काठमाडौं- वीर अस्पतालको न्युरो सर्जरी वार्डको बेड न. ३४८ मा ३५ वर्षीय निमा शेर्पा अर्धचेत अवस्थामा छन्। उनको नाम निमा शेर्पा नै हो भन्ने प्रमाण केहि पनि छैन। न त उनको आफन्त र घर कहाँ भन्ने जानकारी नै छ।
हातमा शिव भगवानको ट्याटु भएका उनी करिब पाँच फिटका छन्। आफन्त र घर पत्ता नलागे पनि अस्पतालले उनको नि:शुल्क उपचार र आवश्यक हेरचाह गरिरहेको छ। उनी एक महिनादेखि वीर अस्पतालमै उपचाररत छन्।
गत मङ्सिर २४ गते साँझ उनलाई वीर अस्पतालको आकस्मिक कक्षमा कसले ल्याएर छाड्यो समेत कसैलाई थाहा छैन। 'कसैले धर्म हुन्छ भन्ने सोचेर ल्याएर छाडिदियो होला। नाम र उमेर लेखाइदिएर गएको रहेछ,' न्युरो सर्जरी विभागकी नर्सिङ इन्चार्ज निभा प्रजापतिले भनिन्, 'गम्भीर अवस्थामा रहेका उनको उपचारपछि स्वास्थ्यमा सुधार त आएको छ। तर अझै पनि परिवार पत्ता लगाउन सकिएको छैन।'
अस्पताल आइपुग्दा उनको टाउकोमा रगत जमेको थियो। अस्पतालका न्युरो सर्जन डा राजीव झाको अनुसार उनलाई एक्स्टाड्युरल हेमाटोमा भएको हो। यो अवस्था कुनै भारी चिजले टाउकोमा हान्दा, ठोकिँदा या चोटपटक लाग्दा हुन्छ। समयमै उपचार हुन सकेन भने यस्तो अवस्थामा बिरामीको ज्यान नै जान्छ। डा झाका अनुसार चोट लागेपछि टाउकोमा ३० एमएल भन्दा माथि रगत जम्यो भने बिरामीको अवस्था एकदमै गम्भीर हुन्छ। तर निमाको कम्तिमा पनि १५० देखि १६० एमएल रगत जमेको उनले बताए।
२४ गते साँझ अस्पतालको आकस्मिक कक्षमा फेला परेका निमाको २५ गते बिहान क्रेनियोटोमी सर्जरी सम्पन्न भयो। सामान्य भाषामा भन्दा क्रेनियोटोमी भनेको टाउकोमा जमेको रगत निकाल्न गरिने अप्रेसन हो।
सर्जरी गर्नुभन्दा अगाडिदेखि नै उनलाई भेन्टिलेटरमा राखिएको थियो।
'सुरु देखि नै बिरामी एकदमै खराब अवस्थामा थिए। सामान्य भाषामा भन्नुपर्दा बिरामी कोमामा नै थियो। सुरुका दुई दिन एकदमै गम्भीर अवस्था थियो। त्यसपछि विस्तारै सुधार जस्तो हुदैं गयो,' नर्स प्रजापति भन्छिन्।
पहिलो सर्जरीको चार दिन पछि डा राजीव झाको टोलीले नै निमाको अर्को सर्जरी पनि गर्यो। डा झाका अनुसार उनलाई दोस्रो पटक गरिएको सर्जरी ट्रयाकियोस्टोमी हो। 'क्रेनियोटोमी सर्जरीपछि बिरामीलाई भेन्टिलेटरमा कम्तिमा सात दिन भन्दा बढी राखिदैन। किनकि मुखबाट लगाएको पाइपले अरु नै समस्या निम्त्याउन सक्छ। जब हामीलाई बिरामी लामो समयसम्म भेन्टिलेटरमा जान्छ भन्ने लाग्छ त्यसपछि अर्को सर्जरी गरिन्छ। त्यो भनेको ट्रयाकियोस्टोमी हो। सामान्य भाषामा भन्नु पर्दा सास फेर्ने नलीमा प्वाल पार्नु ट्रयाकियोस्टोमी हो,' उनले भने।
