जिन्दगी बाध्यताको बहाना रहेछ
बिडम्बनामा बहिरहेछ
बडेमानका छपनीले थिचिएजस्तै।
मनोरथहरू मरिमरि उभिन खोज्दै हुन्छन्
ब्युँझदै नब्युँझिने गरी निदाएका रहरहरू
व्यग्रतामा छट्पटाएका शिथिल अभिलाषाहरू!
देखिन्छ, धेरैको भरोसा भत्केको छ
एउटा सग्लो जिन्दगीको
जञ्जिरको महलभित्र
विचित्रको अनुरुक्ति बर्बरतामा बाँचेको छ
बुढेसकालको सहारा बन्नुपर्ने छोरो रुँघेर
बुढा बाले लामो नि:स्वास लिन्छन्
पीडाहरू यसरी लमतन्न छन्
अस्पतालमै जन्म लिएको नवशिशु
आगमनले घरको आँगनलाई
कहिल्यै खुसी सापटी दिन सकेको छैन।
र पनि मौन मुद्रामा,
चेतले हो कि अचेतले
सास रहेसम्म आस भन्ने भावभङ्गी पोखिरहन्छ
थाहा छैन, ईश्वरले यो चित्कार सुन्छ कि सुन्दैन
बूढी आमा बुढ्यौलीको साहारा गुमाउन चाहन्नन्
करुणक्रन्दन चित्कारले रुग्ण प्राणको पाउतिर
सतत फूल अर्पण गरिन्
बोल्दाबोल्दैको आवाज हराउँछ निमेषमै
रहर हराउँछन् पलभरमै
आसा, भरोसा र साहारा हराउँछ हेर्दाहेर्दै
सिङ्गो जिन्दगीको राजपथ छोडेर
चलिरहेको धड्कनले बिसाइ मेट्छ
हावाले बहन औधी अप्ठेरो मान्छ
अन्तरा र छेउछाउबाट बाटो बनाएर सास अड्याइएको छ
अनि यो कतिन्जेलसम्म सहारा बनिदिन्छ!
जिन्दगी उर्फ जिन्दगी…
दर्जनौं इन्जाइम र इलोक्ट्रोलाइटका
जर्किनहरु रित्याएर पनि तंग्रिनै सक्दैन
ओखति खुराक बनेको छ र पनि उभिनै सक्दैन
धुमिल रहरहरू भित्रभित्रै हराएको छ
खुसीको बैना फिर्ता बुझाउनु पर्ने रे!
फेरि अर्को खुसी कसरी पछ्याउनु?
पिडाले नबिझाए पनि हुन्थ्यो
यहाँ पलपलभित्र पीडा चस्किएको छ।
आफ्नो भोलि भेटाउन स्वप्निल
बनेर बिरामी मन घस्रिरहेछ
एउटा अदृश्य आकंक्षा
अन्तिम बिन्दुसम्म पनि जिएकै हुँदो रहेछ!
झिनो अभिलाषाले पारिलो र सुकिलो जिन्दगी भेटाउँछ भेटाउँदैन
र, जिन्दगीको दिव्य चाँदनी
अनन्त अभावसँग सिङौरी खेल्दै उनीहरू
अझै पनि सेतो पहिरनसँग जीवन्त हाँसो मागिरहेको हुन्छन्
फेरि त्यो घरमा हाँसो फर्कियोस्, साहारा फर्कियोस्, आहारा फर्कियोस्
पिल्सिएका रहरहरूले नयाँ लय भेटाउन्
सबै दर्दहरू बिलाएर, बस् एउटा
सानो सपना मिठो वपना बनोस्
खेल्दाखेल्दै हेर्दाहेर्दै ,हाँस्दाहाँस्दै हाँसोलाई ओठमै हराएका
समीरहरूको जिन्दगीमा नहराउने मुस्कान आओस्!
म र म जस्तै मिलेर
तिमी र तिमी जस्तैको मनोबल उकास्नु छ
सेतोफूलको जीवन्त सुगन्ध बहार बनाउनु छ
- कुँवर महाराजगञ्ज नर्सिङ्ग क्याम्पसमा पब्लिक हेल्थ विषयमा स्नातक तह प्रथम वर्ष अध्ययनरत छिन्।