औषधि व्यवसाय अन्य व्यवसायभन्दा फरक छ। फरक यस कारण छ, यो व्यवसायले मानिसको जीवन–मरणसँग सरोकार राख्छ। जसले यो व्यवसाय अँगालेको छ, उसमा व्यापारिक मनसायभन्दा सेवा भावना बढी हुनु आवश्यक छ ।
पछिल्लो समयमा सेवाभाव भन्दा व्यापारिक मनसाय हावी भएका कारण सर्वसाधारणमा औषधि व्यवसायप्रतिको विश्वास खस्किँदै गएको छ। त्यसकारण यो व्यवसायलाई मर्यादित र अनुशासित बनाउन यसका नेतृत्वकर्ताहरु अन्तरमनबाट जाग्न र लाग्न जरुरी देखिन्छ।
केन्द्र र अञ्चलका पूर्वअध्यक्षहरु, निवर्तमान अध्यक्षहरु, पूर्व पदाधिकारी तथा सदस्यहरु यस व्यवसायको साख गिर्न नदिन जिम्मेवार बनेर लाग्नुपर्छ। मेरो कार्यकालमा राम्रो गरेको थिएँ, अहिले भएन अथवा मलाई यस पटक योजनाबद्ध रुपमा पराजित गराइयो भन्ने खालका वितृष्णा फैलने र गलत सन्देश जाने तरिकाका व्याख्या गरिनुभन्दा पनि अबको नेतृत्वले हस्तक्षेपकारी सुझाव र सल्लाह दिन अग्रसर रहनुपर्छ।
देश नयाँ संरचनामा गएसँगै नेपाल औषधि व्यवसायी संघले पनि आफ्नो रुप र आकार परिवर्तन गर्दैछ। अञ्चल शाखाहरु तदर्थ समितिहरु बन्दै प्रदेशमा गाभिएका छन् भने प्रत्येक अञ्चलभित्रका जिल्लाहरुले अधिवेशन गर्दै जिल्ला कार्यसमितिहरु गठन गर्ने क्रममा छन्।
प्रदेश १ अन्तर्गत २०४० सालमा स्थापित मेची अञ्चल शाखा अन्र्तगतका जिल्लामध्ये झापा शाखाको प्रथम अधिवेशन नै अन्तिम जिल्ला अधिवेशनका रुपमा भदौ २७ गते सम्पन्न हुँदै छ।
मेची अञ्चलभरिका शाखामध्ये निकै महत्वपूर्ण मानिएको र उत्सुकतापूर्वक हेरिएको झापा शाखाको नेतृत्व कस्तो हुनुपर्ने हो भन्ने निर्णय अब जिल्लाभरिका औषधि व्यवसायीले गर्ने बेला भएको छ। किनकि झापाले स्थानीय निकायदेखि केन्द्रसम्म नै विशेष स्थान राख्छ। यहाँको नेतृत्व छान्ने क्रममा व्यवसायीहरुले ठूलो समूह, ठूलो भुँडी, ठूलो गाडी, ठूलो परिवार र ठूलो खानदानभन्दा पनि ठूलो मन, अनि भावना र चाहना फराकिलो भएको नेतृत्व चयन गर्नुपर्छ।
आयुर्वेदिक र एलोपेथिकका खुद्रा, थोक, सुपर गरी झापा जिल्लाभरि यो व्यवसाय गर्नेको संख्या चार सय पचास भन्दा माथि रहे तापनि नेपाल औषधि व्यवसायी संघको रेकर्ड पूर्ण नवीकरणसहित ४४६ जनाले प्रत्यक्ष मतदान गर्दै नेतृत्व चयन गर्दैछन्। अबको नेतृत्व चयनका आधार निम्नानुसार हुन सक्छन् भन्ने यो पंक्तिकारलाई लागेको छ।
१) औषधि व्यवसायीको प्रतिष्ठा जोगाउने नेतृत्व
