हालै नेपालमा विश्वविद्यालयहरुका एमबिबिएस प्रवेश परीक्षाहरु सकिएर विद्यार्थीहरु भर्नाको प्रक्रियामा छन्। ती परीक्षाहरु कस्तो हुनुपर्ने थियो र कस्तो भए भन्ने विषयमा भित्री रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकताबाट अभिप्रेरित भएर लेखिएको हो यो लेख।
प्रवेश परीक्षामा प्रयोग हुने प्रश्नहरुको स्तरीयता सुधार्नुपर्ने देखिन्छ। प्रवेश परीक्षाको प्रक्रियाको विश्वसनीयतामा शङ्का उत्पन्न हुने गरेकाले परीक्षालाई कसरी वैध, स्तरीय, र मर्यादित बनाउने भन्ने विषय झन् महत्वपूर्ण छ। त्यसैले यो लेखमा प्रवेश परीक्षामा सोधिने प्रश्न र सम्पूर्ण प्रवेश परीक्षालाई कसरी वैध बनाउने बारेमा केन्द्रित छ।
कतिपयलाई यो विषय नौलो र बढी प्राविधिक लाग्न सक्छ तर पनि सान्दर्भिक भने छ। यसको लक्षित पाठक चाहिँ परीक्षामा संलग्न व्यक्तिहरु वा संस्थाहरु र शिक्षाविद् हुन्।
नेपालमा प्रचलित एमबिबिएस प्रवेश परीक्षा
नेपालमा एमबिबिएस पढ्नको लागि गरिने प्रवेश परीक्षाहरुमा विश्वविद्यालय अनुसार भिन्नता छ। त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयहरुका ती परीक्षाहरु भने एकै किसिमका छन्। ती दुबैमा १०० अंकको भौतिक शास्त्र, रसायन शास्त्र र जीवविज्ञान (भौरजी)को जाँच लिइन्छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भने २०० अंकको परीक्षा लिइन्छ। १५० अंक भौरजीको र ५० अंकको अङ्ग्रेजी, स्वास्थ्य र त्यसप्रति झुकाव र सामान्य ज्ञान समेतको जाँच हुन्छ। यो परिपाटी केही हदसम्म राम्रो होला। तर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने तार्किक क्षमता, मनोवृत्ति तथा मानवता प्रतिको झुकाव, बुद्धिमत्ता (आइक्यु), परिस्थिति मूल्याङ्कन गर्न सक्ने क्षमताको समेत जाँच लिइन्छ। यो प्रणाली उत्तर अमेरिकाको जस्तै-जस्तै छ र नेपालमा पनि सान्दर्भिक देखिन्छ। त्यसैले केही दिनअघिको यसै संचार माध्यमको (राम्रो डाक्टरमा हुनुपर्ने ६ गुण, असार ८, २०७६) लेखमा मनोवृत्ति बिना भौरजीमा मात्रै आधारित प्रवेश परीक्षा डाक्टर हुनका लागि पर्याप्त हुँदैन, त्यसैले अन्तिम वा निर्णयक हुनुहुँदैन भन्ने उल्लेख छ।
प्रवेश परीक्षाबारे एकथरी विज्ञहरुको सोच के छ भने १२ कक्षामा पास भइसकेका भौरजी विषयहरुको फेरि जाँच लिनु आवश्यक छैन। बरु ती व्यक्तिहरुमा विज्ञानको ज्ञानको अतिरिक्त डाक्टर हुनलाई चाहिने गुणहरु जस्तै मनोवृत्ति, मानवीयता, तार्किक क्षमता आदिको मूल्याङ्कन गरी उत्तम गुण भएकाहरुलाई छान्नु पर्दछ। सम्बन्धित क्षेत्रको शिक्षकको नाताले निजी मेडिकल कलेजमा परीक्षा लिंदा त्यहाँका विद्यार्थीहरु कसरी भर्ना भए होलान् भन्ने लाग्छ। त्यहाँ थुप्रै विद्यार्थीहरुमा भौरजीकै ज्ञान पनि डाक्टर हुनलाई चाहिने भन्दा कम देखिन्छ।
