आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो। गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ। पहिलो बिगौती दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ।
बालबालिकाको लागि आमाको दूध नै अमृत समान मानिन्छ। स्तनपान गर्ने र गराउने चलन संसारमा स्तनधारीहरूको विकास सँगसँगै हुँदै आएको हो। तर विश्वमा आएका अनेक परिर्वतनका कारण स्तनपान गराउने प्रचलन घट्दै गएको देखिन्छ। त्यसैले स्तनपान गराउने प्रचलनलाई निरन्तरता दिन र यसको महत्व बुझाउनको लागि स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गर्ने गरिएको छ।
हरेक वर्षको अगस्ट महिनाको १ तारिकदेखि ७ तारिकसम्म “ब्रेस्टफिडिङ विक” भन्दै स्तनपान दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठन तथा युनिसेफद्वारा विविध कार्यक्रमहरु गरी मनाउने यो स्तनपान सम्बन्धी कार्यक्रम नेपालतिर पनि फाट्टफुट्ट रुपमा मनाउने गरिएको पाइन्छ।
'बाबुआमाको सक्षमता, स्तनपानको सफलता' भन्ने नाराका साथ नेपालमा पनि स्तनपान दिवस मनाइएको छ। स्तनपान र सघनतालाई परिवार नियोजनको माध्यमको रूपमा पनि लिइन्छ। जति बढी पटक आमाले दूध चुसाउँछिन् त्यति नै बढी अस्थाई बाँझोपनको अवधि बढेर जान्छ। यो कार्य ज्यादै पुरानो प्रचलन हुनुका सथै प्राकृतिक र स्वस्थकर पनि छ।
सन् २०११ मा ७० प्रतिशत ६ महिनासम्मका बच्चाहरुले आमाको दूधमात्र पिएका थिए। २०१६ मा घटेर ६६ प्रतिशत पुगेको छ। सन् २०१६ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको प्रतिवेदन अनुसार अझै पनि नेपालमा शिशु जन्मेपछि हाम्रो प्रचलन अनुसार घिउ, मह, चिनी जस्ता पदार्थ खुवाउने चलन छ। करिब २९ प्रतिशत शिशुलाई दूध खुवाउनुभन्दा पहिला त्यस्ता खाद्य पदार्थ खुवाइएको छ, जुन शिशुहरुलाई खुवाउनु हुँदैन।
बच्चाको रोगनिरोधक क्षमता बढाउने, संक्रामक रोग लाग्नबाट बचाउने, पाचन कार्यमा सहयोग गर्ने हुनाले स्तनपानलाई चिकित्सकहरू अमृतपान भन्छन् । त्यस्तो सुविधा नपाउने बच्चाको मृत्युदर बढी हुन्छ । स्तनपानले आमा र बच्चाको सम्बन्ध हार्दिक बनाउँछ। आमालाई मनोवैज्ञानिक फाइदाका साथै स्तन क्यान्सर, पाठेघर खुम्चने रोगबाट समेत बचाउँछ।
आजकल अस्पतालहरूले शल्यक्रियाद्वारा जन्म गराउने सजिलो प्रक्रियालाई बढावा दिएका छन्। शिशुलाई बोतलका दूधमा बानी पार्न उक्साइदिने गरेका समेत छन्। यसलाई रोक्न २०४९ सालमा कानुन बने पनि कार्यान्वयन हुन सकेको छैन।
तथ्याङ्क हेर्ने हो भने राम्रो स्तनपान गराउँदा करिब १३ प्रतिशत बालशिशु मृत्युदर घटाउन सकिन्छ। विभिन्न अनुसन्धानहरुको नतिजा हेर्ने हो भने आमाको दूध खान पाएमा झाडापखाला, स्वासप्रश्वास र अन्य रोगहरु लाग्नबाट र शिशुको ज्यान जाने दरमा २५ प्रतिशतले कमी आएको पाइएको छ। यसैगरी राम्रो पौष्टिक खानेकुराबाट करिब ६ प्रतिशत नवशिशु मृत्युदर घटाउन सकिन्छ। त्यसैले स्तनपानलाई प्रबर्द्धन गर्न जरुरी छ।
