विगत ३ वर्षयता सरकारबाट चिकित्सा शिक्षाका विद्यार्थीले अनेकथरीका अश्वासन पाए। तर, जुन सरकारबाट जस्तो आश्वासन पाए पनि समस्या भने जहाँको तहीँ छ।
हिजोका दिनमा विद्यार्थीको तहबाट चिकित्सा शिक्षाको बेथितिबारे कमै मात्र आवाज उठ्ने गर्थ्यो। तर आज आवाजको स्वर बलियो हुँदै गएको छ। आज उठेका आवाजले मेडिकल माफिया र यिनलाई समर्थन गर्ने सरकारी संयन्त्रहरुको समेत चाँडै अन्त्य हुने संकेत पाउन थालिएको छ।
नेपालको चिकित्सा शिक्षाको समस्याको सुरुवात विभिन्न विश्वविध्यालयबाट लिइने प्रवेश परीक्षाबाट सुरु हुन्छ। केही वर्षअघि शिक्षा मन्त्रालयले १००० रुपैयाँमा लिने प्रवेश परीक्षाको शुल्क नेपालका सबै विश्वविद्यालयले ३८५० लिन्छन्। करिब १०,००० विद्यार्थीले दिने यस्ता परीक्षाबाट यी निकायले करोडौं नाफा कमाउँछन्। यसरी कमाइने नाफा अस्पताल र बिरामीको लागि प्रयोग हुने तर्क दिइन्छ।
तर विद्यार्थीबाट कमाएर बिरामीको उपचारको लागि लगाइने काम कत्तिको ठिक हो भन्ने प्रश्न पनि उठ्नु स्वाभाविक छ किनकि विद्यार्थीले सबै ४ वटै विश्वविध्यालयको प्रवेश परीक्षाको लागि नै अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था छ। यसरी चिकित्सा क्षेत्रमा प्रवेश गर्नुअघि नै विद्यार्थी अतिरिक्त शुल्कको मारमा पर्छन्।
प्रवेश परीक्षा लगत्तै नतिजा सार्वजनिक हुन्छ र हरेक पल्ट त्यो नतिजा विवादरहित हुँदैन। आजसम्म बुझ्न नसकेको कुरा के हो भने परीक्षापछि प्रश्नपत्र समेत उठाएर लानुको दलिल के हो? साथै उत्तरहरु पनि सार्वजनिक हुँदैनन्। यसले गर्दा विद्यार्थीहरु आफ्नो नतिजामा सन्तुष्ट हुन सक्दैनन्। धेरैलाई आफूले मिलाएभन्दा कम अंक आए जस्तो लाग्छ। अनि नेपाल जस्तो देशमा धाँधली सामान्य भएकाले विद्यार्थीले परीक्षा प्रणालीमा चित्त नबुझाउनु पनि स्वाभाविक नै हो।
आजभोलि विद्यार्थीहरु आफूले दिएको प्रवेश परीक्षाको प्रश्न र सही उत्तर मागिरहेका छन् जसलाई एकदम जायज माग मान्न सकिन्छ किनकि यसले परीक्षामा पारदर्शीता कायम गर्न उल्लेख्य भूमिका खेल्छ।
प्रवेश परीक्षाको खुड्किला पार गर्ने विद्यार्थीले अब पार गर्नुपर्छ मेडिकल माफियाको अवरोध। यो अवरोध पैसाकै दममा पार गर्नुपर्ने वाध्यतामा धेरै छन्। मलाई पुरानो एउटा घटना अझै पनि स्मरण गर्न मन लाग्छ। आजभन्दा ३ वर्षअघि जब चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा लिइएको प्रवेश परीक्षा उत्तीर्ण भएपछि जब म चितवन र पोखरामा अवस्थित मेडिकल कलेजमा भर्ना हुन खोजें कसरी मसँग एकमुष्ट ५८ लाख र ५५ लाख मागियो।
त्यसपछि म यो विषयमा गुनासो गर्न त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन अफिस पनि पुगें तर त्यहाँ हामी जस्तो विद्यार्थीको गुनासो सुनिएन र भनियो शिक्षा मन्त्रालयमा गुनासो गर। शिक्षा मन्त्रालयले समेत क्षेत्राधिकार नै नभएको जिल्ला प्रशासन कार्यालयलाई थमाइदिन्छ।
यसले नेपालमा विध्यमान माफियाकरण एकदुई जनाको मिलेमतोमा नभई माथिसम्म कै मिलेमतोमा छ भन्ने कुरा स्पस्ट छ। किनकि सबै मेडिकल कलेजले एक वर्षमा उठाउने अतिरिक्त शुल्क नै करिब १ अर्ब हाराहारीमा पुग्ला र यस्तो त हरेक वर्ष हुन्छ। यस्तोमा माथिल्लो तहले आफ्नो भाग खोज्दैन होला भनेर भन्न सकिने अवस्था छैन।
अझ केसम्म सुनिन्छ भने केही राजनीतिक दलको चुनाव खर्च समेत यस्ता मेडिकल कलेजले व्यहोरदिन्छन् रे। अनि मेडिकल कलेजलाई कारबाही गर्ने जिम्मा चाहिँ सिडिओलाई दिइन्छ। जसले आफ्नै छोराछोरीलाई आफैँ कार्यरत रहेको जिल्लामा अवस्थित मेडिकल कलेजमा समेत अतिरिक्त शुल्क नतिरी पढाउन सक्दैनन्।
आजभोलि चितवन मेडिकल कलेज तथा गण्डकी मेडिकल कलेजमा अध्ययनरत साथीहरु आफैँद्वारा निर्वाचित सरकारद्वारा गरिएको निर्णयलाई आफैँ कार्यान्वयन गराउन लागिपर्नु भएको छ। साथीहरुको कारणले हाम्रो समस्या सम्पूर्ण जनतामा पुगेको छ र यसको लागि धन्यवाद दिनै पर्छ। तर के यो समस्या नेपालको कुनै दुई मेडिकल कलेजको मात्र हो त?
