दसैंमा प्रायः घरमै बस्छु। चिकित्सा सेवाका सुरुवाती दिनमा जिल्लामा बस्दा घर जान पाइँदैनथ्यो। त्यो समयमा दसैं केही खल्लो पनि भएको थियो।
आमाबुबा हुँदा झापास्थित घरमा दसैं मनाउन जाने गथ्र्यौं। उहाँहरुको स्वर्गारोहणपछि भने काठमाडौंमा दसैं मनाउने गरेका छौं। हाललाई घरपरिवार र ससुरालीतर्फका इष्टमित्र पनि काठमाडौँमै हुनुुहुन्छ। त्यसैले बाहिर जानु पर्दैन।
कहिलकाहीँ आकस्मिक आउनुपर्ने बाहेक अहिले खासै ड्युटीको चाप हुँदैन। मेडिकल अफिसर हुँदा भने दसैंको धेरै समय अस्पतालमै बित्थ्यो।
पाँचथरमा पोस्टिङ हँुदा म जिल्लाको एक्लो डाक्टर थिएँ। त्यसैले जिल्ला छोड्न पाइँदैनथ्यो। नेपालीको ठूलो चाड भएकाले त्यो क्षणिक नरमाइलो पनि लाग्थ्यो। तर म आफ्नो कर्तव्य सम्झेर ड्युटी गर्थें।
दसैं प्रायः रमाइलो नै हुन्छ। चिकित्सक भएको नाताले कतिपय समयमा दसैं मनाउन नपाएका क्षणहरु पनि छन्।
अलि जुनियर हँुदा दसैंको टीका छुटेका छन्। स्वास्थ्य जस्तो पेसामा लागेपछि बिरामीको सेवालाई जिम्मेवारीको रुपमा लिनुपर्छ। दसैं त अर्को वर्ष पनि आउँछ, उपचार अहिले नै गर्नु जरुरी छ भन्ने सोचाइ सधैं हुनु हुनुपर्छ।
प्रायः दसैं घरपरिवारसँगै बित्छ। यो समयमा आफ्ना बाँकी रहेका कामहरु सक्छु। यो समय मनोरञ्जनको लागि बिताउने गर्छु। मलाई फिल्म हेर्न औधी मन पर्छ। त्यसमा पनि साउथ इन्डियन फिल्म हेर्न निकै रमाइलो लाग्छ।
दिमागले केही सोच्न नपर्ने एक्सनले भरिपूर्ण त्यस्ता फिल्म राम्रो लाग्छ। दसैंको दिन घरमै टीका लगाउने, लगाउन जाने क्रममै बित्छ।
दसैं रमाइलो र फुर्सदको समय भएकाले सकेसम्म शारीरिक व्यायाम गरौँ। अरु समयमा १५ मिनेट १० गथ्र्यौं भने यो समयमा आधा घन्टा, एक घन्टा व्यायाम गरौँ।
दसैंमा रमाइलो गर्ने नाममा धेरै मदिरा र धूमपान सेवन नगरौं। मासु खाने पर्व भएकाले मासु त खाऔं तर सकेसम्म कम खाऔँ।
ठूलोभन्दा सानो जनावरको खाऔँ। राँगा भन्दा खसी, खसीभन्दा चिकेन र चिकेन भन्दा माछा स्वास्थ्यको लागि राम्रो हो। त्यसैले अघिपछिको समयमा जस्तै प्रशस्त हरियो सागपात, फलफूल, पानी पिऔँ। बिरामीले पनि नियमित औषधि सेवन गर्दै सन्तुलन खानपानमै ध्यान दिऔं।
(क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेलसँग कल्पना पौडेलले गरेको कुराकानीमा आधारित)