आजकल अस्पतालहरूले शल्यक्रियाद्वारा जन्म गराउने सजिलो प्रक्रियालाई बढावा दिएका छन्। शिशुलाई बोतलका दूधमा बानी पार्न उक्साइदिने गरेका समेत छन्। यसलाई रोक्न २०४९ सालमा कानुन बने पनि कार्यान्वयन हुन सकेको छैन।
स्तपान सम्बन्धी जनचेतना जति हुनुपर्ने हो त्यति भएको पाइँदैन। न त सरकारी स्तरबाट, नत गैरसरकारी तर्फबाट उल्लेखनीय रुपमा चेतना छर्ने काम भएको छैन। यदि छ भने पनि सिर्फ स्तनपान सप्ताह मनाउने कर्मकान्डी रुपमा मात्रको भएको छ। उपलब्धिमूलक हुन्थ्यो भने सरकारी होस्, गैरसरकारी होस् या कुनै पनि संघसंस्था होस्, त्यहाँ स्तनपान कक्ष बनाइएको हुन्थ्यो। श्वास्थ्य संस्थामा समेत स्तनपान कक्ष नहुनु एउटा लाजमर्दो कुरो हो। जहाँ स्तनपान सम्बन्धी तालिम दिइन्छ, पढाइन्छ र चेतना अभिवृद्धि गर्ने विभिन्न कार्यहरु गरिन्छ। महिला अधिकारवादीहरुले समेत यो कुरा उठाएको देखिँदैन। तर यो समस्या भने नेपालका सबै महिलाहरुले भोगेकै छन्, जो आमा भएका छन्।
बालरोग बिशेषज्ञका अनुसार स्तनपान कम गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता थोरै हुने गर्छ। नेपालमा ४० प्रतिशत सुत्केरीले मात्रै एक घण्टाभित्र दूध चुसाउने गरेको पाइएको छ। दुई घण्टादेखि २३ घण्टाभित्र दूध चुसायो भने बाल मृत्युदर ३३ प्रतिशत कम हुने विशेषज्ञ बताउँछन्। बच्चालाई जन्मेदेखि ६ महिनासम्म पानी पनि नखुवाउन र आमाको दूधमात्रै खुवाउन विशेषज्ञले सुझाएका छन्।
बच्चाको वृद्धि र विकासका लागि आवश्यक पर्ने सबै तत्व आमाको दूधमा हुने गर्दछ। आमाको बिगौती दूध फाल्ने होइन, खुवाउने हो, जतिसक्दो छिटो खुवाउनुपर्छ। शिशुलाई चाहिने सबै तत्व आमाको दूधमा हुन्छ। दैनिक रूपमा कम्तीमा आठ पटक दूध चुसाउनुपर्ने विशेषज्ञहरूको सुझाव छ। स्तनपान बच्चाको शारीरिक मात्र नभई भावनात्मक सम्बन्धसँग पनि जोडिएको हुन्छ। जब एक शिशु पहिलो पटक स्तनपानको लागि आफ्नो आमासँग टाँसिन्छ, त्यति बेलाको असीम आनन्द, अनुभूति, प्रेम र भावलाई कुनै आमाले शब्दमा ब्यक्त गर्न सक्दैनन्।
वर्षौंदेखि स्तनपान सम्बन्धी कार्यकर्म गर्दै आइरहेको भए तापनि स्तनपान सम्बन्धी सामाजिक समस्याहरुमा खासै परिवर्तन आएको देखिंदैन। आजका दिनसम्म स्तनपान गराउने कोठा भनेर छुट्टै कोठा बनाएको मैले कुनै सरकारी तथा गैरसरकारी कार्यलयहरुमा भेटेको, देखेको, सुनेको छैन। अहिले एउटा मन्त्रालयमा छुट्टै दुध खुवाउने कोठा भने छुट्याइएको सुनिएको छ। स्वास्थ्य सेवा विभागले हालसालै मात्र आफ्नो भवनमा स्तनपान कक्ष स्थापना गर्दा अस्पताल तथा विमानस्थलतिर यस वर्ष ३० वटा त्यस्ता कक्ष बनाउने योजना सार्वजनिक गरेको छ भन्ने छापामा आएको त छ। तर कोठाले आकार नलिएसम्म केही भन्न सकिने अवस्था चाहिं छैन।
हामीकहाँ यदि सुत्केरीले परीक्षा दिंदै गरेको अवस्था छ भने सो समयमा उनको शिशु दूध खानबाट बन्चित हुन्छ। किनकी परीक्षाको समयमा स्तनपान गराउन जान अनुमति नेपालको कुनै पनि स्कुल, कलेज वा युनीभर्सिटीमा छैन। अमेरिकामा डाक्टरको लाइसेन्सको परीक्षा दिंदा यस्तै समस्या एक महिलाले भोग्नु परेछ। उनले अदालतमा मुद्दा दिइन्। मुद्दाको फैसलापछि अहिले युसएमएलईको परीक्षा दिंदा स्तनपान गराउने महिलाले बीचमा केही समय छुट्टी पाउने अधिकार सुरक्षित रहेको छ।