कोही पनि भ्रममा पर्न आवश्यक छैन किनकि यो समस्या नेपालका सबै निजी मेडिकल कलेजमा व्याप्त छ र यसको लागि उनीहरुले आफ्नो छुट्टै संस्था पनि स्थापित गरेका छन्। तर मेडिकल विद्यार्थी भने एक्लै छन् र एकजुट छैनन्। गण्डकी र चितवनका साथीहरु जसरी एकजुट हुनुभएको छ त्यसरी नै हामी सबैले यो आन्दोलनलाई साथ दिनु जरुरी छ।
केही समय पहिले यस्तो बेथितिको बारेमा बोल्नुपर्छ भनेर विभिन्न मेडिकल कलेजमा अध्ययनरत साथीहरुबीच छलफल भएको थियो। त्यसमा विशेषगरी निजी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुबीच डर व्याप्त रहेको पाइयो।
थुप्रो लगानी गरेर र प्रवेश परीक्षा पास गरी बल्लबल्ल मेडिकल कलेजमा सिट पाइएको हुन्छ। यसकै कारण कलेजले फेल गरिदियो भने के गर्ने भन्ने डर थियो। यही कुरा अहिले आन्दोलनरत साथीहरुबाट सार्वजनिक भइरहेका छन्। त्यसैले एक्लाएक्लै परिवर्तन गर्न सम्भव नै छैन रहेछ भन्ने कुरा बुझियो।
सबैभन्दा पहिला त हामी जो छात्रवृत्ति अथवा नेपाल सरकारले तोकेको शुल्कमा पढ्न पाएका छौँ त्यसले पनि यो आन्दोलनलाई आफ्नै हो भन्ने बुझ्नुपर्छ। किनकि आज साथीहरुले भोगेको समस्या हामीले भोलि स्नातकोत्तर गर्ने बेला भोग्दैनौ भन्न सक्दैनौँ।
यी दुई मेडिकल कलेज बाहेकमा अध्ययरत साथीहरुले पनि आफू अन्यायमा परेको कुरा बाहिर ल्याउन सक्नुपर्योअ र हामी सबैले उहाँहरुको यो अभियानमा साथ दिनुपर्छ।
अर्को समस्या भनेको हामी एकै किसिमका व्यक्तिबाट विभिन्न चरणमा प्रताडित हुन्छौँ तर एकले अर्काको पक्षमा बोल्दैनौँ। उदाहरणका लागि मेडिकल विद्यार्थी प्रवेश परीक्षा दिंदै गरेका भाइबहिनीका पक्षमा बोल्दैनौं अनि कम पारिश्रमिकमा पसिना बगाइरहनु भएका अग्रज युवा चिकित्सक पनि मेडिकल विद्यार्थीको पक्षमा हत्तपत्त बोलिहाल्नुहुन्न।
नियालेर हेर्ने हो भने हामी सबै मेडिकल माफियाबाट नै प्रताडित छौं र हुन्छौं, चिकित्सा शिक्षाको विभिन्न चरणमा। त्यसैले जबसम्म हामी एकअर्काको ढाल बनेर उभिदैनौँ तबसम्म न्याय पाउन गाह्रो छ।
त्यसैले सबैले एकजुट भएर मेडिकल माफियाको विरुद्ध आवाज उठाउन जरुरी छ। साथै आम जनताले पनि यो बुझ्न आवश्यक छ कि आज महँगिएको चिकित्सा शिक्षाको शुल्कले भोलि स्वास्थ्य सेवा पनि महँगिने छ। यसको मारमा पर्ने नेपालका गरिब समुदाय नै हो।