भनिन्छ, बिरामीको आधा रोग स्वास्थ्यकर्मीको व्यवहारबाटै निको हुन्छ। यसकारण पनि चिकित्सा पेसालाई अन्य पेसाभन्दा सम्मानित मानिएको छ।
चिकित्सा पेसा मात्र नभएर आफैंमा विशेष सेवा पनि हो। यसमा अन्य क्षेत्रमा जस्तो त्रुटि भयो भनेर क्षमा पाईंदैन। यो प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यसँग जोडिएको विषय हो।
चिकित्सा क्षेत्रमा त्रुटि भएपछि सच्याउनै नमिल्ने हुन्छ। त्यसकारण यो क्षेत्रमा काम गर्ने मानिसहरु धैर्य र सहनशील हुनुपर्छ। स्वास्थ्य क्षेत्रमा डाक्टरसँगै नर्सिङ, पारामेडिकल लगायत थुप्रै स्वास्थ्यकर्मीहरु जोडिएका हुन्छन्। बिरामीको उपचारमा ती सबै जनशक्तिको अहं भूमिका रहेको हुन्छ।
पछिल्लो समयमा दिनहुँ जस्तो चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भयो भन्दै अस्पताल तोडफोडका घटना बाहिर आइरहेका छन्। बिरामीको उपचारमा चिकित्सकले लापरबाही गरेका खबरहरु सञ्चार माध्यममा आइरहँदा कताकता सेतो कोटभित्र कालो दाग भएको मानिस लुकेको आशंका हुन थालेको छ।
अर्को कुरा, छानबिन गरेर स्वास्थ्यकर्मीको लापरबाही वा त्रुटि नै नछुट्टयाई बिरामीको मृत्यु हुनासाथ स्वास्थ्यकर्मीको लापरबाही देखाएर अस्पताल तोडफोड तथा कुटपिट जस्ता घटना बढ्दै जाँदा यस क्षेत्रलाई दुःखी तुल्याएको छ।
बिरामीको मृत्यु हुने बित्तिकै स्वास्थ्यकर्मीलाई दोष दिनु गलत हो। जब बिरामी अस्पतालमा पुग्छ। सम्पूर्ण टिम उसलाई निको पार्न खटिएको हुन्छ। मिहिनेत गर्दागर्दै पनि सफल नहुँदा सम्पूर्ण टिमलाई नै दुःखी भएको महसुस हुन्छ।
चिकित्सकलाई उपचारमा लापरबाही गरेको आरोप लगाउँदा यो पेसामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल घटाएको देखिन्छ। त्रुटिपूर्ण १/२ घटनाले सिंगो स्वास्थ्य क्षेत्रकै अपमान भएको महसुस हुन थालेको छ।
अर्कोतर्फ, नयाँ पुस्तालाई सबैभन्दा बढी आकर्षित गर्ने भनेको स्वास्थ्य शिक्षा नै देखिन्छ। प्लस टुपछि के पढ्ने भनेर बसेका धेरै विद्यार्थीको रोजाइमा डाक्टर, नर्सिङ र पारामेडिकल शिक्षा पर्ने गरेको देखिन्छ।
पढाइ सक्ने बेलामा धेरै विद्यार्थीले आफ्नो मनस्थिति परिवर्तन गरेर विदेश जाने योजना बनाइसकेका हुन्छन्। यसको मुख्य कारण आफ्नो देशमा भएको सेवा प्रदान गर्ने प्रणाली र काम गर्ने प्रणालीमा चित्त नबुझ्नु नै हो।
जसरी विद्यार्थीले सेतो कोट लगाएर सम्मानका साथ आफ्नै देशमा काम गर्ने ऊर्जा लिएर पढेका हुन्छन्, त्यही पेसाबाट अपमानित हुनुपरेका घटनाले उनीहरुलाई स्वदेशमा बसेर काम गर्ने उत्साह मर्दै जान्छ। दक्ष जनशक्तिलाई स्वदेशमै रोक्न सकिएन भने हामी धेरै पछाडि पर्ने कुरामा दुई मत छैन।
यसले सम्पूर्ण देशको विकासको इन्डिकेटरलाई नै परिवर्तन गर्छ। उनीहरुलाई आकर्षण गर्ने भनेको योग्यता अनुसारको काम र हाम्रो काम गर्ने प्रणालीमा समय अनुकूल परिवर्तन गरियो भने सेतो कोटभित्र कालो होइन, सेतो नै होला।
तर सम्मानित पेसाको बाहिर मात्रै सम्मानले धेरै आकर्षण गर्ने तर भित्र कुनै परिवर्तन भएन भने यस स्वास्थ्य क्षेत्रमा भविष्य देखेर आउनेहरु बत्तिको पुतली हुँदैनन् भन्न सकिँदैन।
अब समय अनुसार प्रणालीलाई परिवर्तन गर्नु जरुरी भइसकेको छ। चिकित्सा सेवामा लागेका दागहरु हटाएर सम्मानित र विशिष्ट सेवा बनाउनु पनि उत्तिकै आवश्यक छ। तब मात्र बाहिर देखिने सेतो कोट जस्तै भित्र पनि सेतै काम हुन्छ। होइन भने त्यही सम्मानित सेतो कोटभित्र कालो दाग बढ्दै जाने छ र सम्मानित पेसा झन् अपमानित बनाउने छ।
(पन्थी नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य हुन्)