जन्मेदेखि ६ महिनासम्म शिशुलाई सिर्फ आमाको दूध मात्र खुलाउनुलाई पूर्ण स्तनपान भनिन्छ। त्यसपछि अलिअलि ठोस आहारका साथै दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्छ। नेपालका कतिपय बालबालिका स्तनपान गर्ने अधिकारबाट बन्चित हुनु परेको छ। गाउँतिर कतिपय परिवारमा स्रोत र साधनको कमी हुनाले सुत्केरी भएको ३(४ महिनापछि घाँस दाउरा गर्न वनजङ्गल जानुपर्ने वाध्यता हुन्छ।जसले गर्दा शिशुले दूध खाने अधिकारबाट बन्चित हुनुपरेको छ। सहरबजारतिर पनि सुत्केरी भएर घरमा १ वर्ष छुट्टि लिएर बसेको देख्न पाइँदैन।
सरकारले एकातिर शिशुलाई कम्तीमा ६ महिनासम्म आमाको दूध मात्र खुवाउने भन्छ तर छुट्टि चाहिं २ महिना मात्र दिन्छ। कर्मचारीहरुमा पनि बच्चाको स्तनपान गर्ने अधिकार हो, मैले जसरी पनि छुट्टी लिनै पर्छ भन्ने सोच देखिंदैन। २ महिनाको छुट्टिपछि काममा फर्किने गरेको पाइन्छ। एकातिर दूध गानिएर, कपडा बाहिरैबाट दूध बगेर गएको छ भने अर्कोतिर शिशुले स्तनपानबाट बन्चित हुनुपरेको अवस्था रहेको छ। एकातिर विश्व स्वास्थ्य संगठन तथा युनिसेफहरुले स्तनपान गराउने थुप्रै विधिहरुबारे स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिने गर्छद्। अर्कोतिर स्तनपान गराउने आमाहरुलाई भने आफ्नो बच्चालाई दूध खुवाउने फुर्सद छैन। विश्व स्वास्थ्य संगठनका अनुसार, जन्मेको एक हजार दिनभित्र शिशुको ८० प्रतिशत मानसिक विकास हुन्छ। त्यसबेला आमाको दूधभन्दा पोषिलो अरु केही हुँदैन।
चीनले शिशुहरूलाई बट्टाको दूध सेवनमा कानुनी रूपमै रोक लगाएको छ। नेपालमा पनि बट्टाको दूध सेवनलाई निरुत्साहित गरिनु पर्दछ। कतिपय आधुनिक आमाहरु स्तनपान गराउन चाहँदैनन्। स्तनपान गराउँदा महिलाको स्तन झोल्लिने, चाडै बुढी देखिने, सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने जस्ता गलत सामाजिक गलत धारणाहरुले गर्दा उनीहरुले स्तनपान नगराएका हुन्। स्तनपान नगराउने आमाहरू आफैँ अस्वस्थ रहने मात्र होइनन्, शिशुको स्वास्थ्यप्रति गैरजिम्मेवार हुन्छन् । कुनै बेला तर अहिले स्तनपानले महिलाको सुन्दरतामा निखार आउँछ भन्ने वैज्ञानिक कारणहरु समेत रहेको अवस्थामा ब्यस्त आमाहरुको समय अभावका कारण बच्चाले स्तनपानबाट बन्चित हुनु परेको छ। बच्चाको रोगनिरोधक क्षमता बढाउने, संक्रामक रोग लाग्नबाट बचाउने, पाचन कार्यमा सहयोग गर्ने हुनाले स्तनपानलाई चिकित्सकहरू अमृतपान भन्छन् । त्यस्तो सुविधा नपाउने बच्चाको मृत्युदर बढी हुन्छ । स्तनपानले आमा र बच्चाको सम्बन्ध हार्दिक बनाउँछ। आमालाई मनोवैज्ञानिक फाइदाका साथै स्तन क्यान्सर, पाठेघर खुम्चने रोगबाट समेत बचाउँछ ।
