काठमाडौं- नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको ज्ञान र सिपलाई अझै परिस्कृत गर्न चिकित्सा सेवामा निरन्तर पेसागत उन्नयन कार्यक्रम (सिपिडी) लागू गर्ने भएको छ। काउन्सिलले उक्त कार्यक्रम लागू गर्न पहिलो चरणमा तालिमको कार्यक्रम सुरु गरेको छ।
काउन्सिलले सिपिडी लागू गर्ने विषय सार्वजनिक गरेलगत्तै यसको पक्ष र विपक्षमा बहस हुन थालेको छ। अधिकांश चिकित्सकले सिपिडीको पक्षमा बहस गरिरहेका छन् भने केही डाक्टर तथा समूहले यसको विरोध गरिरहेका छन्। केही संगठनले भने सिपिडीको विषय हतारमा ल्याउन खोजिएको त होइन भन्दै शंकासमेत व्यक्त गरेका छन्।
सिपिडी कार्यक्रम लागू नै गर्न हुँदैन भन्दै आवाज बुलन्द बनाउनेहरुमा धेरैजसो मेडिकल काउन्सिलको परीक्षामा मुस्किलले पास गर्ने डाक्टरहरु रहेका छन्।
काउन्सिलका रजिस्ट्रार डाक्टर दिलिप शर्माका अनुसार नेपालमा चिकित्सा सेवालाई गुणस्तरीय, प्रभावकारी र सेवाउन्मुख बनाउन विश्वका अन्य मुलुकहरूमा जस्तै नेपालमा पनि निरन्तर पेसागत उन्नयन कार्यक्रम अनिवार्य लागू गर्न व्यवस्थित र संस्थागत रूपमै काउन्सिलले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
‘चिकित्सा पेसामा निरन्तर अध्ययन तथा सिपको आवश्यकता पर्छ। आफ्नो ज्ञान, सिप र पेसागत विषयलाई निरन्तर अभिवृद्धि गरी समयानुकूल प्रशिक्षित भइरहनुपर्छ। यही कार्यका लागि अन्तर्राष्ट्रिय प्रचलन र मापदण्डअनुसार पेसागत उन्नयन कार्यक्रमका लागि सिएमई तथा सिपिडी कार्यक्रममा नेपाली चिकित्सकहरूले भाग लिने प्रचलन पनि नौलो होइन,’ उनले भने, ‘तर ती कार्यक्रममा भाग लिएका विषयहरु संस्थागत हुन सकिरहेको थिएन। काउन्सिलले त्यसलाई संस्थागत गर्दै व्यवस्थित गर्न खोजेको हो।’
सिपिडी कार्यक्रम लागू भइसकेपछि चिकित्सकहरुको ज्ञान र सिप थप परिस्कृत हुनुका साथै चिकित्सक र बिरामी तथा बिरामीका आफन्तबीचको संवाद बढ्ने, समन्वयात्मक सम्बन्ध बलियो हुने, चिकित्सा क्षेत्रमा हुनसक्ने संक्रमणलाई न्यूनीकरण गर्न सहयोग पुग्ने तथा आवश्यकताभन्दा बढी लेखिने औषधि तथा परीक्षणहरु पनि व्यवस्थित हुने अपेक्षा गरिएको छ।
पाँच वर्षभित्र एक सय नम्बर ल्याउनुपर्ने
यो कार्यक्रम लागू भएको पाँच वर्ष भित्रमा चिकित्सकहरुले एक सय नम्बर प्राप्त गर्नुपर्ने हुन्छ। काउन्सिलले देशभरि यो कार्यक्रम कार्यान्वयनमा ल्याउनुअघि संघीय संरचनाअनुसार सात प्रदेशका १६ स्थानमा तालिम केन्द्र स्थापना गर्ने भएको छ। यसका लागि काउन्सिलले २ सय १३ जना प्रशिक्षकलाई तालिम दिइसकेको छ। काउन्सिलले सिपिडीका लागि तयार पारेको विषयअनुसारको पाठ्यक्रमसमेत तयार पारिसकेको छ।
रजिस्ट्रार डा शर्माका अनुसार पर्याप्त तालिम, विज्ञ जनशक्ति, स्रोत, साधनहरुको व्यवस्थित व्यवस्थापन भएपछि मात्र सिपिडी कार्यक्रम सम्पूर्ण चिकित्सकहरुका लागि अनिवार्य लागू गरिएको सूचित गरिने छ। यो कार्यक्रमअन्तर्गत काउन्सिलले निर्धारण गरेको अनिवार्य र व्यावसायिक रुचिका क्षेत्रका विषयमा डाक्टरले गर्ने कार्य, तालिम, शैक्षिक योग्यता, सिप, लेख, रचना, आचार संहिताको पालना, बिरामीसँगको व्यवहारलगायतका विषय पर्छन्।
काउन्सिलले निर्धारण गरेको एक सय अंकअन्तर्गत मेडिकल कार्यक्रमतर्फ ३० र डेन्टल कार्यक्रमतर्फ ४० अंक नेपाल मेडिकल काउन्सिलले अनिवार्य भनी तोकेको ढाँचाअनुसारको विषयगत तालिमहरूबाट ल्याउनुपर्छ भने बाँकी (७० र ६०) अंक आफ्नो व्यावसायिक क्षेत्रहरूबाट प्राप्त गर्न सकिने छ।
तलको तालिकामा हेरौँ डाक्टरले सिपिडीमा के गर्दा कति नम्बर पाउँछन्?
नोट : सिपिडीका विषयमा तपाईं पनि आफ्ना विचार राख्न सक्नुहुनेछ। सिपिडी बहसको यो श्रृंखलामा तपाईं आफ्ना विचार हामीलाई इमेल गरेर पठाउन सक्नुहुनेछ। हाम्रो इमेल [email protected] हो।