माथि भनिएका आचरण सम्बन्धी गुणहरुको बारेमा त आजसम्म विश्वविद्यालयहरुको ध्यान जाँदै गएको छैन। हाम्रो देशमा पश्चिमा चिकित्सा शिक्षाको इतिहास ४० वर्षको भैसक्दा पनि हामीले चिकित्सा शिक्षाको प्रवेश परीक्षाको विधिमा सुधार ल्याउन सकेका छैनौं। त्यसैले हाम्रो समाजले असल डाक्टर पाउन सकिरहेको छैन भन्न सकिन्छ। विश्वविद्यालयहरुले १०० वा २०० अंकको भौरजीको वस्तुगत प्रश्नहरु सोधेर गर्ने प्रवेश परीक्षा भनेको उनीहरुले आफ्नो काम सजिलो बनाएका मात्र हुन्। ती प्रवेश परीक्षामा प्रयोग हुने प्रश्नहरुको वैधता र विश्वसनीयतामा पनि ठूलो प्रश्नवाचक चिन्ह खडा हुन्छ। त्यसो त ती प्रश्नहरु विषयगत विषेशज्ञबाट प्राप्त हुन्छन्। त्यसो भए पनि प्रश्नहरुको वैधता र विश्वसनीयता प्रयोग-योग्य ठोकुवा लाएर भन्न मिल्दैन। अर्थात, त्यस्तो परीक्षाले जनचाहना अनुसारको असल मनोवृत्ति भएका डाक्टरहरु बन्दैनन् कि भन्ने प्रश्न टडकारो रूपमा उठ्दछ। प्रश्न जायज छ, गम्भीर पनि उत्तिकै छ किनभने विज्ञानको जाँचबाट आचरण या मनोवृत्ति थाहा हुँदैन। त्यसो भए हाल लिने गरिएको प्रवेश परीक्षालाई किन निरन्तरता दिइरहने त? जिम्मेवार निकाय जस्तै नवगठित चिकित्सा शिक्षा आयोगले यसतर्फ केही सोच्ला कि?
कति अङ्क ल्याएकालाई डाक्टर पढ्न दिने?
प्रवेश परीक्षामा मुश्किलले ५०% अङ्क ल्याउने व्यक्तिहरु पनि डाक्टर हुन लायक हुन्छन् त? प्रश्न कठीन छ। कसरी भन्ने डाक्टर हुन लायक हुन्छन् भनेर। नेपालको कुनै एक एमबिबिएस प्रवेश परिक्षा पास भएमा काउन्सिलले विदेशमा डाक्टर पढ्न अनुमति दिन्छ। त्यति मात्र होइन, यहाँ त कुनै बेला काविले निकालेको प्रवेश परीक्षाको नतिजामा ५०% भन्दा पनि कम अङ्क ल्याउने व्यक्तिहरु डाक्टर पढिरहेका छन्। त्यो थियो शताब्दी (पर्सेन्टाइल) अनुसार निकालिएको नतिजा अनुसार। त्यस नतिजामा प्राप्त उच्चतम (मानौं ८०) अङ्कलाई १०० मानिन्छ र त्यस मुनिका अङ्कहरुलाई क्रमश: ९९, ९८... मानिन्छ। त्यस अनुसार ५० औं (तह) मानिने अङ्क ५०% भन्दा पनि तल हुन सक्दछ। त्यस्तो भएको छ। के ५०% अङ्क ल्याउने वा ५० औं तहका व्यक्तिहरुमा डाक्टर हुन लायक गुण हुन्छन् त? कुरो गम्भीर छ, त्यसैले डाक्टर हुन लायक एउटा लक्ष्मण रेखा कोर्नु जरुरी छ।
जनचाहना र जनप्रतिनिधिको कुतर्क
