'नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेश' ले विभिन्न माग राख्दै सरकारलाई अल्टिमेटम दिएका छन्। उनीहरुले माग पूरा नभए आन्दोलनको चेतावनी पनि दिएका छन्। देशबाहिर पढिरहेका आफ्ना विद्यार्थीका सरोकारलाई सरकारले ध्यान दिनु जरुरी छ। तर, ती मागहरु कति जायज छन्, त्यसले विगतका निर्णय र प्रतिवद्धतालाई कतिको छुन्छन्, कति बढी विद्यार्थीको चासो र चिन्ता ती मागमा जोडिन्छन् भन्नेमा भने सरकार सजग हुनै पर्छ।
'मेडिकल शिक्षाको हब' भनिने बंगलादेशमा सञ्चालित अधिकांश निजी मेडिकल कलेजहरु गुणस्तरहीन छन्। यो आरोप अरु कसैको होइन, 'बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल'का रजिस्ट्रारको हो। अहिले एशोसिएशनले राखेका मागहरुले पनि त्यहाँका कलेजका गुणस्तरहीनतालाई संकेत गर्छन्। तर, कतिपय मागहरुलाई एशोसिएशनले उठाएको छ, त्यसले प्रशस्तै प्रश्नहरु पनि उठाएको छ। त्यस्ता माग पूरा गर्ने हो भने नेपालको स्वास्थ्य सेवामा भद्रगोल आउनसक्ने भएकाले सचेत बन्न सरकारलाई आग्रह गर्छौं।
बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुसँग जोडिने केही ज्वलन्त विषयहरु अहिले हाम्रोसामु छन्। त्यहाँका कलेज, बसोबास, सुरक्षा लगायतका विषयमा अनेकथरि समाचार सतहमा आइरहेका छन्। नेपालबाट कन्सल्टेन्सीहरुले सहयोगका नाममा नेपाली विद्यार्थीहरु ठग्ने गरेको विषयमा त स्वास्थ्य खबरले नै बंगलादेश पुगेर स्थलगत रिपोर्ट नै प्रकाशित गरेको थियो। यस्ता विषयमा सरकारी पक्षलाई ध्यानाकर्षण गर्न एशोसिएशनले गरेको पहल सकारात्मक नै छ। तर उनले राखेका ६ बुँदे मागमध्ये बुँदा नम्बर २ र ३ का विषयमा भने सरकार बहकिनु हुँदैन।
एशोसिएशनले राखेको मागको तेस्रो बुँदामा उल्लेख छ– विदेशका कलेजमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूको इन्टर्नसीपको व्यवस्था नेपालकै मेडिकल कलेजहरूमा गरियोस्।
बाह्य देशमा पढ्ने विद्यार्थीलाई नेपालकै मेडिकल कलेजमा इन्टर्नसिपको बहस पुरानै हो। र, अस्वीकृत पनि।
नेपाल मेडिकल काउन्सिलले डाक्टरी विद्यार्थीले गुणस्तरीय शिक्षा हासिल गर्न सकुन् र एमबिबिएस तथा बिडिएस अध्ययनरत विद्यार्थीको सिपको राम्रो विकास होस भनेर विद्यार्थीले जुन कलेजमा पढिरहेको हो, त्यहीँ इन्टर्नसिप गर्ने व्यवस्था लागू गरेको छ। विदेशमा अध्ययनरत विद्यार्थीको हकमा पनि सोही देशमा नै इन्टर्नसिप गर्नुपर्ने हुन्छ। विद्यार्थीले सम्बन्धित प्राध्यापकको निगरानीमा इन्टर्नसिप गर्दा सिप र क्षमताको विकास हुने भएकाले काउन्सिलले यसका लागि 'नेसनल गाइडलाइन फर मेडिकल इन्टर्नसिप ट्रेनिङ २००७' नामको छुट्टै निर्देशिका नै बनाएर कार्यान्वयनमा ल्याएको छ।
यो निर्देशिका विपरित चीनमा एमबिबिएस अध्ययन गरेका विद्यार्थीको सवालमा करिब एक दशक अघि नै यो विषय उठेको थियो। र समस्या पनि देखिएको थियो। नियम लागू भएपछि मन्त्रिपरिषद्बाट दुई पटकसम्म नेपालमै इन्टर्नसिप गराउने निर्णय पनि भएको थियो। तर मेडिकल काउन्सिलले खराब नजिर बस्ने र विद्यार्थीको सीपको वास्तविक परीक्षण पनि नहुने भन्दै मन्त्रिपरिषद्कै निर्णय कार्यान्वयन गर्न नसकिने अडान लियो। पछि नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेर त्यहींका कलेजमा इन्टर्नसिपको व्यवस्था मिलायो। त्यो समस्या त्यतिबेलै टुंगियो।
