हाम्रो समाजमा अझै पनि छोरी जन्मदा सहज रुपमा स्वीकार गर्नसक्ने बानीको विकास भइसकेको छैन । निम्नवर्गीयदेखि शिक्षित परिवारमा सम्म गर्भमा छोरी छ भने गर्भपतन गराउने चलन अहिले पनि छ । यो कुरा भनिरहदाँ निकै दुःख लाग्छ।
मलाई छोरीको भु्रणहत्या न्युनिकरणका लागि के गर्न सकिन्छ भन्ने सोच सधैं मनमा आउथ्यो । तर त्यसका लागि मेरा कुरा प्रभावकारी रुपमा कार्यान्वयन हुने वातावरण बनिरहेको थिएन । जब म विराटनगर महानगरपालिकाको उपमेयर भएँ, अनि मलाई आफ्ना मनमा लागेका विषय अब कार्यान्वयन गर्नुपर्छ भन्ने लाग्यो।
मैले के काम कसरी गर्ने भनेर एकखालको खाका त बनाइसकेको थिएँ । जब नगरपरिषद्को बैठक बस्यो । मैले ‘छोरी बचाऊ’ अभियान गरौँ भनेर प्रस्ताव गरें । प्रस्तावमा अभियान कसरी अगाडि बढाउने भनेर स्पष्ट उल्लेख गरेकी थिएँ।
‘छोरी बचाउँ’ कार्यक्रम छोरीको भ्रुण हत्या रोक्ने मात्र नभएर बालविवाह रोक्ने, छिट्टै विवाह र छिट्टै आमा बन्दा हुने स्वास्थ्य समस्या रोक्ने र सुत्केरी अवस्थामा हुने मृत्युदरलाई रोक्ने एउटा संयुक्त कार्यक्रम हो । नगरपरिषद्ले मेरो प्रस्ताव सकारात्मक रुपमा लिएपछि हामीले पहिलो सन्तानका रुपमा छोरी जन्माएकी आमालाई तीन हजार रुपियाँ दिने निर्णय गर्यौं । तर त्यसका लागि पनि केही सीमा निर्धारण गरिएको छ।
पहिलो सन्तान छोरी जन्माएकी आमाले २० वर्षको उमेरपछि गर्भधारण गरेको हुनुपर्ने, सुत्केरी हुनुअघि कम्तीमा ६ पटक स्वास्थ्य संस्थामा जाँच गराएको हुनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने, बच्चा जन्मिएको एक महिनाभित्र जन्मदर्ता गराएको र नेपाली नागरिकता भएको प्रमाणपत्र पछि मात्र हामीले उनीहरुलाई रकम दिन्छौँ।
यी प्रावधान सबै पूरा गरेका आमाले वडामै सबै कागजात जम्मा गर्नुपर्नेछ, त्यसपछि हामीले प्रक्रिया पूरा गरी रकम हस्तान्तरण गछौँ । अहिले त्यस्ता कागजपत्र लिने काम भइरहेको छ, केही दिनपछि हामी रकम वितरण गर्दैछौँ।
हामीले यी सीमा निर्धारण गर्नुको पनि कारण छ । जब मैले भु्रणहत्याका बारे जिल्लाका स्वास्थ्यकर्मीलाई बोलाएर बुझेँ । शहरका चिकित्सकले नै छोरी भएकै कारण भ्रुणहत्या गरेको थाहा पाएँ । अहिलेको उहाँको नाम नभनुँ, तर त्यसकुराले मलाई निकै चोट प-यो।
मलाई थाहा छ, आमाहरूलाई दिइने यो रकम ठूलो होइन । तर पनि यसबारे हामीले आवाज उठाउनै प¥यो । कार्यक्रमका बारेमा हामीले स्थानीय पत्रिका, एफएम रेडियो र महानगरबाटै जनतालाई जानकारी गराएका छौँ । यसको निकै राम्रो प्रतिक्रिया पाएका छौँ।
अधिकांश हामी ठान्छौं– गर्भमा छोरी रहेमा गरिबले मात्र गर्भपतन गराउँछन् । तर होइन रहेछ । पढेलेखेका अनि, हुनेखानेले पनि यसो गरिरहेका छन् । त्यसमा पनि जो आफै चिकित्सक हुन्, जसलाई छोराछोरीको महत्व एउटै हो भन्ने राम्ररी थाहा छ, उसैले छोरीको भ्रुणहत्या गराउनु निकै दुखद् हो।
हामीले यस अभियानमार्फत् समाजका माथिल्लो वर्गलाई यो कार्य रोक्न सन्देश दिइरहेका छौं । एक हिसावले यो चुनौति पनि हो उहाँहरुलाई । हामीलाई विश्वास छ सबैको सहयोगले ‘छोरी बचाउँ’ कार्यक्रम प्रभावकारी हुनेछ । केही हदसम्म भए पनि छोरी भुण्रहत्या रोक्न सकिनेछ।
त्यसबाहेक महानगरले ज्येष्ठ नागरिकको उपचारका लागि घरदैलो कार्यक्रम, अति विपन्न परिवार तथा समुदायमा स्वास्थ्य घुम्ती शिविर, मोतिबिन्दु न्युनिकरणका लागि निजी अस्पतालसँग साझेदारी, सुनौला हजार दिनजस्ता कार्यक्रमका लागि बजेट विनियोजन गर्दै सञ्चालन गरिरहेका छौँ।