स्वास्थ्य अति संवेदनशील क्षेत्र हो। मानव जीवनसँग जोडिएर आउने यस क्षेत्रमा हुने लापरबाहीको बारेमा भने धेरैलाई थाहा नै हुँदैन। हाम्रो स्वास्थ्य क्षेत्रमा आज मनपरीतन्त्रले बास गरेको छ।
जन्मिनु अगावै आमाको कोखमा रहेको शिशुलाई पनि आवश्यकता हुन्छ स्वास्थ्य। मानिसको सबैभन्दा ठूलो धन भनेको नै स्वास्थ्य हो। तर देशका हरेक देशवासीलाई स्वास्थ्यको पहुँचमा राख्ने र सहज रुपमा स्वास्थ्य उपचार दिलाउने कुरा भाषणमा मात्र थिए, छन् र हुने छन् भन्दा फरक नपर्ला।
देश बन्नको लागि देशका नागरिक स्वस्थ रहनु पर्छ। स्वस्थ रहनको लागि चेतनाले मात्र पुग्दैन। यसको लागि आवश्यक हुन्छ, स्वास्थ्य सुविधा। जसमा स्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्र, अस्पताल, सुविधा प्रदान गर्ने दक्ष जनशक्ति, उच्चस्तरीय प्रविधि, औषधि र सामग्री पर्छन्। तर के यी सबै छन् त स्वास्थ्य सुविधा प्रदान गर्ने ठाउँमा? यो प्रश्नको उत्तर सायदै आउला। छ भनेर निर्धक्क भएर कुनै पनि अस्पतालले जवाफ दिनसक्ने अवस्था नै छैन।
प्रसङ्ग जोडौं, राष्ट्रको एक मात्र केन्द्रीय कान्ति बाल अस्पतालको। जहाँ नर्सको अभावका कारण गुणस्तरीय सेवा पाउनबाट लाखौं बञ्चित भइरहेका छन्। सधैंजसो भरिभराउ रहने कान्ति बाल अस्पतालमा बिरामीले राम्रो औषधि–उपचार, हेरचाह पाउन सकेका छैनन। २ जना नर्सले ५२ जनासम्म बिरामी हेरिरहेको अवस्थामा दुवै पक्ष नै तनावमा घेरिएका छन्।
जनरल वार्डको मात्र समस्या होइन यो। सिङ्गो अस्पतालको समस्याको हो। अत्यन्त संवेदनशील नवजात शिशु सघन उपचार कक्ष र बाल सघन उपचार कक्ष पनि नर्सको अभावकै कारण व्यवस्थित रुपमा सञ्चालन हुन सकेका छैनन्। करिब ५० बेड सङ्ख्या रहेको सघन उपचार कक्ष अहिले २० बेड सङ्ख्याको हाराहारीमा खुम्चिएर सञ्चालित भइरहेको छ।
आर्थिक अभाव, जनशक्तिको अभाव इत्यादिले गर्दा सघन कक्ष सञ्चालन नभएको कारण विपन्न वर्ग वा हातमुख जोड्न पनि कठिन हुने नागरिकका शिशु वा बालबालिकाले अकालमा ज्यान गुमाइरहेका छन्। अब भनौं के काठमाडौंजस्तो देशको राजधानीमा बस्दैमा बिरामीको ज्यान जोगिन्छ त? के सुविधा सम्पन्न मानिने ठाउँमा बस्दैमा स्वास्थ्य सेवा पाइयो त? पाउने भए र पाइरहेको भए शिशु, र बाल बिरामीदर अनि मृत्युदर किन घटेको छैन त? के फलदायी रह्यो त सबैलाई प्रदान गर्ने भनिएको स्वास्थ्य सेवा?
स्वास्थ्य सेवा प्रदान गर्ने एउटा सेवक हो अस्पताल। तर सेवा प्रदायकको अवस्था नै ठिक छैन भने सेवा प्राप्त गर्नेले पनि राम्रो सेवा पाउन सक्दैन। बाटोघाटो भएको राजधानीमा रहेको एक मात्र केन्द्रीय अस्पताल कान्ति बाल अस्पतालको हालत त यस्तो छ भने राजधानी बाहिरका अस्पतालको हालत त कल्पना नै पनि गर्न सकिदैंन।
बिरामीको बढ्दो चाप र अस्पतालको शय्या वृद्धिसँगै जनशक्ति वृद्धि नगर्दा नर्सको अभाव भएको हो। नर्सको अभाव सँगसँगै सामग्रीको अभाव र निःशुल्क प्रदान गरिने औषधिको अभाव पनि भोग्न सकिन्छ। समयमा नै व्यवस्थापन गर्नेको कमी पनि खट्किएको महसुस हुन्छ। कारण सरकारी क्षेत्र भएकोले हो भनेर सहजै अनुमान लगाउन सकिन्छ।
केन्द्रीय अस्पताल बाहेक अन्य निजी वा संस्थागत अस्पताल नभएका भने होइनन्। सिद्धि स्मृति बाल अस्पताल, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल, इसान बाल अस्पताल इत्यादि जस्ता बालबालिकाकै नाममा खोलिएका मध्येमा हुन्। अस्पताल हुँदैमा मात्र उपचार उपलब्ध हँुदैन। यी अस्पतालमा शिशु र बाल सघन उपचार कक्ष त छन् तर आर्थिक स्तर कमजोर हुनेहरुको लागि भने अस्पताल भएर मात्र पनि हुँदैन।
सामान्य त एउटा बच्चा बिरामी हुँदा सरकारी अस्पतालमा उपचार गराउन औषधि समेत २ हजार रुपैयाँमा पुग्छ भने अन्य अस्पतालमा ५ हजार लाग्छ। यो त बच्चा सामान्य बिरामी छ भने हो। यदि बच्चाको अवस्था सिकिस्त छ भने त लाखौं रुपैयाँ नै खर्च लाग्छ।
