‘ह्या, आमा आज पनि कति पिरो हाल्नु भा’को तरकारीमा ?’
‘हैन, कति गनगन गर्दो रहेछ यो केटो, यति जाबो पिरो पनि नखाए कसरी बाठो भइन्छ ?’
त्यस दिन पनि मैले बाठो भइने अभिलाषाका साथ, नाक, कान अनि सास एकैचोटि बन्द गरि पिरो तामाको एक बटुका झोल एकैपटकमा घुट्क्याएँ । अझ यसलाइ यसरी भनौँ, आधा बाल्यकाल त हरेक दिन घरमा पाक्ने पिरो तरकारीलाइ सत्तोसराप गर्दै बित्यो।
बाल्यकालका मेरा ती प्रार्थनाहरु सायद ठिक ठाउँमा पुगेका थिए भने आजसम्म यो संसारबाटै ‘खुर्सानी’ भन्ने प्रजाति लोप भइसकेको हुने थियो ।
एकदिन त असह् भएर अलिक झट्किलो पारामा नै सोधेँ – ‘हैन यो पिरो खाएर आजसम्म को चाहिँ बाठो भएको देख्नु भाको छ ?’
यस्ता प्रश्नहरुको जवाफ सायद हरेक आमाहरुले ‘जिन’मै लिएर आएका हुन्छन् । मेरी आमालाइ पनि थाहा नहुने कुरै भएन । ‘सुँगा छैन, सुँगा । खुर्सानी खाएरै त्यस्तो बाठो भएको त हो नि।’
हो यो कुरा त सोह्रै आना सही हो । हाम्रो छिमेकमा रहेको मैना सुँगा चरा भइकन पनि दुरुस्तै मानिसको जस्तो आवाज निकाल्न सक्थ्यो । फेरि त्यसलाइ कतिपटक त मैले आफैंले लगेर खुर्सानी खुवाएको छु । मेरो बाल मस्तिष्कले यो भन्दा बढि सोच्न सकेन । धेरै पछिसम्म पनि मलाइ लागिरह्यो पिरो खाए बाठो भइन्छ।
जब ठूलो हुँदै गएँ तब खुर्सानीका अनेक पारखीहरुसँग भेट हुन थाल्यो । खुर्सानीको तरकारी, खुर्सानीको अचार त बच्चैदेखि खाँदै÷सुन्दै आइएको थियो । तर भारत÷बङ्गलादेश पुग्दा त असत्तिहरुले खुर्सानीकै दाल अनि खुर्सानीकै भात खुवाइदिए।
आश्चर्यचकित त मलाई अझ यस कुराले बनाएको छ कि संसारभर रहेका खुर्सानी पारखीहरुबिच एउटा मूलभूत समानता भेटिन्छ । समानता यस मानेमा कि, आफ्नो खुर्सानी प्रतिको मोह सिद्ध गर्न भए–नभएको भ्रमहरुको प्रचार गर्ने । जस्तो कि,
— खुर्सानी खाए बाठो भइन्छ ।
— खुर्सानीले पेटका बिकारहरु ठिक पार्छ ।
— खुर्सानीले एन्टिबायोटिकको काम गर्छ ।
— पिरो खाँदा रुघा चट् हुन्छ ।
— खुर्सानीले रगत सफा गर्छ अनि छाला राम्रो बनाउँछ ।
— जाडो महिनामा टन्न खुर्सानी खाए शरिर तातो हुन्छ । आदि
यी र यस्ता कुराहरुले सदिऔँदेखि हाम्रो मस्तिष्कमा डेरा जमाएर बसेका छन् । यिनमा केही सत्यता पनि होलान् तर हामीले कहिल्यै यस्ता सानातिना कुराहरुका वैज्ञानिक कारणहरु जान्ने प्रयास गरेनौं । खुर्सानी मन पराउनेले धमाधम प्रचार गरिरह्यौँ अनि मन नपराउनेले पनि ‘होला त नि’ भनेर चुपचाप पत्याइरह्यौं ।
खुर्सानी र मानव जिब्रो
यो पहिलो पटक सुन्नेका लागि आश्चर्यको कुरा हुनसक्छ कि पिरो कुनै स्वाद नै होइन । हाम्रो जिब्रोमा जम्मा पाँच किसिमका प्रमुख स्वादहरु थाहा पाउने ‘रिसेप्टर’हरु रहेका हुन्छन्– गुलियो, नुनिलो, अमिलो, तितो र अजिनो मोटोको स्वाद । यी बाहेका पनि केहि स्वादहरु यिनै पाँच थोक मिसिएर बनेका हुन्छन्।
