हाम्रो घाँटीनिर थाइराइड नामक ग्रन्थि हुन्छ। त्यस ग्रन्थिले ठीक तरिकाले काम गर्न सकेन भने पूरा शरीरले नै राम्ररी काम गर्न सक्दैन। आयोडिन थाइराइड ग्रन्थिलाई सही किसिमले काम गर्न र हामीले खाएको खानालाई शक्तिमा रुपान्तरण गर्न अत्यावश्यक खनिज पदार्थ हो। यो शरीरको चौतर्फी विकासका लागि आवश्यक पोषक तत्वका साथै प्रतिजैविक रसायन समेत हो।
दिनहुँ कम्तीमा १५० माइक्रोग्राम (एउटा सियोको टुप्पो जति मात्र) भए पनि आयोडिनको सेवन गरेमा आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। यस्तै, आमा तथा शिशुको चौतर्फी विकासका लागि पनि यो आवश्यक हुन्छ। बच्चा कुपोषित हुनुमा आयोडिनको कमी पनि महत्वपूर्ण कारण हुन्छ।
नेपालमा बर्सेनि ५० हजारभन्दा बढी बालबालिका मृत्यु हुने गर्छ। जसमध्ये ६० प्रतिशतभन्दा बढीको मृत्यु कुपोषणका कारणले हुन्छ, जसमा आयोडिनको कमी पनि प्रमुख कारण पर्छ।
विश्वको कुल कुपोषित बालबालिकामध्ये दुई तिहाइ जति एसियाका छन्। जहाँ बर्सेनि ११ लाख जति शिशु जन्मँदै कम तौलका (२५ सय ग्रामभन्दा कम) जन्मन्छन्। दक्षिण एसियाका कुल ७८ हजार बालबालिकामध्ये करिब आधा अर्थात् ४६ प्रतिशत बालबालिका कुपोषित पाइएका छन्।
नेपालमा बर्सेनि गर्भवतीदेखि सुत्केरी हुने बेलासम्म एक लाखमध्ये २ सय ८१ जना महिलाको मृत्यु हुने गरेको छ। जब आमाको मृत्यु हुन्छ, शिशुको बाँच्ने सम्भावना पनि कम हुन्छ। नेपालमा एक हजार जीवित जन्मेका एक वर्षमुनिका शिशुमध्ये ४६ जनाको मृत्यु हुने गरेकोमा ९ प्रतिशतभन्दा बढी कम तौल भएका जन्मने गर्छन्। यस्तै, एक हजार जीवित जन्मेका पाँच वर्षमुनिका बालबालिकामध्ये ५४ जनाको मृत्यु हुने गरेको छ, जसमा उमेर अनुसार तौल नपुगेका २९ प्रतिशत र पुड्कोपनको संख्या ४१ प्रतिशतभन्दा बढी छ।
आयोडिनको महत्व
आयोडिन थाइराइड ग्रन्थिलाई सही किसिमले काम गर्न र खाएको खानालाई अधिकतम मात्रामा शक्तिमा रुपान्तरण गर्न अत्यन्त आवश्यक पर्ने खनिज पदार्थ हो। जसले शारीरिक तथा मानसिक वृद्घि र पाचन प्रणालीलाई सहयोग पुर्यापउँछ। आयोडिन सबैलाई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक पोषक तत्व हो। यसमा पनि वयस्कलाई भन्दा शिशुलाई बढी मात्रामा आयोडिन चाहिन्छ।
आयोडिनको सेवनले शरीरको छाला, नङ र कपाललाई स्वस्थ राख्छ। आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीर बाहिर निकाल्नुका साथै हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट पनि पार्छ। आयोडिनको कमी हुँदा थाइराइड ग्रन्थिमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष–परोक्ष रुपमा महिलामा स्तन क्यान्सरको सम्भावना हुन्छ।
महिलालाई अन्य समयभन्दा गर्भावस्थामा बढी मात्रामा आयोडिनको आवश्यकता पर्छ। गर्भावस्थामा आयोडिनको कमी भएमा भ्रुणको विकास नहुने, गर्भ तुहिन सक्ने, गर्भवतीको मृत्यु हुन सक्ने, कम तौल (२५ सय ग्रामभन्दा कम) भएका शिशु जन्मने, शिशुको स्नायु, शारीरिक तथा मानसिक विकास अत्यन्त कम हुने हुन्छ। यस्ता बालबालिकाले भविष्यमा राम्ररी लेखपढ गर्न नसकी जीवन नै अनुत्पादक बन्छ।
