केही महिनाअघि ओम अस्पतालमा एक जना महिलाको मिर्गौलाको पत्थरीको अपरेसनपछि मृत्यु भयो। उनको मृत्युपछि लपरबाही गरेको भन्दै अनुभवी युरोलोजिस्टलाई बिरामीका आफन्तले चरम दुर्व्यवहार गरे र ओम हस्पिटलमा आगजनीको प्रयास गरे।
त्यस्तै केही दिन अगाडि चितवन मेडिकल कलेजमा पिनासको अपरेसन गरेको एक दिनपछि एक महिलाको ज्यान गयो। मृतकका आफन्तले डाक्टरको लापरबाहीले ज्यान गएको भन्दै हस्पिटल परिसरमा नाराजुलुस गरी तोडफोड गरे।
यी दुई प्रतिनिधि घटना मात्र हुन्। आजकल यस्ता समाचार नियमित सुन्न सकिन्छ। वास्तविक रुपमै डाक्टरको लापरबाही छ कि छैन थाहा नै नपाई यसरी डाक्टरलाई अपमानित गर्नु नराम्रो कुरा हो। यसले वर्षौं मिहिनेत गरेर बनेका चिकित्सकलाई निरुत्साहित बनाइरहेको छ।
आफूले अध्ययन गरेको कुरा स्वतन्त्र रुपमा प्रयोग गर्न, कुनै जटिल केसको जोखिम उठाएर उपचार गर्न पनि डराउनुपर्ने अवस्थाको सिर्जना भएको छ। डाक्टरमाथि आक्रमण किन बढिरहेको छ त? मुख्य कारणहरु यहाँ राख्ने प्रयत्न गरेको छु।
धेरै ठूलो अपेक्षा
'डाक्टर भगवान हुन्' धेरै पहिलादेखि सुन्दै आइरहेको शब्द हो यो। बच्चालाई पनि यही सिकाइन्छ। यो सुन्दा डाक्टरलाई उच्चतम सम्मान दिए जस्तो लाग्छ तर यदि भगवान भनी उच्च सम्मान दिँदा त्यो अपेक्षा पूरा हुन सकेन र बिरामीको मृत्यु भयो भने त्यो त लापरबाही हो भनेर अपेक्षाकै तुलनामा आक्रोस पैदा हुन्छ। त्यस कारण हामीले डाक्टरलाई देवत्वकरण गर्नु हुँदैन। तिनीहरु पनि सामान्य मानिस नै हुन्। उनीहरुबाट पनि गल्ती हुनसक्छ।
संसारको कुनै पनि कुरा पूर्ण छैन अपूर्ण नै छ। डाक्टर पनि वर्षौंको अभ्यास र अध्ययनबाट मात्र उपचार गर्न सक्ने भएका हुन्। तिनीहरुलाई सबै कुरा आउँदैन र सधैं सिक्ने प्रक्रियामा हुन्छ्न्। यति कुरा मात्र पनि हामीले आम मानिसलाई बुझाउन सक्ने हो भने डाक्टरबाट भगवानरुपी अपेक्षा राख्न छाड्छन् र आधाजसो दुर्व्यवहारका घटनामा कमी आउन सक्छ।
कहिलेकाहीँ बिरामीहरु डाक्टरबाट धेरै नै अपेक्षा राख्छन्। जस्तोकि एकै दिनमा रोग निको भैहाल्छ, सबै रोग एकै पटकमा पत्ता लाग्नैपर्छ, उपचार सस्तो अथवा नि:शुल्क पाउनुपर्छ। एमआरआई, सिटी स्क्यान जस्ता प्रविधिको प्रयोग बिरामीको इच्छाअनुसार गराउन पाउनुपर्छ। यस्ता प्रकारका अनेकन अपेक्षा बिरामीले राखेका हुन्छन्। जब ती पूरा हुँदैनन् तब अपेक्षा आक्रोसमा बदलिन्छ।
विश्वासको कमी
केही वर्षअघि बङ्गलादेश र चीनबाट पढेर आएका सयौं नक्कली डाक्टर पक्राउ परेको खबर आएको थियो। त्यस्तै घाँटीको अपरेसन गर्ने बेला पाठेघरको अपरेसन गरेको समाचारले पनि निकै चर्चा पाएको थियो। बितेका केही वर्षमा सञ्चार माध्यमको विस्तारले यस्ता समाचार निकै छिटो भाइरल भए। त्यसले गर्दा आम मानिसमा डाक्टरका प्रति धेरै अविश्वास पैदा हुन थाले। जबकि केही वर्षअघि यस पेसालाई सर्वमान्य पेसाका रुपमा उच्चतम सम्मान दिइन्थ्यो।
यस पेसाका बारेमा मानिसहरुको बढ्दो अविश्वासका कारण कुनै बिरामीको उपचारको बेला मृत्यु भएमा डाक्टर नक्कली होकी अथवा अयोग्य नै छ कि भन्ने अनुमानका भरमा उत्तेजनामा आउँछन् र कहिलेकाहीँ त्यसको सिकार इमान्दार, दक्ष चिकित्सक पनि पर्ने गर्छन्।
स्रोत-साधनको कमी
