स्वास्थ्य खबरपत्रिका यहाँहरुले निरन्तर ९ वर्षदेखि पढिरहनुभएको छ। हामी आजबाट एक दशकको आँगनमा उक्लिदैछौं। यो ९ वर्षमा नेपाली पत्रकारितामा हामी यात्री मात्रै भएनौं, स्वास्थ्य पत्रकारितामा बाटो निर्माणको काम पनि गर्यौं। हामीले जनस्वास्थ्यका विषयमा कलम चलाउने आँट गर्दैगर्दा यसले कहाँ पुर्याउला ? भन्ने प्रश्नले पटक–पटक सचेत गराएको थियो। आमजनको निरोगी हुन पाउने हक, स्वास्थ्यमा सुलभ पहुँच तथा गुणस्तरीय उपचारको हक दिलाउन कोही न कोही नयाँ बाटोमा हिँड्नैपर्ने थियो। पहिलो यात्री हामी नै किन नबन्ने भनेर स्वास्थ्य पत्रकारिता थालिएको हो।
आजको दिनमा आइपुग्दा हामीलाई गर्वानुभूति भएको छ। किनभने हामीले स्वास्थ्य पत्रकारिता थाल्नुअघि डब्लुएचओले घोषणा गरेका दिवसका दिन सञ्चारमाध्यममा स्वास्थ्य टिप्स आउँथे। अहिले स्वास्थ्यका खबरहरु हरेक सञ्चारमाध्यमका महत्वका विषय बनेका छन्। हरेक सञ्चारमाध्यमको स्वास्थ्य छुट्टै ‘बिट’ हुन पुगेको छ। यसका लागि छुट्टै पेज वा कोलमको व्यवस्था गर्न थालिएको छ।
हामीले उठान गरेका स्वास्थ्य क्षेत्रका विसंगति यतिखेर सबै सञ्चारमाध्यमका साझा एजेन्डा बनेका छन्। चिकित्सा शिक्षा र सेवामा आम सर्वसाधारणको सहज पहुँच तथा सुलभ उपचारको पक्षमा हामीले निरन्तर वकालत गर्दै आएका छौं। स्वास्थ्य क्षेत्रलाई गलत तरिकाले उपयोग गरिरहेका, गर्न खोज्ने र यसलाई सेवामूलक पेसा नभई व्यापारमुखी बनाउनेहरुप्रति हामीले निरन्तर खबरदारी गरिरहेकै छौं। मानव जीवनमा असाध्यै महत्वपूर्ण अर्थ राख्ने स्वास्थ्य कुनै समय शासकहरुको न्यून प्राथमिकताको क्षेत्र थियो। तर पछिल्ला दिनहरुमा त्यो अवस्था फेरिएको छ। स्वास्थ्य मन्त्रालय पहिलो रोजाइको बन्न सफल भएको छ।
यो एक दशकमा नेपाली समाज, राजनीति र अर्थतन्त्र सबैतिर बदलाव भयो। देशले नयाँ संविधानका साथै शासकीय स्वरुप प्राप्त गर्यो। स्वास्थ्य सेवा प्रवाह प्रणालीमा समेत परिवर्तन भयो। संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा स्वीकारेको छ। हिजो पनि हाम्रो मूलमन्त्र जनस्वास्थ्य अधिकार थियो, आज पनि यही र भोलिका दिनमा पनि यही रहिरहने छ। संघीय संरचनामा आधारित शासकीय प्रणालीमा त झन् स्वास्थ्य सेवा सहज र सुलभ हुनुपर्छ भन्ने मर्म हामीले कहिल्यै भुल्दैनौं।
हाम्रो स्वास्थ्य पत्रकारिता प्रतिको लगन, दृढता र प्राथमिकता अझै बढाउनुपर्ने अनुभव हामीले नयाँ शासकीय स्वरुपपछि गरेका छौं। किनभने यसअघि सिंहदरबार एउटा थियो। एक ठाउँमा निगरानी राखे पुग्थ्यो, तर अहिले सिंहदरबारहरु ‘स्थानीय तह’ भएर गाउँसम्म पुगेका छन्। सबैतिर उत्तिकै चनाखो भएर आँखा डुलाउनुपर्ने छ। यो हाम्रा लागि थपिएको चुनौती पनि हो। आम पाठकवर्ग र सरोकारवालामा हामीप्रति रहेको विश्वास कायम राख्दै थप विश्वास आर्जन गर्नु पनि हाम्रा लागि चुनौतीपूर्ण छ। आगामी दिन हामी तपाईंको विश्वासमा अझ खरो उत्रने प्रयास गर्ने छौं। हामीले प्रविधिको विकाससँगै बढेको सञ्चारको रफ्तारमा पनि आफूलाई पछि पर्न दिएका छैनौं। मासिक पत्रिकासँगै ६ वर्षदेखि हामी अनलाइन संस्करण www.swasthyakhabar.com मार्फत निरन्तर समाचार प्रवाहमा सक्रिय छौं। यसले हाम्रो उपस्थितिलाई अझ गाढा र फराकिलो बनाइदिएको छ। पलपलका स्वास्थ्य समाचार प्राप्त गर्ने पाठकको तिर्खा मेटिइरहेको छ।
पत्रकारिताका माध्यमबाट थालिएको हाम्रो यो अभियानमा यहाँहरुको साथ, सहयोग र शुभेच्छा निरन्तर रह्यो। त्यसले हौस्याउँदै गएपछि दुई वर्षदेखि हेल्प पब्लिकेसनले सबै क्षेत्रलाई समेट्ने मूलधारको खोजमूलक पत्रकारितालाई आत्मसात् गर्दै www.nepallive.com पनि सञ्चालनमा ल्याएको छ। ताजा, सत्यतथ्य, खोजमूलक र विश्लेषणात्मक समाचार पस्कने उद्देश्यले आएको अनलाइनलाई दिनुभएको तपाईंको साथप्रति सदा आभारी छौं। तपाईं सम्पूर्ण पाठक, लेखक, पेसाकर्मी, विज्ञापनदाता, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी र शुभेच्छुकको साथ र सहयोग हाम्रा सबै प्रकाशन–प्रसारणप्रति रहने छ भन्ने विश्वासका साथ धन्यवाद ज्ञापन गर्छौं।
खराब व्यक्ति र प्रवृत्तिलाई निरुत्साहित गर्ने हाम्रो प्रमुख उद्देश्य थियो। तर यो क्षेत्रमा अमूल्य योगदान पुर्याउनेहरुलाई हौस्याउने दायित्व पनि हाम्रै रहेको महसुस गर्यौं। यही दायित्वबोधका कारण हामीले पहिलो वार्षिकोत्सवबाटै ‘हेल्थ अवार्ड’को थालनी गर्यौं। आमजनताको स्वास्थ्य हितमा कर्तव्यनिष्ठ भएर लागिपरेकाहरुलाई हामीले ‘स्वास्थ्य खबरपत्रिका हेल्थ अवार्ड’ मार्फत सम्मान गर्दै आइहेका छौं।
स्वास्थ्य पत्रकारिता हाम्रो अभियान हो, कर्तव्यसहितको अभियान। यो अभियानको लक्ष्य आमपाठकलाई स्वास्थ्यसम्बन्धी अधिकतम सूचना प्रवाह गर्ने तथा नीति–निर्माण र कार्यान्वयन तहमा खबरदारी गरिरहने हो। यसमा हामी अघिल्ला वर्षहरु जस्तै निरन्तरता दिने प्रण दोहोर्याउन चाहन्छौं।