तर पिरो भने कुनै स्वाद नै होइन । वैज्ञानिकहरु त पिरोलाइ एक किसिमको दुखाइसँग तुलना गर्दछन् । खुर्सानीमा ‘क्यापसिसिन’ नाम गरेको एकप्रकारको तत्व रहेको हुन्छ।
‘क्यापसिसिन’ जिब्रोको संसग्रमा आउनासाथ यसले दुखाइ थाहा पाउने ‘रिसेप्टर’हरुलाइ तरङ्गित बनाउँछ । अन्ततोगत्वा दिमाखले यसलाइ दुखाइ अर्थात ‘पेन’कै रुपमा ग्रहण गर्दछ । जिब्रोबाट त्यसरी मस्तिष्कसम्म पुग्ने केही सूचनाहरु भने तापक्रम हेर्ने निकायसम्म पनि पुग्दछन् । त्यसैले त पिरो खाँदा मुख पोलेको जस्तो अनुभव पनि हुन्छ।
तसर्थ पिरो कुनै स्वाद होइन । यो त क्यापसिसिनका कारण उत्पन्न हुने दुखाइ र मुख पोल्नुको नतिजा मात्रै हो । यही दुखाइ र पोलाइलाई नै सायद धेरै पारखीहरुले शरिर तातेको भनि विश्लेषण गरेको हुनुपर्दछ।
आखिर पिरो कुनै स्वाद नै होइन भने मानिसहरु किन खुर्सानीका लागि यति विधि मरिहत्ते गर्छन त ?
यसको उत्तर थाहा पाउन वैज्ञानिक÷साइकोलोजिस्ट पल रोजिनले लामै अनुसन्धान गरेका छन् । जसको सार यस्तो थियोः
मानिसहरुले खुर्सानीलाइ आफ्नो खानामा धेरै पछि मात्र मिसाएका हुन् । यसको उत्पादन पहिलोपटक मेक्सिकोमा भएको पाइन्छ । त्यसबखत मानिसहरुले हात्तीबाट आफ्नो बाली जोगाउनका लागि खेतको वरिपरि खुर्सानी लगाउँथे । रोजिनका अनुसार खुर्सानीको असर लगभग सम्पूर्ण स्तनधारी जिवहरुमा मानिसकै जस्तो रहन्छ।
तर, क्यापसिसिनको असर चराहरुमा भने रहन्न । खुर्सानी खाँदा पिरो नहुने भएकै कारण चराहरुले यसका बिँयाहरुलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउँछन् । यही अनुसन्धान पढेपछि बल्ल मेरी आमाको ‘सुँगा’वाला तर्क फ्लप भएको महशुस गर्दैछु।
तर बिस्तारै मानिसहरुले पनि पिरो मन पराउन थाले । यसको विश्लेषण भने रोजिनले मनोविज्ञानको सहारा लिएर गरेका छन् । हाम्रो शरिर र मस्तिष्कको विकास नै यसरी भएको छ कि, कतिपय अवस्थामा आफूले आफैलाइ पिडा दिँदा हामीमा चरम सन्तुष्टिको महशुस हुन्छ । ‘म्यासोचिजम’ यस्तै मनोविज्ञानको एउटा पाटो हो, जहाँ मानिसहरु आफैंलाइ पिडा दिएर चरम उत्तेजना हासिल गर्दछन्।
अर्को उदाहरण रोजिनले रोलर कोस्टर (एक किसिमको घुम्ने पिङ) खेल्नेहरुको दिएका छन् । रोलर कोस्टर खेल्दा क्षणिक रुपमा भयङ्कर डर पैदा भएको हुन्छ तर उनीहरुलाइ थाह हुन्छ कि म मर्दिनँ । तसर्थ त्यही डर महशुस गर्नकै लागि धेरैले त्यो जोखिम लिन्छन् । त्यस्तै क्यापसिसिनले पनि मुखमा पोलेको अनुभव गराउँछ । एक किसिमको दुखाइ पैदा गराउँछ । तर, यो दुखाइले आफ्नो जिब्रो÷मुखलाइ केही असर गर्दैन भन्ने कुरा मानवीय मस्तिष्कले चाल पाइसकेको छ । त्यसैले त यो पिडाले धेरै मानिसहरुलाइ सन्तुष्टि दिलाउँछ।
