विसं २०३७ सालमा नेपालका न्युरो सर्जनहरुका पिता मानिने डा दिनेशनाथ गोंगलले नेपालमा पहिलो न्युरो सर्जरी गर्दा न सिटी स्क्यान थियो न एमआरआई नै। उहाँ एक्स–रेको भरमा बिरामीको टाउको खोल्नुहुन्थ्यो।
दोस्रो पुस्ताका नेपालका आधुनिक न्युरो सर्जरीका संस्थापक डा उपेन्द्र देवकोटाले आफ्नो कार्य सुरु गर्दा सिटी स्क्यान आइसकेको थियो। पछि एमआरआई पनि आयो। उहाँ सर्जरी गर्दा माइक्रोस्कोपको पनि प्रयोग गर्नुहुन्थ्यो।
अब हामी तेस्रो पुस्तामा आइपुग्दा सिटी, एमआरआई र माइक्रोस्कोप त छँदै छ, यसका अलावा हामीलाई जिपिएस प्रविधिको न्युरोन्याभिगेसन पनि चाहिन्छ।
असीमित छन्, जीवनका आवश्यकताहरु। तपाईंको व्यक्तिगत जीवनका आवश्यकताहरु जति असीमित हुन्छन्, हाम्रो पेसागत आवश्यकता पनि त्यति नै असीमित हुन्छन्।
माथि भनिएका सिटी, एमआरआई, माइक्रोस्कोप तथा न्युरोन्याभिगेसन आदि प्रविधिहरु आधारभूत आवश्यकता हुन्। प्रविधिको उपलब्धताका आधारमा अघि बढ्ने हो भने ओ आर्मले मेरुदन्डको सर्जरीलाई सरल बनाउँछ। थ्रिटी एमआरआईले एचडी क्वालिटीमा मस्तिष्कको तस्बिर देखाउँछ। अपरेशन कक्षमा जडित एमआरआईको सुविधाले ब्रेन ट्युमरको सर्जरीमा सहयोग पु¥याउँछ। यी प्रविधिलाई हाम्रो नियमित आवश्यकताको रुपमा उपभोग गर्दा अस्पतालको सेवा नितान्त महँगो हुन जान्छ।
लामो अनुसन्धान पश्चात् बजारमा आएका नयाँ औषधि हुन् वा प्रविधिहरु, पेटेन्ट लको प्रभावले असाध्यै महँगा हुन्छन्। अनि यो वैज्ञानिक युगमा यस्ता नयाँ औषधि र प्रविधि दिनहुँ भित्रिरहेका हुन्छन्। यी नयाँ औषधि र प्रविधिले बिरामीको उपचारमा नयाँ आयाम बोकेर आउँछन्, जसले बिरामी र चिकित्सक दुवैलाई उत्साहित बनाउँछ ।
मेरो अनुभव र दक्षता न्युरो सर्जरीमा भएकाले म यसैको सेराफेरोमा बसेर यस विषयमा छलफल गर्न जाँदैछु।
एउटा माइक्रोस्कोपको दुई करोड पर्छ। सिटीको तीन करोड। न्युरोन्याभिगेसनको चार करोड, ओ–आर्मको १० करोड। थ्रिटी एमआरआईको बीस करोड।
बाध्यता के हो भने यी करोडौंका प्रविधि केही वर्षमा पुराना हुन्छन् र बदल्नुपर्ने आवश्यकता पनि हुन्छ।
हामीलाई एउटा बिरामीको उपचार गर्दा सिटी, एमआरआई, माइक्रोस्कोप, न्युरोन्याभिगेसन आदि सबैको प्रयोग गर्नुपर्छ। ती करोडौंको प्रविधि खरिद गर्ने सक्षमता अस्पतालमा आउने बिरामीहरुबाट लिइने शुल्कबाट नै हो। यो अवस्थामा प्राइभेट अस्पतालले बिरामीसँग लिने महँगो सेवाशुल्क व्यभिचारी व्यापार कसरी भन्ने?
मैले एम्समा काम गर्दा त्यहाँका बिरामीहरुमा पनि यस्तै अत्याधुनिक प्रविधिको प्रयोग हुन्थ्यो। तर जतिसुकै नयाँ र महँगा प्रविधिको प्रयोग गरे पनि त्यहाँ उपचार हुने बिरामीले भने सुलभ दरमा नै उपचार पाइरहेका हुन्थे । यो यस कारण सम्भव हुन्थ्यो किनकि अस्पतालले ती नयाँ प्रविधि खरिद गर्दा सरकारले अनुदान दिन्थ्यो र त्यो खर्चको लगानी बिरामीबाट उठाउनुपर्ने बाध्यता उनीहरुलाई हुँदैनथ्यो।
क्यान्सरको उपचारमा प्रयोग हुने गामा नाइफ होस् या साइबर नाइफ। प्रास्टेटको सर्जरी गर्दा प्रयोग हुने डाभिन्सी रोबट नै किन नहोस्। मैले न्युरोसर्जरीको परिवेशमा बताएको यो यथार्थ चिकित्साका सबै विधाहरुमा लागू हुन्छन्।
व्यक्तिगत जीवनमा पनि तपार्इंंहरुको धेरै आवश्यकता छन्। टिभी, गेमिङ कन्सोल, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिस वासर, कार, आइफोन, आइप्याड, आइवाच आदि। यी चाहिने वस्तुहरुमा आवश्यकता र विलासिताको जुन रेखांकन छ त्यो रेखांकन हाम्रो पेसागत परिवेशमा पनि कोर्न सकिन्छ।
आवश्यकता र विलासिताको रेखा नै धमिलिँदै गएको समयमा पेसागत परिवेशमा त झन् बिरामीको स्वास्थ्यको सवाल हुन्छ, त्यसैले उपलब्ध भएजति सबै प्रविधिहरु नितान्त आवश्यक ठहरिन्छन्। तथापि आवश्यक र अतिआवश्यकको एउटा कृत्रिम रेखा कोरेर हामी तिनको उपभोग गरिरहेका हुन्छांै। विलासिताको तोक तिनमा लगाउन अप्ठ्यारो हुन्छ।
भुल्न नसक्ने एउटा सत्य के हो भने हामी गरिब देश नेपालको धरातलमा बसेर यी सबै सेवा आदानप्रदान गरिरहेका छौं।
यो गरिबीमा हामी न आफ्नो सबै व्यक्तिगत आवश्यकता पूरा गर्न सक्छौं न त सबै पेसागत आवश्यकता नै। त्यो कुन्ठाका बाबजुद तपाईं आफ्नो जीवन जिउने प्रयत्न गर्नुहुन्छ, अनि हामी तपाईंको जीवन बचाउने।