सानो बेलामा जब बाटो, घर, टोलमा सरसफाई सुरु हुन्थ्यो, तब थाहा हुन्थ्यो– दसैं आउन लाग्यो।
मेरो घर गोरखामा दसैं लाग्नुभन्दा अगाडिदेखि गाउँका महिलाहरु आआफ्नो घर सिंगार्ने तयारीमा लाग्थे। घर सिंगार्ने माटो लिन महिलाहरु घरबाट घन्टौ हिँडेर माटो लिने ठाउँसम्म जान्थे।
म पनि आमासँग माटो लिन पछिपछि लागेर जान्थें। सानो भए पनि माटो लिन सबैसँग जाने भनेपछि घन्टौं हिँड्न पनि तयार हुन्थें। सबै जना मिलेर गफ गर्दै जान निकै रमाइलो लाग्थ्यो।
माटो ल्याएर आआफ्नो घरमा लगाउँदा त्यहाँको माहोल निकै रमाइलो हुन्थ्यो। आमाले घरमा रङ लगाउनु हुन्थ्यो, हाम्रो गाउँतिर घरमा फूलको चित्र बनाउने प्रचलन छ। मलाई पनि घरमा फूलका चित्र कोर्न खुबै मन पर्छ। त्यसैले घरमा चित्र प्रायः मैले नै बनाउँथे। पछि मिलेन भने आमाले मिलाइदिनुहुन्थ्यो। सबै जनाले आआफ्नो घर रंग्याउने हुनाले गाउँ नै उज्यालो हुन्थ्यो।
सानोमा दसैमा पिङ खेलेको अहिले पनि याद आउँछ। हामी केटाकेटी दिनभर पिङमा भीड गरेर बस्थ्यौँ र पालैपालो पिङ खेल्थ्याँै। दसैंमा आमाबुबाले नयाँ लुगा किनेर ल्याइदिनुहुन्थ्यो। नयाँ लुगा किनेर ल्याइदिनु त हुन्थ्यो तर फोहोर हुने डरले टीकामा लगाउनुपर्छ भनेर लगाउन दिनुहुँदैनथ्यो।
आफूलाई भने टीकाको दिन कहिले आउला र नयाँ लुगा लगाउन पाइएला भन्ने लाग्थ्यो। दसैंको टीकाको दिन नयाँ लुगा लगाएर दंग पर्दै गाउँभरि घुम्न रमाइलो लाग्थ्यो।
म सात कक्षामा पढ्ने भएपछि मेरो बुबाको मृत्यु भयो। त्यसपछि हामी चितवन बसाईं स¥यौँ।
बुबाको मृत्युपछि दसैं खल्लो लाग्न थाल्यो। आफ्नो घरमा टीका लगाएर सकिएपछि अरुको घरमा जानु नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो।
पछि स्टाफ नर्स भएर काम गर्ने बेलामा मलाई दसैं खासै मन नपर्ने र घर पनि नजिक भएकोले जहिले पनि दसैंको बेलामा मेरो ड्युटी पथ्र्याे।
नर्सिङ पेसामा घर नजिक भएका र टीका नलगाउनेहरुले, जुनियरहरुले टीकाको दिन ड्युटी गर्नुपर्ने चलन छ। आफूलाई दसैं नरमाइलो लागे पनि रमाइलो लाग्ने साथीहरु बिदा बसुन् भन्ने लाग्थ्यो। त्यसैले ड्युटी गर्न रमाइलो लाग्थ्यो। एक सिफ्ट ड्युटी सिध्याएर घरमा टीका लगाउन जान भ्याइहालिन्थ्यो।
भरतपुर मेडिकल कलेजमा काम गर्थें। त्यहाँ दसैं वा अन्य चाडबाडमा ड्युटी गर्न जाँदा वृद्धवृद्धाहरुले हामीलाई देख्नासाथ चाड मनाउने समयमा मलाई स्याहार गरेर बसेकी छौ भनेर माया गर्नु हुन्थ्यो। मैले गर्दा तिमीले चाडबाड मनाउन पाएनौ भनेर दुःख मान्नु हुन्थ्यो। यसरी माया गरेको देखेर आफूले राम्रै काम गरेको छु जस्तो लाग्थ्यो।
अहिले मैले वीर अस्पतालको आइसियुको इन्चार्ज सम्हालेकी छु। त्यो हिसाबले आइसियुका सम्पूर्ण नर्सको ड्युटी सेड्युल बनाउने जिम्मा मेरो छ। नजिक र टाढा घर हुनेहरु सबैलाई मिल्ने गरी बिदाको सेड्युल मिलाएकी छु।
स्टाफ कम भएकोले चाडबाडमा तीन–चार दिन डबल ड्युटी पनि गर्नुपर्ने भएको छ बहिनीहरुलाई। म आफू पनि यसपालि दसैंमा घर जान्छु। टीकाको अघिल्लो दिनसम्म काम गरेर टीकाको भोलिपल्ट फर्किएर अरु साथीहरुलाई पालो दिने निर्णय गरेकी छु।
-(वीर अस्पतालकी आइसियु इन्चार्ज अन्जना पौडेलसँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित)