएँ। अब जनताको सेवा गर्नु मेरो कर्तव्य हो’, उनले भनेकी छिन्।
यता प्राडा चन्दा कार्कीले पनि लामो समय स्वास्थ्यको अनुभव बटुलेकाले आफूले स्वास्थ्य मन्त्रालय हाक्न सक्ने बताएकी छन्। स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए नाईं भन्दिन डा कार्कीले भनिन्।
डा ढाकाकुमार श्रेष्ठले पनि स्वाथ्य मन्त्रालयको नेतृत्व हात पार्न विभिन्न व्यक्तिहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन्। उनले मन्त्रालयका विभिन्न पक्षका बारेमा जानकारी पनि लिइरहेका छन्। पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परे आफूले पाउनुपर्ने उनको पनि दाबी छ।
यदि स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीकै भागमा परे विषय विज्ञका रुपमा चिकित्सा क्षेत्रकै व्यक्तिलाई मन्त्री बनाउनुपर्ने आवाज उठ्न थालेको छ।
उक्त पार्टीबाट कसलाई मन्त्री छान्ने भन्ने सकस नेतृत्वलाई पर्ने देखिन्छ। उक्त पार्टीबाट सभापति रवि लामीछाने उपप्रधान तथा गृहमन्त्री नियुक्त भइसकेका छन्।
प्रचण्डले प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित गत १० पुसमा प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए। सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
प्रचण्ड प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलको नेता हुन्। २७५ सदस्यीय प्रतिनिधि सभामा माओवादी केन्द्रको ३२ सिट मात्रै छ।
उनले सत्ता गठबन्धनको मुख्य दल र प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसको साथ लिएर सरकारको नेतृत्व गर्ने प्रयत्न गरेका थिए। तर कांग्रेस सभापति देउवाले उनलाई प्रधानमन्त्री बन्न नसघाउने भएपछि आइतबार नै एमाले लगायतका दलसँग सहमति गरेर प्रधानमन्त्रीमा दाबी गरेका थिए।