तर, सबै मानिसहरुले यस्तो पिडा मन पराउँछन् नै भन्ने छैन । प्रायः मानिसहरु जो पिरो मन पराउँदैनन्, तिनको पिडा वा दुखाइ सहन सक्ने क्षमता पनि कमै रहेको पाइएको छ । आखिर सबै मानिस एकै नासका हुन्छन् भन्ने छैन । कसैलाइ एकै कोर्राले दुखाउँछ भने कोहि दुई–चार कोर्रा सहन सक्ने क्षमता राख्दछन् ।
त्यस्तो पिडा सहन सक्ने क्षमता भने कसैले जन्मदै लिएर आएको हुँदैन । आज अलिकति भोलि अलिकति गर्दै बिस्तारै बढाउँदै लैजाने हो । सायद यहाँनेर भने मेरी आमाको स्पस्टिकरण पनि धेरै हदसम्म सत्य सावित हुन्छ । उहाँ भन्नुहुन्थ्यो– ‘बच्चैदेखि अलि–अलि पिरो खाने बानी नगरे कसरी भोलिपर्सि बाहिरको पिरो खान सक्छस् ?’
तर, आफूलाइ भने पिरो भन्नासाथ खुर्सानीको चित्रले पनि सधैं तर्साइरह्यो ।
खुर्सानीका केही नमिल्दा किस्साहरु
माघको एक बिहान कलेजकै एक साथीले घरमा खाना खान आइज भनेर निम्तो ग¥यो । रुघा लागेर केही असजिलो भएको थियो तर पनि नाइँ भन्न सकिन । गइयो जाडोमा काँप्दै–काँप्दै । एकै छिनको भलाकुसारी पश्चात भान्सातर्फ नै जाने निर्णय भयो । भोक त लागेकै थियो तर जब मलाई दिइएको दालको कचौरामा फुरेको ‘ढिँडी’ तैरिरहेको देखेँ तब रुघाको बहाना झिकी केही खाना कम गर्न लगाएँ । दालमै खुर्सानी देखिसकेकोे मेरो मस्तिष्कले तरकारी र अचारमा त ‘किम जोङ उन’कै मिसायलको अपेक्षा गरिसकेको थियो ।
दुई गाँस पश्चात नै बारुदहरु पड्कन थाले । अन्तिम गाँससम्म पुग्दा त किम जोङले बिच सडकमै मिसायल प्रहार गरि मृत्युदण्ड दिएका उनका सैनिक अधिकारीको जस्तै अवस्था भइसकेको थियो मेरो।
खाइसकेपछि पो अन्तिममा यत्रो क्षेप्यास्त्र परिक्षणको रहस्योद्घाटन भयो, ‘बाबुलाइ रुघा लागेको छ भन्ने थाहा पाएर आज अलि बेसी खुर्सानी हालिदिएको ।’
जवाफ त मुखभरि आइसकेको थियो– ‘अन्टि, यो कुरा ध्रुर्वसत्य हो कि खुर्सानीमा केही मात्रामा भिटामिन सि हुन्छ तर त्यस्तो संसारमा कहीँ कतै पत्तो लागेको छैन कि आधा किलो ढिँडी एकपटकमा बुत्याउँदैमा रुघा चट होस्’ तर मुख यति पोलिरहेको थियो कि केहि बोल्न सक्ने अवस्थै थिएन ।
बरु बचेखुचेको आवाज संचित गरी मन्तातो दूध मागें अनि निकै बेरसम्म मुखमा राखिरहें । क्यापसिसिन पानीमा घुल्दैन न त यसको असर चिनी खाएर नै कम हुन्छ । त्यसैले फ्याट भएको जस्तै दूध वा घिउले धेरै पिरो भएका बेला केही फाइदा पुर्याउन सक्छन् ।
त्यस्तै एकदिन फुपुको घरमा खाना खाने निम्तो थियो । त्यहाँ भने कुनै पनि परिकारमा कत्ति पनि पिरो हालिएको थिएन । पेट चर्किने गरि टन्नै खाइयो । अन्त्यमा खानाको निकै प्रशंसा गर्दै भनेँ – ‘जे होस तपाईंहरु पनि खासै पिरो रुचाउनुहुन्न है । नभए आजकाल खुर्सानी नहालेको भान्छा कहाँ भेटिन्छ र ?’