दुर्गम भेगमा डाक्टरमाथि कुटपिट हुने प्रमुख कारण यो पनि हो। मानौं कुनै महिलालाई प्रसूति गराउनु छ। त्यो प्रसूति सुविधासम्पन्न कुनै चितवनको सहरमा गराउन सहज हुन्छ र बिरामीले यो सजिलो निको हुन्छ भन्ने सोच्न सक्छन् तर त्यस्तै प्रकारको समस्या हुम्लाको कुनै डाक्टरले गर्दा धेरै गाह्रो हुन्छ। आवश्यक उपकरणको अभावका कारण यदि बिरामीको मृत्यु भएमा चितवनको मानिसले त्यसलाई सामान्य रोगमा पनि चरम लपरबाही बुझ्छ र आक्रोश पैदा हुन्छ। कहिलेकाहीँ परीक्षण गर्ने उपकरणहरु कम गुणस्तरका हुँदा डाइग्नोसिस गलत हुन सक्छ त्यसलाई बिरामीका आफन्तले डाक्टरको लापरबाहीका रुपमा लिन्छन्।
कमिसनको खेल
एकपटक म नाकमा समस्या भएर एक निजी फार्मेसीमा नाक, कान, घाँटी रोग विशेषज्ञकोमा गएको थिएँ। उनले मेरो सामान्य हिस्ट्री पनि नलिई रगत र पिसाब चेक गराएर ल्याउन भने, त्यो पनि त्यहीं फार्मेसीले सन्चालन गरेको ल्याबमै। उनले त्यहाँ आउने प्रत्येक बिरामीलाई रगत र पिसाब चेक गर्न पठाउने नै रहेछन्। पछि बुझ्दै जाँदा त्यो फार्मेसीले चेक गराउन पठाए बापत उनलाई निश्चित रकम कमिसनको रुपमा दिँदो रहेछ। कमिसन आजकल डाक्टरहरुका लागि सामान्य भइसकेको छ। कतिपय निजी अस्पतालले डाक्टरलाई एउटा टार्गेट नै दिएर दिनमा निश्चित संख्यामा बिरामीलाई ल्याब परीक्षण गराउनैपर्ने दबाब दिन्छन्। त्यसकारण सामान्य रोगमा पनि बिरामिलाई चर्को शुल्क असुली अनावश्यक परीक्षण गराउन लगाउँदा बिरामीमाथि चरम आर्थिक भार परेको छ। त्यसकारण डाक्टरलाई आजकल पैसामुखी भएको आरोप लाग्ने गरेको छ, जुन केही हदसम्म सही पनि हो। एकदमै महङ्गो उपचार र त्यसमा पनि कमिसनको खेतीले गर्दा डाक्टरसँग बिरामी रुष्ट हुने गरेका छन्l
कानुन
कानुनलाई दुई तरिकाले लिन सकिन्छ, पहिलो राज्यले नागरिकलाई कानुनी शासनको प्रत्याभूति दिन नसक्नु, सन् २०१५ मा एक अमेरिका स्वास्थ सम्बन्धी समाचार लेखिका सेरा क्लिफ लेख्छिन्, अमेरिकामा प्रतिवर्ष दुईदेखि चार लाख मान्छेको मेडिकल इररबाट मृत्यु हुने गर्छ। यो अमेरिका जस्तो विकसित देशको लागि निकै डरलाग्दो कुरा हो।
नेपाल जस्तो देशमा त्यस्ता इररहरु धेरै हुन्छन् होला तर ती गल्तीका कारण चिकित्सकहरु कार्बाहीमा परेको एकदमै कम सुनिन्छ। त्यसकारण बिरामीका आफन्तले तोडफोड नगरेसम्म अथवा आन्दोलन नगरेसम्म न्याय पाइँदैन कि भनेर त्यस्तो प्रकारको गतिविधि गर्ने गर्छन्। नेपालमा हरेक क्षेत्रमा सरकारको उपस्थिति अत्यन्तै न्यून छ। सामान्य कुरामा पनि बन्द हड्ताल नगरी समस्याको समाधान नहुने परिपाटीले देश थिलोथिलो परिरहेको छ। त्यही कुरा स्वास्थ क्षेत्रमा पनि लागू हुन्छ।
दोस्रो कुरा कानुन फितलो हुनु पनि हो। एउटा डाक्टर बन्नका लागि धेरै वर्ष मिहिनेत, परिश्रम र लगानीको आवश्यकता पर्छ। यदि उसलाई कसैले यत्तिकै आरोप लगायो र त्यो आरोप गलत भए पनि समाजमा पहिलेकै रुपमा व्यावसायिक रुपमा गाह्रो पर्छ। डाक्टरमाथि आक्रमण गरे अथवा अस्पताल तोडफोड गरे खासै कडा कार्बाही नहुने बरु उल्टै क्षतिपूर्ति माग गर्न पाइने हुनाले त्यसा मानिसहरुको मनोबल बढिरहेको छ।
चितवन मेडिकल कलेजमाथि तोडफोड गर्ने ११ जना व्यक्तिलाई दुर्ब्यवहारको मुद्दा चलाइयो र ११ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न लगाइयो जुन सकारात्मक कुरा हो। यसरी कार्बाही गर्दा अपराधिक मनोवृत्तिका मानिसको मनोबल केही हदसम्म घटाउन मद्दत गर्ने छ।
-(विक चितवन मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्ष अध्ययनरत छन्)