नेपालमा धेरैपटक प्रजातन्त्र आयो । २००७, २०४६ हुँदैं २०६२–६३ सम्म आइपुग्दा त सयौं वर्षदेखिको राजतन्त्र फालिएर गणतन्त्र नै आयो । तर २०७४ फागुन ७ गते मुलुकले प्रजातन्त्र दिवस मनाइरहँदा चिकित्सा जगतका लागि एउटा दुःखद, मर्माहत र कहालीलाग्दो घटना भयो । प्रजातन्त्रले सर्वसाधारणको जनजीविकामा खासै केही परिवर्तन नल्याएपनि समाजका केही उद्धण्ड मानिसलाई कानुनको खिल्ली उडाउन छुट दिएको छ । यही देखिया डोटी जिल्ला अस्पतालमा । अस्पतालमा कार्यरत डाक्टर जितेन्द्र सिंह बिरामीका आफन्तबाट मरणासन्न हुने गरि कुटिए ।
टाउकोमा समेत गहिरो चोट पुग्यो, दाँत भाँच्चियो, उत्तेजित र उद्दण्ड भीड आवासमै पुगेर कुटेको खबर आयो । समयमै प्रहरी आएर उद्दार नगरेको र सुरक्षा प्रदान गर्न नसकेको भए सुदूरपश्चिमको डोटी पुगेर सेवा दिँदा दिँदै एक चिकित्सकले ज्यान गुमाउने थिए । अब भोलिका दिनमा मानिसहरुको कुटाइबाट डाक्टरले ज्यान गुमाए भन्ने खबर पो आउला कि भन्ने चिन्ता बढेको छ्र दिनानुदिन चिकित्सक तथा स्वस्थायकर्मीमाथि ज्यादति र दुव्र्यवहार बढिरहेको दुःखद यथार्थ भए पनि ज्यान नै मार्ने अभिप्रायले चिकित्सकमाथि आक्रमण गरिएको यो पहिलो घटना हो ।
यो घटनामा संलग्नमाथि कारवाही हुन्छ कि हँुदैन भन्ने मात्र नभएर भोलिका दिनमा चिकित्सा क्षेत्रलाई आतंकित पार्ने यस्तै अथवा यो भन्दा अझ जघन्य घटना बढ्ने पो हुन् कि भन्ने चिन्ताले आज नेपालका सम्पूर्ण चिकित्सकलाई गाँजेको छ ।
आज नेपालका स्वास्थ्यकर्मी र चिकित्सकहरु आफ्नो पेशाप्रति निकै त्रसित र असुरक्षित महसुस गरिरहेका छन् । चिकित्सकबीच आजकाल एउटा भनाइ चर्चित भैरहेको छ, ‘पहिले कसैले डाक्टर पढ्दै छु भन्दा डाहा लाग्थ्यो, अचेल दया लाग्छ्र ।’यो हामीबीच उत्पन्न भएको चरम निराशाको प्रतिक हो । कोही पनि चिकित्सक र स्वास्थ्यकर्मी निर्भिक भएर, विवेक पुर्याएर र जोखिम मोलेर उपचारमा तल्लिन हुने मनस्थितिमा छैनन् । आफ्नो पनि कुटाइ खाने पालो आउने पो हो कि भनेर त्रसित हुँदै टाउको कसरी जोगाउने भन्ने ध्यानमा छन् ।
यस्तो अवस्थामा स्वास्थ्यकर्मी र चिकित्सकले सर्वसाधारणलाई उचित स्वास्थ्य सेवा दिन सक्छन् भन्ने कुरा कल्पना बाहिरको कुरा हो । त्यसैले सम्पूर्ण सर्वसाधारण, नागरिक समाज,बुद्धिजीवी, पत्रकार, सरकार र राजनीतिक दलका प्रतिनिधिले समाजमा चिकित्सकलाई सुरक्षित महसुस गराउँदै निर्भिक रुपमा काम गर्ने वातावरण निर्माण गरि आफ्नो स्वास्थ्य सेवा आफैँ सुनिश्चित गर्ने समय आइसकेको छ ।
स्वास्थ्यकर्मी र डाक्टर अभावमा स्थानीयहरु स्वास्थ्य सेवाबाट वन्चित भएका गुनासो आइरहने सुुदूरपश्चिममा नै डाक्टर कुटिएको यस घटनाको मारमा पर्ने अन्ततः यहाँका सर्वसाधारण नै हुन् । चिकित्सकलाई डोटीजस्तो सुदूरको जिल्लामा काम गर्न सजिलो छैन । आफ्नो घर जानुपर्दा र राजधानी नै पुग्न पनि धेरै कठिन छ । काठमाडौं पुग्न यहाँबाट ३०–३५ घण्टा लाग्छ । अस्पतालका पूर्वाधार, प्रविधि र सुविधासमेत सीमित छन् । त्यसका बाबजूद पनि पुगेर सेवा दिइरहेको डाक्टरहरु नै असुरक्षित हुनु र ज्यान नै जोखिममा पर्नु दुःखद हो ।