एशोसिएशनले बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई जोडेर राखेको मागले चीनको हकमा उतिबेलै असफल भइसकेको र अनावश्यक ठहर भइसकेको बहसलाई दोहोर्यारउने प्रयत्न गरेको छ।
नेपालमै पनि विगतका केही वर्षदेखि चलिरहेको बहसमा के छ भने मेडिकल कलेज खोल्नका लागि पर्याप्त बिरामी हुने आफ्नै अस्पताल, प्रोफेसर तथा अन्य भौतिक सुविधाको सुनिश्चितता हुनुपर्छ। एशोसिएशनले अहिले राखेको मागले बंगलादेश लगायतका देशमा उल्लेखित सुविधा नै नभएका कलेजमा नेपाली विद्यार्थी पुगिरहेका छन् भन्नेहरुलाई बोल्ने आधार तयार गर्छ।
त्यतिमात्रै होइन, बाह्य देशमा पढेर आएका कतिपय विद्यार्थीहरु नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा धेरैपटकसम्म उत्तीर्ण हुन नसक्नुको कारणको संकेत पनि विद्यार्थीको यही मागमा भेटिन्छ। बंगलादेशका हकमा पनि त्यहाँ पढिरहेका विद्यार्थीहरुले अध्ययनका क्रममा बिरामी जाँच्न पाएका हुँदैनन्, कलेजले त्यहाँको बिरामीलाई नेपाली विद्यार्थीले जाँच्न दिँदैन वा त्यहाँका कलेज सञ्चालन गरिरहेको अस्पतालमा बिरामी नै पर्याप्त छैनन् भनेर किन नभन्ने?
बंगलादेशमा पढेका विद्यार्थीले आफ्नो इन्टर्नसिप नेपालमा गर्न पाउनुपर्छ भन्नु यहाँका बिरामीमाथि जोखिमको बढोत्तरी गराउनु हो। कुन विद्यार्थीको क्षमता केकस्तो छ, उसलाई कस्ता बिरामीको जिम्मा दिन सकिन्छ भन्ने त विद्यार्थीसँग निरन्तर सम्पर्कमा हुने प्रोफेसरलाई जति थाहा छ, नेपालका प्रोफेसरलाई कसरी थाहा हुन्छ? जब सम्बन्धित कलेजका प्राध्यापकले नै उनीहरुलाई आफ्ना देशका नागरिकको उपचार गराउन मान्दैनन् भने नेपाली नागरिकलार्इ किन प्रयोगशाला बनाउने ? सस्ता र कालो सूचीमा पढेका 'निम्न गुणस्तरीय' चिकित्सक बन्ने क्रमका त्यस्ता विद्यार्थीलाई नेपालका बिरामीले कसरी विश्वास गर्ने? किन विस्वास गर्ने?
विद्यार्थीको यो माग गम्भिर र चिन्ताजनक छ। नेपाली विद्यार्थीले बंगलादेशमा इन्टर्नसिप गर्न नपाउने अथवा सर्टिफिकेटका लागि कामचलाउ इन्टर्नसिप मात्रै गर्ने सम्भावना उच्च देखिन्छ। यो विद्यार्थीले आफ्नो देशको सरकारसँगै गुनासो गर्ने अवस्था आइसकेकाले इन्टर्नसिपको सवाल अझै गम्भीर र फराकिलो दायरामा समस्याग्रस्त हुनसक्छ। राम्रोसँग इन्टर्नसिप सम्पन्न नगरेका त्यस्ता विद्यार्थी भोलि नेपाल आएर स्वास्थ्य सेवामा आवद्ध भए भने त्यसले झन् समस्या ल्याउन सक्छ। नेपालमा गुणस्तरहीन सेवाको प्रयोग हुनुभन्दा अघि नै सरकार यस विषयमा सचेत बन्नै पर्छ। अहिलेका लागि त्यस किसिमको सचेतता भनेको ती विद्यार्थीलाई त्यहीँ नै इन्टर्नसिप गर्न पाउने सुनिश्चितता गराउनु हो। यो नै अहिलेको बहसको सुरक्षित अवतरण हो।
