अहिले हामी संघीयता कार्यान्वयको चरणमा छौं। सबै कार्यक्रम जस्तै स्वास्थ्यका कार्यक्रम पनि स्थानीय तहबाट कार्यान्वयन हुनेगरी काम सुरु भइसकेका छन्।
काम गर्दै जाँदा अहिलेसम्मको अनुभवमा स्वास्थ्यका कार्यक्रम अझै प्रभावकारी रुपमा सञ्चालन गर्न हरेक स्थानीय तहका वडाहरुमा स्वास्थ्यका महाशाखा वा शाखा राख्नुपर्ने देखिन्छ। किनकि सानो इकाइबाट मात्र स्वास्थ्यका कार्यक्रम गर्न सकिन्न।
स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु ठूलो समूहमा चल्ने भएकाले एक जनाले मात्र सबै कार्यक्रम हेर्न गाह्रो छ। त्यसैले उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुमा क्रमशः महाशाखा,शाखाहरु राखेर आवश्यक थप स्वास्थ्य जनशक्ति परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ।
औषधि खरिद गरी त्यसको स्टोर गर्ने, भ्याक्सिनको व्यवस्थापन गर्ने लगायतका काम कसरी गर्ने भनेर पनि सोही अनुसारको भण्डार कक्ष लगायतको भौतिक संरचनाको अभावमा समस्या देखिएको छ।
हामीले बाँके जिल्लाका स्थानीय पालिकाहरुमा स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु प्रभावित नहोस् भन्ने हेतुले पहल गरिरहेका छौँ।
औषधि, भ्याक्सिन खरिद, आमा सुरक्षा कार्यक्रम सहज रुपमा सञ्चालन गर्ने, परिवार नियोजन सेवा लगातयका कार्यक्रम सञ्चालन गर्न स्थानीय जनप्रतिनिधिहरुसँग नियमित छलफल गरिरहेका छौँ।
बाँकेका स्थानीय पालिका प्रमुखहरु पनि सचेत पनि देखिनुभएको छ। सुरुदेखि नै हाम्रा कार्यक्रममा कुनै रोकावट नहोस् भनेर उहाँहरुसँग सहकार्य गरिरहेका छौँ। स्वास्थ्यका सबै कार्यक्रमबारे उहाँहरुलाई बुझ्न, थाहा पाउन पनि समय लाग्छ जसले कार्यक्रम सञ्चालन गर्न अलमल नहोस् भनेर समन्वयन गरिरहेका छौँ। स्थानीय तहमा भएका स्वास्थ्य संस्थामार्फत स्वास्थ्यका काम गर्न खटिएका स्वास्थ्यकर्मीसँग पनि समन्वयन गरिरहेका छौँ। सुरुबाटै मिलेर काम गरिरहेकाले सुचारु रुपमा काम भइरहेको छ।
नयाँ संरचना भइएकाले कतिपय ठाउँमा औषधि खरिदमा समस्या देखिएको छ, कति औषधि खरिद र स्टोर गर्ने, भ्याक्सिनहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा थोरै समस्या देखिएको छ। कतिले त औषधि खरिद पनि गरिसकेको अवस्था छ।
पालिकाहरुले स्थानीय रुपमा जनतासँग प्रत्यक्ष काम गर्ने भएकाले धेरै कार्यक्रम सफल हुन्छन् जस्तो लाग्छ ।
बाँकेमा स्थानीय सरकार भएदेखि पूर्ण खोप पालिका घोषणा गर्ने काम पनि भइरहेको छ। स्थानीय सरकारले पछिल्लो समय ८ वटा गाउँपालिकाले पूर्ण खोप घोषणा गरिसकेका छन्। हामी ४७ वटामध्ये १८ वटा पूर्ण खोप घोषणा भइसकेको छ।
धेरै घोषणाको लागि अन्तिम तयारी गरिरहनुभएको छ। धेरै पालिकाले स्वास्थ्यका लागि बजेट पनि धेरै नै विनियोजन गरेको अवस्था छ।
कतिपय पालिकाहरुले स्वास्थ्यलाई प्राथमिकतामा राखी नयाँ कार्यक्रमहरु पनि सुरु गरेका छन्। ज्येष्ठ नागरिक, आमा सुरक्षाका लागि काम सुरु गरेका छन्।
डुडुवा गाउँपालिकाले आफ्ना पालिका जनताका लागि घरघरमा स्वास्थ्य अभियान सुरु गरी स्वास्थ्य परिचयपत्र बनाउन सुरु गरेको छ। राप्ती सोनारी गाउँपालिकाले पनि विपद् व्यवस्थापनका गर्न औषधि व्यवस्थापन गर्न सुरुदेखि काम गरेको छ। नयाँ कामको लागि स्थानीय तहहरुले कोसिस गरिरहेकाले हामीले पनि सकारात्मक सहयोग गर्नुपर्छ।
हामी यही फागुन १५ र १६ गते बाँकेका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजक, उपसंयोजक, प्रशासकीय प्रमुख, लेखा अधिकृत सघंसस्थाका प्रतिनिधि लगायतको दुई दिनको समीक्षा बैठक गर्दैछौँ।
त्यसमा यो आर्थिक वर्षमा केके प्रगति भयो, बाँकी काम कसरी गर्ने, अबको चार महिनामा कति काम गर्न बाँकी छ भनेर समीक्षा गर्दै संयुक्त योजना बनाइनेछ।
अब बजेट सिलिङ आउन सुरु हुन्छ। त्यसका कसरी कार्यक्रम राख्ने, कार्यक्रमको प्राथमिकरण छुट्याएर योजनामा राख्ने, छुटाउन नहुने कार्यक्रम छुट्न नदिनका लागि संयुक्त योजना बनाउनुपर्छ। नत्र त्यो छुट्ने सम्भावना बढी देखेको छु।
हामीले अझै केही समय स्थानीय सरकारसँग समन्वय गर्नुपर्नेछ। पहिलेदेखि गर्दै आएको काममा त अलमल हुन्छ भने नयाँनयाँ सरकार भएकाले प्राविधिक अलमल देखिएका छन्। त्यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले सहयोग-सहकार्य गर्नैपर्ने हुन्छ। कतिपयले निकै महत्वाकांक्षी कार्यक्रम बनाउनुभएको छ। ती कार्यक्रम पूरा गर्न पनि योजना बनाउनुपर्छ। अन्यथा अपेक्षित नतिजा नआउन सक्छ भन्नेतर्फ सचेत हुनुपर्छ।