पीडित चिकित्सकका अनुसार भिडियो एक्स–रे गर्ने क्रममा ग्यारेन्टी खोजेपछि विवाद उत्पन्न भएर घटना भएको हो । हामीले भन्ने गरेका छौं, ‘ग्यारेन्टी कि भगवान ले दिन सक्छन कि फटाहाले, तर हामी सज्जन मानिस हौँ, सबै विधि र प्रविधिबाट कोसिस गर्छौँ तर ग्यारेन्टी दिन सक्दैनौं ।’ फेरि त्यो दूरदराजमा रडियोलोजिस्ट कोही जाने नै हैन, अनि अन्य चिकित्सकले चेकअप र गर्भजाँच गर्ने हो । ग्यारेन्टी कसले दिन सक्ने ? त्यसमाथि सधै भिडियो एक्स–रे गर्ने एडीजीपी डाक्टरसाब बाहिर शिविरमा जानु भएको भएर सामान्य जाँच डा. जितेन्द्र सिंहले गरिरहनु भएको अवस्थामा ग्यारेन्टी खोज्दै किचलो गरेको पाइयो । ग्यारेन्टी खोजेकाले भिडियो एक्स–रे नै नगरेर पैसा फिर्ता गरिदिएको र किन भिडियो एक्स–रे नगरेको भन्दै कुटपिट गरिएको पीडित चिकित्सक बताउछन् ।
भिडियो एक्स–रे गर्न नै अस्वीकार गरेकाले कुटपिट गरेका आपराधिक समूहका मानिस र स्थानीयहरु अहिले राजनीतिक पहुँचका आधारमा आफूहरुलाई ज्यानमारा मुद्दा लागेमा उल्टो चिकित्सकलाई फसाउछौँ भन्दै झन् निच व्यवहार देखाइरहेको दुखुद कुरा पीडित डाक्टरबाट आएको छ्र भिडियो एक्सरे नै नभएको अवस्थामा आफूहरु विरूदको मुद्दा फिर्ता नलिए भिडियो एक्स–रे गर्ने क्रममा यौन दुव्र्यवहार र जबर्जस्ती करणीको आरोपको मुद्दा पीडित चिकित्सकलाई नै हाल्छौं भनेर धम्काउने काम भएको छ्र ।
स्मरण रहोस् भिडियो एक्स–रे गर्ने कोठामा अरु दुइ जना 4 महिला स्टाफहरु पनि उपस्थित थिए र त्यहाँ त्यस्तो कुनै दुव्र्यवहार हुने कुरै थिएन । अझ भन्ने हो भने बिरामीको भिडियो एक्स–रे नै भएको थिएन, यस्तै त्रास र दबाबले बुधबारबाट डोटी जिल्लाका सबै चिकित्सकहरु सुरक्षाका लागि काठमाडौँ जानु परेको छ ।
अब कति गरिब बिरामीहरु रोग र पीडाले केही दिन छटपटिनु पर्ने छ, डोटीका सुत्केरी महिलाले अप्रेसन लगायतको उपचारबाट केही दिन वन्चित हुनुपर्नेछ, कुटपिट गर्ने दिपायल बजारमा बस्ने ती व्यक्तिहरुले त आफ्ना आफन्तलाई भारत, काठमाडौं लगेर उपचार गर्न सक्षम होलान् । तर गरिब निमुखाले आफ्ना आफन्तलाई धनगढीसम्म लैजान समेत नसकेर मृत्युवरणसमेत गर्नुपर्ने बाध्यता आउन सक्छ । त्यसैले चिकित्सकमाथि सांघातिक आक्रमण गर्नेलाई कडाभन्दा कडा कारवाही गर्नलाई र चिकित्सकलाई यथाशिघ्र कार्यस्थल फर्काउन सम्पूर्ण डोटी जिल्लाबासी, त्यहाँका बुद्धिजीवी र राजनीतिक दलका नेता–कार्यकर्ताले सकारात्मक भूमिका खेल्नुपर्छ । हुन त स्थानीय जनप्रतिनिधिले नै डाक्टरहरुले जिल्ला छाडे पनि केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएको सुन्नमा आयो, जुन डोटीबासीका लागि दुःखद र प्रत्युत्पादक हो ।
