प्रदूषणको आँकडामा नेपाल विश्वका १ सय ७८ देशमध्ये १ सय ७७ औ स्थानमा छ । जसले गर्दा आममानिसमा धेरै प्रकारका श्वास20सम्बन्धी रोग देखिइरहेका छन् । प्रदूषण र त्यसले जनस्वास्थ्यमा पार्ने समस्या समाधानमा सरकारी निकायको कमजोरी होला । तर हाम्रो आफ्नै कार्य क्षेत्र सफा राख्न कसैको निर्णय र पहल पर्खिराख्न जरुरी छैन । हामीले झन्डै आधा दिन बिताउने स्थान सफा राख्न आफ्नै प्रयासबाट मात्र सफल हुनसक्छ ।
प्रायः सबै कार्यालय सहायकले सफा गर्छन् । हामी त्यसैलाई पर्याप्त ठान्छौं । तर कतिपय ठाउँ उनीहरुले पनि ध्यान दिन सक्दैनन् र छुट्न सक्छ । तर आफ्नो कार्यक्षेत्र सफा राख्ने दायित्व एकजनाको मात्र होइन, सबैको हो । त्यसैले कार्यक्षेत्र सफा राख्न शुक्रबारलाई सरसफाईको बार बनाउनु उपयुक्त हुन्छ ।
किन शुक्रबार नै ?
शुक्रबार हप्ताको अन्तिम दिन भएको हुनाले त्यो दिन हामी काम सकेर भोलिको छुट्टीको प्रतिक्षामा हुन्छौं । हामीले हप्ताभर काम गर्दा निस्किएका फोहोर त फालिएको हुन्छ । तर धुलो र दागरहित सरसफाई नगरिएको हुन सक्छ । एउटै कार्यालयमा काम गर्ने सबै मिलेर गर्ने सफाई र एक या दुई कार्यालय सहायकले गर्ने सफाईमा पक्कै फरक पर्छ । त्यसैले उक्तदिन सम्पूर्ण कर्मचारी मिलेर आधा घण्टादेखि १ घण्टा सरसफाईको काम गर्दा सकारात्मक सोचका साथै उर्जाको विकास गर्न सकिन्छ ।
यसले कार्यालयमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई सानो ठूलो नभई सबै समान हुन् भन्ने अनुभूति पनि प्रदान गर्छ । त्यसका साथै यो अभ्यासले १ घण्टा नै भए पनि निरन्तर गरिरएको कामबाट ध्यान हटाएर सबै जनाहातेमालो गर्दै काम गर्दा एउटा समूहमा बसेर काम गर्ने बानीको विकास हुन्छ र समूहमा काम गर्दाको नतिजा कस्तो हुन्छ भन्ने अनुभूति दिलाउँछ । अझ आइतबार काममा आउँदा आफ्नो पनि योगदानले सरसफाईको नतिजा देखेर झन् खुशी हुने बहाना हुन सक्छ । शनिबारको छुट्टीको समाप्तिसंगै आइतबार कार्यालय आउनुपर्दा मनमा उत्पन्न हुने खिन्नताको अनुभूतिलाई पनि कार्यालयको सरसफाई देख्दा सकारात्मक भावना उत्पन्न हुन्छ र अलग खालको उर्जा उत्पन्न हुन्छ ।
कहाँबाट सुरुवात गर्ने ?
अस्पताल तथा कार्यालयका कर्मचारीले सरसफाईको काम आफ्नो आफ्नो कोठाबाटै सुरु गरेर बरण्डा हँुदै वरपरका क्षेत्र सफा गर्न सकिन्छ । आफूले प्रयोग गर्ने कम्प्युटर, टेबल, कुर्सी, दराज, भित्ता, क्यालेन्डर, किताबदेखि बरन्डाका कुर्सी, पानी राख्ने भाडा, बेन्च, टीभी सफा गर्न सकिन्छ । यस्तो सरसफाई सामूहिक रुपमा सबै कर्मचारी भेला भै गर्दाको आनन्द नै अर्कै हुन्छ ।
कसरी सुचारु गर्ने ?
यदि कार्यालयभित्र धेरै कर्मचारी छन् भने समूहमा विभाजन गर्न सकिन्छ । आधा जतिले सरसफाईको काम गरिरहँदा बाँकी आधाले काम जारी नै राख्न सक्छन् । यदि कर्मचारी थोरै या सीमित छन् भने ग्राहकलाई पहिल्यै सूचना टाँसी जानकारी गराउन सकिन्छ । एउटा असल कार्य गर्दा ग्राहक पनि रिसाउने सम्भावना कम हुन्छ भने पछि यसलाई निरन्तरता दिन सकिए सेवाग्राही पनि त्यसरी नै समय मिलाएर आउन सक्छन् । समयलाई ध्यान दिने हो भने १ घण्टादेखि बढीमा २ घण्टामा सबै काम सक्न सकिन्छ । यदि हामीले यसलाई नियमित अभ्यासको रुपमा विकास गर्न सके सम्पूर्ण कार्यालयमा नियमित बनाउन गार्हो छैन ।
आफ्नो कार्यक्षेत्रका साथै आफ्नो घरको परिसर, आँगन तथा सम्पूर्ण क्षेत्र नै सफा र फोहोर व्यवस्थापन गर्न सके स्वच्छ वातावरण बनाउन सकिन्छ । जसले गर्दा अहिलेको प्रदूषणलाई केही हदसम्म भएपनि न्युनिकरण गर्न सकिन्छ ।
त्यसैले शुक्रबारलाई बनाउँ सरसफाईको बार ।