नेपालको भौगोलिक बनोट र छरिएर रहेका बस्तीहरुको कारण ग्रामीण नागरिकका लागि विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउन निकै चुनौतीपूर्ण छ। सेवा उपलब्ध गराउन स्वास्थ्य सेवाका स्रोतहरुको अपर्याप्तता र विशेषज्ञ चिकित्सकहरुको अभाव मुख्य कारणका रुपमा रहेका छन्।
जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गर्दा पनि लगानीको अनुपातमा त्यसबाट हुने उपलब्धि कम हुने हुन्छ। प्रतिव्यक्ति अनुदान धेरै लाग्ने र सरकारी खर्चमा प्रत्यक्ष व्ययभार थपिने कारणले गर्दा पनि हालसम्म सन्तोषजनक तरिकाले न बेलैमा निदान गरेर रोग लाग्नबाट जोगाउन सकिएको छ, न त रोग पत्ता लगाएर उपचार सेवा नै प्रदान गर्न सकिएको छ।
नेपालका हिमाली, पहाडी, तराईका भित्री बस्तीहरु र सहरहरुका ओझेलका बस्तीहरुको समान समस्या छन्। हिमाली र पहाडी बस्तीहरुमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरुसम्म आइपुग्न मिहिनेत धेरै छ। कति बस्तीहरुबाट दुई दिन हिँडेर मात्र कमसेकम चिकित्सकको अनुहार देख्न पाइन्छ।
कच्ची मोटर बाटो भएका स्थानहरुमा पनि वर्षको करिब ६ महिना मात्र (अन्य समय हिँडेर) स्वास्थ्य केन्द्र पुगिने अवस्था छ। स्वास्थ्य बिमा कार्यक्रमबाट पाइने उपचारको खर्च भन्दा दसौं गुना बढी यातायात खर्च बेहोरेर पनि स्वास्थ्य संस्था धाउनुपर्ने विवशता जिउँदै छ।
तराई र सहर बाहिरका बस्तीहरुको कथा भने अर्कै छ। ती स्थानका अधिकांश नागरिकमा स्वस्थ आनीबानीमा जागरुकता र जानकारी, यन्त्र उपकरणको प्रयोगद्वारा रोग पत्ता लगाएर रोग निको हुन्छ भन्ने धारणा बसाउन समेत नसकिएको अवस्था छ। आर्थिक विपन्नताले पनि यी नागरिकलाई सहर बजारमा भएका स्वास्थ्य सेवाहरु ‘आकाशको फल आँखा तरी मर’ जस्तो भएको छ ।
यस सन्दर्भमा विगत २० वर्षदेखि गाउँमा केही विशेषज्ञ सेवा प्रदान गरेको अनुभव र विश्लेषणको आधारमा विचार गर्दा यो नसकिने काम हो जस्तो चाहीं लाग्दैन। यसका लागि हामीसँग अलिकति दृढ इच्छा शक्तिको खाँचो देखिन्छ। हरेक तहमा रहेका स्वास्थ्य जनशक्ति, स्वास्थ्य व्यवस्थापकहरु र नीति निर्माताले यसलाई अलिकति पनि आफ्नो मस्तिष्कमा सेवाभाव राखेर काम मात्र गर्दा पुग्ने देखिन्छ।
यसरी पुर्याउन सकिन्छ गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा
१. हरेक वडामा भएका स्वास्थ्य संस्थामा आएका बिरामी जसलाई चिकित्सक सेवा आवश्यक छ, उनीहरुको ठेगाना र टेलिफोन नम्बरको विवरण राख्ने। कमसेकम त्यहाँ उपलब्ध गराउन सकिने सेवा उपलब्ध गराउने तर ओभर डायग्नोसिसलाई निरुत्साहित गर्ने। अधिक एन्टिबायोटिक्सको प्रयोगलाई निरुत्साहित गर्ने। जुन नगरपालिका या गाउँपालिकामा एक्सरे, अल्ट्रासाउन्ड, मेडिकल ल्याबोरेटरी जस्ता आधारभूत सेवा उपलब्ध छन्, तिनीहरुको अधिकतम उपयोग गरेर डायोग्नोसिसको कोशिस गर्ने। कम्तीमा यति पनि सेवा उपलब्ध नभएका पालिकाका केन्द्रहरुमा यसको व्यवस्था गर्ने। त्यसपछि ती बिरामीहरुमध्ये विशेषज्ञ सेवा आवश्यक पर्नेहरुको लिपस्ट तयार गर्ने।
२. कमसेकम जिल्ला अस्पतालसम्ममा ग्योस्टोइन्डोस्कोपी, इको, इसिजी, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे बायोकेमिस्ट्री, कल्चर, इलेक्ट्रोलाइट एनाइजर आदि उपलब्ध गराउन सकेमा विशेषज्ञहरुले आफ्नो ज्ञान र सिपलाई धेरै उपयोग गर्न सक्ने छन्। माइनर र इन्टरमेडियट सर्जरी सेवाहरु पनि उपलब्ध गराउन सक्ने छन्।