उदाहरणको मैले थाहा पाएको घटना नै लेख्छु। एउटा शिशुले आमाको कोखमा हुँदा नै दिसा ग¥यो र त्यसको कारण उसलाई श्वास फेर्न गाह्रो भयो। कुनै एउटा सरकारी अस्पतालले त्यो बच्चालाई शिशु सधन उपचार कक्ष चाहिन्छ भनेर संस्थागत अस्पतालमा रेफर ग¥यो। बच्चालाई बचाउनको लागि भेन्टिलेटर भन्ने विशेष किसिमको मेसिनको सहायता लिनु प¥यो। अन्तिममा १० दिनको अस्पतालको बसाइमा बच्चालाई निको पारेर लिएर जाने क्रममा अस्पताल बसाइको बिल १ लाख ३३ हजार ५सय ६० रुपैयाँको उठ्यो।
बच्चाको दैनिकको औषधि, दैनिक रगत परीक्षण, कुरुवाको लागि खान बस्नको खर्चको त हिसाब अलग्गै छ। संस्थागत अस्पतालको खर्च त लाखौंको छ भने निजी अस्पतालको खर्चबारे कल्पना नै नगरौं। पैसा हुने वा पैसा जोहो गर्न सक्नेले त लाखौं खर्च गरेर पनि औषधि उपचार गर्न सक्लान्। एउटा बच्चा जसको चाहिँ आमाबुबालाई हात मुख जोड्न पनि गाह्रो छ। के उसले चाहिँ बाँच्ने अधिकार छैन त? छ भने के उसले यस्तो कठिन समस्याको समाधान गरेर बाँच्न पाउँछ त? तर प्रशस्त पैसा हुने सरह नहुनेले पनि औषधि उपचार पाउँछन् त? कदापि पाउँदैनन् उपचार। आर्थिक अभाव भएकै कारण बिरामी बच्चालाई जे होला भगवान् भरोसा भनेर घर फर्किनेहरु पनि धेरै छन्। इच्छा वा रहर होइन यो, उनीहरुको विवशता र बाध्यता हो।
कान्ति बाल अस्पतालबाहेक सरकारी अरु अस्पताल बालबालिकाको लागि नभएका होइनन्। पाटन अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, सिभिल अस्पताल, धुलिखेल अस्पताल इत्यादि। यी सहुलियतमा उपचार हुने अस्पताल हुन्। तर विभिन्न कारणले गर्दा शय्याको कमी देखिएको पाइन्छ। नतिजास्वरुप निजी र संस्थागत अस्पतालको ढोकासम्म पुग्नुपर्ने बाध्यता छ। पैसा कमाउने निहुँमा खुलेका बजारी अस्पतालको महँगो शुल्क तिर्नु पर्छ।
रुघाखोकी लाग्ने सङ्केतमा नै देशको ढुकुटी रित्याएर विदेश जाने ठूलाबडा भनिनेहरुलाई यहाँका अस्पतालको बारेमा मतलब नै छैन। आफूलाई सहजता भएपछि अरुबारे नसोच्ने मानिसको आरिसे बानी हो। जसको कारण पनि नेपालको स्वास्थ्य क्षेत्रले विकासतिर फड्को मार्न सकेको छैन। यसको घाटा ती सिधासोझा नेपाली जनतालाई परेको छ। एक छाक पेट भर्नको लागि दिनभर घोटिनुपर्ने ती गरिब, निमुखाले आर्थिक अभावका कारण हरेक दिन अकालमा नै ज्यान गुुमाइरहेका छन्।
जनशक्ति अभावको साथसाथै बढ्दो जनसङ्ख्याको लागि अस्पतालको शैयया पनि अपुग भएको छ। केन्द्रीय बाल सरकारी अस्पताल भएको कारणले देशभरिका बालबालिका रोग निको पार्न र उपचार गर्न यहाँ आउँछन्। आर्थिक अभावकै कारण निजी अस्पताल धाउने सबैको हैसियत हुँदैन। तर जनशक्तिको अभाव, अस्पतालको अन्य समस्याको पोको बढेको बढ्यै छ।
यसर्थ पर्याप्त दक्ष जनशक्तिको लागि सरकारी क्षेत्रमा मात्र होइन, निजी क्षेत्रमा पनि पदपूर्ति गरिनुपर्छ। दक्ष जनशक्ति नभएका होइनन्। हरेक वर्ष विभिन्न नर्सिङ कलेजबाट ४० हजारको हाराहारीमा नर्स उत्पादन भइरहेका छन्। जनशक्ति माग गरे तापनि स्वास्थ्य मन्त्रालयको लापरबाहीले बिरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्।
६ देखि ८ लाख लगानी गरेर नर्स बनेका कयौं अझै पनि निःशुल्क प्राइभेट अस्पतालमा काम गर्न बाध्य छन्। ती जनशक्ति कान्ति बाल अस्पताल र अन्य सरकारी स्वास्थ्य जस्ता क्षेत्रमा लगाउनुपर्ने आवश्यकता छ। गर्ने किन? कसले? केका लागि? कसका लागि? यी प्रश्नहरु चौतर्फी रुपमा उठेका छन्। काम गर्छु भनेर वचन दिनेहरु नतमस्तक रुपमा बसेका छन्।
राजधानीको केन्द्रीय अस्पतालको अनुहार त यस्तो छ भने गोरेटो र घोडेटो नपुगेका नेपालका विकट ठाउँको अवस्था कस्तो होला? ठूल्ठूला वचन मात्र छाडेर स्वास्थ्य क्षेत्रको विकास कदापी हुने छैन।