केही दिनअघि अखबारमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नियुक्ति सम्बन्धमा चिकित्साका डिग्रीहरुमा द्विविधा भएको समाचारहरु आए। त्यसैले यो लेख सरोकारवालाहरुको रुचि तथा चासोको विषय सम्बोधन गर्ने जमर्को हो।
एमबिबिएसदेखि माथिल्लो स्तरसम्म खर्चिनुपर्ने प्राज्ञिक अवधि र त्यस पश्चात् विश्वविद्यालयहरुले प्रदान गर्ने डिग्रीहरुमा अत्यधिक विविधता छ। त्यसैले तिनीहरुको बीचमा समतुल्य डिग्री (समानता) कसरी कायम गरिन्छ भन्ने विषय महत्वपूर्ण हुन आउँछ।
यो विषय नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकार भित्र पर्छ। काउन्सिल आफू अध्यावधिक भएर सरोकारवालाहरुलाई सुसूचित गर्दा विवाद कम हुन्छ। विविधता खास गरेर स्नातकोत्तर डिग्रीहरुमा बढी छ र विवाद पनि त्यहीं छ। यिनै विविधता र विवादमा केन्द्रित छ यो लेख।
एमबिबिएस
आधारभूत मेडिकल डिग्री एमबिबिएसको पनि देश अनुसार विभिन्न नाम छन्। जस्तै एमबी वा एमबिबिसिएच वा एमडी (पूर्वी युरोप र उत्तर अमेरिकामा)। स्नातक भनिए पनि अधिकांश देशहरुमा एमबिबिएसलाई कानुनी तथा प्राज्ञिक हिसाबले स्नातकोत्तर सरह मानिन्छ।
उत्तर अमेरिकामा भने आधारभूत मेडिकल डिग्री प्राप्त गर्न कुनै विषयमा (कम्तीमा १६ वर्ष पढेर) स्नातक भएपछि मात्र पढिने चार वर्षको पढाइ र कम्तीमा तीन वर्षको रेजिडेन्सी समेत चाहिने हुनाले उनीहरु यस डिग्रीलाई डक्टोरल डिग्री भन्छन्। डक्टोरल डिग्री वा पिएचडी सरहको भनिए पनि यो शोध डिग्री भने होइन। न त यो डिग्री हुनेको चिकित्सा शास्त्रको कुनै एउटा विषयमा खास विशेषज्ञता हुन्छ। अमेरिकामा विशेषज्ञ हुन सम्बन्धित (विषयगत) बोर्डको परीक्षा उत्तीर्ण गरी लाइसेन्स प्राप्त गर्नुपर्छ। उनीहरु लाइसेन्स दिन्छन्, डिग्री भने दिंदैनन्।
स्नातकोत्तर डिग्री
चिकित्सा शास्त्रको स्नातक डिग्री नै अधिकांश देशहरुमा स्नातकोत्तर सरह मानिने हुनाले हाम्रा एमडी वा एमएस डिग्रीहरु स्वत: स्नातकोत्तर भन्दा माथि हुने नै भए। त्यसैले एमडी वा एमएसलाई अधिकांश देशहरुमा पिएचडी सरह मानिन्छ। हामीकहाँ पनि यस्तै मन्यता छ। यो बेलायती-भारतीय प्रणाली हो।
स्नातकोत्तर एमडीवाला डाक्टरले शरीर काट-कुट नगरी औषधोपचार गर्ने डिग्री हो भने एमएस चाहिँ आवश्यकता अनुसार काट-कुट गरेर उपचार गर्ने डिग्री हो। नेपालमा सो डिग्री हासिल गर्न एमबिबिएसलाई साँढे पाँच वर्ष र एमडी वा एमएसलाई तीन वर्ष गरी करिब ९ वर्ष लाग्छ।
भारतमा गत शताब्दीको ८० को दशकसम्म एमडी वा एमएस दुई वर्षका थिए। अझै पनि केही देशहरुमा दुई वर्षकै छन्। यस प्रकार एमडी वा एमएस गर्न १२ कक्षा पछि ९ वर्ष लाग्छ। अर्थात्, यो अवधि भनेको अन्य विधाहरुमा पिएचडी गर्न लाग्ने प्राज्ञिक अवधि जति नै खर्चिनुपर्छ र एमडी वा एमएसले पढ्नुपर्ने विषयवस्तुको आयतन पनि पर्याप्त छ।