डाक्टरी पढाइबारे आम बुझाइ पनि अधुरो छ। विज्ञानका विषयहरु भौरजीमा १२ कक्षा पास भएपछि त्यसमा पैसा थपियो भने आफ्ना बच्चा डाक्टर बन्न लायक हुन्छन् भन्ने आम बुझाइ छ। यो जनइच्छा जायज भए पनि बुझाइ भने सही होइन। अविभावकहरुले आफ्ना बच्चाहरुको मानवीय आचरण विकासको विषय महत्वपूर्ण हुँदाहुँदै पनि हेक्का राख्न छुटाएका हुनसक्छन्। या अविभावकहरुले आफ्ना बच्चालाई अनौपचारिक रूपमा अन्यथा त सिकाइरहेका छैनन्? जस्तै "पढाइ एउटा कुरो हो तर पैसा भने जसरी भए पनि कमाउनु पर्छ" भनेर आफ्ना छोरा-छोरीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिकाइरहेका पनि हुन सक्दछन्। अर्थात्, शिक्षा-दीक्षाको मुख्य थलो घरमा नै गलत किसिमले सन्तानलाई हुर्काइएको छ भने डाक्टरी पढाइमा उनीहरुलाई सोझ्याउन असम्भवप्राय: हुन्छ। त्यसैले, असल नागरिक बनाउन घर-परिवारमा नै शिक्षा-दीक्षा राम्रो हुनु आवश्यक छ किनभने असल नागरिक मध्येबाट नै डाक्टर बनाउने हो। डाक्टर मात्र होइन, कुनै पनि पेशाकर्मी पहिले असल नागरिक हुनु जरुरी छ। त्यसपछि मात्र कुनै पेसाकर्मी।
केही हप्ताअघि संचार माध्यममा आएका समाचार अध्ययन गर्दा संसदको स्वास्थ्य र शिक्षा सम्बन्धी समितिको उपसमितिले मेडिकल कलेजहरुमा भएको अनियमितता अध्ययन गर्योक। त्यस उपसमितिले भन्यो कि विदेशमा एमबिबिएस प्रवेश परीक्षा उत्तीर्ण गरेका व्यक्तिहरुलाई नेपालमा भर्ना हुन दिने रे। अचम्मको निर्णय! हाम्रा सांसदहरुमा न विषयगत् ज्ञान छ, न स्वाभिमान छ, न त मौलिकता नै। कठै विचरा हाम्रा सांसदहरु!
सो उपसमितिले भन्यो हजारौं नेपालीहरु डाक्टर पढ्नै भनेर विदेशिन्छन् रे। अनि अनावश्यक रूपमा विदेशी मुद्रा खर्च भयो रे। डाक्टर पढ्ननै भनेर हजारौंको सङ्ख्यामा विदेशिने भन्ने कुरो सत्य होइन। त्यो सङ्ख्या विविध विषयहरु पढ्न जाने व्यक्तिहरुको हुनसक्छ, न कि डाक्टरी पढ्न मात्रैको। विदेशी मुद्रा बाहिरिएको पनि ती यावत विषयहरु पढ्न जानेहरुले लगेका हुन् सांसदहरुको सो सम्बन्धी निर्णय तथ्यपरक छैन, हचुवाको भरमा व्यक्त भएको अभिव्यक्ति भन्ने बुझिन्छ। सो निर्णयबाट यो पनि बुझिन्छ कि राज्यसँग सम्बन्धित विषयमा तथ्याङ्क छैन। या तथ्याङ्क भए पनि त्यसको अध्ययन र बुझाइमा कमजोरी रह्यो। त्यसैले, राम्रोसँग तथ्याङ्कमा आधरित भै विषयहरुको विश्लेषण गर्न सांसदहरुलाई यो स्तम्भकारको सुझाव छ।
त्यो उपसमितिले हरेक वर्ष डाक्टर पढ्ने विद्यार्थीको सिट सङ्ख्या १०%ले बढाउनु पर्दछ पनि भन्यो। उपहास गर्न लायक कस्तो यो निर्णय! किन बढाउने १०% सिट सङ्ख्या? त्यसका लागि योजन खै, देशमा डाक्टरको दरवन्दी वार्षिक हिसाबले १०% बढाइएको छ र त्यसो गर्ने? अहिले पढिरहेका कतिपय विद्यार्थीहरुको क्षमतामा नै प्रश्न उठ्ने गरेको छ भने हरेक वर्ष १०% थप व्यक्तिहरु डाक्टर हुन कसरी लायक हुन्छन्? के डाक्टर बनाउने भनेको गोठमा भेडा-बाख्रा राखे जस्तै हो भनेर बुझिएको हो