माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालज्यू,
पूर्ण कार्यकाल एवं कार्यसफलताको शुभकामना !
नेपालको स्वास्थ्य सेवा क्षेत्रमा जति उपलब्धी भए वा भइरहेका छन्, तिनको गम्भीर मूल्यांकन गरि आगामी योजना बनाउनेतर्फ लाग्दा सफलता मिल्ने देखिन्छ। वर्तमान समयमा भइरहेका क्रियाकलापहरुले स्वास्थ्य क्षेत्रका ०६२/०६३ पछि भएका उपलब्धीको समेत उपहास भएको छ।
स्वास्थ्य क्षेत्रका बिसङ्गत, अनियमित, महत्वाकांक्षी, लहडी, देखावटी, कार्यक्रमहरुले जनताको स्वास्थ्य आवश्यकता पूरा गर्न सक्दैनन्! २१ औ शताब्दीका लागि तय गरिएका लक्ष्यहरुमा पुग्न तिनै तहका सरकार र जनता पनि लाग्न जरुरी हुन्छ। तर, जनतासम्म पुग्न सरकारहरु कति पुगे ? को पुगे ? को हराइरहेका छन्, यसको लेखाजोखा गर्नुपर्ने बेला आइसकेको छ।
स्वास्थ्य संस्थाहरुको भौतिक अवस्था, औषधि/उपकरणको उपलब्धता, डाक्टरहरु एवं स्वास्थ्यकर्मीहरुको व्यवस्थापन, आवश्यक तालिम, आर्थिक प्रशासनिक पारदर्शिता जस्ता कुरामा ध्यान दिनुपर्छ। संविधान प्रद्द्त्त मौलिक हकसँगै जातिगत, क्षेत्रगत भौगोलिक अवस्थालाई हेक्का राखी आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउनु अनिवार्य दायित्व सरकारको हो। योजना विभिन्न चरणहरु पार गर्दै तयार हुन्छ, जसको अनुगमन महत्वपूर्ण कुरा हो।
अहिले नीति, विधि र प्रविधियुक्त स्वास्थ्य बनाउन सक्ने कर्मचारी प्रशासनको खाँचो छ। कर्मचारी समायोजनले स्वास्थ्य संस्था कर्मचारी बिहीन छन्। कतिमा आवश्यकता भन्दा बढी भएर फाजिलमा राखिएको छ।
यो समायोजनको मर्म बिपरित आर्थिक चलखेलको परिणाम हो। यो बनाइएको समस्या हो, सुनिन्छ महानगरमा ६०, नगरमा ४० र गाउँपालिकामा २५–३० हजार रुपैयाँमा समायोजन गरिन्छ रे। मन्त्रालयदेखि विभाग र जिल्ल्लामा एजेन्ट छन्। कसरी समायोजनले पुर्णता पाउने? मन्त्रालय र विभागका कर्मचारीको यो सेटिङ बदल्नुपर्छ। निम्न कुरामा ध्यान दिनुभए तपाईंको कार्यकाल सफल हुन्छ।
१. सवै अस्पताल र संस्थामा पहिले आवश्यक जनशक्ति र औषधि उपकरणको व्यवस्था गर्ने।
२. पुरानो दरबन्दीलाई पुनरावलोकन गरी जनसंख्याका आधारमा विशेषज्ञ, मेडिकल अधिकृत र स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने।
३. भौतिक पूर्वाधारसहित अपांगमैत्री भवन बनाउने।
४. समायानुकुल देखा पर्ने रोग र अनुसन्धानका परिणामहरुको स्वास्थ्यका कर्मचारीलाई अद्यावधि गराउने।
५. सही व्यक्ति उपयुक्त स्थानमा कार्यभारको ब्यबस्था गर्ने।
६. पहुँचका आधारमा फाजिलमा रहेका स्वास्थ्यकर्मिहरुलाई अभाव भएका स्थानमा तत्काल खटाउने।
७. साङ्गठानिक रुपमा रहेको आफन्तवाद, सरुवा, बढुवा, समायोजन मिलाउने जालोको अन्त्य गर्ने।
८. औषधि तथा उपकरण खरिद, भौतिक निर्माण आदिमा हुने कमिशनको तत्काल अन्त्य गर्ने ।
९. स्थानीय तहमा हुने स्वास्थ्यप्रतिको चासोमा वृद्धि गर्न निश्चित प्रतिशत बजेट छुट्याउनु पर्ने गरी केन्द्रीय नियमको ब्यबस्था गर्ने।
१०. नियमित सुपरिवेक्षणको ब्यबस्था गर्ने।
११. कर्तव्यनिष्ठ, क्रियाशिल, स्वास्थ्यकर्मीलाई प्रोत्साहन एवं कामचोर, निष्क्रियलाई कार्वाही गरिनुपर्ने।
१२. राजनीतिक आस्थाका आधारमा नभइ क्षमताका आधारमा जिम्मेवारी दिने।
१३. सवै विषयमा मन्त्री सचिवालयको भर नपरी स्वयं छड्के एवं कर्मचारी को अनुगमन गर्ने।
१४. अस्पतालहरुमा भएका जाँचपड्ताल उपकरणहरु बिगारी बाहिरका निजि संस्थासँग कमिशन खाने परिपाटिको अन्त्य गर्ने।
१५. डाक्टहरुले निजिमा महत्व दिई सेवा प्रवाहमा ध्यान नदिने अवस्थाको अन्त्य गर्ने।
१६. निजि स्वास्थ्य संस्थाहरुलाई अनुमति तथा नवीकरण गर्दा तोकिएका मापदण्ड पूरा नगरी घुसको आधारमा गर्न रोक लगाउने।
१७.. निजि ल्किनिक, अस्पताल, डाइग्नोस्टिक सेन्टरहरुले रोग निदानका नाममा लुट्ने गरेकोले अनुगमनलाई प्रभावकारी बनाउने।
१८. सामुदायिक स्वास्थ्यका मेरुदण्ड रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुको कामको उचित मूल्यांकन गर्ने।