पोलियोको पहिलो महामारी अमेरिकाको रुटल्याण्ड काउन्टी भेर्मोन्टमा देखिएको थियो। सन् १८९४ को जुनमा फैलिएको महामारीबाट १८ जनाको मृत्यु भयो र १ सय ३२ जनामा स्थायी रुपमा प्यारालाइसिस देखियो। डा. चाल्र्स काभर्लीले उक्त रोगले स्नायु प्रणालीलाई असर गर्छ भनेर पत्ता लगाए। प्यारालाइसिस हुने र नहुने दुई खालका पोलियो हुन्छन् भनेर पत्ता लगाउने पनि उनै हुन्। तर, पोलियो सर्ने खालको रोग हो कि होइन भनेरचाहिँ उनले पत्ता लगाउन सकेनन्। पोलियोको सर्ने प्रकृति भने सन् १९०५ मा पत्ता लगाइयो।
स्वीडेनमा एकपछि अर्को गर्दैै पोलियोको महामारी फैलिएपछि इभार विकम्यानले यसबारे पत्ता लागेका दुईवटा महत्वपूर्ण तथ्य प्रकाशित गरे। उनले पोलियो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ भन्ने तथ्य सार्वजनिक गरे भने पोलियो मानिसका लागि कष्टदायक हुन सक्छ भन्ने तथ्य पनि प्रस्तुत गरे।
सन् १९०८ मा भियनाका डा. कार्ल ल्यान्डस्टिनर र डा.एर्विन पोप्परले पोलियो रोगमा संक्रमण गराउने तत्व भाइरस हो भनेर घोषणा गरे। उनीहरूले पोलियोबाट मरेको मानिसको स्पाइनल कर्डको फ्लुडलाई सावधानीपूर्वक फिल्टर गरेर तयार पारी पोलियो भाइरसको प्रकृति अनुमान गरेका थिए। उनीहरूले प्रयोग गरेको फिल्टरलाई ट्रयाप ब्याक्टेरिया भनियो। त्यसक्रममा उक्त फ्लुडलाई परीक्षण गर्दा बाँदरलाई पनि पोलियो भयो। त्यसपछि उनीहरूले निष्कर्ष निकाले, ब्याक्टेरियाभन्दा साना संक्रमित तत्वले पोलियो लाग्दो रहेछ। तर, सन् १९५० को दशकमा इलेक्ट्रोन माइक्रोस्कोप आविष्कार नहुन्जेल अनुसन्धानकर्ताहरूले पनि पोलियो भाइरस कस्तो हुन्छ भनेर देख्न पाएनन्।
सन् १९१० मा न्युयोर्कस्थित रकफेलर इन्स्टिच्युट फर मेडिकल रिसर्चका डा. सिमोन फ्लेक्सनरले बाँदरको रगतमा भएको किटाणुनाशक तत्वले उनीहरूलाई पोलियोबाट बचाउँछ भन्ने पत्ता लगाए। अन्य अनुसन्धानकर्ताले पनि मानवमा यस्तै खालको परिणाम प्रस्तुत गरे। यस्ता तत्वहरूले पोलियोको रोगप्रतिरोधकको काम गर्छन्। अनुसन्धानकर्ताहरूले पोलियोको भाइरसबाट लड्न शरीरमा रोगप्रतिरोधी तत्वको उत्पादनका लागि खोप महत्वपूर्ण हुन सक्छ भन्ने निष्कर्ष निकाले।
सन् १९१६ मा न्युयोर्कको ब्रुकलिनमा पोलियोको महामारी फैलियो। न्युयोर्क शहरमा मात्र २ हजार मानिसको मृत्यु भयो भने अमेरिकाभर ६ हजार मानिस पोलियोबाट प्रभावित भए। हजारौं मानिस अपांग भए। त्यति नै खेर तत्कालिन न्युयोर्कका सिनेट सदस्य (पछि राष्ट्रपति) फ्रेङ्कलिन रुजबेल्ट बिरामी परे। इतिहासकारहरूले उनको रोगलाई पोलियो नै भनेका छन्। रोगबाट उनको देब्रे खुट्टा प्यारालाइसिस भयो। यहीकारण उनी ह्विलचेयरमा बस्थे। तर उनको ह्विलचेयरको फोटो खिच्न प्रतिबन्ध थियो। उनी हिँड्नुपर्दा कुहिनालाई सहारा दिने लौरोको सहायता लिन्थे।
