काठमाडौं- अस्पतालको शल्य कक्षमा बिरामी भयका साथ भित्रिन्छन् र आफन्त आँखामा आशा भरेर बाहिर कुरिरहेका हुन्छन्। त्यहाँ कार्यरत नर्सहरुमा स्वास्थ्य संवेदनशीलता आवश्यक हुन्छ नै, मानवीय संवेदना पनि प्रचुर मात्रामा चाहिन्छ।
कविता बुढाथोकीले ह्याम्स अस्पतालको अप्रेसन थिएटरमा चार वर्षदेखि काम गरिरहेकी छिन्। अहिले उक्त विभागको नर्सिङ इन्चार्ज समेत रहेकी उनले यी चार वर्षमा अनेका प्रकारका बिरामी देखेकी छिन्। तीमध्ये धेरैमा एउटा भय हुन्छ– शल्यक्रियाका लागि बेहोश गरिएपछि होशमा आउन सक्दिनँ कि? बिरामीमा एनेस्थेसिया र त्यससँग जोडिएका विषयमा ज्ञान नहुँदा उनीहरुमा संकोच उत्पन्न हुनु स्वभाविक हो। त्यहाँ कार्यरत डाक्टर–नर्सहरुसँग कुरा बुझाएर विश्वस्त तुल्याउने क्षमता हुनुपर्छ।
आफूलाई प्राप्त जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरिहेकी छिन्। सानै उमेरदेखि बालबालिका तथा बुढाबुढीको स्याहार गर्न रुचाउने स्वभावले उनलाई साथ दिएको छ। नर्सिङ पेशा छनोट गर्नुका कारण पनि आफ्नो त्यही स्वभाव रहेको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘मेरा कारण कसैले सुखको महसुस गरेमा मलाई आनन्द लाग्थ्यो। नर्सिङ मेरो स्वभावसँग मिल्छ जस्तो लागेर पढेकी हुँ।’
ओखलढुङ्गामा जन्मेपनि उनका बुवा आर्मीको जागिरे थिए। त्यसैले उनले काठमाडौंमै अध्ययन गर्न पाइन्।
२०६८ मा एसएलसी तहसम्मको अध्ययन पूरा गरेपछि भने उनले विज्ञान विषय लिएर आईएससी गरिन्। त्यसपछि नर्सिङमा स्नातकसम्मको अध्ययन गरेकी हुन्।
शल्यक्रिया कक्षमा सधैं हतारो र कामको चटारो
शल्यक्रिया कक्ष अस्पतालको निकै संवेदनशील क्षेत्र भएको उनको बुझाइ छ। शल्यकक्षमा आउने बिरामी उस्तै प्रकृतिका हुँदैनन्। उनको अनुभवमा कति पहिले नै गम्भीर समस्या भएर त्यहाँ पुर्याइका हुन्छन्, कतिपय शल्यक्रियाअघि हेर्दा ठीकठाक देखिन्छन् तर भित्री रुपमा रहेको समस्या समाधानका लागि आउँछन्।
‘शल्यक्रिया कक्ष अस्पतालको एकदमै आइसोलेट क्षेत्र हो। त्यहाँ बिरामीहरु एकदमै डराइरहेका पनि हुन्छन्, त्यस्तो अवस्था बिरामीलाई विशेष किसिमको परामर्श चाहिन्छ,’ उनले भनिन्।
शल्यकक्षमा काम गर्ने नर्सहरुमा सदा हतारो जस्तो हुन्छ । कतिपय अवस्थामा त घन्टौं शौचालय समेत जान नपाइने उनी बताउँछिन्। त्यसकारण अस्पतालका अन्य विभागभन्दा शल्यक्रिया कक्ष बढी संवेदनशील तथा फरक रहेको उनको भनाइ छ। कामको बोझ पनि अन्य विभागको भन्दा बढी हुने उनी बताउँछिन्।
बिरामीमा भय– बेहोस भएपछि उठ्दिनँ कि?
