काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख सहित ६ जना विरुद्ध मुद्दा दायर गरेको छ।
निर्माण नै नभएको कार्य लागत अनुमान बमोजिम झुटा बिल तथा प्रतिवेदन तयार गरी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा अशोक कुमार संहित ६ जना विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
आरोप पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७५/७६ मा बाजुराको हिमाली गाउँपालिका ६ मा प्रसुति केन्द्र भवन निर्माणमा लागत अनुमान उल्लेखित मापदण्ड बमोजिम निर्माण कार्य नगरी नगराई प्रयोग प्रचलनमा ल्यान नसक्ने प्रकृतिको तयार गराएको अवस्थामा समेत निर्माण कार्य लागत अनुमान बमोजिम नै गरे गराएको भनी झुटटा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई भुक्तिानी समेत लिई दिई भ्रष्टाचार गरेको।’
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा १५ लाख ८ हजार ५ सय ५७ रकम माग दाबी गरेको छ। साथै सोही ऐनको दफा १९ को उपदफा २ बमोजिमको सजाय समेत हुने दायर पत्रमा उल्लेख गरिएको छ।