चिकित्सा सेवाबाट जनताले ग्यारेन्टी चाहन्छन्। तर उपचार विधिमा भने रोग सन्चो हुने/नहुने भन्ने विषय जनचाहना भन्दा फरक छ। कुनै पनि रोगको उपचार त्रिपक्षीय हुन्छ: डाक्टरको पक्ष, बिरामीको पक्ष र ती दुईको बीचमा पर्ने उपचार विधि। यी तीनै पक्षहरु मिले भने रोग सन्चो हुने सम्भावना बढी हुन्छ। यिनै विषयहरुमा केन्द्रित छ यो लेख। यो लेखको लक्षित पाठक हुन्: सर्वसाधारण जनता, बिरामी, डाक्टरदेखि स्वास्थ्य क्षेत्रका शोधकर्तासम्म।
जीवनमा ग्यारेन्टी
यस लेखको ब्याख्या एउटा सान्दर्भिक उदाहरणबाट सुरु गरौं। मानौं हामीले काठमाडौंबाट विराटनगर जाने निर्णय गर्यौंच। बसको टिकेट किन्यौं। काठमाडौंबाट बिहान पाँच बजे बस हिंड्यो। के हामी काठमाडौंबाट हिंडेकै दिन साँझ ६ बजे विराटनगर पुग्ने ग्यारेन्टी (१०० प्रतिशत सम्भावना) छ त? ग्यारेन्टी छ कसरी भन्ने (?) बरु पुगिन्छ होला भन्न चाहिँ सकिन्छ। अर्थात्, ग्यारेन्टी छैन. सम्भावना त धेरै नै छ तर ग्यारेन्टी भने छैन।
त्यसो भए हाम्रो यात्राको अर्को पाटो हेरौं: के हिंडेकै दिन साँझ विराटनगर पुग्दै पुगिंदैन (० प्रतिशत सम्भावना) भनेर उल्टो ग्यारेन्टी गर्न सकिन्छ त? यो पनि गर्न सकिंदैन। फेरि भनिन्छ पुगिन्छ होला। 'होला' भनियो। अर्थात्, सम्भावनाको कुरो गरियो। भनाइको मतलब, विराटनगर पुग्ने १०० प्रतिशत ग्यारेन्टी छैन, त्यस्तै पुग्दै नपुग्ने (० प्रतिशत) पनि होइन। अथवा, गन्तब्यमा पुग्ने सम्भावना सय भन्दा कम र शून्य भन्दा बढी छ। पक्का पुगिन्छ र पुग्दै पुगिंदैन भन्ने यी दुवै अवस्थामा अनेकन कारक तत्वहरुले भूमिका खेलेका हुन्छन्। पक्का पुगिन्छ भन्ने पक्षका कारक तत्वहरु हुन्: बाटो राम्रो छ, भरपर्दो यातायात हो, गाडी ठीक छ, ड्राइभर ठीक छ, समयमै हिंडेको छ, आदि। पुगिंदैन कि(?) भन्ने पक्षका कारक तत्वहरु हुन्: बाटो बिग्रेको छ, खै… पहिले यो यातायातको बसमा कहिल्यै गएको छैन, गाडी या ड्राइभर कस्ता छन् थाहा छैन, वर्षाको बेला हो बाटो राम्रो छैन, पहिरो पो गएको छ कि, कहीं कतै चक्काजाम पो हुन्छ कि, इत्यादि।
यस्तैगरी, कुनै खेतीबाट कति बाली भित्रिन्छ भनेर पनि ठोकुवा (ग्यारेन्टी) गर्न सकिंदैन। त्यस्तै, छोरी १० कक्षामा पढ्छे डाक्टर बन्छे भन्ने पनि ठोकुवा गर्न सकिंदैन। यी जीवनका यावत क्षेत्रहरुमा ग्यारेन्टी नभएर सम्भाव्यताको कुरा गर्न उचित हुन्छ।
औषधोपचारमा सम्भाव्यता
माथि भनिएको यात्रामा जस्तै औषधोपचारमा पनि विभिन्न कारक तत्वहरुले भूमिका खेलिरहेका हुन्छन्। सम्भाव्यता अध्ययन गर्दा यी दुवै पक्ष उस्तै किसिमका लाग्छन्। मानौं, एउटा १० वर्षे बालकलाई दाहिने हातको हड्डी भाँचिएकाले अस्पताल ल्याइयो। त्यसरी नै ७० वर्षीय एक बुढी आमा हातकै हड्डी भाँचिएर आएकी रहिछन्। भाँचिएको अनुसार दुवैको समस्या एउटै हो। त्यसो भए, कसको हड्डी पहिले जोडिएला त? सायद बालकको। किनभने ऊ बढ्दो उमेरको छ, उसको शरीरमा मर्मत-सम्भार गर्ने क्षमता राम्रो होला। तर यदि त्यो बालक कुपोषणले ग्रसित छ, उसलाई अस्पताल ढिलोगरी पुर्याकइयो, अस्पतालमा जाँच-पड्ताल पनि ढिलोगरी भयो भने उसको पनि हड्डी जोडिने सम्भावना कम हुँदै जान्छ। ती बूढीमाउको उमेरले नै भन्छ उनको शरीरले गर्ने भित्री मर्मत-सम्भार क्षमता नै बच्चाको भन्दा कमजोर हुन्छ। यदि मधुमेह, दम आदि रोगहरु पनि छन् भने तिनको हड्डी जोडिन झन् गाह्रो होला। यसरी परिस्थितिजन्य यावत तत्वहरुले स्वास्थ्यमा वा रोगी अवस्थामा तल-माथि गराउँछन्। त्यसैले औषधोपचार परिस्थितिजन्य हुन आउँछ। त्यसैले रोग निको हुने विषय सम्भावनामा हिसाब गर्नुपर्ने हुन्छ: निको हुने प्रबल वा माझ्यौला वा न्यून सम्भावनाका हिसाबले।
रोगबाट चाँडै ठिक हुन (वा राहत पाउन) बेलैमा अस्पताल पुग्नु पर्योट, सिपालु डाक्टर तथा नर्सले छिट्टै हेरिदिनु पर्योस। अन्य जाँच-पड्ताल पनि बेलैमा हुनुपर्यो, डाक्टरले सही उपचार विधि गर्नुपर्यो। बिरामीले सो विधिलाई स्वीकार्नु पर्यो र सकारात्मक रूपमा (दैनिक) अपनाउनु, शरीरका अन्य सहयोगी अङ्ग-प्रत्यङ्गहरु सबल हुनु पर्यो। आत्मबल दह्रो चाहियो, आहार पौष्टिक हुनु पर्योउ, अर्को भेटका लागि बोलाएको बेलामा डाक्टरलाई भेट्न जानु पर्यो आदि। यी यावत चिजहरु शरीरको पक्षमा भएमा सन्चो हुने सम्भावना प्रबल भएर आउँछ।
हामीले स्वास्थ्य सेवा लिने/दिने संस्था वा अस्पतालहरु पनि फरक-फरक छन्। त्यहाँ रोग थाहा पाउने वा उपचारका उपलब्ध साधनहरु पनि फरक छन्। डाक्टरहरु पनि सबै उत्तिकै सिपालु हुँदैनन्। त्यसैले सबै डाक्टरहरुप्रति जनमानसको विश्वास उत्तिकै छैन। यो यथार्थ हो। त्यसैले त बिरामीहरु कुन अस्पताल/क्लिनिक जाने होला कसलाई देखाउने होला भनेर सोधपुछ गर्ने गर्दछन्। उनीहरुका लागि पाइला पाइलामा ग्यारेन्टीको खोजी छ।
अन्य विधाहरुमा समेत सम्भाव्यता
के कुराको ग्यारेन्टी छ त? सायद मर्ने कुराको। तर कुन मितिमा कतिबेला मर्ने हो भन्ने थाहा छैन अथवा मर्ने क्षणको पनि ग्यारेन्टी छैन। ग्यारेन्टी नभएपछि फेरि आउँछ सम्भावनाको कुरो। व्यायाम गरे, यस्तो चिज खाए, उस्तो चिज नखाए अली बढी बाँचिएला नत्र चाँडै नै मरिन्छ भन्न सकिन्छ।
ग्यारेन्टी छ भनेर मानिने सबैले जानेको कुरो हो सूर्योदय। त्यो त पक्कै हुन्छ। तर घाम लाग्छ कि लाग्दैन भन्ने ग्यारेन्टी भने फेरि गर्न गाह्रो छ। हिउँद हो घाम लाग्ला, वर्षायाम हो घाम लाग्ने नलाग्ने भन्न मुस्किल छ आदि।