औषधि व्यवसायी व्यापारी होइन। औषधि व्यवसाय भनेको विभिन्न तहमा फार्मेसी पढेका र ओरिएन्टेसन गरेका नेपाल सरकारको एक विभागीय निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको, करको दायरामा समेटिएको, सेवाभाव पहिलो र तोकिएको नाफा दोस्रो प्राथमिकतामा राखिएको प्रतिष्ठित व्यवसाय हो। जहाँ दर्ता भएका औषधिहरुको कारोबार हुने गर्छ भने अबको नेतृत्वले यसलाई गुमराहमा राखेर होइन, खुलेर हाम्रा सेवा भावनाको र समाजमा योगदानको सकारात्मक प्रचार गरिनुपर्छ।
एउटी कुखुरीले त अन्डा पार्दा आफ्नो सफलताको जानकारी ठूलो आवाज र हलचलले सारा गाउँलाई गराउँछे भने हामीले गरेका सकारात्मक कामको प्रचार किन नगर्ने? त्यसकारण संघको राम्रो प्रचार र सन्देश विभिन्न सञ्चार माध्यमबाट समाजमा प्रचार गर्न र गराउनसक्ने नेतृत्व नै आवश्यक छ भन्ने बुझेर व्यवसायीले आफ्नो हितमा मतदान गर्नुपर्छ।
स्थानीय निकाय, स्थानीय संघ–संस्था, संगठन र चलिरहेको कार्यक्रमहरुसँग समन्वय गराएर समाजमा परिचित गराउन सक्ने नेतृत्व आवश्यक छ।
२) व्यावहारिक समस्या बुझेको नेतृत्व
औषधि व्यवसायीका व्यावहारिक समस्याहरु केके हुन सक्छन्? सोका बारेमा जानकार नेतृत्व नै आजको आवश्यकता हो। व्यावसायिक हकहित र सुरक्षा, संस्थाको कामको पारदर्शीता र सूचना प्रवाहसँगै औषधि व्यवसाय स्थानको व्यवसायी स्वयंले चौबीसै घन्टा निगरानी गर्नुपर्ने, खाना खान र फ्रेस हुन समेत व्यवसाय स्थलमा ताला नै लगाउनुपर्ने विषय, व्यवसायीले सहयोगी राख्न पाउनुपर्ने विषय, छरछिमेक र पल्लो पसलेलाई स्वास्थ्य क्षेत्रको भएको नाताले प्रेसर नापिदिन, काटेको घाउमा बेटाडिन लगाइदिन, ह्यान्डिप्लास्ट टाँसिदिन अनि परामर्श दिन समेत क्लिनिक दर्ता अनिवार्य गरेको विषय, आक्रामक र प्रचारात्मक अनुगमनले व्यवसायमा परेको नकारात्मक असर, प्रेस्कृप्सनमा लेखिने फुड सप्लिमेन्टस, न्युट्रासिटिकल्स र मल्टिभिटामिन्सबारे घुमाउरो पारामा खुद्रा व्यवसायीलाई पारिँदै आएको नराम्रो छापको विषय, ढुवानीमा नयाँ व्यवस्थाले ल्याएको व्यावधान जस्ता लुप्त व्यावहारिक विषयमा आवाज बुलन्द बनाइदिने नेतृत्व जरुरी छ।
३) कुर्सी पाउनु जित होइन, चुनौती सम्झने नेतृत्व
झापा भारतसँग खुला सिमाना भएकोे जिल्ला हो। यहाँभित्र मनासयले बहुआम्दानी हुने गरी कारोबार गर्नेहरुको उपस्थिति छ। त्यसैले हामीले हाम्रा व्यवसायीलाई छिटो आम्दानी हुने कारोबारमा नलोभिई व्यवसाय गर्न उत्प्रेरित गर्नुपर्छ भने सरोकारवालालाई सहयोग।
हाम्रो कार्यक्षेत्र नरहे पनि, लागुऔषध ओसारपसार र लागुऔषध दुव्र्यसनीको कुरा उठ्ने वित्तिकै औषधि व्यवसायीको संलग्नता छ कि भन्ने आशंका र सभा–सेमिनारमा हुने चर्चालाई चिर्नसक्ने नेतृत्व आजको आवश्यकता हो। सम्बन्धित निकायलाई सहयोग गर्ने र भ्रम चिर्नसक्ने खुबीसहित तालिम, गोष्ठी, सेमिनार, अन्तक्र्रियामार्फत व्यवसायीहरुलाई सचेत गराउने नेतृत्व आजको आवश्यकता हो। पद लिनु जित होइन, पाँच सय व्यवसायीको उत्तरदायित्व बुझ्ने नेतृत्व हुनुपर्छ।