आयोडिनका स्रोत
समुद्रमा पाइने सेलफिस, कर्डफिस जस्ता माछा र वनस्पति तथा तरकारीजन्य खाद्यपदार्थमा सबैभन्दा बढी आयोडिन पाइन्छ भने माटोमा उब्जने खाद्य पदार्थ, तरकारी, फलफूल (स्ट्रबेरी), हरियो र गाढा रङका सागपातजन्य खाद्यपदार्थ, गाईको दूध, दुग्ध पदार्थ, अन्डा, भटमास र लसुन आदिमा आयोडिन पाइन्छ।
आयोडिन पाउन समस्या
आयोडिन समुद्रमा पाइने खाद्यपदार्थ र माटोमा उब्जने वनस्पति तथा फलफूल जस्ता खाद्य पदार्थमा पाइन्छ। तर, भूपरिवेष्ठित देश भएकाले नेपालमा चाहेर पनि आयोडिनको सेवन गर्न असमर्थ हुनुपरेको छ। अर्कातिर, मौसममा भर पर्नुपर्ने हाम्रो खेतबारीमा उब्जिएका तरकारी तथा फलफूलबाट पाउने आयोडिन पनि आवश्यक मात्रामा पाउन सकेका छैनौं। किनभने सूर्यका किरणले समुद्रबाट शोषण गरेर वर्षाको पानीसँगै वर्षेको आयोडिन पनि भिरालो जमिनमा बाढी र पहिरोले माटो बगाउँदा र भूक्षय हुँदा बगेर जान्छ।
यसका साथै भौगोलिक कारणले हाम्रो देशको दुर्गम तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने खाद्यानमा आयोडिनको मात्रा कम हुन सक्छ। किनभने त्यस्ता स्थानमा बाढी आउने, खेतीयोग्य जमिन कम हुने र सामूहिक खाद्यपदार्थ नपाइने हुन्छ। यस्तै, त्यहाँ बसोबास गर्नेहरुले आयोडिनयुक्त नुनभन्दा पनि कम आयोडिन हुने तिब्बततिरबाट आउने सस्तो नुन बढी सेवन गर्छन्। यसले गर्दा शरीरमा अत्यावश्यक सूक्ष्म पोषक खनिज पदार्थ आयोडिनको कमी भएर धेरै स्वास्थ्य समस्या उत्पन्न भइरहेका छन्।
आयोडिन कसरी पाउने?
२०४० को दशकतिर कसैलाई आयोडिनको कमी भएको पाइएमा सुईको माध्यमबाट आयोडिन दिइन्थ्यो। तर, पछि २०४८ सालतिर आयोडिनको कमीलाई आयोडिन क्यापसुलबाट पूर्ति गर्न सल्लाह दिइन्थ्यो। पछिल्लो समय भने नुनमा आयोडिनको मात्रा छरेर थैलोमा बन्द गरी बिक्री–वितरण गरिन्छ। सरकारी संयन्त्र मार्फत यथेष्ट मात्राको आयोडिनयुक्त नुनलाई सही किसिमले प्रयोग वा सेवन गरे मात्र आवश्यक मात्रामा आयोडिन प्राप्त गर्न सकिन्छ।
आयोडिन दुई तरिकाबाट पाउन सकिन्छः
१. खेतबारीमा फल्ने आयोडिनयुक्त तरकारी, सामुद्रिक माछा, वनस्पतिका साथै समुद्रको पानीबाट सिञ्चित माटोमा उब्जने तरकारी र फलफूलबाट आयोडिन पाइन्छ।
२. खाद्यपदार्थमा आयोडिन मिसाई तयार पारिएका खाद्यपदार्थको सेवनबाट। खाद्यपदार्थमा आयोडिनको सही मात्रा मिलाई तयार पारिने प्रक्रियालाई ‘आयोडाइजेसन’ भनिन्छ। यसका साथै सरकारले बिक्री–वितरण गर्ने आयोडिनयुक्त नुनलाई सही किसिमले उपभोग गर्नुपर्छ।
निष्कर्ष
