गएको डिसेम्बरमा पहिलोपल्ट मानिसमा नयाँ बर्ड फ्लु भाइरस देखापरेको सार्वजनिक भएको छ। छिमेकी देश चीनमा विश्वमै पहिलोपल्ट देखापरेको इन्फ्लुएन्जा भाइरस A (H7N4 ) जियान्सु प्रोभिन्स निवासी ६८ वर्षीया महिलामा देखापरेको हो।
झन्डै एक महिनाको उपचारपछि उनी घर फर्किएको चिनियाँ सरकार सम्बद्ध सम्बन्धित निकायले बताएको छ। यो नयाँ बर्ड फ्लु भाइरस मानिसमा कडा रुपमा देखापरेको हुन सक्ने अनुमान गर्न सकिन्छ।
मानिसबाट मानिसमा सर्ने क्षमता यो भाइरसले विकास गरिसकेको छ/छैन, यो भने अनुसन्धानकै विषय बनेको छ।
हाल चीनमा मात्र सीमित रहँदै आएको बर्ड फ्लु भाइरस A (H7N9 ) बाट संक्रमित हुनेहरुको संख्या बर्सेनि बढ्दै गएको छ। यो नयाँ भाइरस A (H7N4 ) ले आगामी दिनहरुमा कसरी कुन स्तरमा विस्तार हुनेछ भनेर अनुमान गर्न सकिँदैन । तर यसको सर्वे गर्ने र इन्फ्लुएन्जा भाइरस A का अरु प्रजातिभन्दा के कति कडा हुन सक्छ वा यसबाट हुन सक्ने मृत्युदर वा प्यानडेमिकको रुप लेला कि नलेला भनेर विश्वका वैज्ञानिकहरुले चासोपूर्वक नियालेको देखिन्छ। बर्ड फ्लु भाइरस A (H5N1) र A (H7N9 ) को मृत्युदर क्रमश: ६० र ३० प्रतिशत रहेको छ।
विश्वले यसप्रति नजिकबाट नियालिरहेको अवस्थामा नेपालले पनि चीनसँग सिमाना जोडिएको र दुई देशबीच दिनानुदिन मानिसहरुको बाक्लो आवतजावत हुँदै गएको अवस्थामा यसप्रति चासो लिनु जरुरी हुन्छ।
यो बर्ड फ्लु भाइरस भर्खरै चीनमा देखापरे पनि नेपालमा निदान गर्ने चासो तथा पहल गर्नुपर्छ। प्रयोगशाला निदान गर्दा यो नयाँ भाइरसलाई पनि समावेश गरी टेस्ट नगरेसम्म यो नयाँ भाइरस नेपालमा पनि छ वा छैन भन्ने बलियो आधार हुने छैन।
(- डा पुन टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)