त्यति मात्र नभएर एमडी वा एमएसमा शोधकार्य (थेसिस) पनि गुणस्तरको हिसाबले राम्रै गराउने चलन छ। त्यसैले एमडी वा एमएसलाई पिएचडी सरह मानिएको हो। एमडी वा एमएसवाला डाक्टरहरु विशेषज्ञ हुन्। भलै त्यसपछि पनि भारतीय प्रणाली अनुसार (हामीकाहाँ पनि) अति विशिष्ट विशेषज्ञ (पोस्टडक्टोरल डिएम वा एमसिएच) हुन अझै कम्तीमा तीन वर्षको पढाइ बाँकी रहन्छ। यस्तो डिएम वा एमसिएच भारत, नेपालमा र बाङ्लादेशमा बाहेक अन्य देशमा सायद छैन।
बेलायतमा अर्को एउटा स्नातकोत्तर गर्ने प्रणाली छ, त्यो हो फेलोसिप। यसका मूलत दुई भाग छन्। पहिलो भाग सैद्धान्तिक भएको हुनाले घरै बसी पढेर जाँच दिन मिल्छ। दोस्रो भागका लागि बेलायत नै जानुपर्छ किनभने यस भागमा त्यहींको अस्पातलमा बिरामी हेरेर सिक्नुपर्छ। यो फेलोसिप प्रणाली बेलायती उपनिवेशपछि स्वतन्त्र भएका राष्ट्रमण्डल देशहरुमा पनि छ।
फेलोसिप गरेका डाक्टरहरु पनि विशेषज्ञ हुन्। भारतले करिब दुई वर्ष अगाडिसम्म यस डिग्रीलाई एमडी वा एमएस सरह मान्दैनथ्यो। एमडी वा एमएस सरह नभएका फेलोसिप गरेकाहरुलाई पठन-पाठन गर्ने अनुमति दिंदैनथ्यो। सो फेलोसिपलाई स्नातकोत्तर डिप्लोमा सरह मात्र मान्थ्यो किनभने सो डिग्री प्राप्त गर्न तीन वर्ष भन्दा कम समयले पुग्थ्यो। स्नातकोत्तर डिप्लोमालाई पनि औषधोपचार विशेषज्ञ मानिन्छ। पठन-पाठनको अख्तियारी भने पाउँदैनन् डिप्लोमा डिग्री प्राप्त गरेका डाक्टरहरुले। बेलायतले भने अहिलेसम्म पनि भारतीय (वा नेपाली) एमडी वा एमएसलाई विशेषज्ञ डाक्टर मान्दैन। अन्य पश्चिमा देशहरुको पनि यही बुझाइ छ। उनीहरुको मान्यता अनुसार विशेषज्ञ हुन उनीहरुकै देशको परीक्षामा उत्तीर्ण भई बिरामीको परीक्षण तथा उपचार सहितको प्रयोगात्मक परीक्षा उत्तीर्ण गर्नुपर्छ।
कतिपय देशमा भने एमडी वा एमएसमा नै थुप्रै विषयहरुमा सोझै अति विशिष्ट विशेषज्ञ (डिएम वा एमसिएच) सरहको विशेषज्ञता (दर्जा) दिइन्छ। जस्तै: पाकिस्तान र बाङ्लादेशको एफसिपिएस, एमसिपिएस र एमडिएमएस डिग्रीहरु। हामीकहाँ त्यस्ता डिग्री विदेशबाट लिएर आएका डाक्टरहरु छन्। केही अन्य देशमा एमडी वा एमएस सरहको डिग्रीको छोटकरी नाम एममेड छ, जसको अवधि दुईदेखि चार वर्षको हुन्छ। जर्मनीमा भने आधारभूत चिकित्सा शिक्षा ६ वर्षको हुन्छ। त्यसपछि स्नातकोत्तर (रेजिडेन्सी) को पढाइ, चिकित्सकीय काम, र शोधकार्य पाँच वा ६ वर्ष अवधिका छन्। त्यसपछि अति विशिष्ट विशेषज्ञ (डिएम वा एमसिएच) सरहको अख्तियारी प्राप्त हुन्छ। अमेरिकामा पनि अति विशिष्ट विशेषज्ञ हुन आधारभूत अवधिपछि जर्मनीमा जति नै समय लाग्छ।
