तीन बजे। ट्रमा ओपिडी। अलिकती भीड कम हुने समय।
यति बेलासम्म काठमाडौं बाहिरबाट आएका बिरामीहरू फलोअप भ्याएर रात्री बस समात्न हानिसकेका हुन्छन्। कोई निजी अस्पतालबाट रिफर भएर आएका छन् भने भेट्ने सवै भन्दा उचित समय यही हो।
अलि पैसा भएका, जागिरे, पढेलेखेका, काठमाडौंमैं बसोबास गर्ने बिरामीहरूको भाइबरमा म्यासेज आउँछ– हाइ डा जेनिथ, वीआर हियर (डाक्टर जेनिथ, हामी बाहिर छौं।)
ढोकाबाट चियाउँछन् र हातले संकेत दिन्छन्। मैले बुझ्नु पर्ने कुरो, 'यिनीहरू आइसके, अब एकछिनमा यिनलाई उकुसमुकुस हुन थाल्छ।'
एकछिनपछि यिनको पालो आउँछ। भित्र छिर्छन्। चिल्लो गाला, आफ्टर शेवको सुगन्ध। चट्ट परेको लुगा र जुत्ता। म भन्दा पत्यारिलो डाक्टर जस्तो त उनीहरु नै देखिन्छन्।
मेरो सानो कोठा देखेर एकछिन नाक खुम्च्याउँछन्। त्यति टाढाबाट रिफर भएर आ'को डाक्टर के यिनै हुन् त? एकछिन अल्मलिन्छन्। बस्न भन्छु– ह्याभ ए सिट। हरियो चियर,
भुइँचालो आएदेखि सरसफाइ नभा'को। अलि अलमलमा पर्छन्। मैले फेरि ह्याभ ए सिट भन्छु, अनि बल्ल उनीहरु बस्छन्।
पार्किङको समस्याबाट कुराकानी सुरु हुन्छ। त्यो सानो कोठाको माहोल अलि फर्मल र प्राइभेट जस्तो महसुस गराउन म अङ्ग्रेजीमा फर्रर बोल्छु। बल्ल उनीहरुले अलि पत्याउँछन्।
अनि फाइलको चाङ निस्किन्छ। सबै ठूला–साना प्राइभेट हस्पिटलमा देखाउन भ्याइसकेको।
'फ्यामिली डाक्टर, डा फलानो सेड दिज एन्ड द्याट'बाट मेडिकल हिस्ट्री सुरु हुन्छ। उहाँले दुईतीन महिना अल्झाएर राखेको स्पष्ट हुन्छ।
सबै सुन्छु, आखिर यिनी आएकाचैं मेरै विषयमा सेकेन्ड ओपिनियन र थर्ड ओपिनियनलाई रैछ, भन्ने कुरा बुझ्न ५ मिनेट पनि लाग्दैन।
भन्छन्, 'संसारकै राम्रो उपचार कहाँ हुन्छ? म त्यतै जान्छु'।
मैले नि अमेरिका भनिदिन्छु।
'हैन दिल्लीमा कतै भए भन्नुस्,' आफ्नो प्रश्न सच्याउँछन्।
मैले नि बुझिसकें– त्यस्तै जटिल रोग भएमा, हाम्रो संसार भनेकै दिल्ली हो। हतार परेमा अरु ठाउँ जाने स्थिति हुँदैन।
अनि दुई तीनजना आफ्नै समकालीन डाक्टरको नाम लिन्छु। नाम टिप्छन् र मुरी–मुरी धन्यवादको पात्र बन्छु। कति सजिलो?
त्यतिकैमा एकजना बिरामी हस्याङ-फस्याङ गर्दै एक्स-रे लिएर आइपुग्छ।
'डाक्टरसाब छिटो हेरिदिनुस्, बस छुट्न लागिसक्यो,' उसले विनम्र अनुरोध गर्छ।
कहाँ पुग्ने हो र? म सोध्छु।
बिरामी भन्छ– महोत्तरी!