त्यस्तै, दोस्रो बुँदामा उल्लेख छ–शिक्षा मन्त्रालय एवं नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाएर विदेशका विभिन्न कालो सूचीमा परेका कलेजहरूमा पढ्दै गरेका नेपाली विद्यार्थीहरूलाई नेपाल कै मेडिकल कलेजहरूमा स्थानान्तरण गरियोस्।
बंगलादेश पढ्न जाने विद्यार्थीमध्ये धेरैको समस्या नेपालमा रहेका खराब कन्सल्टेन्सीको ठगीबाट सुरु हुन्छ। कन्सल्टेन्सीको लहैलहैमा लागेर धेरै विद्यार्थी बंगलादेशका गुणस्तरहीन मेडिकल कलेजमा पुगिरहेका छन्। त्यसैकारण त्यहाँ विद्यार्थीहरुले एउटा मेडिकल विद्यार्थीका रुपमा सुरुदेखि अन्तिमसम्म पाउनुपर्ने वातावरण हासिल गर्न मुस्किल पर्छ। यस्तो अवस्था विद्यार्थीहरु स्वयमले स्विकारेका पनि छन्।
यसमा खराब कन्सल्टेन्सी, उनीहरुलाई निगरानी नगर्ने सरकार जति दोषी छन्, विद्यार्थी पनि उत्तिकै दोषी छन्। विदेश पढ्न जाने विद्यार्थीले आफू पढ्न जाँदै कलेजका बारेमा स्वतन्त्र ढंगले अलिकति पनि नबुझ्ने, सरकारका विगतका नीति र अभ्यास नहेर्ने र नेपालमा चलिरहेका बहसलाई पनि केलाउने नगरेको पाइन्छ। सहजै भर्ना पाइने लोभमा धेरै नेपाली विद्यार्थीहरु गुणस्तरहीन कलेजमा पुगेका हुन्। अहिले तिनै कलेजहरु कालोसूचीमा परेका कारण नेपाली विद्यार्थीलाई समस्या परेको हो।
तर एशोसिएशनले 'विदेशका विभिन्न कालो सूचीमा परेका कलेजहरूमा पढ्दै गरेका नेपाली विद्यार्थीहरूलाई नेपाल कै मेडिकल कलेजहरूमा स्थानान्तरण गरियोस्' भन्ने जुन माग गरेको गरेको छ, त्यो व्यवहारिक छैन। जब विद्यार्थी विदेश पढ्न जाने बेला सरकारी पद्धति र पहिल्यै पढ्न गएका विद्यार्थीको अनुभव थोरै पनि अध्ययन गर्दैन, अव्यवहारिक उत्साहले तानिएर कमसल कलेजमा पुगेकै कारण यस्ता कठिनाइ आइपरेका हुन्। आफू पढ्न जाँदै गरेको कलेजको विगतको प्रस्तुतिकरण कस्तो छ, त्यहाँ पढ्ने पूर्व विद्यार्थीले के भन्छन् भन्ने जस्ता सामान्य विषय बुझ्नु विद्यार्थीको दायित्व हो। त्यसमा सरकारले सहजीकरण गर्नुपर्छ। तर यस्ता कुरा नभएकै कारण कन्सल्टेन्सीले ठगी गर्ने मौका पाए। र आज यस्ता समस्या देखिन थालेका छन्।
अहिले एशोसिएशनले जुन विद्यार्थीलाई लक्षित गरेर स्थानान्तरणको माग गरेको छ, उनीहरुको धेरै समय र पैसा खर्च भइसकेको अवस्था छ। उनीहरुलाई नेपालको कलेजमा स्थानान्तरण गर्दा विविध जटिलता आउनसक्ने र खराब थिति बस्न सक्ने भएकाले सरकारले सचेततापूर्वक कदम चाल्नुपर्छ। सरकारले त्यहाँको सम्बन्धित निकायसँगको सहकार्यमा विद्यार्थीको चासो सम्बोधन गर्न पहल गर्नुपर्छ।
बंगलादेशकै अन्य गुणस्तरीय कलेजमा स्थानान्तरण गराउने एउटा विकल्प सरकारसँग छ। यसअघि यस्तो अभ्यास पनि भइसकेको कारण यो बढी सहज विकल्प हो। दुई वर्ष अगाडी बंगलादेशको नाइटिंगेल मेडिकल कलेजका २० विद्यार्थीलाई विभिन्न ६ वटा कलेजमा कुटनीतिक पहलबाट स्थानान्तरण गरिएको थियो।
स्थानान्तरणको समस्यालाई यस तरिकाले समाधान गर्दा इन्टर्नसिपको सुनिश्चितता हुने कलेजमा पुर्यातउन सकियो भने दुवै समस्याको समाधान एउटै सूत्रबाट हुने छ। जसले गर्दा विद्यार्थीहरुको शैक्षिक र पेशागत जीवनले सुरक्षित बाटो समाउन सक्छ।