राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा ई- हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ, टेलिमेडिसिन लगायत अन्य आधुनिक प्रविधिको विकास, बिस्तार तथा नियमन गर्ने भनी उल्लेख भए बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविस्यमै नेपालका दुर्गम स्थानहरुमा रहेका जिल्ला अस्पतालहरूलाई प्रादेशिक तथा संघिय अस्पतालहरुसंग जोडेर टेलिमेडिसिन सेवा पुनः सुरु गर्दैछ।
नेपालमा टेलिमेडिसिन सेवाको इतिहास
नेपालमा टेलिमेडिसिन सेवा नौलो बिषय भने होइन। सरकारी तवरबाटै यो सेवाको सुरुवात स्वास्थ्य सेवा अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले सन् २०१० मा २५ र सन् २०१२ मा थप ५ गरी ३० दुर्गम जिल्लाहरुबाट संचालनमा ल्याएको थियो। सरकारीस्तरबाट संचालित यो सेवा २-३ बर्षमै स्थगित भए पनि अन्य केही संस्थाहरुबाट आफ्नै प्रयासमा यो सेवा अहिले पनि सुचारु रहेको पाइन्छ। यो सेवा अहिले वीर अस्पताल, पाटन अस्पताल, धुलिखेल अस्पताल, काठमाडौं मोडेल अस्पताल तथा अन्य संस्थाहरुबाट कुनै न कुनै रुपमा प्रबाह भैरहेको देखिन्छ। हाल धेरै सरकारी अस्पतालहरुमा पनि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुले विभिन्न एप्लिकेशन तथा सामाजिक सञ्जालहरुमा समूह बनाई, उपचारको क्रममा सरसल्लाह र परामर्स लिई बिरामीहरुलाई यथास्थानबाट सेवा दिएको पाइन्छ र यो युवा चिकित्सकहरु माझ निकै लोकप्रिय पनि छ।
के हो त टेलिमेडिसिन सेवा?
टेलिमेडिसिन अर्थात् दूर-चिकित्सा, चिकित्सा क्षेत्रमा भएको नविनतम विकासहरुमध्ये पर्दछ। सामान्य हिसाबमा बुझ्ने हो भने विभिन्न प्रविधिको प्रयोग गरेर एक ठाँउको बिरामीलाई अर्को ठाँउको चिकित्सक वा स्वास्थ्यकर्मीसंग परामर्श लिएर उपचार गर्नुलाई नै टेलिमेडिसिन भनेर बुझ्नु पर्दछ। यसको दायरा एउटा सामान्य मोबाइलमा गरिने परामर्शदेखी लिएर, भिडिओ कन्फ्रेन्स, वेबिनार आदिसम्म हुन सक्छ।
यदि हामीले टेलिमेडिसिनलाई दुर्गम क्षेत्रका लागि मात्र हो भनेर बुझ्यौँ भने हामी गलत हुनेछौं, किनभने विकसित देशहरुमा पनि एक ठाँउको विज्ञता तथा प्रविधिलाई अर्को ठाँउमा प्रयोग गर्न टेलिमेडिसिनकै प्रयोग गरिन्छ। टेलिमेडिसिनको माध्यमबाट बिरामीको उपचारकोलागि परामर्श मात्र होइन आजभोलि यसको प्रयोग गरेर एक ठाँउका चिकित्सकले अर्को ठाँउका बिरामीको शल्यकृया समेत गर्ने गरेको उदाहरणहरु पाइन्छ। टेलिमेडिसिन स्वास्थ्यकर्मीहरुबीच चिकित्सा क्षेत्रमा भएका नविनतम खोज अनि अनुसन्धानका बारेमा अनुभब साटासाट गर्ने माध्यम पनि हो। एक ठाँउमा सफल भएको उपचार पद्धति अर्को ठाउमा प्रयोग गर्न सक्ने अवसर पनि टेलिमेडिसिनको माध्यमबाट सम्भब हुन्छ। स्वास्थ्यकर्मीहरूले आफ्नो ज्ञान, सिप, क्षमता बढाउने सजिलो माध्यम पनि यो हुन सक्छ।
नेपालमा टेलिमेडिसिन सेवाको औचित्य र सम्भावना
नेपालमा टेलिमेडिसिन सेवाको औचित्यको सबैभन्दा ठूलो पुस्ट्याई यसको बिकट भूगोललेनै गर्दछ। दुर्गम स्थानमा बिषेशज्ञ स्वास्थ्यकर्मीहरु नपुगेको अबस्थालाई मध्यनजर गर्ने हो भने त्यस्ता ठाँउमा बसोबास गर्ने सेवाग्राहीहरुको बिषेशज्ञ सेवासम्मको पहुँचलाई यो सेवाले धेरै हदसम्म टेवा दिन सक्छ। कल्पना गर्नुहोस दार्चुलामा बसेको एउटा बिरामीलाई उसको शरीरमा देखा परेका दाग वा घाउ स्थानीय स्वास्थ्यकर्मीले टेलिमेडिसिनको माध्यमबाट उपचार गरिदिए भने त्यो सेवाग्राहीको धनगढी वा काठमाडौं धाउनुपर्दा लाग्ने खर्च अनि धेरै समस्याहरुबाट ऊ मुक्त हुनेछ। उसको लागि यो धेरै ठुलो राहत हुनेछ। त्यसैगरी अब मुगुमा हड्डी भाँचिएर आएको बिरामीको प्लास्टर ठीकसंग लाग्यो कि लागेन भनेर नत स्वास्थ्यकर्मीले पिर गर्नु पर्ने भयो नत स्वयम् बिरामीको मनमा दुबिधा हुने भयो, टेलिमेडिसिनले यहाँ पनि सहयोग पुर्याउने भयो। एउटा अस्पतालले गरेको कुनै सफल उपचार अर्को अस्पतालले अपनाउन चाहेमा, छलफल, परामर्श तथा सिकाई पनि टेलिमेडिसिनकै मार्फतबाट हुन सक्ने भयो। आफ्नो संस्थामा धेरै दिन अनुपस्थित भइ त्यसैकालागि तालिममा अर्को ठाउमा गइराख्नु पनि परेन।
कस्तो छ मन्त्रालयको तयारी?