३. देशभरका सरकारी, गैरसरकारी, तथा निजी अस्पतालका विशेषज्ञहरुको लगत तयार गर्ने। कमसेकम बर्षको एक महिना पटकपटक गरी सरकारी चिकित्सकहरुलाई, गैरसरकारीमा कार्यरतहरुलाई १५ दिन र निजी अस्पतालका लागि एक हप्ता देशका लागि मेरो योगदानका रुपमा कमसेकम पालिका या जिल्लाका केन्द्रहरुमा गई काम गर्न प्रोत्साहित गर्ने। विशेषज्ञहरुको आफ्नो हुने निजी आम्दानी समेतलाई लेखाजोखा गरी पारिश्रमिक वापत रकम उपलब्ध गराउने।
४. हरेक जिल्ला या नगर अस्पतालहरुमा सेवा उपलब्ध गराउन विशेषज्ञहरुको समय अनुसारको तालिका निर्धारण गर्ने र टेलिफोन मार्फत ती बिरामीहरुलाई सेवाका लागि बोलाउने।
५. हाम्रो अनुभवमा नसर्ने रोगहरुको प्रकोप बढ्दै गएको अवस्थामा उदाहरणका लागि डायबिटिज, उच्च रक्तचाप, पाठेघरको मुखको क्यान्सर, स्तनका क्यान्सरजस्ता रोगका जोखिमका नागरिकका लागि प्रतिकारात्मक स्वास्थ्य जाँचको नियमित व्यवस्था भएमा धेरै धनराशि जोगाउन सकिन्छ। यसमा पाठेघरको मुखको क्यान्सरबाट जोगाउन भिआइए प्रविधि ग्रामीण भेगमा सजिलैसँग गर्न सकिन्छ भने जिल्ला अस्पतालहरुमा विशेषज्ञद्वारा प्याप स्मेयर लिएर केन्द्रीय अस्पतालहरुमा जाँच गराउन ल्याउन सकिन्छ। बिरामीभन्दा अस्पताल हिँड्ने परम्पराको थालनी गर्नुपर्छ।
६. यसका लागि भौतिक पूर्वाधार चुस्त र दुरुस्त राख्ने, बायोमेडिकल जनशक्तिको उचित प्रबन्ध गर्ने, चिकित्सकका टिमहरुसँगै बायोमेडिकल टिमहरुको व्यवस्था गर्ने।
७. नीति निर्माण, योजना र कार्यान्वयनका तहसम्ममा स्वास्थ्य व्यवस्थापनका विशेषज्ञ र व्यवस्थापकहरुको प्रबन्ध गर्ने। जसले यस कार्यक्रमको मूल ध्येयलाई आत्मसात गरेको हुनुपर्छ। कार्यान्वयनका तहमा रहेका जनशक्तिलाई यो काम किन गर्दैछु भन्ने विषयमा हृदयदेखि चेतना, जानकारी र यसप्रति सकारात्मक धारणा बनाउन सकिएन भने स्रोत र साधनको उचित प्रतिफल प्राप्त नहुने या दुरुपयोग हुने सम्भावना धेरै रहन्छ।
८. सम्पूर्ण जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने तथा हरेक बस्तीमा कार्यक्रम पुर्याउन स्थानीय सरकारले अभियानका रुपमा काम गर्ने। नागरिकहरुले खोजी गरेपछि बिमा गर्नेभन्दा खासगरी दुर्गम र विपन्न परिवारहरुमा सरकार आफैं पुग्नुपर्छ। धेरैजसो विपन्न परिवारका सदस्यहरु स्वास्थ्य बिमा कार्यक्रममा रहे तापनि यातायात र खाने खर्चको अभावमा अस्पताल आउन नसकेको अवस्था छ। त्यसैले ती परिवारहरुको उचित अनुगमन जरुरी रहन्छ।
यस्ता केही उपायहरु हुन सक्छन्, जसले ग्रामीण नागरिकसम्म विशेषज्ञ सेवाहरु पुर्याउन सकिन्छ। नागरिकको औसत आयु बढाउन सकिन्छ। हाम्रो सीमित साधन र स्रोतका बाबजुद पनि हालको राजनीतिक संरचनामा स्थानीय सरकारसँग भएका बजेटलाई उचित ढंगले बिनियोजन गर्न सकिएमा गाउँको स्वास्थ्यलाई सुधार गर्न सकिन्छ।
मात्र नागरिकको स्वास्थ्यलाई संविधानले भने अनुसारको उनीहरुको नैसर्गिक अधिकार हो भन्ने रुपमा बुझिदिनुपर्यो र सम्वेदनशील भइदिनुपर्यो। त्यस्तै नीति निर्माण र कार्यान्वयन तहमा समस्याको गाम्भीरतालाई बुझेर समाधानको तत्परता हुनुपर्यो। त्यस्तै नागरिकमा आफ्नो संवैधानिक अधिकारको प्रयोगका लागि राज्य र संस्थाहरु प्रतिको कर्तव्यबोध सधैं रहनुपर्यो।
(डा कर्माचार्य स्वास्थ्य सेवा व्यवस्थापन विशेषज्ञ हुन्)