सन् १९२९ मा बोस्टन बाल अस्पताल र हार्भार्डका फिलिप ड्रिङकर तथा चाल्र्स म्याक्कानले एउटा अनुसन्धानपत्र प्रकाशित गरे, जसमा प्यारालाइटिक पोलियोका बिरामीका लागि नक्कली श्वासयन्त्रको सफल प्रयोगको वर्णन गरिएको थियो। उक्त यन्त्रलाई पहिले ‘ड्रिङकर रेस्पिरेटर’ र पछि ‘आइरल लङ’ भनियो, जसले प्यारालाइसिसबाट पीडित बिरामीलाई श्वासप्रश्वास गर्नमा सहयोग गथ्र्यो।
पोलियोको अनुसन्धानका लागि रकम जुटाउने उद्देश्यले रुजबेल्टका सल्लाहकार एवं न्युयोर्कका वकिल बासिल ओ कोन्नरले सन् १९३४ मा रुजबेल्टको जन्मोत्सव समारोहको आयोजना गरे। सन् १९३८ मा रुजबेल्टकै सक्रियतामा प्यारालाइसिपीडितको सहयोगका लागि नेसनल फाउन्डेसन गठन भयो। अनुसन्धानको कोषवृद्धिका लागि थुप्रै प्रयास भए, जब कलाकार एड्डी कान्टोरले रेडियोमार्फत् पोलियोविरुद्धको संघर्षका लागि ह्वाइटहाउसमा रुजबेल्टलाई १० सेन्ट पठाउन अपिल गरिन्। एक हप्ताभित्रै मानिसहरूले हुलाकमार्फत् २६ लाख ८० हजार सेन्ट पठाए। यसैक्रममा अन्य सेलिब्रिटी पनि यस अभियानमा सहभागी भए। एक वर्षको अवधिमा १० सेन्ट अभियानबाट दसौं लाख डलर जम्मा भयो, जसले भ्याक्सिन आविष्कार गर्नमा सहयोग पुग्थ्यो।
दोस्रो विश्वयुद्ध चलिरहेको थियो । सन् १९४४ मा रुजबेल्टले रेडियोबाट संबोधन गर्दै भने, ‘हामीले विदेशमा शत्रुविरुद्ध लडाईं गरिरहेका छौं तर घरमै भयानक रोगविरुद्ध लडिरहेका छौं, यो रोगले युवाहरूलाई कुनै दया देखाइरहेको छैन, यसले बालबालिकाविरुद्ध आक्रमण गरिरहेको छ, यसकारण यो रोगविरुद्ध कस्तो सफलता पाइन्छ, अमेरिकाको मजबूत भविष्य त्यसैमा निर्भर हुन्छ।’
सन् १९४९ मा जोन हप्किन्स विश्वविद्यालयका डा. डेभिड बोडियन र इजाबेल मोर्गानले तीन प्रकारका पोलियो भाइरस हुन्छन् भन्ने पत्ता लगाए। भ्याक्सिनको विकास गर्न उनीहरूको अनुसन्धान महत्वपूर्ण रह्यो। उनीहरूको अनुसन्धान सुरुवाती थियो। पछि डा. जोनास साल्कले यस सम्बन्धमा विस्तृत अनुसन्धान गरे र तीन प्रकारका पोलियो भाइरसभन्दा बढी छैन भन्ने यकिन गरे। पोलियो भाइरसको कल्चरिङका लागि जोन इन्डर्स, थोमस वेलर र फ्रेडरिक रबिन्सको टिमले सन् १९५४ मा मेडिसिनतर्फ नोबेल पुरस्कार पायो।
