गरिबी र अशिक्षाका कारण मानिसहरु चिकित्सकको सल्लाहविना आफूखुशी नै औषधि पसलबाट विभिन्न थरिका एन्टीबायोटिक्सहरु किनेर खाने गर्छन् । अझ कतिपय त धेरै पहिलादेखि घरमै राखिएको सडिसकेको औषधिसमेत प्रयोग गर्ने गर्छन्। औषधिको मात्रा र म्याद पनि हेर्ने गर्दैनन्।
आर्थिक स्थिति कमजोर हुनाले औषधि खाँदाखाँदै पूरा डोज नै नपुर्याई बीचैमा छाडिदिने गरेको पनि पाइएको छ । औषधि पसलबाट पनि डाक्टरको सिफारिसविना नै मनलाग्दी औषधि बेच्ने गरेको पाइन्छ।
यसरी जथाभावी औषधि प्रयोग गर्दा बिरामीको अवस्था झन्झन् बिग्रदै जान्छ । आवश्यकभन्दा कम मात्रामा सेवन गर्दा ब्याक्टेरिया, भाइरस तथा फङ्गाइको ड्रग प्रतिरोधी क्षमता बढेर औषधिले कामै नगर्नेसम्म हुन जान्छ । बढी सेवनगरेपनि मृगौला र कलेजो सदाका लागि काम नगर्नेसम्म हुन सक्छ । यसका साथै आन्तरिक रक्तश्राव तथा मुटुको गति र रक्तचापमा समेत असर पुग्छ।
त्यसैले एन्टिबायोटिक सेवन गर्दा निम्न कुरामा ध्यान दिनु जरुरी हुन्छ :
रगतको कल्चर गरेर कुन एन्टिबायोटिकले काम गर्छ पत्ता लागेपछि चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक छनोट गर्नुपर्छ ।
चिकित्सकको सल्लाहअनुसार नै एन्टिबायोटिकको मात्रा र सेवन गर्नुपर्ने समय निर्धारण गर्नुपर्छ ।
घरमा धेरै पहिलेदेखि खोलिराखेको तथा म्याद नाघेको एन्टिबायोटिक प्रयोग गर्नुहुँदैन ।
एन्टिबायोटिकको सेवन गर्दा प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
केही समय सेवन गरेपछि निको भएको महसुस हुँदैमा एन्टीबायोटिक पूरा सेवन नगरी खान छाड्नुहुन्न ।
एन्टिबायोटिकको सेवन गरेको समयमा चिल्लो, पिरो, अमिलो तथा मदिराजन्य कुराहरुको सेवन गर्नु हुदैन।
एन्टिबायोटिकसंगै प्रोबायोटिक जस्तै दही सेवन गर्नु फाइदाजनक हुन्छ ।
एन्टिबायोटिकको सेवन गरेको समयमा एन्टासिड तथा भिटामिन बि सेवन गर्नुपर्छ ।
कसैकसैमा एन्टिबायोटिकको साइडइफेक्ट पनि देखिनसक्छ, त्यसैले एन्टिबायोटिक सेवन गर्दा वाकवाक लाग्ने, रिंगटा लाग्ने जस्ता समस्या आएमा तुरुन्तै बन्द गरेर चिकित्सकको सल्लाहबमोजिम एन्टिबायोटिक परिवर्तन गरेर सेवन गर्नुपर्छ ।
(लेखक मेडिकल माइक्रोबायोलोजिस्ट हुन्।)