नेपालका मेडिकल कलेजपछि विद्यार्थीहरूको पहिलो रोजाइ बंगलादेश परेको छ। विगतमा चीन थियो। नेपालबाट नजिकको देश भएकाले पनि बंगलादेश रोजाइमा परेको हो। तर, जसरी विद्यार्थी जाने क्रम बढ्दै गयो, विकृति थपिएका थपियै छन्।
बंगलादेशमा रहेका निजी मेडिकल कलेजमध्ये ७० प्रतिशतजति गुणस्तरहीन छन्। तर, यहाँका केही कन्सलटेन्सीले विद्यार्थीलाई आफ्नो व्यक्तिगत फाइदाका लागि त्यस्ता कलेजमा नै पठाउने गरेका छन्। पैसा कमाउनले लोभमा केही कन्सलटेन्सीले इथिक्सभन्दा बाहिर गएर काम गरेका छन्। विद्यार्थीलाई सही परामर्श दिनुभन्दा पनि ठगी गर्ने नियतका कन्सलटेन्सीहरू पनि छन्। यस्ता कन्सलटेन्सीलाई सरकारले कारबाही नगर्दा पनि विकृति बढेको हो। कारण, राम्रो काम गर्ने कन्सलटेन्सीहरू समेत बदनाम भएका छन्। यहाँ राम्रो काम गर्ने कन्सलटेन्सी पनि छन्, तर राम्रोभन्दा नराम्रो गर्ने धेरै भएपछि सबैलाई बदनाम गराएका हुन्।
कन्सलटेन्सीहरू इमानदार नहुनु र विद्यार्थी चनाखो नहुनु विकृतिका कारण हुन्। कन्सलटेन्सीहरूले सबै कलेजलाई राम्रो भनिरहेका हुन्छन्। सबै उस्तै छन् भन्छन्। तर, विद्यार्थीले ती कुरा सहजै पत्याउनु हुँदैन। जसरी नेपालका कलेजहरू एकदमै राम्रा, मध्यम र निम्नस्तरका छन्। बंगलादेशमा पनि त्यही हो।
विद्यार्थीले जानुभन्दा पहिला आफै चनाखो भएर ती कुरा बुझ्न जरुरी छ। परामर्शदाताले भनेको भरमा सबै कुरामा विश्वास गर्नुहुँदैन। यहाँका परामर्शदातामध्ये धेरैलाई एमबिबिएसको पूरा रूपसमेत थाहा छैन। उनीहरूले कसरी डाक्टरी शिक्षाको परामर्श दिन सक्छन् ? त्यस्ता व्यक्तिले भर्खरै १२ कक्षा पढेका कलिला विद्यार्थीलाई अधुरो र अनावश्यक सूचना दिएर झुक्याइरहेका छन्। यो विषयमा अभिभावकले पनि चासो दिनुपर्छ।
नेपालका कलेजमा पढ्दा सबैतिर चासो दिने अभिभावकले विदेशमा पठाउँदा कन्सलटेन्सीको कुरालाई आँखा चिम्लेर विश्वास गर्नुहुँदैन। किनभने यहाँ त तीन महिनाका लागि मात्र कन्सलटेन्सी खोल्नेहरू पनि छन्। यस्तो विकृति हुँदा पनि शिक्षा मन्त्रालयले चासो नदिनु अर्को विडम्बना हो।