फुपुले बडो सतर्क हुँदै भन्नुभयो– ‘मिठो त किन नलाग्नु नि भाइ, तिम्रो भिनाजुलाई कसले अल्सर हुन्छ भनेर लाइदिएछ । त्यहाँदेखि घरमा खुर्सानी ल्याउन बन्द ।’
खुर्सानी नखाने निर्णयमा पुग्नु आफ्ना लागि सुखद भएतापनि आखिरमा उहाँको बुझाइ खुर्सानीको एककिसिमको बद्नामी नै थियो । त्यसैले मौन बस्न सकिनँ । यदि तपाइको पेटमा वा आन्द्रामा अरु नै कारणले अल्सर भइसकेको छ भने खुर्सानीले मुखमा जस्तै ती ठाउँहरुमा पनि दुखाइ सिर्जना गरिदिन्छ तर तपाईं स्वस्थ हुनुहुन्छ र अल्सर भइसकेको छैन भने खुर्सानीकै कारण अल्सर हुने भन्ने चाहिँ हुँदैन ।
फुपाजुलाइ मेरो कुराले कत्तिको चित्त बुझ्यो कुन्नि, अर्कोपटक खाना खान जाँदा भने फुपुले अचारमा थोरै खुर्सानी हाल्नु भएको थियो ।
हालसालै मात्र घुमघाममा जाँदा खुर्सानी सम्बन्धि यस्तै एउटा भ्रमले साहै्र दुख दियो । अघिल्लो दिन सिन्धुपाल्चाेकको मेलम्चिमा खाना खाएपछि हाम्रो पेटले ठोस अन्न केही भेटेको थिएन । चाउचाउ, बिस्कुट र चकलेटकै भरमा पाँचपोखरी पुगेर आधा बाटो पनि फर्किसकेका थियौँ । चौतारा नपुग्दै लामीडाँडा भन्ने गाउँ भेटियो । लगभग ४८ घण्टा पछि भात खान पाइने कुराले मन पुलकित बनेको थियो । नहोस् पनि किन, त्यत्रो हिँडाइ र थकान पश्चात खान लागिएको खाना ।
राति पुगेकाले तिउन भने थिएन । बज्यैले आलुको झोल र भात पकाउने कुरा बताइन् । नुन र भात भए पुग्ने भोक लागेको अवस्थामा आलुको झोल त चौरासी व्यञ्जन हुने नै भयो । बज्यैले तरकारी बसाल्नै लागेकी थिइन् तब एकजना साथीले ‘युरेका’ स्टाइलमा ठूलै कुरा पत्ता लाए जसरी हठात् भने – ‘बज्यै तरकारी चैं पिइइइइरो बनाउनु है । यत्रो हिँडेको हड्डी, जोर्नी, मासु दुखेको सब ठिक हुन्छ”।
बजैले पनि थपिन, ‘हो लेकको जाडोमा पिरो तरकारी खाएर सुत्यो भने बिहान उठ्दा सब दुखाइ चट् ।’
भन्न त मन लागेको थियो– बज्यै,खुर्सानी खाएर यसरी जोर्नीको दुखाइ ठिक हुने भइदिएको भए बाथ रोगको उपचार यति धेरै कम्प्लिकेटेड हुने थिएन ।
मोबाइल खोलेँ, ‘नेट चलेको थियो भने साथीलाई पनि देखाइदिने थिएँ – क्यापसिसिन क्रिम लगाउँदा त्यहि ठाउँमा केही मात्रामा दुखाइ कम गर्न सकिने केही अनुसन्धानहरु त भएका छन् तर त्यसरी पिरो तरकारी मुखबाट खाएर पूरै शरिरको दुखाइ सन्चो हुने कुरा चाहिँ आजसम्म कहीँकसैले पत्तो लगाउन सकेका छैनन् ।
स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै अन्तिम गाँस निल्दै गर्दा तिनै साथीलाइ भने– ‘काठमाडौ पुग्ना साथ लेख्ने हो ।’
‘के ट्राभल लग ?’
‘होइन’
‘अनि के त ?’
‘खुर्सानीलाई बद्नाम गर्न खोज्नेहरुका नाममा ।’
लेखक दाहाल चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबिबिएस अध्ययनरत छन् ।