एजेन्सी– युवाअवस्थामै ब्रेस्ट (स्तन)मा क्यान्सर देखिएपछि एलिसन हेब निकै तनावमा थिइन् । तर, चिकित्सा विज्ञानले मारेको फड्को र विकासका कारण समयमा नै उचित उपचार पाउने भएपछि उनको तनाव निकै कम भयो । तर पनि स्तन काट्नुपर्ने चिन्ता भने उस्तै थियो ।
उनलाई सँधै लाग्थ्यो क्यान्सरको उपचारपछि उनको शरीरमा त्यसको कस्तो असर पर्ने हो ? किमोथेरापीपछि कपाल झर्नेछ, शल्यक्रियापछि आफ्नो स्तन गुमाउनुपर्ने छ र स्तनमा सँधैका लागि दाग रहने छ। आफन्त र चिकित्सकले उनलाई चिन्ता नलिन सुझाउँथे । शल्यक्रियापछि प्लास्टिक सर्जरी गरेर दाग हटाउन सक्ने उपाय पनि बताइयो । उनी हर्षित भइन् ।
तर, धेरै युवतीहरुमा स्तन क्यान्सरको बारेमा पर्याप्त जानकारी नभएका कारण अन्तिम अवस्थामा उपचारमा आउने जमात धेरै रहेको, स्तन क्यान्सरकै कारण धेरैले ज्यान गुमाउनु परेको तितो यथार्थ सुनेपछि उनले अनौठो जुक्ति निकालिन । आफूले चिनेका र जानेकालाई मात्र नभई सकेसम्म धेरैलाई स्तन क्यान्सरको बारेमा चेतना फैलाउने बिचार गरिन । त्यसपछि उनले अप्रेशनपछि प्लास्टिक सर्जरी गरेर दाग हटाउन सल्लाहलाई नकारिन । उनलाई आफ्नै शरीरको अन्य कुनै भागको मासु काटेर आफ्नो स्तनमा राख्न मन पनि लागेन।
उनले निर्णय लिइन् ‘स्तनमा ट्याटु बनाउने ।’
क्यान्सरपछि शल्यक्रिया गरिएको स्तनमा सुन्दर र आकर्षक ट्याटु बनाउने र त्यही ट्याटु मार्फत स्तन क्यान्सर बारे चेतना फैलाउने ।
उनको यो निर्णयलाई धेरैले स्वागत पनि गरे । उनी सुन्दर ट्याटु बनाउने आर्टिस्टको खोजीमा लागिन् । यसका लागि उनले बिरामी भएर घरमा बसिरहेको समयमा इन्टरनेटमा ट्याटु आर्टिस्टको खोजी गर्न थालिन् । लामो समयको खोजीपछि उनले न्युजल्याण्का एक २४ वर्षीय किवि मकाला रोज नाम गरेका ट्याटु आर्टिस्ट फेला पारिन्।
आर्टिस्टलाई आफ्नो योजना सुनाइन् । आर्टिस्ट तुरुन्तै राजी भए । रोजले १३ घण्टा लगाएर एलिसनको स्तनमा एक अकर्षक तथा रंगीन ट्याटु बनाए । शल्यक्रियापछि काटिएको स्तनमा त्यो ट्याटु देखेर एलिसन धेरै खुशी भइन् र तत्कालै उनले आफ्नो स्तनमा कुदिएको ट्याटुको तस्बिर सामाजिक संजाल फेसबुक तथा इन्ट्राग्राममा पोस्ट गरिन्।
शल्यक्रिया गरिएको स्तनको ट्याटुको तस्बिर सामाजिक संजालमा भाइरल भयो, सबैले उक्त तस्बिर र उनको कामको प्रशंशा गरे। इन्ट्राग्राममा उनको त्यो तस्बिर लाइक गर्नेको संख्या लाख भन्दा माथि पुगिसकेको छ । उक्त तस्बिर शेयर गर्नेको संख्या मिनेट मिनेटमा बढीरहेको छ ।
एलिसन भन्छिन्, ‘आफन्त, साथीभाइ तथा अन्य मानिसहरु आजकाल मलाई तिम्रो स्तन खोई भनेर सोध्ने गर्छन, मेरो जवाफ हुन्छ, मेरो स्तन छैन म निर्धक्कका साथ आफ्नो टपलेस फोटो सामाजिक संजलमा पोस्ट गर्न सक्छु र यो तस्बिर सेन्सर पनि हुदैन।’ उनको सिको गर्दै महिलाहरु स्तन क्यान्सरको अप्रेशनपछि आफ्नो स्तनमा ट्याटु बनाउने चलन चलेको छ। यस्ता खाले ट्याटु बनाउनेमा भर्खरका युवतीहरु धेरै छन् । तर, एलिसनको ट्याटुले सबैको ध्यान खिचेको छ।
उनी भन्छिन्, ‘प्राय महिलाले स्तनमा ट्याटु कुदाएर तस्बिर सामाजिक संजालमा पोस्ट गर्दैनन्, गरिहाले भने पनि मुस्कुराउँदैनन् । तर म मुस्कानका साथ स्तनको ट्याटुको तस्बिर निर्धक्का साथ सामाजिक संजालमा पोस्ट गर्न सक्छु।’ उनले आफ्नो यो कामले धेरै महिलाहरुलाई स्तन क्यान्सरको बारेमा चेतना फैलाइरहेकोमा निकै खुसी लागेको बताइ्न । समयमा नै पहिचन गर्नसके स्तनलाई पूर्ण रुपमा जोगाउन सक्ने भएकाले स्तनको समय समयमा परीक्षण गर्नुपर्ने उनको सुझाब छ । उनकी ७ वर्षकी छोरी छिन् । उनले आफ्नो छोरीलाई पनि पछी स्तन क्यान्सरका बारेमा विस्तृत जानकारी गराउने बताइन् ।