भर्ना भएको दिनदेखि निमाको सबै खर्च अस्पतालले नै व्यहोरीरहेको छ। सबै खर्च हिसाब गर्ने हो भने लगभग एक देखि डेढ लाखको हाराहारीमा भइसकेको नर्स प्रजापति बताउँछिन्।
नर्सहरु निमालाई वार्डमा सारेदेखी दिनहुँ आफन्तको बारेमा सोधिरहन्छन्। उनको आवाज पनि स्पष्ट आउँदैन्। उनी बेलाबेलामा सासले ६८९/४६७ यस्तै यस्तै केहि अंक भनिरहन्छन्।
एकपटक नर्सहरुले उनले भनेको फोन नम्बर टिपे तर उक्त फोन नम्बर भएका व्यक्तिले कोहि निमालाई नचिन्ने बताए। अस्पताल प्रशासनले निमा भर्ना भए लगत्तै प्रहरीलाई सम्पर्क गरेको थियो। प्रहरीले नाम सर्कुलेट गरेपछि रसुवाका एक परिवार आफ्नो आफन्त हुनसक्ने भन्दै अस्पताल आएका थिए। तर आएर हेर्दा उनीहरुले खोजेको निमा र वीर अस्पतालमा भएका निमा फरक थिए।
अस्पताल प्रशासन निरन्तर निमाको परिवारको खोजीमा छ। 'परिवार भेटिएर जिम्मा लिइदिए हुन्थ्यो। हामी अस्पतालले गरेको सबै खर्च मिनाहा नै गर्ने थियौं,' प्रजापति भन्छिन्।
उनका अनुसार बुधबार निमाको आफन्त भन्दै सिकिममा रहेका एक परिवारसँग कुराकानी भएको छ। 'उनीहरु नेपाल आउन लागेको जानकारी पाएका छौं,' उनले भनिन्, 'यो पटक चाँही निमाले आफ्ना आफन्त पाउँछन् कि भन्ने आशा छ।'
बेबारिसे बिरामी अस्पताललाई चुनौती
वीर अस्पतालमा यस्ता बेबारिसे बिरामी केही दिनको फरकमा आइपुग्छन्। न्युरो वार्डमा मात्रै मासिक रुपमा कम्तिमा तीन या चार जना यस्ता बिरामी आइपुग्ने बताउँछन् डा झा। यस्ता बिरामीहरुको व्यवस्थापनमा निकै चुनौती भएको उनले बताए।
त्यसका लागि सरकारले नियम बनाउँदै विशेष व्यवस्थापन गर्नुपर्नेमा उनी जोड दिन्छन्। 'भर्नादेखि सर्जरीसम्मको सबै खर्च अस्पतालले नै गर्छ। सरकारले केहि शुल्क दिँदैन। सामानहरुको जोहो गरेर सर्जरी गर्नुपर्छ। सर्जरी गर्दा मन्जुरीनामा दिने कोहि हुँदैन। प्रहरीलाई खबर गरिन्छ। आफैंले जिम्मा लिएर सर्जरी गर्नुपर्छ' उनी भन्छन्, 'परिवार खोज्दै बस्यो भने बिरामी मर्न पनि सक्छ। ज्यान बच्यो त्यसपछि डिस्चार्ज गराएर कहाँ पठाउने तनाव हुन्छ।'
त्यस्ता बिरामीको समयमा डिस्चार्ज हुन नसक्दा अन्य बिरामीको भर्नामा कठिनाई हुने उनी बताउँछन्। 'हामीसंग फालाफाला बेड छैनन्। उनीहरुको सजिलै डिस्चार्ज गर्न पाए अरु तीन/चार जना बिरामीको भर्ना गरेर सर्जरी गरेर पनि पठाइ सकेको अवस्था हुनेथियो,' उनले भने।