लेडरल ल्योबोरेटोरिजका अनुसन्धानकर्ताले पहिलोपटक खाने पोलियो भाइरस भ्याक्सिन मानिसमा प्रयोग गरे। उनले न्युयोर्कस्थित बौद्धिक अपांग र छारेरोग पीडित राख्ने केन्द्रका बालबालिकामा यो भ्याक्सिन प्रयोग गरेका थिए। उनले अर्का अनुसन्धानकर्ता हेराल्ड आर. फक्ससँग मिलेर अनुसन्धान गरेको टाइप टु भ्याक्सिन २० बालबालिकामा प्रयोग गरेका थिए । तर, अन्य अनुसन्धानकर्ताले मानवमा भ्याक्सिन प्रयोग गरिनु अपरिपक्व भएको भन्दै आलोचना गरे।
त्यसपछि युनिभर्सिटी अफ पिट्सबर्गका जोनास साल्क र उनको समूहले बाँदरको मिर्गौलाको टिस्युमा पोलियो भाइरस विकास गर्ने विधि विकास गरे। यही विधिमार्फत् पछि ठूलो परिमाणमा भ्याक्सिन उत्पादन सम्भव भयो। सन् १९५२ मा अमेरिकाभर ५७ हजार ६ सय २८ पोलियोका केस देखिए, जसमा २१ हजार त प्यारालाइसिसका केस थिए। यसले झन् पोलियो भ्याक्सिनको आवश्यकता देखियो।
सन् १९५२ मा साल्क र उनको टिमले नेसनल फाउन्डेसन फर इन्फ्यान्टाइल प्यारालाइसिसको सहयोगमा पहिलोपटक मानवमा पोलियो भ्याक्सिनको प्रयोग गर्न थाल्यो। टिमले अपांगताको सहयोगका लागि खोलिएका केन्द्रमा भएका बालबालिकामा प्रयोग गरेको थियो। जोनास साल्कले तिनै खालका पोलियोका लागि भ्याक्सिन परीक्षण गरेका थिए। यो भ्याक्सिनबाट मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथ्य पत्ता लाग्यो। अन्य थुप्रै अनुसन्धानकर्ताले पोलियोबारे अनुसन्धान गरे, जसमा मानव इम्युनोग्लोबुलिनले मानिसलाई पोलियोबाट बचाउँन सक्छ कि सक्दैन भन्ने पनि थियो।
केही मिडियाले सर्वसाधारणको प्रयोगका लागि पोलियो भ्याक्सिन तयार भइसकेको समाचार प्रकाशित गरेपछि जोनास साल्क एकाएक चर्चित भए, उनलाई ‘नेसनल हिरो’ का रुपमा हेरियो, अमेरिकाबासीको आशा उनीमाथि खनियो। तर, उनले रेडियोमार्फत् तत्काल त्यसरी आमरुपमा भ्याक्सिन उपलब्ध नभएको स्पष्टीकरणसहित वक्तव्य दिदैं भने, ‘हामीले आशा गरेभन्दा भ्याक्सिनको परीक्षणमा तीव्र गतिमा प्रगति भइरहेको छ तर आगामी पोलियोको सिजनमा सर्वसाधारणका लागि हुने गरी कुनै पनि भ्याक्सिन उपलब्ध हुनेछैन।’ तर, अन्य अनुसन्धानकर्ताहरूले भने जोनासले विकास गरेको भ्याक्सिनले दीर्घकालीन रुपमा पोलियोबाट संरक्षण दिन नसक्ने भन्दै आलोचना गरे।