विगतमा ठुलै धनराशी खर्च गरेर पनि उत्साहबर्द्धक रूपमा यो सेवाले गति लिन नसकेको तितो अनुभब मन्त्रालयसंग छ। बिगतमा भएका कमि कमजोरीहरुलाई सुक्ष्म रुपले केलाएर अघि नबढेमा फेरी पनि यो सेवाको दिगोपनामा प्रश्न उठ्न सक्छ भनेर सम्बन्धित निकाय अत्यन्त राम्रो तयारीकासाथ यो सेवा पुनः संचालन गर्न चाहन्छ। यो सेवालाई संचालनमा ल्याउने मुख्य जिम्मेबारी स्वास्थ्य सेवा विभाग अन्तर्गतको चिकित्सा सेवा महाशाखाको "अस्पताल सुदृधिकरण शाखा" ले पाएको छ। मन्त्रालयको प्रत्यक्ष अभिभाबकत्वमा यो महाशाखाले काम अघि बढाई रहेकोछ। यस क्षेत्रमा अनुभब प्राप्त बिज्ञहरुको राय सल्लाहमा कार्यक्रम संचालन कार्यविधि निर्माणको क्रममा रहेको छ।
विगतमा कार्यक्रम संचालन भएका जिल्ला अस्पतालहरुका स्वास्थ्यकर्मीहरुसंग प्रश्नाबलीका आधारमा स्थलगत छलफल गर्नुका साथै उक्त प्रदेसमा रहेका बहुबिषेशज्ञ सेवा रहेका अस्पतालका स्वास्थ्यकर्मीहरुसंग भेटेर जिल्ला अस्पतालहरूलाई कसरी जोड्न सकिन्छ भनेर रायसल्लाह लिने काम भइरहेको छ। यस्ताकिसिमका छलफल र अन्तरकृया सुदूरपश्चिम प्रदेस, कर्णाली प्रदेस तथा प्रदेस नं १ मा भैरहेका छन्। प्रारम्भिक छलफलका आधारमा जिल्ला अस्पतालहरूलाई उक्त प्रदेसको एक सुबिधासम्पन्न अस्पतालसँग जोड्ने र प्रदेषका अस्पतालहरूलाई संघ अन्तर्गतको कुनै केन्द्रीय अस्पतालसँग जोड्ने किसिमको प्रारम्भिक खाका तयार भएको छ। जिल्ला अस्पतालभन्दा तल, समुदायमा टेलिमेडिसिन सेवाको पहुँचका लागि टोल फ्री टेलिफोन सेवा हेलो हेल्थ संचालन गर्ने प्रारम्भिक तयारी रहेको छ। २४ सै घण्टा खुला रहने सो सेवाबाट आम नागरिकले अति सामान्य स्वास्थ्य उपचार पाउनुकासाथै थप सेवा नजिकको कुन संस्थाबाट प्राप्त गर्ने भन्ने जानकारी समेत प्राप्त गर्न सक्ने छन्।
कस्ता छन् चुनौतिहरु?
हेर्दा अत्यन्त सहायक र प्रभावकारी सेवा जस्तो देखिएता पनि यो सेवाका थुप्रै चुनौतिहरुलाई राम्रोसंग केलाउनु जरुरी देखिन्छ। विगतमा यो सेवाले निरन्तरता नपाउनुमा दुर्गम तथा सुगम क्षेत्रबीच प्रविधीको ठुलो खाडल, विद्युतको भरपर्दो व्यवस्था नहुनु, स्वास्थ्यकर्मीहरु प्रविधिप्रति आकर्षित नहुनु, उनीहरुले यसलाई थप कार्यबोझको रुपमा लिनु, यो सेवा दिए वापत कुनै प्रोत्साहन नहुनु तथा यो सेवाको कानुनी मान्यताको अभाव आदि चुनौतिहरु हुन सक्छन। यी समस्याहरुको समाधान गरेर अघि बढेमा मात्र यो सेवाले दिगोपना पाउनेछ।
सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताको सूचीमा रहेको यो सेवालाई प्रभावकारी, सर्वसुलभ तथा दिगो बनाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उपचारात्मक सेवा महाशाखा कृयाशील रहेकोले निकट भविष्यमानै यो सेवा संचालनमा आउनेमा विश्वस्त हुन सकिन्छ।
- (डा पोख्रेल उपचारात्मक सेवा महाशाखामा कार्यरत छन्)