भौतिक शास्त्रका केही नियमहरुमा ग्यारेन्टी भएको देखिन्छ। जस्तै, गुरुत्वाकर्षण या गतिका सिद्धान्तहरुमा। यदि कुनै वस्तु उचाइबाट खसालियो भने त्यो वस्तु पृथ्वीको केन्द्रविन्दु तिर (तल) तानिन्छ/झर्छ। तर त्यस शास्त्रमा पनि भित्री रूपमा हेर्ने हो भने ग्यारेन्टी होइन सम्भावनाको खेल पाइन्छ। जस्तै, कुनै वस्तुको अणुको वा त्यसभन्दा तलको सूक्ष्म स्तरमा झरेर हेर्ने हो भने प्रशस्त अस्थिरता देखिन्छ। अणुहरु कम्पनको स्थितिमा हुन्छन्। जबकि बाहिरबाट त्यो वस्तु समुच्चा रूपमा हामीलाई स्थिर लाग्छ। आणविक भौतिक शास्त्रमा अर्थात् अणुको सतहमा भएको एलेक्ट्रोन कतिखेर कहाँ हुन्छ भनेर ठोकुवाका साथ भन्न सकिंदैन। यो विषय रसायन शास्त्रमा पनि पढिन्छ। यी नियमहरु हाम्रो शरीरमा पनि चलिरहेका हुन्छन्, जीवविज्ञानका नियमहरुसँग अन्तर्क्रियामा हुन्छन्।
मानिस सामाजिक प्राणी भएकाले उसको शरीर थप (सामाजिक कारक) तत्वहरुसँग पनि अन्तर्क्रियामा हुन्छ। समाज शास्त्रमा त अत्यधिक कारक तत्वहरु एक-आपसमा अन्तर्क्रिया गरिरहेका हुन्छन्। यी तत्वहरुमध्ये कुनै जोडिन्छन्, कुनै एक-अर्कोलाई तटस्थ बनाउँछन् त कुनै अन्य दुई वा दुईभन्दा बढीको बीचमा गुणा पनि हुन सक्छ। गुणा हुनु भनेको अत्यधिक बढ्नु हो किनभने गुणन गर्नु भनेको धेरै पटक जोड्नु हो। कतिपय अवस्थामा त जोड, घटाऊ र गुणन सबै एकैचोटी भइरहेका हुन सक्छ। जस्तै, शारीरिक परिश्रम गरिन्छ, खाना पौष्टिक छ भने यी दुई चिजको योगात्मक (सकारात्मक) प्रभाव हाम्रो शरीरमा पर्छ। त्यो दुई जोड दुई चार भन्दा बढी हुन सक्छ। यसको उल्टो, यदि व्यायाम छैन अनि खाना भने मन लागेको (अधिक) खाइन्छ भने गुणात्मक हिसाबले बढी नकारात्मक हुन्छ। त्यस्तो अनेकन तत्वहरु माझ हुने जटिल अन्तर्क्रियालाई विज्ञानमा बिज-गणितीय योग भन्ने चलन छ।
समाजका नियमहरु जीवविज्ञान वा चिकित्सा शास्त्रमा पनि लागू हुन्छन् किनभने हामी समाजका अनेकौं तत्वहरुसँग अन्तर्क्रिया गरिरहेका हुन्छौं। रोग लाग्यो भने हाम्रो स्वस्थ शरीरमा प्रभाव पार्ने विभिन्न तत्वहरुमा यी थप (सामाजिक) तत्वहरु समेत चलखेल गर्छन्। यसरी प्रकृतिमा कारक तत्वहरु वा अवस्थाहरुको अन्तर्क्रिया चलिरहेका हुन्छन्। हामी तिनिहरुसँग जुधिरहेका हुन्छौं।
अर्थात्, मानव शरीर जीवविज्ञानका, भौतिक जगतका र सामाजिक विभिन्न तत्वहरुको बीचमा हुने अन्तर्क्रियाको उपज हो। रोग भन्ने अर्को तत्व थपिने बित्तिकै त्यो सँगै अन्य सहायक तत्वहरु पनि जोडिन आउन सक्छन्। शरीरमा प्रभाव पार्ने मानसिक र आध्यामिक विषयहरु त हामीले कुरै गरेका छैनौं। यति धेरै चिजहरुबीच अन्तर्रिसकया हुने भएपछि कसरी ग्यारेन्टी गर्ने रोग निको हुन्छ भनेर? त्यसैले रोगबाट मुक्ति पाइने वा केही हल्का हुने विषय सम्भावनामा व्यक्त गर्नु उचित हुन्छ। कतिपय डाक्टरहरुले गरी पनि रहेका होलान्। तर कतिपयले "हामीकहाँ उपचार गराउनुभयो भने सन्चो हुने ग्यारेन्टी छ" भनेर बिरामीलाई आकर्षण गरेको पाइन्छ। यो गलत हो, ठगी हो।
के बलियो? वंशाणु कि वातावरण?
