दाङ- राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ। प्रतिष्ठानले एमबीबीएसको पढाई सुरु गर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो। प्रतिष्ठानले आफ्नो पहलमा होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमबीबीएस चिकित्सक नियुक्त गरेर पठाउन लागेको छ।
एमबीबीएस चिकित्सकको ब्यवस्था भएमा त्यहाँका स्थानीयले २४ सैँ घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए। एमबीबीएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटी आउट रिच सेन्टरको रुपमा रहने गरी ब्यवस्थापन गर्ने भएको हो।
प्रतिष्ठानका रजिष्ट्रार लम्सालले होलेरीमा एमविविएस चिकित्सक राखेर सेवा प्रवाह दिन सुरु गरिने र एमबीबीएस चिकित्सकको अभाव हुन नदिइने पनि बताए। गएको असारदेखि होलेरी अस्पतालमा एमबीबीएस चिकित्सकको नहुँदा बिरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने बाध्यता थियो। उनले निकट भविष्यमा होलेरीमा नै प्रतिष्ठानबाट पास गर्ने एमडीजिपि चिकित्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने लक्ष्य रहेको बताए। हाल प्रतिष्ठानमा दुईजना चिकित्सकले एमडिजिपी पढिरहेका छन्।
प्रतिष्ठानमा एक कार्यक्रमका बीच राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाउँपालिका होलेरी रोल्पाबीच जनशक्ति ब्यवस्थापन बारे सम्झौता भएको छ । प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाँउपालिका अध्यक्ष जनक पुनबीच सहमति भइ सम्झौता पुस १ गतेदेखि लागु हुने बताइएको छ। प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा.जनार्दन पन्थी र प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रीको उपस्थितिमा दुवै पक्षबीच मा सम्झौता पत्र आदान-प्रदान गरिएको थियो।