विद्यावारिधि (पिएचडी)
चिकित्सा शास्त्रमा अधिकांश देशहरुमा बिरामी जाँच्ने र औषधोपचार गर्ने विषयहरुमा पिएचडी गर्ने-गराउने चलन छैन। तर पूर्वी युरोपका देशहरुमा भने पिएचडीको चलन छ, जसको तह अति विशिष्ट विशेषज्ञ (डिएम वा एमसिएच) डिग्री सरहको हुन्छ। त्यहाँ पिएचडीमा चिकित्सकीय सेवाको प्रवीणता र शोधकार्य दुवैमा ध्यान दिइन्छ।
बिरामीको औषधोपचार प्रत्यक्ष रुपमा गर्नु नपर्ने विषयहरुमा भने संसारका अधिकांश देशहरुमा पिएचडी गराइन्छ। अधिकांश देशहरुमा पिएचडी गर्ने भनेको विशेषज्ञता प्राप्त गर्नुभन्दा शोधकार्यमा थप चुस्त-दुरुस्त हुनका लागि र सो शोधबाट विशेष कुरो पत्ता लगाउँछु भन्ने अठोट हो।
डिएससी (विज्ञानको डाक्टर)
यो डिग्री विशुद्ध शोधकार्य गरे बापत वा विज्ञानमा विशेष (गहकिलो) योगदान गरे बापत दिइने डाक्टर अफ साइन्स उपाधि हो। यो भन्दा माथि प्राज्ञिक क्षेत्रमा कुनै उपाधि छैन। यसका लागि कुनै देशमा (एमडी वा पिएचडी पछि) विश्वविद्यालयमा भर्ना भएर शोधकार्य गर्ने चलन छ भने अन्य कतिपय मुलुकहरुमा विज्ञानमा विशेष योगदान (कार्य) को लेखा-जोखा गर्दा लायक भएमा सो गरे बापत उच्चतम् प्राज्ञिक डिग्रीले सम्मान गरिन्छ। यो सरहको डिलिट (डाक्टर अफ लेटर्स) नामक डिग्री पनि छ, तर चिकित्सा र प्राकृतिक विज्ञानको क्षेत्रमा यो डिग्री त्यति प्रचलनमा छैन।
विविधता र विवाद
हामीकहाँ विशेषज्ञ चिकित्सकहरु विभिन्न देशबाट पढेर आएका छन्। सबैभन्दा माथिल्लो पिंढी बेलायती उत्पादन हो। त्यसपछिको पिंढीमा भारत र पूर्व सोभियत संघमा अध्ययन गरेका चिकित्सकहरु हुन्। त्यसपछिको पनि पिंढीमा भने खिचडी छ, भारत, विघटित सोभियत संघ र नेपालमै पढेका विशेषज्ञहरुको। अन्य देशमा, जस्तै बाङ्लादेश, चीन, पाकिस्तान आदिमा पढेकाहरुको खासै ठूलो संख्या छैन। हाल बजारमा विशेषज्ञ सेवामा गतिशील डाक्टरहरु मूलत: भारतीय चिकित्सा (एमबिबिएस, एमडी वा एमएस, डिएम वा एमसिएच) प्रणालीमा पढेका हुर्केकाहरु छन्। नेपालमा पनि त्यही प्रणाली छ; एमबिबिएसपछि तीन वर्षको विशेषज्ञ र अर्को तीन वर्षको अति विशिष्ट विशेषज्ञ।
तसर्थ: नेपालका विशेषज्ञ डाक्टरी समुदायलाई स्नातकोत्तर वा त्यसपछिको पढाइ तीन वर्षको भन्दा कमको छ भने मान्य हुँदैन। यसै कारण हो चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सिफरिस गरिएका व्यक्तिहरुको योग्यता पुगेन भनेर समाचार बनेको। त्यसमा अधिकांश डाक्टरी समुदायको समर्थन हुनसक्छ। त्यसैले देशमा चिकित्सा शिक्षाबारे नीति निर्माण गर्ने जिम्मेवार व्यक्तित्वहरुले यी विविधता र विवादबारे जानकार हुन वान्छनीय देखिन्छ।
(डा पौडेल चिकित्सा शिक्षाविद् र चिकित्सकीय शरीरक्रिया विज्ञानका प्राध्यापक हुन्)