रोगको शिकार भएपछि बिरामी अस्पतालसम्म पुग्छन्। तर हाम्रा अस्पताल बिरामी निको बनाउन सक्ने सामथ्र्यमा छन् वा आफैं समस्यामा रुमल्लिएर रोगी बनेका छन्? यो गम्भीर विषयमा सबै सरोकार पक्ष बहसमा जोडिनु आवश्यक छ।
यतिबेला देश संघीय संरचनामा बामे सरिरहेको छ। योसँगै सरकारी र निजी स्तरबाट संघ, प्रदेश र स्थानीय तहमा अस्पताल खुल्ने क्रममा बढोत्तरी आए पनि गुणस्तरीय, सरल, सहज र सुलभ तवरबाट भने जनताले सोचेजति लाभ लिन सकिरहेका छैनन्।
कुनै पनि क्षेत्र समस्याबाट अछुतो छैन, यो स्वभाविक पनि मान्न सकिएला तर मान्छेको अमूल्य जीवन लम्ब्याउने अस्पतालमा कमभन्दा कम समस्या आउन् र ती पनि समाधानको चरणमा छिट्टै प्रवेश गरुन् भन्ने आम चाहना र मत हो। त्योभन्दा धेरै आवश्यकता हो। तर अस्पताल बिरामीमैत्री बन्न किन सकिरहेका छैनन्? के छन् त अस्पतालभित्र समस्या?
व्यावसायिक भाव
नेपालमा कैयौं अस्पताल छन्, जो निःस्वार्थ सेवाभावले मात्रै खोलिएका छैनन्। व्यापारिक प्रयोजनको लागि खोलिएका अस्पतालबाट हामी आम नेपालीले कस्तो सेवाको आशा राख्ने, यो सोचनीय छ । सामाजिक सेवाबाट प्रेरित हुनुपर्ने ठाउँमा व्यावसायिक मानसिकता हावी हुँदा यो प्रमुख समस्या भएर अगाडि आएको छ। जसको फलस्वरुप बिरामी धान्नै नसक्ने शुल्क बुझाउन बाध्य भइरहेका छन्।
निजी क्षेत्रबाट खुलेका अस्पतालले चर्को पैसा असुल्ने भएकाले गरिब जनता उपचारबाट विमुख बन्नुपर्ने अवस्था सिर्जना भएको छ। जसका कारण गरिब नेपाली पैसाकै अभावमा ज्यानको तिलान्जली दिन विवश बनेका कयौं उदाहरण दोहोरिइरहेका छन्।
शुल्क तिर्न नसक्दा बिरामी अस्पतालमै बन्दी बन्नु, उपचार गर्ने हैसियत नहुनेहरुलाई अस्पतालले भर्ना नै लिन नमान्नु, उपचारमा बार्गेनिङ गर्नु, औषधि तथा केमिकल्समा मनग्ये आम्दानी राखी बिरामीबाट असुल गर्नु, बिरामीलाई सेटिङमा मात्रै अन्यत्र अस्पतालमा पठाउनु, उपचार सम्भव नभएका रोगमा पनि पैसाकै लोभले उपचार लम्ब्याउनु यी र यस्ता कार्यले अस्पताल व्यावसायिक भावबाट प्रेरित भएको बुझ्न सकिन्छ। यो दुःखको विषय हो । निजी अस्पताल यसमा गैरजिम्मेवार भएको देखिन्छ। यसर्थ यस्ता अस्पताललाई समयमै नियमन गर्न आवश्यक छ।
उपचारमा स्वास्थ्यकर्मी
दिनरात नभनी सेवामा खटिने स्वास्थ्यकर्मी साँच्चै प्रशंसाका लायक छन्। उनीहरुले पुर्याएको योगदानले नै बिरामीको उपचार सम्भव भएको यथार्थलाई नजरअन्दाज गर्न मिल्दैन। सुगम भागमा मात्रै नभएर देशका विकट भेगका पनि स्वास्थ्यकर्मीको भूमिकालाई कम आँक्न सकिन्न। मान्छेको जीवनसँग प्रत्यक्ष जोडिएको उनीहरुको पेसा आफैंमा अति संवेदनशील छ।
यसर्थ स्वास्थ्यकर्मीले बढीभन्दा बढी सावधानी अपनाउनुपर्ने हुन्छ। तर केही घटनामा स्वास्थ्यकर्मीको भूमिका पनि सन्देहको घेरामा रहेको र लापरबाही भइरहेको भनेर समाचार आइरहेको हुनाले आम मानिसले ढुक्कले आफ्नो बिरामी शरीर उपचारको लागि सुम्पन तयार बनिसकेका छैनन्। भलै सबै स्वास्थ्यकर्मीलाई दोषीको नजरले हेरिहाल्ने संस्कारको विकास हुनु चिन्ताको विषय हो। यो भविष्यको जटिल प्रश्न पनि हो। यसले आम मानिसको चेतमा हेयको संस्कार विकसित गरिदिन सक्छ। स्वच्छ बन्नुपर्ने आम हेराइ दूषित बन्नसक्छ।