त? हुनसक्छ, वहाँहरुलाई डाक्टरी पढाइ कसरी गरिन्छ भनेर थाहा नहोला। कुनै व्यक्ति भर्ना भएकै आधारमा डाक्टर हुन्छ भन्ने वहाँहरुको बुझाइ छ भने वहाँहरुसँग डाक्टरी पढाइको गहनता र गम्भीरताको बारेमा शून्य नजिकको ज्ञान छ भनेर हामीले बुझ्नु अन्यथा हुँदैन। त्यसो त कुनै पनि विधामा विद्यार्थी भर्ना भएकै कारण दक्ष जनशक्तिमा परिणत हुन्छ भन्ने बुझ्नु गलत हो। इच्छा जाहेर गरेर मात्र काम हुँदैन। डाक्टरी पढाइ कसरी गरिन्छ भन्ने न्युनतम ज्ञान नभै किन त्यसबारे बोल्न हतारिनु? डाक्टरी पढाइको वा कुनै पनि पढाइमा पठन्-पाठन र विद्यार्थी मूल्याङ्कन विधिको ठूलो महत्व हुन्छ। डाक्टरी पढाइ आम सोचाइ भन्दा फरक छ त्यसैले सम्बन्धित विज्ञहरुलाई सोधेर मात्र बोल्नु उपयुक्त हुन्छ। गुणस्तर जनशक्ति उत्पादनबारे चेतना भया।
अर्को नबुझिएको विषय उहाँहरुकै शब्दमा कमन (देशैभरिको साझा) प्रवेश परीक्षा हो। सो एमबिबिएस प्रवेश परीक्षाबारे यसै संचार माध्यममा प्रकाशित लेख (चिकित्सा शिक्षा र यसका चुनौती, २०७६ भदौ ४) अध्ययन गरी मनन गर्न सुझाव छ।
सांसदहरुले देशको नीति-निर्माण गर्ने तहबाट चुरो कुरो नबुझी सतही रूपको निर्देशनात्मक व्यापारिक निर्णयहरु गर्नु उचित हुँदैन। सांसदहरुलाई थाहै होला विश्वविद्यालयहरुका आ-आफ्नै संचालक परिषद् छन्। सो परिषद्ले विश्वविद्यालयको नीति-निर्माण र मार्गनिर्देशन गर्दछ। हरेक विश्वविद्यालयको आफ्नै आर्थिक वाध्यताहरु हुन्छन्। संसद वा सरकारको इच्छा वा ठाडो निर्देशन विश्वविद्यालयमा लागू हुँदैन। त्यसैले त दुनियाँभर विश्वविद्यालयहरु व्यक्ति जस्तै स्वतन्त्र हुन्छन् भन्ने मान्यता छ। यो स्वतन्त्रता गुणस्तरयुक्त जनशक्ति उत्पादनसँग सम्बन्ध राख्दछ।
प्रश्न विश्लेषण
नेपालमा एमबिबिएस प्रवेश परीक्षामा वस्तुगत प्रश्नहरु प्रयोग गरिन्छन्। एक प्रश्नमा दिइएका चार (क, ख, ग, घ) विकल्पहरुमद्धे एउटा विकल्प उत्तर हो भने अरु तीन विकल्पहरु चाहिँ विकर्षक वा भ्रामक हुन्। परीक्षार्थीले एउटा प्रश्नको एउटा (आफ्नो) उत्तर छान्नुपर्ने हुन्छ। आम रूपमा यस्ता वस्तुगत प्रश्नलाई अङ्ग्रेजीमा छोटकरीमा एमसिक्यू भनेर चिनिन्छ। प्रश्न विश्लेषण भनेको परीक्षामा प्रयोग गरिएका हरेक प्रश्नको उत्तर सहभागी सम्पूर्ण परीक्षार्थीहरुले के कस्तो गरे भनेर गरिने विश्लेषण हो। सबै प्रश्नहरुको एक-एक गरी विश्लेषण गरिन्छ। यस विश्लेषणपछि कुन प्रश्न सोध्न लायक थियो, कुन थिएन भन्ने थाहा हुन्छ। कति गाह्रो थियो वा सजिलो थियो भन्ने पनि थाहा हुन्छ।
