वृद्धावस्थासँगै शरीरमा विभिन्न समस्या देखा पर्छन् । ज्येष्ठ नागरिकमा देखिने त्यस्ता समस्याबाट पीडित बिरामीलाई भौतिक चिकित्सा तथा शारीरिक पुनःस्थापना विधिबाट गरिने उपचार नै जेरियाट्रिक फिजियोथेरापी हो।
वृद्धावस्थामा नसा, मांसपेशी, हाडजोर्नी लगायत शरीरका विभिन्न अंगमा हुने समस्यालाई फिजियोथेरापीबाट निको बनाइन्छ । थेरापी अन्तर्गत विभिन्न प्रकारका व्यायाम र विद्युतीय उपकरणको प्रयोग गरेर बिरामीको पूर्ण उपचार गरिन्छ । शारीरिक तथा मानसिक रुपले अशक्त व्यक्तिलाई सामान्य जीवनमा फर्काउन भौतिक चिकित्साको महत्वपूर्ण योगदान रहन्छ।
वृद्वावस्थामा शरीरका मांसपेशी, हड्डी कमजोर हुँदै जाँदा विभिन्न शारीरिक पीडा निम्तने गर्छ । उमेर अनुसार सबै मानिसको शारीरिक संरचना र शरीर विज्ञानमा परिवर्तन आउँछ । यस्तो परिवर्तन शरीरको कोषदेखि अंगसम्ममा देखिन सक्छ, जसलाई सूक्ष्म र स्थूल परिवर्तन भनिन्छ।
वृद्वावस्था लागेर शरीरमा आउने परिवर्तनसँगै विभिन्न रोगले सताउने गर्छ । यस्ता रोगलाई सामान्य बनाएर निको पार्ने काम जेरियाट्रिक फिजियोथेपारीले गर्छ । यो थेरापी अपनाएमा औषधिभन्दा छिटो प्रभावकारी हुन सक्छ।
किन गर्ने यो थेरापी ?
वृद्वावस्थासँगै उच्च रक्तचाप, मधुमेह, मुटुरोग, कोल्डस्टेरोल, बिर्सने रोग जस्ता विभिन्न समस्याले सताउने गर्छ । पाकोपनसँगै रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले विभिन्न रोग लाग्छ । फिजियोथेरापीले रोगसँग लड्न सक्ने क्षमता बढाउनुका साथै विभिन्न सरुवा रोगबाट पनि बच्न सकिन्छ । यस्तै, नर्सने दीर्घ रोग लागेकाहरुलाई पनि यो थेरापीले मद्दत पुग्छ।
निमोनिया, अस्थामा, नसा सम्बन्धी रोग आदिमा जेरियाट्रिक फिजियोथेरापी प्रभावकारी हुन्छ । स्ट्रोकले हुने पक्षघात, अल्जाइमर जस्ता रोग पनि निको पार्न सकिन्छ । यो विधिबाट उपचार गर्दा कुनै साइड इन्फेक्ट हुँदैन।
जेरियाट्रिक फिजियोथेरापी यस कारण गर्नुपर्छः
– रोगसँग लड्न सक्ने क्षमता बढाउँछ,
– रोगलाई नियन्त्रण गर्न मद्दत गर्छ,
– दीर्घ रोग लागेका बिरामीहरुलाई औषधिको डोज घटाउन मद्दत गर्छ,
– शारीरिक पुनःस्थापना गराउन मद्दत गर्छ ।
कसरी गर्ने ?
यो थेरापी जेरियाट्रिक विशेषज्ञको सहयोगबाट गर्न सकिन्छ । औषधिको डोज जस्तै थेरापीको पनि डोज हुन्छ । दिनमा कति दिने, बिरामीले कतिसम्म थेग्न सक्छ भन्ने विचार गरेर थेरापी दिइन्छ । बिस्तारै डोज बढाउँदै लैजान सकिन्छ।
थेरापी आफूखुसी गर्दा नकारात्मक असर पर्न सक्ने भएकाले विशेषज्ञको रेखदेखमा गर्नुपर्छ । सामान्य उमेरसमूह र सक्रिय उमेरसमूहका बिरामीलाई दिने थेरापी छुट्टाछुट्टै हुन्छन् । यस्तै, उमेर र रोग अनुसार पनि फरक–फरक तरिकाले थेरापी दिइन्छ। जेरियाट्रिक पढेको विशेषज्ञको सुझाव अनुसार थेरापी गर्यो भने रोगको सही उपचार गर्न सकिन्छ।
(डा भगत एम्स फिजियोथेरापी रिह्याबिटेसन एन्ड पेन पोलिक्लिनिक ललितपुरमा कार्यरत छन् ।)