थाइराइड र गलगाँडको शल्यक्रियाका क्रममा धेरै बिरामी २० देखि ४० वर्षका महिला नै भेटिएका छन् । घाँटीको गलगाँड नदेखिए हुन्थ्यो भने अधिकांशको चाहना हुन्छ । त्यसलाई हटाउने भनेको शल्यक्रिया नै हो । शल्यक्रियापछि दाग बस्ने अर्को समस्या थियो । तर, अब त्यो समस्याको पनि समाधान आएको छ ।
घाँटीमा दाग नै नबसी गलगाँड तथा थाइराइड क्यान्सरको शल्यक्रिया गर्ने प्रविधिबाट नेपालमा उपचार हुन थालेको छ ।
शल्यक्रिया गर्न आउने धेरैले घाँटीमा दाग नबसे हुन्थ्यो भन्छन् । घाँटीमा दाग नदेखिनका लागि काखी र स्तनको माथिल्लो भागबाट प्वाल पारेर उपचार गर्ने एउटा विधि छ भने अर्कोतर्फ ओठको तल्लो भागबाट पनि अपरेसन गर्न सकिन्छ । काखीबाट अपरेसन गर्दा काखी र स्तनमा सामान्य दाग हुने रहेछ । यसका साथै शल्यक्रियाका क्रममा त्यहाँबाट थाइराइडसम्म पुग्न लामो दूरी तय गर्नुपर्ने हुन्छ । त्यही भएर अहिले ओठबाट अपरेसन गर्ने विधि प्रचलनमा आएको हो ।
ओठको भित्री भागमा सानो प्वाल पारेर गरिने यो शल्यक्रिया भरपर्दो पनि छ । अपरेसनका लागि थाइराइडसम्म काखीबाट भन्दा कम दूरी पर्ने र दाग पनि नदेखिने भएपछि यस्तो शल्यक्रिया गराउने पनि बढिरहेका छन् । शल्यक्रियाका लागि प्वाल पारिएको ओठको घाउ अन्यत्रभन्दा छिटै निको समेत हुन्छ ।
भदौको दोस्रो साता ईश्वरी खड्का नामकी बिरामीको यही प्रविधिबाट पहिलो पटक हामीले उपचार गरेका हौं । उहाँको दायाँ भागको थाइराइड सुन्निएको थियो । उहाँलाई गलगाँड भएको रहेछ । पहिलोपटक यो प्रविधिबाट उपचार गराउन पाउँदा उहाँ र परिवार निकै खुसी भएका थिए ।
यो विधिबाट शल्यक्रिया गर्दा २४ घन्टाभित्रै बिरामी घर जान सक्छन् । परम्प्रागत विधिमा दुई–तीन दिन लाग्थ्यो । नयाँ विधि अनुसार शल्यक्रिया गर्दा ठूलो स्क्रिनमा हेरेर सहज रुपमा गर्न सकिन्छ । थाइराइडको शल्यक्रियामा कहिलेकाहीँ नसामा चोट पुगेर आवाज बिग्रिने खतरा हुनसक्छ । तर, यो विधिमा त्यस्तो खतराबाट जोगिएर शल्यक्रिया गर्न सकिन्छ ।
यस्तो शल्यक्रिया विशेषगरी थाइराइडको क्यान्सरमा नै बढी गरिन्छ । थाइराइडको शल्यक्रिया गर्न आउनेमध्ये ६० देखि ७० प्रतिशत क्यान्सरका बिरामी हुन्छन् भने २० देखि ३० प्रतिशत गलगाँडका बिरामी हुन्छन् ।
थाइराइडको क्यान्सर आहारविहार र 18सँग सम्बन्धित हुँदैन । कोषिकामै गडबडी हँुदा यस्तो देखिने गर्छ । २० देखि ४० वर्षको महिलामा यो अलि बढी देखिने गर्छ । घाँटीको अघिल्लो भागमा थाइराइड सुन्निएर आउनु, दुख्दै जानु, सुन्निएको डल्लो बढ्दै जानु यसका लक्षण हुन् । घाँटीको अरु भागमा गिर्खा देखिनु, स्वर भासिनु पनि यसका लक्षण हुनसक्छ ।
तर, थाइराइडको क्यान्सर अरु क्यान्सर जस्तो खतरनाक नहुने भएकाले यसबाट डराउनु पर्दैन । अपरेसन गरेपछि यो पूर्णरुपमा निको हुने क्यान्सर हो । यसलाई अरु उपचार जस्तो किमो र रेडियोथेरापी पनि चाहिँदैन । अपरेसन गर्नुपरेपछि दाग नै नदेखिने गरी नवीनतम प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने सोच जनमानसमा बढ्न थालेको छ ।
यद्यपि यो तरिकाबाट सबै अपरेसन गर्न सकिन्छ भन्ने छैन । सानो क्यान्सर, गिर्खाहरुमा नफैलिएको क्यान्सर, धेरै टाँसिएर नबसेको क्यान्सरको शल्यक्रिया ओठमुनिबाट गर्न सकिन्छ । तर, फैलिएको क्यान्सर, फैलिएको गिर्खा र नलीमा टाँसिएको क्यान्सरको उपचार यसबाट गर्न कठिन हुन्छ । रोग फैलिएर गएपछि मात्रै किमो आवश्यक पर्नसक्छ ।
नेपालमा थाइराइड क्यान्सरको शल्यक्रिया गर्न आउने बिरामीको तथ्यांक हेर्दा चितवनमा वार्षिक करिब ७० जना र भक्तपुरमा करिब १ सय ४० जना आएको देखिन्छ । मानिसमा यसबारे जानकारी नभएका कारण पनि उपचारमा त्यति धेरै बिरामी नआएका हुन् । थाइराइडको क्यान्सर सुरुवातमै थाहा हुने भएकाले उपचार सहज हुन्छ । तर, नेपालमा रोग लुकाउने क्रम रहेकाले मानिसहरु समयमै आउँदैनन् ।
पहिले थाइराइडको क्यान्सरको उपचारमा एउटा डल्लोमा देखिए पनि दुवै निकाल्ने चलन थियो । त्यसले बिरामीले बाँचुञ्जेल औषधि खाइरहनुपर्ने हुन्थ्यो । अब भने आधा मात्रै पनि निकाल्न सकिने भएकाले औषधि खाइरहने अवस्था नहुन पनि सक्छ ।
हाइपो र हाइपर थाइराइडसँग भने गलगाँडको सम्बन्ध हुँदैन । समयमा उपचार नगरे पनि गलगाँडबाट कुनै समस्या हुँदैन । त्यो कतिपयमा बिस्तारै बढ्दै गए भने कतिपयको त बढ्दैन पनि । थाइराइडको क्यान्सरमा भने बेलैमा अपरेसन नगरेमा फैलिँदै जाने र बोल्ने नसामा असर परेर स्वर नै भासिन सक्छ । त्यसकारण समयमै उपचार गर्नु बुद्धिमानी हुन्छ ।
(डा ठाकुर नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका नाक कान घाँटी रोग विशेषज्ञ हुन्)