४) संकुचित र अहं होइन, प्रजातान्त्रिक र फराकिलो भावनाको नेतृत्व
औषधि व्यवसायी संघ प्रतिष्ठित र पुरानो संरचना हो। यसले औषधि व्यवस्था विभागमा दर्ता र पानको क्लियरेन्सलाई मानेर व्यवसायीलाई सदस्यताको आधार बनाएको छ। तर, पछिल्लो समय र प्रगतिशील र नयाँ–नयाँ अनुसन्धानको अध्ययनले हो, नेतृत्वको कमजोरी या असावधानीले हो या निश्चित स्वार्थको उद्देश्यले हो, एउटै व्यवसाय भए तापनि नयाँ–नयाँ नारा र मुद्राहरु स्थापित गराउन छुट्टाछुट्टै समूह र संघहरु गठन गर्ने र पुरानो संघबाट उपलब्धि नदेख्ने परिपाटीको विकास भएको छ। जसको सम्बोधन नेतृत्वले प्रजातिान्त्रक रुपमा गरिनुपर्छ।
जहाँ औषधि, त्यहाँ फर्मासिस्ट, परिचयपत्र र एप्रोनको नारा, आयुर्वेद विधाको प्रबद्र्धन, आयात र सुपरका मुद्दाहरु सम्बोधन गर्ने पहलसहित नेतृत्वले व्यवसायी व्यापारीको संगठन होइन, सबै साना–ठूला र फरक–फरक विधाका धेरै थोरै अध्ययन गरेका सबैको छातारुपी संघ हो भन्ने भावना विकास गरिनुपर्छ।
५) नेतृत्व परम्परागत होइन, अपडेट चाहिन्छ
औषधि व्यवसाय नेपालमा मात्र सञ्चालित छैन। यसको विश्व बजार र संरचना छ। दैनिक नयाँ रिसर्चहरु हुने गर्छन्। प्रयोग गर्न हुने, नहुने अधिक प्रयोगले के हुने तथा कुन मोलिक्युल्मको आगमन हुँदैछ र कुन रेसिस्ट जस्ता कुराहरु दैनिक अपडेट हुँदैछन्। तर हामी सम्पूर्ण व्यवसायीहरु बजार प्रतिनिधिले गरिएका आफ्ना प्रोडक्टको प्रचारबाजी बाहेक अन्य प्रक्रियाबाट रिफ्रेस हुन सकेको छैनौं, न त सरकारी विभागीय निकायबाटै।
त्यसकारण अबको नेतृत्व तीन वर्षमा व्यवसायीकोमा पुग्नेभन्दा पनि आधुनिक सञ्चार, आमसञ्चार र आधुनिक प्रविधिमार्फत प्रत्येक व्यवसायीलाई विश्वको औषधिसम्बन्धी सञ्जाल र सूचनाहरुसँग जोड्नसक्ने हुनुपर्छ। प्राविधिको पहुँच मिलाउँदै प्रत्येक सूचना र औषधिका गतिविधि व्यवसायीमाझ पुर्याउनसक्ने अपडेटेड हुनुपर्छ।
६) आत्मकेन्द्रित नेतृत्व बहिष्कार गर्नुपर्छ
हामी समग्र व्यवसायीले संघलाई आफ्नो व्यवसाय प्रबद्र्धनको आधार मात्र बनाउने, संस्थापन समितिमा नाम टिपाउन होडबाजी गर्ने, स्वार्थी तत्वहरुको इशारामा संघलाई प्रयोगमा ल्याउने, नजिकका नातागोता र आसेपासेलाई संघको गरिमा नबुझी जिम्मेवारी सुम्पने र पारदर्शीताको सिद्धान्त अपनाउन नचाहने र संघलाई आफ्नो मात्र सामाजिक प्रतिष्ठाको आधार मान्ने नेतृत्व यो मतदानबाट बाहिर राख्नु हामी सम्पूर्ण स्वाभिमानी व्यवसायीहरुको कर्तव्य हुन आउँछ।