हामीले दूधे बालबालिकाको अधिकार खोसेका छौं। हाम्रो समाज, सरकारको नीति र व्यक्तिगत सोचहरुमा परिवर्तन गर्न जरुरी छ। आजको शिशु नै भोलिका कर्णधार हुने भन्ने कुरा सिर्फ नारा र आदर्श वाक्यमा मात्रा सीमित रहेको अवस्था छ। आमाको दूधको महत्व बुझाउन नसक्दा र बेवास्था गर्दा दूध चुसाउने क्रम घट्दै गएको पाइन्छ। बोटलको दूध पिलाउने कार्यमा तीब्र वृद्धि भएको देखिन्छ। पूर्ण स्तनपान गर्न नपाउँदा बच्चा बिरामी भएर अस्पाताल बस्नुभन्दा कार्ययलबाट छुट्टि लिएर आफ्नो बच्चालाई स्तनपान गराउँदा बुद्धिमानी हुनेछ। आमाको दूधको विकल्प हुँदैन तर आजकाल बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका विभिन्न वस्तुहरु खुवाएर बच्चालाई झन रोगी बनाउँदै गएको एक बालरोग विशेषज्ञ बताउँछन्। भविष्यको कर्णधारको जन्मँदादेखि नै उस्को शिशु अधिकार खोसिएको छ। बच्चैदेखिको रोगीले भोलि देशको सेवा कसरी गर्न सक्लारु यो यक्ष प्रश्न सरकारमाथि नै गर्न चाहन्छु।
सार्वजनिक ठाउँमा स्तनपान संकोचको विषय होइन, आमाको कर्तव्य हो। आमाको गर्वको कुरा हो। बच्चाको अधिकारको कुरा हो। बच्चालाई बोतल दूध चुसाउनु आफ्नो बच्चालाई रोगी बनाउनु हो। भन्ने जस्ता वैज्ञानिक कुराहरुलाई जोड दिंदै हरेक सालको अगस्ट १देखि ७ तारिकमा मात्रै होइन, हरेक मिनेट र सेकेन्डमा प्रसूति हुने आमाहरुलाई बुझाउन जरुरी छ। झन् कामकाजी महिलाहरु जसले अलिकति स्तनपानको बारेमा बुझेका छन्, उनीहरुले नै जानेको कुरालाई व्यवहारमा उतारेको पाइँदैन। कतिपय स्वास्थ्यकर्मीहरुले नै आफ्नो बच्चालाई पूर्ण स्तनपान गराएको पाइँदैन।
देशले बालरोग उपचारमा लगानी गर्नु भन्दा स्तनपान गराउने आमाहरुलाई कम्तीमा ६ महिना छुट्टि लिनै पर्ने नीति ल्याउँदा राम्रो होला। किनकी बालरोग बढ्नु भनेको देशले कर्मठ नागरिक पाउन नसक्नु हो। सरकारको समयमै यसबारे ध्यान जाओस्। सानो बच्चा काखमा च्यापेर हिँड्न असुविधा भएका कारण पनि आधुनिक आमा र शिशुको सम्बन्ध बदलिएको छ। विदेशमा जस्तो नेपालमा स्ट्रोलरमा बच्चालाई राखेर हिंड्ने गरेको निकै कम मात्रामा देखिन्छ।
शिशुप्रति वात्सल्यमा सम्झौता हुँदै गएको छ। यस्तो जीवनशैली र संस्कारबाट देश, समाज र व्यक्तिले स्वस्थ बच्चा पाउन सक्दैन कि भन्ने सोच्नुपर्ने बेला आइसकेको छ।
सरकारले देशभरि रहेका हरेक कार्यालयहरुमा स्तनपान कक्षको व्यवस्था गर्ने, समुदायस्तरमा स्तनपान सम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रमहरु गर्ने, विधालयस्तरको पाठ्यक्रममा स्तनपान सम्बन्धी विषयवस्तु राख्न्ने तथा हरेक स्वास्थ्य संस्थाबाट दिइने सम्पूर्ण सेवा पश्चात अनिवार्य रुपमा स्तनपान परामर्श तथा जानकारी दिने व्यवस्था गर्ने जस्ता क्रियाकलापहरु गरियो भने स्तनपानलाई थप प्रबर्द्धन गर्न सकिन्छ। विकासका हरेक कुराहरुमा स्तनपानले प्रभाव पारेको हुन्छ। एक स्वस्थ बच्चा हुर्कियो भने उसले समाज तथा देशका लागि ठूलो योगदान पुर्याकउन सक्दछ। त्यसैले स्तनपान बच्चाको आहार पाउने प्राकृतिक विधि मात्र नभई जन्मदिने आमा समाज तथा राष्ट्रकै जिम्मेवारी हो।