क्यान्सर रोगीको उपाचारमा खटिने नर्सहरूका लागि विशिष्टीकृत पठनपाठन सुरु भएसँगै मैले पनि यो अवसर प्राप्त गरेँ। पोखरा विश्वविद्यालयबाट मान्यताप्राप्त बिएनएस अंकोलोजीको कोर्स बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पढाउन सुरु गरेको हो। नर्सिङ शिक्षाको स्नातक तहमा यो विषय नेपालमै पहिलोपटक सुरु भएको हो। हाल यो विषयका लागि २० जनाको कोटा निर्धारण गरिएको छ।
नर्सिङ अंकोलोजीमा बिएनएस विषय नेपालमा नै अध्ययन गर्ने मौका पाउँदा मलाई खुसी लागेको छ। मैले स्पेसलाइज्ड नर्सिङ अन्तर्गत नेपालमा नै संचालन भएको बिएनएस अंकोलोजी कोर्षको पहिलो ब्याचको विद्यार्थी हुने अवसर प्राप्त गरेकी छु।
यसअघि यही विषय पढ्छु भन्ने कुनै पूर्व निर्धारित योजना थिएन। यसबाट नर्सिङ सेवाका क्षेत्रमा केही योगदान गर्न सकिन्छ भन्ने विश्वासका साथ म यो क्षेत्रमा आएकी हुँ। जनरलभन्दा पनि स्पेसलाइज्ड विषयमा ज्ञान हासिल गरेपछि त मेरो लक्ष्यमा झनै खरो रुपमा उत्रिन सक्ने अवस्था होला भन्ने अपेक्षा गरेकी छु। त्यो आत्मविश्वास अहिले यो कोर्सको पहिलो ब्याचको विद्यार्थी भएपछि झनै बलियो भएको महसुस गरेकी छु।
सुरुमा त डर पनि थियो। कतै यो स्पेसलाइज्ड कोर्ष पढेर बाहिर अरु अस्पतालमा मान्यता पो नहुने हो कि भनेर। तर अहिले आफूले पढ्दै गर्दा मात्र थाहा भयो कि सबै ठाँउमा यसको मान्यता हुने रहेछ। यो कुरा थाहा पाउँदा मलाई झन् ऊर्जा, जोस र जाँगर थपिएको छ।
क्यान्सर भन्ने बित्तिकै एक विषयमा मात्रै पर्दैन। यस विषयमा स्नातक गरेर स्नातकोत्तरका लागि अन्य विषय छनोट गर्न पनि सकिन्छ। यसले गर्दा विभिन्न सेवा र अस्पतालसँगै गासिँएकाहरुका लागि अध्ययन र अनुसन्धानको दायरा फराकिलो हुन्छ।
एउटा विषयमा नै स्पेसलाइज्ड हुँदा बिरामीले गुणस्तरीय र उच्चस्तरको सेवा पाउन सक्छन्। नर्सहरुले पनि उक्त रोगका विषयमा धेरै जानकारी पाउने भएकाले सेवा प्रवाहमा पनि सहज हुनेछ। त्यसकारण नर्सिङ क्षेत्रमा पनि स्पेसलाइज्ड कोर्ष हुनु खुसीको कुरा हो। क्यान्सरमा जस्तै अन्य विषयमा पनि स्पेसलाइज्ड कोर्षको विकास र विस्तार हुनुपर्छ।
नर्सिङ पेशाको सम्बन्ध मानवीय जीवनसँग गाँसिएको छ। सामान्य ज्वरो नाप्नेदेखि लिएर अस्पतालका जटिल प्रकृतिका बिरामीको रेखदेख र हेरचाह गर्नेसम्मका काममा नर्सको भुमिका ठूलो हुन्छ।
बिरामीसँग चौबिसै घन्टा हुने नर्सिङ पेसामा विशिष्टीकृत अध्ययन हुन अत्यन्त जरुरी छ। जसरी रोगको उपचारमा विशिष्टीकृत डाक्टर खटिन्छन् त्यसैगरी, नर्सहरु पनि विशिष्टीकृत हुँदा बिरामीको केयर गुणस्तरीय बन्न सहयोग पुग्छ।