परीक्षणकै क्रममा साल्कले आफू, आफ्नी श्रीमती र तीन छोरालाई पोलियो भाइरसको भ्याक्सिन परीक्षण गरे। सन् १९५४ मा सरकारी समितिले साल्कको पोलियो भ्याक्सिनलाई स्वीकृति दियो र मार्चको अन्तिम साताबाट आमरुपमा सर्वसाधारणमा परीक्षण भयो। पहिलो चरणमा हजारौं स्कुले बालबालिकामा परीक्षण भयो। यो परीक्षणमा १३ लाख बालबालिका सहभागी भए। बालबालिकालाई नमुनाका रुपमा छनौट गरी दुई भागमा विभाजन गरिएको थियो, एउटा कन्ट्रोल ग्रुप र अर्को भ्याक्सिन ग्रुप। कन्ट्रोल गु्रपलाई इन्जेक्सन दिइएको थिएन तर उनीहरूलाई परीक्षण अवधिमा पोलियोको संक्रमण देखिन्छ कि देखिँदैन भनेर निगरानी राखिएको थियो। एक वर्ष लगाएर गरिएको परीक्षण रिपोर्टको विश्लेषणमा भ्याक्सिनले पोलियोबाट रक्षा गर्ने निष्कर्ष निकालिएको थियो।
सन् १९५५ मा युनिभर्सिटी अफ मिसिगनमा गरिएको पत्रकार सम्मेलनमा डा. थोमस फ्रान्सिसले पोलियोविरुद्ध भ्याक्सिनको सफलता ८० देखि ९० प्रतिशत रहेको घोषणा गरे। पछि अमेरिकी सरकारले साल्कको भ्याक्सिनलाई लाइसेन्स दियो। यसले भ्याक्सिन ठूलो परिमाणमा उत्पादन गर्ने बाटो सहज भयो। त्यसपछि साल्क नेसनल हिरो भए र तत्कालीन राष्ट्रपति आइजेनहोवरले उनलाई ह्वाइटहाउसमा बोलाएर विशेष सम्मान पनि गरे।
सन् १९५७ मा हिलारी कोप्रोस्कीले कंगोमा बसेर पोलियोको भ्याक्सिनको परीक्षण गरे। उनले परीक्षण गरेको भ्याक्सिनमा अधिकांश पोलियोका लागि जिम्मेवार मानिएको टाइप वान पोलियो भाइरसको थियो। उनको समूहले हजारौं मानिसलाई भ्याक्सिन लगायो।
सन् १९५९ मा अल्बर्ट सविन नामका अनुसन्धानकर्ताले सोभियत स्वास्थ्य अधिकारीसँग मिलेर अनुसन्धान गरे। उनी जोनास साल्कले विकास गरेको भ्याक्सिनको विकल्प दिन र सस्तोमा उत्पादन गर्न चाहन्थे। यसका लागि अनुसन्धानमा उनले केही वर्ष बिताए। त्यसपछि सोभियत रुसमा वृहत खोप अभियान सञ्चालन भयो।
सविनले तयार पारेको खाने पोलियो भ्याक्सिन १ करोड सोभियत बालबालिकालाई खुवाइयो। यसअघि जोनास साल्कले तयार पारेको भ्याक्सिन भने इन्जेक्सनमार्फत् दिने भ्याक्सिन थियो। साल्कले तयार पारेको भन्दा सबिनले तयार पारेको खुवाउने भ्याक्सिनमा धेरै सकारात्मक कुरा थिए। यसले साल्कको भ्याक्सिनभन्दा चाँडो रोगप्रतिरोधी क्षमता विकास गथ्र्यो। मुखबाट खुवाइने भएकाले यो पाचन प्रणालीबाट यात्रा गथ्र्यो, जसरी पोलियो भाइरस यात्रा गथ्र्यो र यो खुवाउन सजिलो भयो। कहिलेकाहीँ बालबालिकालाई चिनीको क्युबमा राखेर पनि खुवाइयो।
सविनको भ्याक्सिन अमेरिकी सर्जनको सिफारिसमा लाइसेन्स प्राप्त गर्न सफल भयो। यस भ्याक्सिनले टाइप वान पोलियो भाइरसविरुद्ध रक्षा गथ्र्यो। त्यसपछि टाइप टु र टाइप थ्री पोलियो भाइरसविरुद्धको खोपले पनि लाइसेन्स प्राप्त ग¥यो। सन् १९६३ मा तीनवटै पोलियो भाइरसविरुद्ध हुने गरी एउटै खोप आयो। सन् १९६८ मा इन्जेक्सनबाट दिइने पोलियो खोपको युग अन्त्य भएको घोषणा गरियो।