विषयगत विषेशज्ञहरुको टोलीले हरेक वस्तुगत प्रश्न एक-एक गरी केलाएर ठिक छ भनेपछि ती प्रश्नहरु पूर्व-प्रमाणीकरणको चरण पार गर्छन्। तर ती प्रश्नहरु अझै परीक्षामा प्रयोग गर्न योग्य भैसकेका छैनन्। यस चरणपछि ती प्रश्नहरु नमुना वा अस्थायी वा नक्कल परीक्षामा सम्भाव्य परीक्षार्थीहरु माझ प्रयोग गरिन्छ। त्यसपछि ती परीक्षार्थीहरुले हरेक प्रश्नमा क-कस्ले के-कतिमा चिन्हो लाए भन्ने गन्ती गरेर एक वृहत तालिका बनाइन्छ। अनि सो तालिकामा आधारित भै गणितीय सूत्र प्रयोग गरेर सूचकाङ्कहरु निकालिन्छन्। ती हुन्: कठिनाइ सूचकाङ्क, भेदभाव सूचकाङ्क, वास्तविक उत्तर, र विकर्षक वा भ्रामक विकल्पहरुको उपादेयता। यी बाहेक अन्य सूचकाङ्कहरु पनि छन्। यिनै सूचकाङ्कहरुको आधारमा प्रश्न विश्लेषण गरिन्छ। यसरी विषेशज्ञहरु बीचको सहमति र गणितीय चरणहरु पार गरेपछि वैध हुने क्रममा रहेका प्रश्नहरु फेरि विषेशज्ञहरु माझ अन्तिम रूपमा निर्णयार्थ प्रस्तुत गरिन्छ। यो चरणबाट पारित प्रश्नहरु मात्र परीक्षामा प्रयोग योग्य मानिन्छन्। यो विश्वव्यापी मान्यता हो। यसरी वस्तुगत् प्रश्नहरुको स्तरीयता परीक्षण गरिन्छ। विकसित मुलुकहरुका राम्रा विश्वविद्यालयहरुमा यो प्रश्न स्तरीय/वैध बनाउने परिपाटी चिकित्सा शिक्षामा मात्र नभएर अन्य विधाहरुमा पनि गरिन्छ। अब माथि उल्लेखित सूचकाङ्कहरुका बारेमा एक-एक गरेर कुरा गरौं।
पहिलो हो कठिनाइ सूचकाङ्क। पूर्व-प्रमाणीकरणको चरण पार गरेका प्रश्नहरुको एक सेट (प्रश्नपत्र) तयार गरिन्छ। मानौं यस्तो परीक्षामा ३०० परीक्षार्थीहरु सहभागी भए। परीक्षा सकिएपछि निजहरुले प्राप्त गरेको अङ्कको योग्यता सूची (मेरिट लिस्ट) बनाइन्छ। अनि परीक्षामा सहभागी सबैको एउटा तालिका बनाइन्छ, उत्तर के थियो क-कस्ले के-केमा टिक मारे भन्ने। मेरिट लिस्टलाई बराबर तीन भागमा बाँडिन्छ: पहिलो, दोस्रो, र तेस्रो एक तिहाइहरु। योग्यता सूचीको माथिल्लो एक तिहाइमा पर्ने (१०० जना उच्च अङ्क ल्याउने विद्यार्थीहरु) मद्धे कतिले पहिलो प्रश्नको उत्तर ठीक गरे। त्यसैगरी तल्लो एक तिहाइमा पर्ने (१०० जना न्यून अङ्क ल्याउने विद्यार्थीहरु) मद्धे कतिले त्यही पहिलो प्रश्नको उत्तर ठीक गरे भनेर हिसाब गरिन्छ। बीचको एक तिहाइलाई वास्ता गरिदैन किनभने माथिल्लो र तल्लो तिहाइहरुबीच रहेको टड्कारो भिन्नताको विश्लेषणबाट निचोड निकाल्न सहज हुन्छ। त्यसैगरी दोस्रो, तेस्रो प्रश्न हुँदै अन्तिम प्रश्न सम्मको विश्लेषण गरिन्छ। ती दुई समूहले गरेको नतिजाको भिन्नतालाई सूत्रमा प्रयोग गरेर कुनै एक वस्तुगत प्रश्न कठिन वा मझौला खालको वा निकैनै सजिलो थियो भन्ने निश्कर्ष (अङ्क) निकालिन्छ।
