कम्पाला- ‘त्यतिबेला मसँग पैसा थिएन। त्यहीँबाट मेरो रुने दिनचर्या सुरु भयो। बिनाउपचार एक महिना गुजारेँ। मेरा छोराछोरीहरु उपचारका लागि आवश्यक पर्ने रकम जुटाउन खटिए। तर रकम जुट्न नसक्दा म अस्पतालबाट बाहिरिनुपर्यो। घर फर्किएपछि मैले दिनहरु काट्न अफिम सेवन गर्न थालेँ। जसले मेरो शारीरिक दुखाइ त हटायो तर रोग हटाउन सकेन।’
१२ वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित मोनिका क्योतोजालाका उपचार अनुभव हुन् यी।
क्यान्सरबाट शारीरिक रुपमा अशक्त मोनिकाले बिस्तरामा सुतेरै आफ्ना अनुभव सुनाउँदै थिइन्। उनका मुखबाट जति पनि शब्दहरु निस्किए, अधिकांश पीडामिश्रित थिए। तर अनुहारमा चमक थियो। कारण थियो, पछिल्लो २ वर्षदेखि प्रतीक्षा गरिरहेको रेडियोथेरापी मेसिन युगान्डाको मुलायो नेशनल रेफरल हस्पिटलस्थित युगान्डा क्यान्सर इन्स्टिच्युटमा शुक्रबार जडान गरिएको थियो।
सन् २००६ मा उनलाई क्यान्सर भएको पुष्टि भयो, जसले उनको शारीरिक अवस्थालाई कतिसम्म ध्वस्त बनाएको थियो भन्ने आज बिस्तरामा लडिरहेको उनको शरीर हेरेर सहजै अनुमान लगाउन सकिन्छ।
अथाह पीडाले भरिएको पातलो र धूमिल आवाजमा उनले युगान्डामा भएको एक मात्र रेडियोथेरापी मेसिन बिग्रिएपछि पर्याप्त उपचार अभावमा २ वर्षदेखि उनको जीवन कसरी चलेको थियो बताउँदै गइन्।
मेसिनमा खराबी आएपछि उनलाई चिकित्सकले २ डोज केमोथेरापी औषधि दिने सल्लाह दिए। त्यसपछिका दिन उनले केमोको सट्टा अफिमको सहायतामा गुजारिन्। तर आज मोनिका र उनीजस्ता धेरै बिरामीको प्रतीक्षाको घडी सकिएको छ।
रेडियाथेरापी सेवामा निष्क्रियता
शुक्रबार युगान्डामा आधिकारिक रुपमा नयाँ कोवाल्ट ६० रेडियोथेरापी मेसिनको अनावरण गरियो। २१ वर्ष सञ्चालनमा आएर सो मेसिन शल्यक्रियाका क्रममा सन् २०१६ अप्रिलमा बिग्रिएको थियो।
सो अवस्था युगान्डाका क्यान्सरपीडीतका लागि भने कहर साबित भयो। जो मानिस विदेश मागएर उपचार गर्ने हैसियत राख्दथे, उनीहरु भारत, केन्या लगायतका देशमा पुग्थे। जसको आर्थिक स्थिति सबल थिएन उनीहरुले कि त वैकल्पिक उपचार पद्धति अपनाए कि त पीडा खप्दै मोनिकाले जस्तै पर्खिई मात्रै रहे।
यसका अलावा कतिपयको भने रोगको अवस्था झन् बिग्रिँदै गयो र अन्ततः दुःखद मरण भोग्नुपर्यो।
४० लाख जनसंख्या भएको युगान्डामा एक मात्र रेडियोथेरापी मेसिन संचालनमा आए पनि यो धेरैको जीवनको बाँच्ने सूत्र बन्नेमा अधिकांश ढुक्क छन्।
उपचारका लागि मोनिकाले आफ्नो घर पूर्वी युगान्डाको इगांगाबाट राजधानी कम्पालासम्मको यात्रा तय गर्नुपर्ने हुन्छ। जो १ सय २० किमि दुरीमा पर्छ। तर उनलाई अझै पनि पूर्ण विश्वास छ कि छिट्टै सन्चो भएर उनी आफ्नो घर फर्किन सक्नेछिन्।
क्यान्सरको उपचार लागत
युगान्डाको मुलायो नेशनल रेफरल हस्पिटलस्थित युगान्डा क्यान्सर इन्स्टिच्युटमा रेडियोथेरापी सेवा निःशुल्क उपलब्ध छ तर केमोथेरापी र क्यान्सरका अन्य उपचारका लागि भने बिरामीले शुल्क तिर्नुपर्ने हुन्छ।
अस्पतालका अनुसार केमोथेरापीको सबैभन्दा सस्तो डोजलाई ३ लाख युगान्डा सिलिंग्स अर्थात् ८५ अमेरिकी डलर तोकिएको छ। पाल्लियटिभ केयर ऐसोसिएसन, युगान्डाका प्रमुख रोज किवानुकाले सबैभन्दा महँगो उपचार गर्न चाहे अधिकतम १० लाख युगान्डा सिलिंग्स अर्थात् २ सय ८० अमेरिकी डलर खर्च गर्नुपर्ने बताइन्।
‘कहिलेकाहीँ डाक्टरले भने बमोजिमको औषधिको मात्रा राष्ट्रिय अस्पतालमा उपलब्ध हुँदैन,' उनले भनिन्, ‘यदि त्यो मात्रा निजी औषधि पसलमा भण्डार भएमात्रै उनीहरुले खरिद गर्न पाउँछन्। त्यसपछित्यो औषधि डाक्टरलाई दिनुपर्छ। तब डाक्टरको सल्लाहबमोजिम औषधिको सेवनले नै रेडियोथेरापीको आवश्यकताको निर्क्यौल गर्दछ।’
सो इन्स्टिच्युटलाई देशको उत्कृष्ट उपचार केन्द्र मान्ने गरिन्छ। जसले गर्दा वर्षेनी ७ हजार नयाँ क्यान्सरका बिरामी थपिने तथा करिब ३७ हजारले पुनः परीक्षण गर्न आउने गरेको तथ्यांक छ।
इन्स्टिच्युटमा देशबाट मात्र नभई छिमेकी देशहरु डेमोक्रेटिक रिपब्लिक अफ कंगो, दक्षिण सुडान तथा केन्या र तान्जानियाका केही क्षेत्रबाट समेत उपचारका लागि बिरामी आउने गर्दछन्।
आएका नयाँ बिरामीमध्ये करिब ३ चौथाइलाई रेडियोथेरापी अनिवार्य आवश्यक पर्ने गरेको अस्पताल बताउँछ।
कसरी हुन्छ उपचार?