स्वास्थ्यकर्मीे सेवाप्रति उत्तरदायी बने पनि खुलेर सेवामा जोडिन सकेका छैनन्। कारण लापरबाही भन्दै दोषी करार गर्ने परिपाटीले पनि उनीहरु चेपुवामा परेको देख्न सकिन्छ। स्वास्थ्यकर्मी नरम भावले प्रस्तुत हुन नसक्नु या झर्किनु अर्को सुधार गर्ने पक्ष हुनसक्छ तर यसमा बिरामी र उपचार गर्ने स्वास्थ्यकर्मीको तादम्यता मिलाउन नसक्दा समस्या निम्तिएको हुनेतर्फ पनि ध्यान पुर्याउनु आवश्यक छ।
अस्पतालले जनशक्ति पदपूर्ति गर्दा योग्य र क्षमतावानलाई प्राथमिकता दिन सक्नुपर्छ। उचित पारिश्रमिक र समयसमयमा तालिमको व्यवस्था गरी उनीहरुको क्षमता अभिवृद्धि गरिनु आवश्यक छ। आफैं (रोगले) नै बिरामीको मृत्यु हँुदा पनि लेनदेनमा घटना मिलाउनु जस्ता कुराले अस्पतालप्रति विश्वासको ग्राफ ओरालो लागेको छ। यसमा सम्बन्धित निकाय, व्यक्ति र संस्था सजग र जिम्मेवार हुनु अपरिहार्य छ।
भौतिक पूर्वाधार र उपकरण
भौतिक पूर्वाधार अस्पतालको लागि न्यूनतम आधारभूत आवश्यकता हो, तर अस्पतालमा बिरामी राखेर उपचार गर्न सकिने अवस्था नहुनु गुणस्तरीय उपचारको लागि झड्का हो। मौलिक हकको रुपमा स्थापित कानुनको समेत उपहास हो। भवन तथा बिरामीमैत्री कोठा, आवश्यकीय बेड संख्या, उचित सरसफाइ लगायतका कुरामा ख्याल राख्न सकियो भने धेरै हदसम्म उपचारमा सहजता ल्याउन सकिन्छ र बिरामी चाँडै निको हुने सम्भावना हुन्छ। अस्पताल फोहोर हँुदा उपचार गर्न गएका कुरुवा समेत बिरामी बनेका समाचार आइरहेका छन्। यसमा पनि सचेत बन्नैपर्छ।
प्रविधिको विकसित आयामसँगै आजभोलि आविष्कार भएका धेरै मेडिकल उपकरणहरु छन्, जसले उपचार प्रणालीलाई सहज र छरितो बनाइदिएको छ। अहिले परीक्षणमा सर्वाधिक प्रयोग हुने एक्स–रे, आविष्कारको शतक नै बिते पनि नेपालमा भने यसको प्रयोग र मर्मतमा चुनौती अझै उस्तै छ। लाखौँ÷करौडौं मूल्य पर्ने बायोमेडिकल उपकरणहरुको प्रयोग गर्ने ज्ञान, सिप र अरु व्यवस्थापकीय कारणले पनि त्यत्तिकै थन्किएर समेत रहेका छन्।
आज सर्वाधिक प्रयोग हुने बायोमेडिकल उपकरणहरु एक्स–रे, सिटी स्क्यान, एमआरआई, भेन्टिलेटर, एनेस्थेसिया मेसिन, बिरामी मोनिटर, इसिजी, अल्ट्रासाउन्ड तथा दिसा, पिसाब, रगत जाँच गर्ने विभिन्न एनालाइजर लगायतका उपकरणहरु प्रत्यक्ष प्रयोगमा छन्। यीमध्ये कैयन् उपकरणको समय–समयमा क्यालिब्रेसन नहुँदा गलत निदानकोे शिकार समेत बिरामी बन्न परेको छ।
प्रायः रोगहरुको उपचार पद्धतिमा लाग्नुपूर्व बायोमेडिकल उपकरणबाट परीक्षण गरिन्छ र त्यसले दिएको नतिजा अनुरुप रोगको निदान गरिन्छ, तर वर्षौं पुराना र निम्नस्तरका उपकरणले उपचारमा जटिलता निम्त्याएको छ। उपकरणमा खरिदमा न्यून ज्ञान भएकाहरु संलग्न हुनु र आर्थिक उपार्जनमा ध्यान मोडिनुले गुणस्तरीय उपकरणमा ध्यान गएको छैन। निश्चित मापदन्ड र विशेषता भएका उपकरणहरु प्रयोगमा नआउँदा जनता प्रत्यक्ष प्रभावित भएका छन्।
जनताको जीवनमाथि नाफाघाटाको कारोबार गर्ने कार्यशाला अस्पताल बन्नुहुँदैन। आधुनिक तथा उच्च प्रविधिको सेवा दिएकै भरमा जनताको ढाड सेकिनेगरी आर्थिक रुपमा दोहन गर्ने छुट कसैलाई छैन। निजी अस्पतालको उचित नियमन जरुरी भइसकेको छ।
अर्कोतर्फ सरकारी अस्पतालले आफ्नो सेवाको दायरा बढाउँदै भित्रिएका पछिल्ला उपचार पद्धतिमार्फत उपचारमा लाग्नुपर्छ। अस्पताललाई आवश्यक पर्ने मापदन्ड, निर्देशिका, ऐन, नियम समयसापेक्ष बनाउन सरकार र सम्बन्धित सरोकारपक्ष गम्भीर भएर लाग्नुपर्छ। अब सबै नेपालीलाई विश्वस्त बन्ने आधार गुणस्तरीय स्वास्थ्योपचारबाटै अस्पतालले दिन सक्नुपर्छ।
-(सरकारी सेवामा आबद्ध महत समाज, स्वास्थ्य र साहित्यमा कलम चलाउँछन्)