यस्ता घटना दिनप्रतिदिन भैरहेका छन् । यस्ता घटना घट्नेबित्तिकै देशभरका स्वास्थ्यकर्मी र चिकित्सकले पीडितलाई साथ र समर्थन जनाउछन् । चिकित्सक संघ, सरकारी चिकित्सक संघ लगायतले विरोध गर्ने र विज्ञप्ति निकाल्ने क्रमलाइ औपचारिकता दिन्छन् । केही समयपछि सबै कुरा सेलाउछ अनि दोषीले पनि सजिलै उन्मुक्ति पाउछन् । फेरि अर्को अस्पतालमा दुव्र्यवहार अनि आक्रमणको अर्को घटना हुन्छ । फेरि देशैभरिका स्वास्थ्यकर्मी–चिकित्सकबाट विरोध जनाउने, कालोपट्टि बाँध्ने, संघबाट विज्ञप्ति निक्लने क्रम दोहोरिन्छ । यस्तो चक्र दोहोरिरहन्छ । यो नै हाम्रो विडम्बना हो । अब यसरी क्षणिकरुपमा प्रतिक्रियात्मक हुनुभन्दा पनि किन यस्ता घटना बढिरहेका छन् भन्ने कुराको विचारविमर्श गर्ने बेला भएको छ ।
यस्ता घटना बढिरहनुमा सबैभन्दा प्रमुख कारण चाहि हाम्रो देशमा मौलाउँदै गरेको दण्डहीनता र छाडातन्त्र नै हो । यस्ता सांघातिक र आपराधिक घटनाका मतियारहरुले सजिलै उन्मुक्ति पाउछन् । यस्ता अपराधीलाई कारवाही गर्न कानुन निकै फितलो र कमजोर छ । अर्को कुरा कानुन कार्यान्वयनको पाटो त झन निराशाजनक छ ।
चाहे राज्यसत्ता र राजनीतिमा पहँुचको भरमा होस् अथवा पैसा र शक्तिको प्रभाव, यस्ता नाइकेहरुलाई मुद्दा नै अगाडि बढ्दैन । अझ अहिले त पैसाको पहुँच अदालतसम्म पुग्ने र अपराधीले उमुक्ति पाउने कुरासमेत सुन्नमा आइरहेका छन् । यसरी निरन्तर अपराध भइरहने तर दोषीलाई कडा कारवाही नहुने परिपाटीले अपराधीको मनोबल बढेको छ र पटक–पटक घटनाहरु बढिरहेका छन् । अझ धेरै घटनामा त एकै अपराधी पटक–पटक संलग्न हुने गर्छन् । यसमा कडा कानुनको प्रावधान हुने हो र कार्यान्वयन पक्ष दुरुस्त हुने हो भने धेरै समस्या आफैँ घटेर आउछ ।
मानौं एउटा स्वास्थ्यकर्मी अथवा चिकित्सकलाई दुव्र्यवहार गर्नेलाई पूरा १० वर्ष कैद र १० लाख जरिवाना हुने र कुनै पनि सरकारी सेवामा अयोग्य ठहर हुने प्रावधान राखेको खण्डमा भोलिका दिनमा कसैले पनि त्यस्ता घटना दोहो¥याउने कल्पनासमेत गर्न सकिदैंन । अहिले त चिकित्सकलाई ज्यानै मार्ने हेतुले आक्रमण गर्नेलाई पनि एक पैसा जरिवाना नहुने र १ महिना पनि कैद नहुने तीतो यथार्थ छ । त्यसैले सबैले चिकित्सकलाई मन्दिरको घण्टा झैं जहाँ पायो त्यहाँ प्रहार गरेका हुन् । त्यसैले अबका दिनमा सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सक र पेशागत संगठन कडा कानुन निर्माण र त्यसलाई निष्पक्ष कार्यान्वयन गराउने मुद्दाका साथ आन्दोलित हुनुपर्दछ ।