अर्को सूचक हो भिन्नता वा भेदभाव-सूचकाङ्क। यो सूचकांक पनि माथि भनिएको योग्यता सूचीकै उपल्लो र तल्लो एक-एक तिहाइको आधारमा निकालिन्छ। यो सूत्र कठिनाइ सूचकाङ्कको भन्दा अलि फरक छ। यो सूचकले चाहिँ कुनै एक वस्तुगत प्रश्नले जान्ने र नजान्ने विद्यार्थीहरुलाई छुट्याउन सक्नु पर्दछ। यस्तै छुट्याउन सक्ने प्रश्नहरु आवश्यक सङ्ख्यामा छन् भने ती प्रश्नहरुले ती विद्यार्थीहरुलाई उनीहरुको नतिजा अनुसार पहिलो, दोस्रो, तेस्रो वा असफल गरी श्रेणीमा परिणत गर्दछ। त्यसैले, सोधिने प्रश्नहरुमा यो क्षमता हुनु आवश्यक हुन्छ। त्यसकारण भेदभाव सूचकाङ्क राम्रो भएको प्रश्नपत्रले कसलाई भर्ना गर्ने, कसलाई नगर्ने भन्ने प्रश्नको स्पष्ट उत्तर दिन्छ। यदि प्रवेश परीक्षामा सरिक अधिकांश परीक्षार्थीहरुले प्रश्नपत्रमा बराबरी अङ्क ल्याए भने मेरिट लिस्ट बन्दैन। अनि कसलाई भर्ना गर्ने भन्ने कुरो असम्भव हुन्छ। त्यसैले प्रवेश परीक्षामा प्रयोग हुने प्रश्नहरुको भेदभाव-सूचकाङ्क थाहा हुन जरुरी छ।
यदि परीक्षा दिने व्यक्तिहरु उस्तै स्तरका थिए भनेर मान्ने हो भने हालै प्रकाशित एमबिबिएस प्रवेश परीक्षाको नतिजाहरु सतही रूपमा हेर्दा के स्पष्ट देखिन्छ भने त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रश्नहरु कावि स्कूल अफ मेडिकल साइन्सेसका भन्दा सजिला थिए। अर्थात, कठिन सूचकाङ्क त्यति राम्रो थिएन। भेदभाव सूचकाङ्क भने दुवैमा उस्तै थियो कि भन्न सकिन्छ। यथार्थपरक निष्कर्षका लागि भने माथि भनिएका सूत्र र विधि प्रयोग गरेर ती नतिजाहरुको गहिरो अध्ययन गर्नु आवश्यक छ।
प्रश्न विश्लेषणको अर्को सूचक हो विकर्षक वा भ्रामक विकल्पहरुको उपादेयता। वस्तुगत् प्रश्न जसको चारवटा विकल्प हुन्छन् (क, ख, ग, घ) र ती विकल्पमद्धे एउटा उत्तर हो। ती प्रश्नमा उत्तर बाहेकका अन्य तीन विकर्षक विकल्पहरुको आफ्नै भूमिका हुन्छ। ती विकल्पहरु उत्तरसँग यति नजिक हुनुपर्छ कि विद्यार्थीले उत्तर छान्नु भन्दा पहिले त्यस प्रश्नका चारैवटा विकर्षकहरु उपर गहिरिएर सोच्नुपर्ने परिश्थिति सिर्जना होस्। तब न राम्रो विद्यार्थीले कुरो बुझेर उत्तर लेख्यो भन्ने अर्थ लगाउन सकिन्छ। वस्तुगत प्रश्नहरु यस्तो बनाउनु पर्दछ जस्ले गर्दा कम्तिमा ५% विद्यार्थीहरुले हरेक विकर्षकमा चिन्हो लगाएका होऊन्। गहिरिएर सोच्नुपर्ने परिस्थिति सिर्जना गर्नु वा भ्रम सिर्जना गर्नु नै विकर्षक विकल्पहरुको उपादेयता हो।