नेपालमा आयोडिन प्राप्त गर्न आयोडिनयुक्त नुनको विकल्प छैन। ‘आयोडाइजेसन’ गरिएको नुनमा आवश्यक मात्रा ५० पि.पि.एम. आयोडिन छरेर थैलोमा बन्द गरी बिक्री–वितरण गरिएको हुन्छ। ५० पि.पि.एम. आयोडिन नुनमा मिलाइएको भए पनि बजारमा भण्डारण गरिएको तरिका, घामपानीको असर र उपभोक्ताले खरिद गरी घरमा न्यानो ठाउँमा राम्ररी बिर्को बन्द नगरी राखेमा आयोडिनको मात्रा कम हुँदै जान्छ।
यसरी विभिन्न कारणले आयोडिन उडेर मात्रा कम हुँदै गए पनि कम्तीमा १५ पि.पि.एम. आयोडिन बाँकी रहेसम्म मात्रा पुग्छ। त्यसकारण सकेसम्म ५० देखि १५ पि.पि.एम. आयोडिन पाउन निम्नानुसार गर्नैपर्छः
क) नुन उपभोगमा सजगताः
१. सरकारले बिक्री–वितरण गर्ने दुई बालबालिकाको लोगो अंकित (आयोनुन, शक्ति, तेज नुन र भानु जस्ता) नुनका प्याकेटमा आयोडिन मिसाएको हुनाले त्यही नुन मात्र उपभोग गर्ने।
२. बजारमा बिक्री गर्न राखिएको आयोडिनयुक्त नुन जथाभावी घाम, पानी पर्ने खुला ठाउँमा भण्डार नगर्न व्यापारीलाई चेतना दिने।
३. आयोडिनयुक्त नुनलाई घाम, पानी र अधिक तामक्रमले सजिलै बिगार्ने भएकाले आयोडिनको अधिकतम मात्रा बचाउन खुला ठाउँमा भण्डारण नगर्ने।
४. घरमा ल्याइएको आयोडिनयुक्त नुनलाई घरमा चुलो वरिपरि तथा धेरै तातो ठाउँमा नराख्ने, बिर्को राम्ररी बन्द हुने बट्टामा राखी नुन निकालेपछि तुरुन्तै बन्द गर्ने र ओसिएको आयोडिनयुक्त नुन उपभोग नगर्ने।
५. सकेसम्म दाल, तरकारी वा अचार खाने बेलामा मात्र नुन छर्केर खाने।
६. वर्षायाममा खेतबारीमा बाढी, पहिरो र भूस्खलन हुँदा माटोमा हुने आयोडिन बगेर जाने भएकाले त्यस्तो माटो बचाउन रुखविरुवा रोप्ने तथा छेकबार लगाएर रोकथाम गर्ने।
८. भारतीय सिमानामा सस्तो मूल्यमा बिक्री–वितरण गरिने नुनमा आयोडिनको मात्रा निकै कम पाइएको हुनाले त्यस्तो नुनको उपभोग नगर्ने।
ख) आयोडिन प्रवर्द्धनः
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आयोडिनयुक्त नुन मात्र उपभोग गर्न नागरिकहरुलाई जनचेतना जगाउन केही वर्षदेखि बर्सेनि फेब्रुअरी महिनालाई आयोडिन प्रवर्द्धन महिनाको रुपमा मनाउने निर्णय गरेको छ। तर, अझै पनि जनचेतनाको कमीले अधिकांश नागरिकले दुई बालबालिकाको चिह्न अंकित आयोडिनयुक्त नुनलाई वास्ता नगरी सकेसम्म सस्तो आयोडिनरहित ढिकेनुन र भारतीय नुन उपभोग गरेको पाइन्छ। त्यसैले आयोडिनको प्रवर्द्धन गर्न व्यापकरुपमा शिक्षण संस्थाहरुमा जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य क्षेत्रको स्थानीय तह र समुदाय स्तरसम्म साल्ट टेड्रिङ कम्पनीसँगको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ।
यसका साथै आयोडिन प्रवर्द्धन सम्बन्धी सूचना, शिक्षा तथा सञ्चार सामग्रीको व्यापक उत्पादन तथा वितरण र वर्षका कम्तीमा चार वटा महिनालाई आयोडिन प्रवद्र्धन महिना बनाएर जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ।
पाणिनी–८, पाली, अर्घाखाँची।
(स्वास्थ्य सेवामा ४० वर्ष सरकारी सेवामा रहेका अर्याल निर्देशक पदबाट सेवा निवृत्त भएका हुन्।)