रेडियोग्राफी विभागको प्रतीक्षाकक्ष गर्भवती बिरामीले नै भरिन्छ। सेवा सुरु हुनु अगावै झन्डै एक सयभन्दा बढी उपचारका लागि आफ्नो पालो कुर्दै लाइनमा बस्छन्।
प्रतीक्षाकक्षको ठिक बायाँतिर एउटा सानो कोठामा नयाँ रेडियोथेरापी मेसिन मन्द प्रकाशमा चम्किन सुरु गर्छ।
रेडियोग्राफी कक्षमा कार्यरत कर्मचारी स्तनक्यान्सर भएकी एक महिलालाई उपचारको लागि तयार गरिरहेका छन्। त्यसपछि सो मेसिनबाट बिरामीको छातीसँगैको एक हिस्सामा विकिरण पठाइन्छ।
रेडियोथेरापिस्ट एभरेस्ट काटुंवेसीले भनिन्, ‘जुन अंगमा हामीले उपचार गर्न खोजेका हौँ, त्यही दिशातर्फ मेसिनलाई मोड्न सक्षम छौँ। साथै उपचार गरिने अंगतर्फ पनि पूरापूर ध्यान केन्द्रित गर्दछौँ।’
जब सबै तयारी पूरा हुन्छ तब डाक्टरहरु निगरानीकक्षमा रहेको स्क्रिनतर्फ मोडिन्छन्। जहाँ बिरामीको अवस्था र औषधिको मात्रालाई बिरामीको शरीरमा प्रयोग गर्न लाग्ने समयको बारेमा पूर्ण तथ्यांक देखाइएको हुन्छ।
‘मात्र ७७ सेकेन्डमा उपचार सकिएको छ। यो प्रद्धति निकै अद्भुत छ,' रेडियोथेरापिस्ट काटुंवेसीले भनिन्। डाक्टरहरुलाई विश्वास छ कि आगामी केही वर्षभित्रै युगान्डामा यस्ता धेरै मेसिन प्रयोगमा आउनेछन्।
रेडियोथेरापी मेसिन र बिरामीको अंकगणित
छोटो र भरपर्दो पद्धति भए पनि युगान्डामा नयाँ रेडियोथेरापी मेसिनको संख्या पर्याप्त छैन।
युगान्डा क्यान्सर इन्स्टिच्युटका निर्देशक तथा वरिष्ठ अंकोलोजिस्ट डा ज्याक्सन ओरेमले भने, ‘विश्वको स्वास्थ्य उपचारको अवस्था हेर्ने हो भने प्रत्येक २ लाख ५० हजार जनसंख्याको लागि कम्तीमा एउटा रेडियोथेरापी मेसिन आवश्यक पर्छ।’
उनले कम्तीमा एउटा मेसिनलाई ५ देखि १० लाख जनसंख्या धान्न सक्नेगरी प्रयोगमा ल्याउन सकिने दाबी गरे। तर ४० लाख जनसंख्या भएको मुलुक युगान्डाका लागि भने त्यो सीमा असम्भवप्रायः नै मान्न सकिन्छ।
तर यस्तो अवस्थामा पनि डा ओरमले युगान्डामा क्यान्सर रोगको उपचारमा राम्रो प्रगति हुने आशा व्यक्त गरे।
‘जुन संकट हामीले यसबीच २ वर्ष झेल्यौँ, त्यसले हामीलाई रणनीति बनाएर अगाडि बढ्न मद्दत मिलेको छ,' उनले भने, ‘आउने एक वर्षभन्दा पनि कम समयमा हामीले अर्को विकसित मेसिन लिनियर एसेलेरेटर थप्दैछौँ, जुन हामीले ल्याउने योजना बनाएका ४ मेसिनमध्ये एक हो।’
निर्देशक डा ओरेमले आज जुन योजना र साधनका साथ युगान्डा क्यान्सर इन्स्टिच्युट अगाडि बढ्न सफल भएको छ त्यसले कालो बादलको बीचमा चाँदीको घेरा देखिए जस्तो अनुभूत भएको बताए।
अन्त्यमा,
यी समग्र अवस्थालाई केलाउने हो भने प्रत्येक २ लाख ५० हजार युगान्डाका नागरिक बराबर एक रेडियोथेरापी मेसिन आउने समय नजिकै देख्नु गम्भीर भुल हुन सक्छ। यही एउटा मेसिन पनि मोनिका जस्तै धेरै क्यान्सर बिरामीका लागि भने जीवन र मृत्युबीचको धेरै ठूलो फरक हुन सक्छ।
बिबिसी अफ्रिकाका लागि पेटियन्स आटुहाइरेले तयार पारेको आलेख
अनुवाद : विमर्श कँडेल