कुनै दुई वा दुई भन्दा बढी विकल्पहरुमा परीक्षार्थीहरुको छनौट बराबरी भयो भने एकभन्दा बढी सही उत्तर पर्योर कि भनेर त्यसतर्फ पनि ध्यान जानु पर्दछ। मानौ परीक्षर्थीहरुमद्धे ४० प्रतिशतले ‘क’मा र अर्को ४० प्रतिशतले ‘ख’मा चिन्हो लाए। बाँकी रहेका २० प्रतिशतले ‘ग’ र ‘घ’मा चिन्हो लाए। यस्तो प्रश्नमा ‘क’ र ‘ख’ दुबै उत्तर हुन् कि भनेर पनि हेर्नु पर्दछ। गतिला विकर्षकहरु नभए वस्तुगत प्रश्नमाथि नै प्रश्न खडा हुन्छ। त्यस्ता प्रश्नहरुले हामीले चाहेको विषयको मूल्याङ्कन गर्दैन। त्यसैले प्रश्नमा प्रयोग गरिएका विकर्षक विकल्पहरुको उपादेयता उचित छ छैन भनेर विश्लेषण हुन जरुरी छ। अन्यथा प्रश्न वैध नहुन सक्छ। त्यसैले प्रश्नहरु विषयगत विशेषज्ञ, शिक्षाविद् र भाषामा दक्ष व्यक्तिहरुको टोलीको आवश्यकता पर्दछ।
प्रश्नपत्रको सबै वस्तुगत प्रश्नहरुको वैधता र विश्वनीयता जाँच हुनु पर्दछ। यदि वैध प्रश्नहरुको न्यूनतम सङ्ख्या तथ्याङ्क शास्त्रको नियमानुसार ग्राह्य छ भने त्यो प्रश्नपत्र विश्वसनीय पनि मानिन्छ। ती प्रश्नहरु स्तरीय पनि मानिन्छन्। वैधता र विश्वसनीयतामद्धे मुख्य कुरो वैधता हो। वैधता बढ्दै गएमा विश्वसनीयता पनि सम्बोधन हुँदै जान्छ। हुनत, विश्वसनीयताको लागि पनि सूत्रहरु छन्। यसरी वैध प्रश्नहरुको उचित सङ्ख्याले प्रश्नपत्रको वैधता र विश्वसनीयता सुनिश्चित गर्न सकिन्छ। माथि उल्लेखित तीनै वटा (कठिनाइ, भेदभाव, विकर्षकहरुको उपादेयता) सूचकाङ्कहरु राम्रा भएका प्रश्नलाई विश्वविद्यालयको प्रश्न बैंकमा राख्ने गरिन्छ।
व्याख्यामा लामो लागे पनि कम्प्युटरको प्रयोगले उल्लेखित गणित एकदमै सहज छ। यो काम कुनै पनि स्प्रेडसिट जस्तै एक्सेलमा गर्न सकिन्छ। तर हालसम्म नेपालमा माथि उल्लेखित विधि/सूत्र प्रयोग गरेर प्रश्नहरुको वैधता जाँच्ने वा बैंक बनाउने चलन छैन। यसरी स्तरीय बनाइएका प्रश्नहरुको हरेक विश्वविद्यालमा आफ्नै बैंक हुनुपर्ने हो। हरेक शिक्षण संस्थाको परीक्षा हेर्ने निकायले गर्नुपर्ने काम हो यो। नेपालमा यस्तो प्रणाली सुरु नै भएको छैन भन्न मिल्छ। न प्रवेश परीक्षाका लागि, न त वार्षिक वा अन्तिम परीक्षाका लागि। परीक्षाहरु राम भरोसे नै चलिरहेका छन्। पाटन स्वविप्रमा भने केही हदसम्म यस्तो काम गरिन्छ।
प्रश्न बैंक
१. सुरुका केही वर्ष नमुना परीक्षा सन्चालन गर्नु पर्दछ। यी प्रश्नलाई नमुना परीक्षार्थीहरु माझ प्रयोग गरिन्छ। नमुना परीक्षार्थीहरु वास्तविक परीक्षामा जाँच दिने खालका हुनुपर्दछ। त्यस्ता परीक्षार्थीहरु गएको सालको वास्तविक परीक्षामा सरिक भएकालाई सूचित गरेर बोलाउन सकिन्छ। गत साल पास भएकालाई मात्र बोलाए झन राम्रो। त्यसपछि माथि भनिएको प्रश्न विश्लेषण गरी असल प्रश्नहरु छानेर प्रश्न बैंकमा राख्नु पर्दछ।