अर्को हामीले कुरो गर्न बाँकी विषय हो शरीरमा वंशाणुको प्रभाव। वंशाणुले कुनै एक व्यक्ति वा जीवको जीवनकालमा अधिकांश रूपमा प्रभाव पर्छ। कतिपय अवस्थामा निर्णय नै गर्छ भन्न मिल्छ। जस्तै वंशाणुमा खराबीका कारण भ्रूणको स्वत: गर्भपतन पनि हुन सक्छ। यदि बच्चा जन्मिए पनि रोगी वा अपाङ्ग हुन सक्छ। एकथरी मधुमेह त जन्मदेखि नै लागेको हुन्छ। धेरैजसो देखिने मधुमेह चाहिँ वयस्क अवस्थामा हुने हुन्छ।
वंशाणुले कुनै मानिसको स्वभाव कस्तो होला, रोगहरुले सताउलन् कि नसताउलान्, भन्ने आदि विषय पनि जन्मदेखि नै आउने हुन्। करिबकरिब ज्योतिषशास्त्रले भन्ने जस्तै। यो हो वंशाणुले एउटा व्यक्तिमा वा पुस्तामा गर्ने प्रभाव। यति हुँदाहुँदै पनि यदि उसको शिक्षा-दीक्षा र जीवनशैली राम्रो भयो भने ऊ शारीरिक रूपमा स्वस्थ हुन पनि सक्छ वा लाग्न सक्ने रोग ढिलो गराउन सकिन्छ।
धेरै पुस्ताको कुरो गर्ने हो भने शरीरभन्दा बाहिरका तत्वहरु वशांणुभन्दा बलिया देखिन्छन्। प्रकृति (हावापानी, जाडोगर्मी, भौगोलिक परिस्थिति, खाध्यान्न उब्जनी आदि) र समाजका (चालचलन, खानपिन, सरसफाइ, शिक्षा, धारणा, औषधोपचारको उपलब्धता आदि) अनेकन अवस्थाहरुले हरेक पुस्तामा निरन्तर प्रभाव पार्दै जाने हुनाले केही पिंढीपछि वंशाणुमा नै परिवर्तन ल्याउन थाल्छन्। यस किसिमले पुस्तौंपुस्तामा शरीरमा पर्ने प्रभाव अध्ययन गर्दा वंशाणुभन्दा वातावरणीय पक्ष बलियो देखिन्छ। उदाहरणको लागि कुनै एक जोडीले समतल भूभागबाट उच्च पहाडी क्षेत्रमा बसाइ-सराइ गर्योे। सुरुका दिनहरुमा तिनिहरुलाई लेक लागेर बाँच्नै गाह्रो हुन्छ। खानपिनमा पनि समस्या पर्छ। नयाँ रीतिरिवाजमा घुलमेल हुन समय लाग्छ। यदि जसोतसो बचे र घुलमेल भए भने उनीहरुको जिन्दगी चल्ला। तर त्यो नयाँ वातावरणको प्रभाव उनीहरुको सन्तानको शारीरिक पक्षमा पर्दै जान्छ। उनीहरुको जति पुस्ता त्यहाँ व्यतित गर्दै जान्छन् भावी सन्ततिको शारीरिक बनावट त्यति नै त्यही भूभागमा बस्ने स्थानीयको जस्तै हुँदै जान्छ। त्यसैले हाम्रा वंशाणुगत गुणहरु पनि बदलिंदै जान्छन्। अर्थात् ती स्थायी होइनन्। मतलब, वंशाणुगत चिजहरु पनि वातावरणीय तत्वहरुसँग जुध्दा-जुध्दै परिवर्तन हुँदै जान्छन्। त्यस्तै भएको मान्न सकिन्छ नेपालमा पहाडी क्षेत्रमा पुस्तौं पहिले आएर बसोबास गरेका खस-आर्यहरुमा। उनीहरु दक्षिण एसियाको दक्षिण वा पश्चिमबाट पुस्तौं पहिले आएका हुन् भन्ने केही अध्ययनहरुले देखाएका छन्। अहिले उनीहरु न अफगानिस्तानका जस्ता न त दक्षिण-पश्चिम भारतका जस्ता देखिन्छन्।
यति धेरै अवस्थाहरु वा तत्वहरुले निरन्तर रूपमा बिज-गणितीय तवरले हाम्रो शरीरसँग अन्तर्क्रिया गरिरहेका हुनाले स्वस्थ रहने वा बिरामी भएपछि कस्तो सुधार हुने भन्ने विषय सम्भावनामा हिसाब गर्नुपर्ने हुन्छ। यसरी शरीरमा पार्न सक्ने चिजहरुको हेक्का राख्न सकियो भने जीवन सरल बनाउन मात्र होइन स्वस्थ्यता र रोगहरुका बारेमा गरिने शोधकार्यमा पनि मद्दत पुग्छ।
अब डाक्टरले जे गरे पनि हुने?