अर्को कुरा भनेको सर्वसाधारणमा स्वाथ्य सेवा र मेडिकल विज्ञानसम्बन्धि उचित चेतना र ज्ञान अभावको परिणाम नै हुन् यस्ता घटना । अझ भन्नुपर्दा मेडिकल विज्ञानको विषयमा भएको भ्रम र अर्धज्ञानको दुष्परिणाम हो । वषौंसम्म रोग पालेर घरमै धामीझाँक्री लगाएर जटिलता थप्नु सामान्य नै मानिन्छ । तर अस्पताल पुगेको २ दिनमै बिरामी निको भएन भने हंगामा पैदा गर्न थालिन्छ । (यी कुराहरु सबैलाई भनिएको होइन, धेरै मानिस बुझेका र धैर्यवान पनि हुनुहुन्छ) । अस्पताल लगेपछि जस्तोसुकै बिरामी पनि जादू झैं निको हुन्छन, औषधि भनेको अमृत हो, मरेको मानिस पनि ब्यँुतिन्छ भन्ने अपेक्षा सर्वसाधारणमा हुन्छ । त्यस्तो हुन्थ्यो भने त सायद मानिस अमर नै रहन्थ्यो होला । तर सबै प्रयास अनि विधिको प्रयोगबाट पनि कहिलेकाहीँ सोचेजस्तो परिणाम नआउन सक्छ । कहिले रोग झन् जटिल बन्न सक्छ त कहिले बिरामीको ज्यान नै जान सक्छ ।
हो त्यतिबेला डाक्टर लापरवाहीको आरोपमा आक्रमणको शिकार बन्नु परेको छ । कहिलेकाही अपरेसन गर्दा पनि जटिलता आउन सक्छ, त्यो विज्ञानले प्रमाणित गरेको कुरा हो । त्यस्तो दुर्घटना सबैलाई हँुदैन, हजारौंमा १–२ लाइ मात्र हुने हो । तर हुने सम्भावना भने सबैलाई रहन्छ, सबैलाई हुने थियो त आजका दिनसम्ममा सबै डाक्टरहरुले हज्जारौपटक कुटाइ खाइसकेका हुन्थे र कतिले ज्यानै गुमाउथे होला ।सबै प्रोटोकल लागू गर्दा पनि सधै सोचेजस्तै हुन्छ भन्ने छैन । कतिपय औषधि सेवन गर्दा होस् वा सिरिन्जबाट औषधि दिँदा पनि सामान्यदेखि गम्भीर प्रतिक्रिया आउन सक्छ र बिरामी गम्भीर हुन्छ । कहिलेकाही ज्यानै जान सक्छ । यो प्राकृतिक नियम हो र कसको शरीरले त्यस्तो प्रतिक्रिया गराउछ भन्ने कुरा पहिले नै तय गर्न सकिदैन । यो यथार्थलाई सबैले मनन गर्न सकेको पाइदैंन । यसैको परिणाम हुन् सधै भैरहेने चिकित्सक कुटपिटका घटना । यथार्थ बुझ्द्दाबुझ्दै पनि कतिपयले कुनै गिरोहको उक्साहटमा र क्षतिपूर्ति पाउने प्रलोभनले अस्पतालमा तोडफोड र कुटपिट गर्छन् । यस्ता क्रियाकलापले फेरि पनि पोल्ने भनेको गरिब अनि निमुखा जनतालाई नै हो । किनकि आफ्नै ज्यान खतरामा भएपछि कोही पनि चिकित्सकले जोखिम मोलेर जटिल केशमा हात हाल्दैनन् । त्यसैले त्यो अवस्था आएमा उपचार नै नपाएर पीडित हुने भनेको हामी नै हौँ भन्ने कुराको हेक्का राख्नुपर्छ ।
अनि हामी स्वास्थ्यकर्मी र चिकित्सकले नकार्नै नहुने कुरा भनेको हाम्रो क्रियाकलाप र व्यवहार पनि हो । यसरी हुने सबै घटनामा हामी स्वस्थ्यकर्मीकै पनि केही न केही कमजोरी छ । शोक, पीडा र रोगले भावविभोर भएका बिरामी र आफन्तसंग हामी संबेदनशील र नम्र हुन नसक्दा धेरै घटना हुने गर्छन् । उनीहरुको कुरा राम्ररी नसुन्दा र राम्रोसँग परामर्श दिन चुक्दा रुष्ट हुन्छन र त्यही कुरा आक्रोसको रुपमा विष्फोट हुन्छ । बिरामीको विश्वास जित्न सकेमा र उनीहरुलाई आफ्नै परिवारका सदस्यको रुपमा लिने हो भने बिरामी र आफन्तबीच आत्मीय सम्बन्ध रहन्छ र यस्ता घटनामा धेरै कमी आउने निश्चित छ । यद्यपि नियतवश त्यस्ता घटना गराउन खोज्नेलाई चाहिँ कानुनी बाटोबाट नै नियन्त्रण गर्नुपर्ने हुन्छ ।
(उपक्षेत्रीय अस्पताल, डडेल्धुरा)