२. सँगसगै, काम चलाऊ अर्को उपाय पनि गर्नुपर्छ। अर्थात, हरेक वास्तविक परीक्षाका लागि तयार पारिने प्रश्नहरुको विषयगत विशेषज्ञ, शिक्षाविद्, र भाषामा दक्ष व्यक्तिहरुको टोलीले सघन रूपमा पूर्व-प्रमाणीकरण गर्नु पर्दछ। यो काम चलाउनका लागि मात्र हो किनभने यी प्रश्नहरु गणितीय सूत्रले विश्लेषण गरिएका छैनन् न त प्रश्न बैंकबाट लिइएका हुन्। यी प्रश्नहरुको पनि प्रश्न विश्लेषण गरेर सम्बन्धित विज्ञहरुले ग्राह्य मानेका प्रश्नहरुलाई भविष्यका लागि बैंकमा राख्नु पर्दछ।
३. माथि दुई बुँदामा भनिएको नमुना र वास्तविक परीक्षाहरुमा प्रयोग गरिएका प्रश्नहरु मध्येबाट ग्राह्य प्रश्नहरुलाई बैंकमा राखेर बैंकलाई धनी बनाउनु पर्दछ। कुनै पनि गुणस्तर परीक्षा/शिक्षाका लागि नेपालका विश्वविद्यालयहरु वा परीक्षा सन्चालन गर्ने निकायहरुको मुख्य दायित्व हो यो। बैंकमा प्रशस्त प्रश्नहरु भरिएपछि ती मध्येबाट कम्प्युटरकृत अनियमित (रेन्डम) किसिमले आवश्यक प्रश्नहरु झिकेर आगामी परीक्षामा प्रयोग गर्न सकिन्छ। यो विश्वव्यापी मान्यता हो।
४. मनोवृत्ति मूल्याङ्कनको लागि पनि यसरी नै प्रश्नहरु बनाइ, विभिन्न चरणमा विश्लेषण गरी ग्राह्य प्रश्नहरु बैंकमा राख्नु पर्दछ।
५. यी सबै कामको लागि निष्ठावान विषयगत विशेषज्ञ, शिक्षाविद्, र भाषामा दक्ष व्यक्तिहरुको टोली बनाइ परीक्षाको व्यवस्थापन गर्नुपर्ने देखिन्छ। त्यसो नहुँदा गलत नियतका कारणले वा अन्जानमा प्रवेश परीक्षामा त्रुटि हुने गरेको छ।
राजनीतिक इच्छा जाहेर गरिएको राष्ट्रिय एकल प्रवेश परीक्षा, यदि वैध र विश्वसनीय प्रश्नहरु प्रयोग गरेर गर्ने हो भने कम्तीमा ५ वर्षको गृहकार्य आवश्यक देखिन्छ। आजको भोलि नै यो काम सम्भव छैन। हैन, काम चाँडो गर्नुपर्ने छ, अर्को साल त नगरी हुँदैन, भन्ने हो भने, प्रश्नहरु किनेर ल्याउन पनि सकिन्छ। विदेशबाट प्रश्नहरु ल्याएर काम चलाउने हो भने पैसा खर्च हुने मात्र होइन, आफ्ना मौलिक प्रश्नहरु बन्दैनन्, न त ती प्रश्नहरुको बैंक नै बन्दछ। विदेशबाट ल्याइने प्रश्नहरुको पनि वैधता र विश्वसनीयता यकिन गर्नुपर्छ नि! कुरो बुझियो, काम कठिन छ।
अन्त्यमा, पहिलो त डाक्टर हुन चाहने व्यक्तिको विज्ञान विषयहरुका अतिरिक्त मनोवृत्ति समेत समावेश गरी मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ भने अर्कोतिर विज्ञानकै प्रश्नहरुको वैधता वा स्तरीयता कायम गर्ने प्रक्रिया सुरु गर्नुपर्ने छ। अर्को महत्वपूर्ण विषय भनेको प्रवेश परीक्षाको आम स्वीकार्यता या विश्वसनीता बढाउनु हो। यी सबै मुद्दाहरुलाई ध्यानमा राखी प्रवेश परीक्षालाई मर्यादित बनाउनु पर्ने दिन आएको छ। त्यसैले प्रत्यक्ष सरोकार राख्ने निकायहरु (चिकित्सा शिक्षा आयोग, काउन्सिल, विश्वविद्यालयहरु, परीक्षा सन्चालकहरु) एमबिबिएस प्रवेश परीक्षाको वैधता र विश्वसनीयता कायम गर्नका लागि जिम्मेवार हुन जरुरी छ।
(डा पौडेल चिकित्सा शिक्षाविद् हुन्)