औषधोपचारमा सम्भाव्यताको खेल भए के डाक्टरले अब जे गरे पनि हुने हो त? होइन, कदापि होइन। डाक्टरले नवीनतम विश्वसनीय शोधको निचोडको आधारमा बिरामीको उपचार गर्नुपर्छ। स्वास्थ्य वा अन्य कुनै पनि क्षेत्रमा तुलनात्मक शोधकार्यको नतिजा तथ्याङ्क शास्त्रको सूत्रहरु प्रयोग गरेर सम्भाव्यतामा व्यक्त गरिन्छ। यदि पहिले गरिएको शोध फेरि त्यस्तै परिस्थितिमा दोहोर्या इयो यो भने नतिजा पहिलेको जस्तै आउँछ भनेर भनिन्छ। अर्थात्, पूर्व सर्त राखेर यस्तो यस्तो परिस्थितिमा फेरि शोध गरियो भने त्यस्तै नतिजा आउने सम्भावना १०० मा कति हुन्छ (?) भनेर भनिन्छ। डाक्टरले पढ्ने शोधकार्यको निचोड नै सम्भावनामा व्यक्त हुन्छ भने औषधोपचारको नतिजामा ग्यारेन्टी हुने कुरै भएन। यसको अर्थ यो होइन कि अब डाक्टरले जे गरे पनि हुने भयो। यसको अर्थ यो पनि होइन कि बिरामीले उपचारबाट आस मार्नुपर्यो। त्यसैले डाक्टरले उपचार गर्दा सम्बन्धित रोगबारेको नवीनतम विश्वसनीय शोधकार्य पढेर बुझेर आफूलाई अध्यावधिक राख्दै तथ्यपरक ढंगले काम गर्नुपर्योद। यो विश्वव्यापी मान्यता हो। यस प्रसंगमा असल डाक्टरका गुणहरु बारे यसै संचार माध्यममा प्रकाशित लेख (राम्रो डाक्टरमा हुनुपर्ने ६ गुण, २०७६/६/८) पठनयोग्य छ।
त्यसो भए बिरामीले आस मार्ने त?
उपचारका तीनै पक्षहरु (डाक्टर, बिरामी र उपचार विधि) मिले भने रोग सन्चो वा सुधार हुने सम्भावना बढ्छ। यी सबै हुँदाहुँदै पनि माथि भनिए जस्तै विविध कारणवश उपचारमा ग्यारेन्टी नहुने भन्ने स्थिति आउन सक्छ। त्यस्ता अवस्था जीवनकालमा भइरहने हुनाले बिरामीले चाहिँ डाक्टरलाई सोध्नु पर्यो “मेरो ठीक हुने सम्भावना कति छ डाक्टर सा’ब” भनेर। यसो भयो भने कुरो सही हुन्छ। यदि डाक्टरले सम्भावनाको दृष्टिले तपाईंलाई कुरो नबुझाई ग्यारेन्टी दिन्छ भने पत्याउनु हुँदैन। त्यो वैज्ञानिक हिसाबले नभएर व्यापारिक हिसाबले बोलिएको बुझ्नुपर्छ।
तसर्थ: स्वास्थ्योपचारबाट लाभ हुने भन्ने विषय सम्भाव्यतामा आधारित छ। त्यसो भन्दैमा डाक्टरलाई मनपरी गर्ने छुट हुँदैन। डाक्टरले नवीनतम शोधको नतिजालाई ध्यानमा राखी औषधोपचार गर्नुपर्छ। र बिरामी पक्षले पनि डाक्टरसँग आफ्नो अवस्था राम्रो हुने अधिकतम सम्भावनाको आसययुक्त प्रश्न गर्नुपर्छ।
(डा पौडेल चिकित्सा शिक्षाविद् र चिकित्सकीय शरीरक्रिया विज्ञान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन्)