शल्यक्रिया कक्षमा बिरामी अचेत अवस्थामा हुन्छन् । एनेस्थेसिया दुई प्रकारले दिने गरिन्छ, एक कम्मरमुनिको भाग लठ्याएर, अर्काे कृत्रिम प्रकारको श्वासप्रश्वास दिएर।सबै बिरामीमा त्यो कुराको ज्ञान हुँदैन। कतिपय बिरामीलाई बेहोश पारिएपछि उठ्दिन भन्ने भय हुने उनी बताउँछिन्। ‘त्यस्तो बिरामीलाई परामर्शको खाँचो पर्छ,’ उनले भनिन्, ‘त्यतिबेला नर्सहरुलाई परामर्श दिएर उनीहरुmलाई ढाडस बन्न दिन सक्नुपर्छ।’
उनले बितेका ४ वर्षमा थुप्रै बिरामीलाई परामर्श दिएकी छिन्। जसले अप्रेशन थिएटरमा आउनुअघि नै उनीहरुले हुर्काएको आएको भय त्यहाँ पुगेर निवारण भएको छ।
आधारभूत जानकारीबाटै कामको सुरुवात
नेपालमा विदेशतिर जस्तो विशिष्टीकृत नर्सिङ सेवाको विकास भइसकेका छैन। केही विधामा भर्खरै सुरु हुँदैछ । त्यसैले अस्पतालमा काम सुरु गरेपछि मात्रै उक्त विभागको काम सिक्ने प्रचलन नेपालमा छ।
उनी भन्छिन्, ‘जुन विभागमा काम गर्ने हो, त्यसको आधारभुत तालिम पढाइसँगै नर्सहरुलाई दिनुपर्छ । त्यसो गर्दा नर्सिङ सेवा अझै गुणस्तरीय बन्न सक्छ।’
उनका अनुसार शल्यकक्षमा काम गर्नु भर्खरै पढाइ सकेर आएकाहरुका लागि बिल्कुलै नयाँ हुने गर्छ । नर्सलाई शल्यक्रिया कक्षबारे सामान्य जानकारी हुनका लागि कम्तिमा पनि दुई महिनाको समय लाग्ने गर्छ।
नर्सिङ सेवालाई विशिष्टीकृत बनाउनका लागि अस्पतालको भूमिका समेत महत्वपूर्ण हुने उनी बताउँछिन्। ‘अस्पतालले नयाँ नर्सहरुलाई तालिम दिने व्यवस्था मिलाएर काम सहजता बनाइदिन सक्छ, जसले सेवाको गुणस्तर पनि बढाउन सक्छ ’, उनले भनिन् ।
हरेक अस्पतालले शल्यक्रिया क्षमताअनुसार उक्त कक्षमा नर्सको व्यवस्था गर्ने गरेको उनले बताइन्।
बिरामी पक्षको दुर्व्यबहार कम, परिवारको गुनासो बढी
शल्यक्रिया गर्न आउँदा बिरामीहरु डराएको अवस्थामा आउने तथा शल्यक्रिया लगत्तै अन्य विभागमा पठाइने हुनाले शल्यक्रिया कक्षमा कार्यरत नर्सहरुले अन्य विभागमा जस्तो बिरामीको दुव्र्यवहार सहनु नपर्ने उनी बताउँछिन्।
‘अन्य विभागमा कार्यरत कतिपय साथीहरुलाई बिरामी तथा बिरामीका आफन्तले दुव्र्यवहार गरेका घटना बाहिरिने गरेका छन्, शल्यक्रिया कक्षमा भने त्यस्तो घटना एकदमै कम हुन्छन,' उनले सुनाइन्। यद्यपि शल्यक्रिया अगाडि भने बिरामीहरुले नर्ससँग विभिन्न गुनासाहरु भने गर्छन्।
उनलाई अहिलेसम्म पेशालाई लिएर पारिवारिक गुनासो सुन्नुपरेको छैन । ‘हालसम्म अविवाहित छु, त्यसकारण पनि मलाई पेशालाई अगाडि बढाउन सहज छ। कतिपय मसँगै काम गर्ने विवाहित साथीहरुले भने काममा असहज भइसकेको बताउने गर्छन्’, उनले भनिन् ।
शल्यक्रिया कक्षमा काम गर्ने विवाहिताहरुले पारिवारिक सहयोग बिना काम गर्न सहज नहुने उनको भनाइ छ।
सरकारले नै तोक्नुपर्छ नर्सको पारिश्रमिक
पछिल्लो समय नर्सहरु विदेशिने संख्या बढेकोमा उनलाई चिन्ता लाग्छ । उनीसँग कार्यत धेरै नर्सहरु पनि काम गर्दागर्दै पनि विदेशको तयारीका लागिपरेको उनी बताउँछिन्।
‘नेपालको स्रोत साधनको प्रयोग गरेर उत्पादन भएका नर्सहरु विदेशका लागि प्रयोगमा आइरहेका छन्,नेपालमा नै उनीहरुलाई राख्नका लागि सरकारी तथा निजी स्तरबाट ठोस योजना अगाडि बढाउनुपर्छ’, उनले सुझाइन्।
पछिल्लो समय योग्यता अनुसारको काम तथा सेवा सुविधा नभएको भन्दै नर्सहरुले उठाएका आवाजमा उनको समर्थन छ्। ‘नेपालमा योग्यता र क्षमता अनुसारको काम नहुँदा नर्सहरु बाहिरिनु दुःखको कुरा हो’, उनले भनिन्, ‘नर्स भनेपछि समग्रमा लिने प्रचलन छ, योग्यता तथा अनुभव अनुसार काम तथा तलब सेवा दिनुपर्छ।’
नेपाल पछिल्लो समय विदेश यात्राको योजना बनाउने ट्रान्जिटको रुपमा रहेको उनको बुझाइ छ । योग्यता र क्षमता अनुसारको तलब तथा सेवा सुविधा सरकारले नै तोक्नुपर्ने उनको धारणा छ।
पछिल्लो समय विदेश जानका लागि मात्रै नर्स बन्ने प्रचलन बढेको छ। जसले नर्सहरुमा सद्भाव, दया, मायाजस्ता कुराहरु हराउँदै जान थालेकोमा उनी चिन्ता प्रकट गर्छिन्।